कोइरालाले पदत्याग नगरे एमाले अविश्वास प्रस्ताव ल्याउने तयारीमा

१ जेष्ठ २०७२, शुक्रबार ०२:११ मा प्रकाशित

काठमाडौँ, १ जेष्ठ । प्रधानमन्त्री सुशील कोइरालाले पदत्याग गरेर राष्ट्रिय सहमतिको सरकार गठनका लागि मार्ग प्रशस्त नगरे उहाँका विरुद्ध अविश्वासको प्रस्ताव ल्याइने भएको छ । भूकम्पले क्षतिग्रस्त तुल्याएको मुलुक पुनर्निर्माणका लागि गतिशील नेतृत्व र सर्वपक्षीय सरकारको आवश्यकता महसुस भएपछि सबै प्रमुख दलहरू र जनतासमेत सुशील कोइरालालाई बिदाइ गर्ने पक्षमा छन् । तर, कोइराला भने पद त्याग नगर्ने हठ गर्दै हुनुहुन्छ । उहाँ आफ्नै नेतृत्वको सरकारलाई सहमतीय सरकारको रूप दिनुपर्ने अडानमा रहनुभएको छ । नेतृत्व असक्षम र गतिहीन भएकै कारण सरकार परिवर्तनको मुद्दा गम्भीरताका साथ उठेको तथ्यबोध सुशील कोइरालालाई भइरहेको छैन । बरु भारत र चीनको औपचारिक भ्रमण गर्ने रहर पूरा गर्ने प्रयासमा उहाँ लाग्नुभएको छ । महिना दिनभित्रै भारतको भ्रमण गर्ने र त्यसपछि चीनको भ्रमणमा जाने इच्छा कोइरालाले आफ्ना परराष्ट्र मामिला सल्लाहकारमार्फत सम्बन्धित मुलुकका कूटनीतिक नियोगहरूमा पु-याउनुभएको छ । भारत र चीन दुवैले प्रधानमन्त्रीको इच्छालाई सकारात्मक रूपमा लिएको र भारतले त भ्रमणको तिथि तय गर्ने प्रक्रिया पनि अघि बढाइसकेको बुझिएको छ । यसरी भारत सुशील कोइरालालाई नयाँदिल्ली भ्रमण गराउने तयारीमा रहेको भए पनि कोइरालाले प्रधानमन्त्रीका रूपमा भारत भ्रमणको अवसर पाउने सम्भावना भने कमै रहेको छ । ०५६ मा तात्कालिक प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले तय भइसकेर पनि फ्रान्सको भ्रमण गर्न नपाएकै नियति सुशीलले यसपटक भोग्ने अवस्था बन्दै छ । ज्ञातव्य छ, त्यसबेला कृष्णप्रसाद भट्टराईले फ्रान्सको भ्रमणबाट फर्किएर आएपछि राजीनामा दिन्छु भन्दा पनि यिनै सुशील कोइरालाले ‘त्यस्तो मौका नदिन’ गिरिजाप्रसादलाई सुझाउनुभएको थियो । यसपटक किसुनजीले भोग्नुपरेको नियति स्वयम् सुशीलले व्यहोर्नुपर्ने सम्भावनाका सङ्केतहरू देखिएका छन् । भ्रमणको तयारी गर्दागर्दै कम्तीमा एक महिना लाग्नेछ, तर सुशील कोइरालालाई महिना दिनभित्रै पदमुक्त गर्ने योजना बनिसकेको छ । कोइरालाले तत्काल राजीनामा नदिए अविश्वासको प्रस्ताव ल्याएर विस्थापित गरिने भएको छ । सत्तासाझेदार दल नेकपा एमाले सुशील कोइरालाबाट ‘आजित’ भइसकेको र अब सतीदेवीलाई महादेवले झैं कोइरालालाई बोकेर हिँड्न नसकिने निष्कर्षमा पुगेको छ । स्थितिको गम्भीरतालाई बुझेर कोइरालाले पदत्याग नगरे अविश्वासको प्रस्ताव ल्याएर भए पनि उहाँलाई हटाउने मानसिकता एमाले नेतृत्वले बनाइसकेको छ । एक सूत्रले जनाएअनुसार एमालेले अविश्वास प्रस्ताव ल्याउनका लागि आवश्यक तयारी गरेको छ र अब कुनै पनि दिन एमालेले आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउन सम्भव छ । अविश्वासको प्रस्ताव ल्याउनुअघि सम्बन्धित दलले मन्त्रीहरूलाई फिर्ता बोलाउनु राजनीतिक र नैतिक दृष्टिले पनि आवश्यक ठानिन्छ । यसरी सत्ता साझेदार दल नेकपा एमालेले सुशील कोइरालालाई बोकेर नहिँड्ने सोच बनाउँदै गर्दा कोइरालाको क्षमता र कामलाई लिएर काङ्गे्रसभित्रै पनि उहाँको व्यापक आलोचना भइरहेको छ । पार्टीभित्रबाट उहाँमाथि सरकार छोड्न दबाब परिरहेको छ । मंगलबार (वैशाख २९) गते बिहान बसेको काङ्गे्रस संसदीय दलको बैठकमा पनि सभासद्हरूले प्रधानमन्त्री कोइरालाको व्यापक आलोचना गर्दै पदत्याग गर्न सुझाव दिएका थिए । कोइरालाविरुद्ध अविश्वासको प्रस्ताव कसैले दर्ता गरेमा काङ्गे्रसकै सभासद्हरूसमेत कोइरालाको पक्षमा मतदान गर्न संसद्मा उपस्थित नहुने सम्भावना छ । त्यसैले राजीनामा दिएर नयाँ सरकार निर्माणका लागि मार्ग प्रशस्त गर्नुमै कोइराला स्वयम्को पनि हित देखिन्छ । घोक्य्राएर निकालिने कि मर्यादित ढङ्गले पदत्याग गर्ने दुईबाहेक तेस्रो विकल्प सुशील कोइरालाका अघिल्तिर देखिएको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले केन्द्रीय सदस्यहरुलाई पार्टीको परिचयपत्र र नागरिकतासहित उपस्थित हुन निर्देशन दिएको छ ।

काठमाडौं । झापा जिल्लाको बिएण्डसी शिक्षण अस्पताललाई सम्बन्धन दिने तयारी भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताए । उनले आज बिर्तामोडस्थित

काठमाडौं । समृद्धिको यात्रामा अघि बढेको मुलुकमा पछिल्लो दुई वर्षमा आर्थिक अपराधका ठूलाठूला घटनाको पर्दाफास भएको छ । राजश्व छलीमा

काठमाडौं । सरकारले नेत्र विक्रम चन्द समूहसँग वार्ता गर्न दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । वार्ता टोलीमा गृहमन्त्री