ठूलो भूकम्पको सम्भावना तत्कालका लागि टर्यो :: डा. विशालनाथ उप्रेती (भूगर्भविद्)

१ जेष्ठ २०७२, शुक्रबार ०२:१५ मा प्रकाशित

० भूकम्प कहिले आउँछ भन्नेबारेमा यकिन गर्न त सकिँदैन भनिन्छ, तर भूगर्भीय अवस्थितिका आधारमा यसपटक नेपालमा आएको भुइँचालो कति सम्भावित या अपेक्षित थियो ?
– हो, अहिलेसम्मको विज्ञानका आधारमा भुइँचालोको प्रेडिक्सन (भविष्यवाणी) गर्न सकिँदैन । भविष्यवाणी भनेपछि कुन वर्षको कुन महिना, कुन दिन र कति बजे भूकम्प आउँछ भनी तोक्न सक्नुप-यो, जो अहिलेको विज्ञानबाट सम्भव भएको छैन । त्यसैले कसैले समय तोकेर भुइँचालो जाने भविष्यवाणी गर्छ भने त्यो गलत हो, भ्रम मात्र हो भन्ने बुझ्नुपर्छ । तर, भूकम्प आउने समय पत्ता लगाउने प्रयत्नचाहिँ भएका छन् । उदाहरणका लागि चाइनामा सन् १९७६ मा ठूलो भुइँचालो गयो । आधिकारिक तवरमै तीन–चार लाख मान्छे मरे, ठूलो क्षति भयो । त्यो घटनापछि त्यहाँका साइन्टिसहरूले चीनकै अर्को एक सहरमा भुइँचालोको सम्भाव्यताबारे विभिन्न उपाय तथा प्रविधि लगाएर ठूलो नेटवर्क बनाई अध्ययन गरे । निकै मिहिनेत लगाएर गरिएको उक्त अनुसन्धानका आधारमा उनीहरूले फलानो मितिमा यति बजे यो म्याग्नेच्युटको भुइँचालो जान्छ भनेर भविष्यवाणाी नै गरे । नभन्दै तोकिएकै समयमा अनुमान गरेजत्रै भूकम्प आयो । ठूलो क्षति हुनुबाट जोगियो । तर, पछि फेरि सोही विधि प्रयोग गरेर भविष्यवाणाी गर्दा त्यो फेल खायो । संसारका कुन–कुन भूभागमा भूकम्प जानेगर्छ भन्नेचाहिँ आजको जमानामा सामान्य चासो राख्नेलाई पनि ज्ञान छ, तर भूकम्प कहाँ र कहिले आउँछ भन्नेचाहिँ बडेबडे सिस्नोलोजिस्टहरूलाई पनि पटक्कै जानकारी हुँदैन । जहाँसम्म यस क्षेत्रमा भूकम्प जाने सम्भावनाको प्रश्न हो, यसबारेमा स्वदेशी एवम् विदेशका सिस्नोलोजिस्ट वा अध्येताहरूले गहन अध्ययन गरी निकै वर्षअघि नै महाभूकम्पीय जोखिमको अनुमान गरेका थिए । तसर्थ, यहाँ जुन स्तरको भुइँचालो गयो– यो अनपेक्षित भने थिएन ।
० नब्बे सालको भुइँचालोलाई महाभूकम्प भन्ने गरिएको छ, यसपटकको भूकम्प पनि महाभूकम्प नै हो कि शक्तिशाली भूकम्प मात्रै ?
– यसपालिको भूकम्प ‘महाभूकम्प’ होइन । आठभन्दा माथि रेक्टर स्केलका भुइँचालोलाई मात्र महाभूकम्पका रूपमा लिइन्छ । ९० सालमा ८.३ म्याग्नेच्युटको भूकम्प गएको थियो, जसको कम्पन वैशाख १२ को भन्दा करिब तीन गुणा ठूलो हो । नब्बे सालको जत्रो भूकम्प आएको भए त अहिले काठमाडौंमा मात्रै लाखभन्दा बढी मानिस मर्ने थिए, अहिले भएकोभन्दा धेरै ठूलो भौतिक क्षति हुने थियो । केही वर्षअघिदेखि नै यहाँ नब्बेसालकै हाराहारीमा भूकम्प आउन सक्ने अनुमान गरिँदै आएको हो, तर भाग्यवश त्यत्रो आएन । नहुनु क्षति भइसकेको छ, तथापि, अनुमान गरिएभन्दा कम क्षति भएको ठानेर सन्तोष मान्नुपर्ने अवस्था छ ।
० यसस्तरको भूकम्प यहाँ ७५ देखि सय वर्ष अन्तरालमा नियमितजस्तै आउँछ भन्नेहरू पनि छन्, यसमा कति विश्वास गर्ने, कति अविश्वास ?
– नेपालभन्दा पूर्वी क्षेत्रमा सन् ११०० तिर ठूलो भूकम्प गएको अनुसन्धानले देखाएको छ । यस्तै, १५०५ मा पश्चिममा पनि ठूलो भुइँचालो गएको ऐतिहासिक रेकर्ड नै भेटिएको छ । त्यो भूकम्पले दिल्लीको कुतुवमिनारसमेत भत्किएको थियो । तिब्बतको पोताला दरबारलाई समेत त्यसले क्षति पु-याएको थियो । त्यसपछि वि.सं. १८९० तिर पनि त्यस्तै ठूलो भूकम्प गएको थियो भने वि.सं. १९९० को महाभूकम्पबारे त सबै जानकार छँदै छन् । यस्तै १९५० मा आसाममा संसारकै ठूलोमध्येको एक गएको थियो । सोहीस्तरको भूकम्प १८९० मा सिलोङमा गएको थियो । यसैप्रकारले पश्चिममा गएको क्वेटा अर्थक्वेक पनि उत्तिकै इतिहासचर्चित छ । यसरी हिमालय रेञ्जमा बेलाबेलामा भूकम्प गइरहँदारहेछन् भन्ने पुष्टि भएको छ । वास्तवमा यसैका आधारमा निश्चित अवधिमा भूकम्प जाने अनुमान गरिएको मात्र हो । तर, यो यथार्थपरक कुरा भने होइन । हिमालय क्षेत्रको भौगर्भिक जाँच–अनुसन्धानका आधारमा भन्नुपर्दा नब्बे सालको जस्तै भूकम्प जान त तीन–चार सय वर्ष कुर्नुपर्ने देखिन्छ । ठ्याक्कै भन्न त सकिन्न, तर मोटामोटी यस्तै हिसाब आउँछ । यस आधारमा हामीले भन्नुपर्दा हालै गएको स्तरको भूकम्प आउन अब पचहत्तर या सय वर्ष कुर्नुपर्छ भन्ने छैन, एक–डेढ वर्षमै पनि हुन सक्छ र त्यसभन्दा ज्यादा समय लाग्न पनि सक्छ । अमेरिकी प्रोफेसर रोजर विल्हमले नेपालमा १२ वैशाखमा भूकम्प आउनुभन्दा पाँच दिनअघि मात्र ‘सिस्नोलोजिस्ट सोसाइटी अफ अमेरिका’मा दिएको एक प्रस्तुतिमा हिमालय क्षेत्रमा ठूलो स्तरको भूकम्प जाने सम्भावना निकट भइसकेको बताएका रहेछन् । कुन दिन र कति शक्तिशाली भन्ने खुलाउन नसके पनि गत बुधबार मात्र उनले सो प्रस्तुति दिएका थिए, नभन्दै शनिबार नै भूकम्प आइहाल्यो । यसर्थ, यत्ति नै अवधिको अन्तरालमा यसखालको भूकम्प जान्छ भन्ने धारणा बनाउनु अत्यन्त गलत हुन जान्छ । ‘अहिले आउने आइहाल्यो अब कम्तीमा पचहत्तर वर्षको निम्ति यस क्षेत्रमा भूकम्प आउँदैन’ भनेर ढुक्क हुन सकिने कुनै आधार छैन ।
० भूकम्प गएको दुई साता बितिसक्दा पनि केन्द्रबिन्दु बदल्दै लगातार पराकम्पनहरू आइरहेबाट जनमानस त्रस्त छ, यससँग कति डराउने कति नडराउने ?
– यो त भुइँचालोको नेचर नै हो । उदाहरणका लागि एउटा ठूलो रूख बञ्चरोले काट्दै जाँदा रूख छिन्न थोरै बाँकी भएको अवस्थामा क्र्याक..क्र्याक… गर्दै अन्तिममा ठूलो आवाजका साथ ड्याम्म ढल्छ, र ढलिसकेपछि पनि कताकतिबाट क्र्याकक्रुकका आवाजहरू निस्किरहन्छन्, हाँगाबिँगा भाँच्चिएका आवाजहरू आइरहन्छन् । यस्तै हो ठूलो भूकम्पको लक्षण पनि । भूकम्प आउनुअघि पनि र पछि पनि सानातिना कम्पन चलिरहन्छन् । पाँच वर्षसम्म पनि ‘आफ्टर सक्स’ चलिरहन सक्छ । यसैले यो स्वाभाविक हो । यदि अहिले ६ या साढे ६ सम्मको मात्र भूकम्प आएको थियो भनेचाहिँ अझ पनि ठूलो भुइँचालोको सम्भावना बाँकी नै रहन्थ्यो । ठूलो मात्रामा जम्मा भएको शक्ति विस्फोट भइसकेकाले अब तत्काल यही क्षेत्रमा त्यत्रै भूकम्प आउने सम्भावना क्षीण भएको छ । तर, यहाँनेर म के भन्न चाहन्छु भने, वरपरका अर्को क्षेत्रमा जाने भूकम्पले यहाँ पनि विध्वंश मच्चाउन सक्ने भएकाले आजैबाट भूकम्पको प्रहारबाट बच्ने पूर्वतयारीचाहिँ गरिहाल्नुपर्छ ।
० क्षतिको हिसाबले नब्बे सालको भूकम्प विनाशकारी हो कि अहिलेको ?
– नब्बे सालमा जनसङ्ख्या थोरै थियो, आजको तुलनामा घरहरू निकै कम थिए । त्यसैले भौतिक तथा मानवीय क्षति त्यतिबेला कम भएको हो । त्यसैले, क्षतिको हिसाबले अहिले ठूलो देखिए पनि यदि उसबेलाकै म्याग्नेच्युटमा भूकम्प आएको भए यहाँ महाप्रलय नै निम्तिने थियो ।
० अब खासगरी काठमाडौंका कुन स्थान भूकम्पीय जोखिमको कोणबाट कमजोर र कुन स्थान उचित भनी ठम्म्याउन सकिएला ?
– नब्बे सालको भूकम्पछि इन्डियाबाट एकजना अडेन नामका विज्ञ नेपाल आएर कुन–कुन स्थानमा कुन खालको क्षति पुगेको छ, कुन कारणले खास स्थानमा खास प्रकारको क्षति भयो या कुन कारणले खास स्थानचाहिँ भूकम्पबाट जोगियो भन्ने डिटेल अनुसन्धान गरी एउटा स्केल तयार गरिदिएका थिए । त्यसले अहिले यहाँ भूकम्पीय क्षतिको हिसाबकिताब लगाउन निकै सजिलो तुल्याइदिएको छ । हरेक भुइँचालोपछि त्यसले कति डिस्ट्रक्सन (क्षति) भयो भन्ने थाहा पाउन एउटा छुट्टै म्याप तयार गरिन्छ । यहाँ पनि अब त्यो बन्ला । त्यसपछि मात्र कुन स्थान तुलनात्मक रूपमा सुरक्षित या असुरक्षित भन्नेबारे केही बोल्न सकिएला । यससम्बन्धी अनुसन्धानका लागि गर्नुपर्ने काम धेरै छन्, तर सरकारले पटक्कै आवश्यक ध्यान दिइरहेको छैन । आजको दिनमा नेपालमा जम्मा तीनजना मात्र सिस्नोलोजिस्ट छन् । निकै दुःखको कुरा छ कि पैंतीस वर्ष अवधिमा हाम्रो देशले जम्मा तीनजना मात्र सिस्नोलोजिस्ट जन्माएको छ । खानी विभागको सिस्नोलोजिकल सिस्टमको दूरावस्था देख्दा हाम्रो मन रुन्छ । युनिभर्सिटीमा यस्तै अवस्था छ, म्यानपावर उत्पादन गर्न सकिएको छैन । सरकारको असहयोग र उपेक्षाभावकै कारण यस्तो दूरावस्था आइपरेको हो ।
० यसपटक उद्धार र राहतमा भएका प्रयासहरू कति प्रशंसनीय र कति आलोच्य देख्नुभयो ?
– सम्बन्धित क्षेत्रमा काम गर्ने विज्ञहरूको व्यक्तिगत तथा संस्थागत प्रयासबाट बितेको पाँच वर्षमा केही काम भएकाले यसपटक सर्च एन्ड रेस्क्युमा धेरै राम्रो काम भएको छ, तर त्यसबाहेक सरकारी स्तरबाट हुनुपर्ने अन्य काम–कुरामा धेरै कमेन्ट गर्नुपर्ने अवस्था छ । ‘डिस्यास्टर्स प्रिपिअरनेस नेटवर्क नेपाल (डिपिनेट नेपाल)को अध्यक्षको नाताले म व्यक्तिगत रूपमा पनि लागिपरेको छु । सरकार स्वयम् पनि यस संस्थाको एउटा मेम्बर हो । हामीले विपत् व्यवस्थापनको लागि गर्नुपर्ने कामहरूबारे अनेकौँ सुझाव दिएका छौँ सरकारलाई, यसको सुनुवाइ गरिदिए देशको ठूलो भलो हुन्थ्यो । तथापि, सरकारी निकायले पटक्कै सुनुवाइ नगरिदिँदा बेहाल अवस्था छ । नेपालमा ठूलो विपत्को सम्भावना रहेकोबारेमा उहिल्यैदेखि औँल्याइँदै आएको भए पनि सरकार यसरी बेसरोकार रहनु विडम्बनाको विषय हो ।
० भूकम्पले संविधान निर्माणको विषय नै ओझेलमा पर्ने देखियो नि, के भन्नुहुन्छ ?
– राजनीतिक विषयवस्तुमा म ठ्याम्मै नलागेको हुँदा यस्तो विषयमा कमेन्ट गर्नु त्यति उचित नहोला । तथापि एक सचेत नागरिकको नाताले भन्नुपर्दा आज राजनीतिक दल तथा नेताहरूको छवि जनमानसमा निकै खस्केको छ । यसरी गिरेको छविलाई उकास्ने हो भने नेताहरूलाई यो एक सुवर्ण अवसर हो भन्ने मलाई लाग्छ । राष्ट्रलाई नै पहिलो प्राथमिकतामा राखेर निःस्वार्थ भावले काम गर्दै देश र जनताको मन जित्ने बेला हो यो । तसर्थ, मुलुक र जनताका लागि नगरी नहुने काम इमानदारीका साथ गरेर नेताजीहरूले खस्केको छवि पुनः माथि उठाउनुपर्छ । भूकम्पको बहानामा फेरि पनि बहानाबाजी गरिए अब जनताले सहन्नन् भन्ने राम्ररी बुझ्नु आवश्यक छ ।
० विनाशले समृद्धि निम्त्याउँछ भनिन्छ, नेपालमा यस्तो सम्भावना कति देख्नुहुन्छ ?
– समृद्धि भन्ने कि के भन्ने, एउटा नयाँ आयामको सुरुवातचाहिँ हुनैपर्ने हो । तर, हाम्रो सोच र प्रवृत्तिका आधारमा अनुमान गर्ने हो भने त निराशा नै हात लाग्छ । काठमाडौंको प्लानिङ सरकारले नभई जग्गा दलालहरूले गरेका हुन् भन्ने गर्छु म । त्यसैले सरकार ६ फुटे बाटो भएको ठाउँमा पनि घर बनाउने स्वीकृति दिने गर्छ । तर, अब यस्तो नहोस्, सहरको प्लानिङ गर्ने जिम्मेवारी जग्गा दलालहरूको हातबाट खोसेर सरकार आफँैले लेओस्, फराकिला बाटाहरू बनून्, आवासको निम्ति अन्तर्राष्ट्रिय समुदायले अवलम्बन गरेका प्रविधि र मापदण्ड अपनाएर निर्माणका काम गरियून्, नकारात्मक परिणाम दिने सोचाइ वा प्रवृत्ति बदलियोस् र विकासको नयाँ चरण देख्न पाइयोस्, अहिले यही कामना गरौँ ।

प्रतिक्रिया
सम्बन्धित खवर

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४७ बमोजिम प्रत्येक स्थानीय तहमा उपाध्यक्ष÷उपप्रमुखको संयोजकत्वमा न्यायिक समिति गठन गरिएको छ ।

बाबा राजेश्वरी थापा, भियना, अष्ट्रिया । सन् २०१९ को अन्त्यमा चीनको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस संक्रमणका कारण आजको

नेपाली र विदेशी सञ्चारमाध्यममा गत मङ्सिर २३ गते एउटा विषयले निकै चर्चा पायो । सो दिन विश्वले नेपाललाई चिन्ने सगरमाथाको

लोकतान्त्रिक आन्दोलनको सफलतासँगै नयाँ संविधान जारी गरिएपछि मुलुकमा स्थिरता र समृद्धिका लागि जनादेशप्राप्त सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेतृत्व