प्रधानमन्त्री कोइराला र अमेरिकी राज्यमन्त्री निशा देसाई भेट, अमेरिका थप सहयोग गर्न तयार

१ जेष्ठ २०७२, शुक्रबार २१:१८ मा प्रकाशित

काठमाडौँ, १ जेठ । प्रधानमन्त्री सुशील कोइरालासँग नेपाल भ्रमणमा रहनुभएकी संयुक्त राज्य अमेरिकाकी दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने राज्यमन्त्री निशा देसाई विश्वासले शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेट गर्नुभएको छ ।

उहाँको भेट नेपालमा हालै आएको भूकम्प, खोजी, उद्धार, राहत, पुनस्र्थापना र पुनर्निर्माणका साथै नेपाल अमेरिका सम्बन्ध र सहयोगमा केन्द्रित भएको थियो ।

भेटमा प्रधानमन्त्री कोइरालाले नेपालले ब्यहोर्नुपरेको आकस्मिक ठूलो विपद्मा अमेरिकी राष्ट्रपतिले टेलिफोनमार्फत दिनुभएको सहानुभूति र समवेदनासहित सहयोगको बचनले आफूलाई ठूलो भरोसा मिलेको बताउनुभएको थियो ।

भेटमा प्रधानमन्त्री कोइरालाले दुःखको बेलामा अमेरिकाले दिएको भौतिक र आर्थिक सहयोगको प्रशंसा गर्नुभयो ।

अमेरिकी राज्यमन्त्री विश्वासले नेपालमा हालै भएको भूकम्पबाट पीडितलाई संयुक्त राज्य अमेरिकाले थप सहयोग दिने बचन दिनुभएको छ ।

भेटमा प्रधानमन्त्री कोइरालाले नेपालमा मनसुन आरम्भ हुन केही हप्ता मात्र बाँकी भएकोले तीन हप्ताभित्र भूकम्प प्रभावित क्षेत्रमा अस्थायी बास बनाएर जनजीवन सामान्य बनाउने कार्य निकै चुनौतिपूर्ण रहेको बताउनुभएको थियो ।

उहाँले नेपालमा लोकतन्त्रको स्वाभाविक विकासलाई लामो समयसम्म अबरुद्ध पारिएकोले व्यवसायिक संस्थाहरू विकसित हुन नपाएको प्रसङ्ग उठाउँदै ठूलो विपदाको सामना गर्ने संस्थागत संरचना नै हालसम्म स्थापना हुन नसकेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “विपत्तिको समयमा न त संस्था थियो, न सरसामान नै ।”

प्रधानमन्त्री कोइरालाले सबै दल एकजुट भएर विपत्तिको सामना गर्न सजिलो हुने देखेर सबै दललाई साथमा लिएको पनि बताउनुभयो ।

भेटमा अमेरिकी राज्यमन्त्री विश्वासले भूकम्पले पु¥याएको क्षतिको वास्तविक आँकडा प्राप्त भए पुनर्निर्माणको योजना तर्जुमापछि दाताहरूले गर्नुपर्ने योगदानबारे निर्णय लिन सजिलो हुने बताउनुभयो ।

उहाँले भूकम्प प्रतिरोधक भवन निर्माणमा अमेरिकी सहयोग नियोगले भूकम्प प्रविधि राष्ट्रिय समाजसँग लामो समयदेखि काम गरेकोले पुनर्निर्माणमा भूकम्प प्रतिरोधी प्रविधि अपनाउन उपयुक्त हुने कुरा राख्नुभएको थियो ।

उहाँले प्राकृतिक विपत्तिमा क्षेत्रीय सहयोग पनि लाभकारी र उपयोगी हुने बताउनुभएको थियो ।

भेटमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. दिनेश भट्टराई र अमेरिकी राजदूत पिटर बोड्डी पनि उपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वास प्रस्तावबाट आफूलाई हटाएर देखाउन चुनौती दिएका छन् । उनले प्रतिनिधि सभा विघटन गर्ने

काठमाडौ । न्यायाधीशकी श्रीमती ब्राउन सुगरसहित पक्राउ परेकी छिन् । उच्च अदालत सुर्खेतका न्यायाधीश मदन पोखरेलको श्रीमती तुलसीपुर उपमहानगरपालिका–५ निवासी

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका सोमबारदेखि पुनःसञ्चालन हुने भएको छ । चीनमा वसन्त उत्सव समाप्त भएसँगै ल्होसारदेखि बन्द रहेको केरुङ नाका

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेका छन् ।