झगडा गर्ने दिमाग गयो, अब संविधान बन्छ: अध्यक्ष दाहाल

२७ बैशाख २०७२, आईतवार २३:३२ मा प्रकाशित

गोरखा, २७ वैशाख । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले झगडा गर्ने दिमाग कुनै राजनीतिक दलका नेतासँग नभएकाले अब संविधान निर्माणको वातावरण बन्दै गएको बताउनुभएको छ । तीन दलको प्रस्ताव र अन्य दलको समर्थनमा राष्ट्रिय सङ्कल्प प्रस्ताव पास भइसकेको भन्दै दाहालले अब संविधान निर्माणको सङ्केत देखापरेको उल्लेख गर्नुभयो ।

विनाशकारी भूकम्प गएपछिको अवस्थाबारे बुझ्न आइतबार गोरखा आउनुभएका दाहालले भन्नुभयो, “संविधान निर्माण दोस्रो कुरा हो भनेर छोड्नु हुँदैन । अब झगडा गर्ने दिमाग गयो । यत्रो धनजनको क्षति भयो । संविधान र राहत सामग्री वितरण, पुनःस्थापनाको काम सँगसँगै गर्नुपर्छ ।”

सरकार र प्रतिपक्ष भन्नुभन्दा पनि सबै दल एकजुट भएर देशलाई नयाँ दिशातर्फ अगाडि बढाउनुपर्ने दाहालको भनाइ छ । भूकम्प गएपछि देशलाई विकास गर्ने मौका आएको अध्यक्ष दाहालले बताउनुभयो ।

उहाँले नेपाल बनाउने, विकास गर्नेतर्फ सबै दल मिलेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

“आउने १५ वर्षभित्र नेपाललाई धेरै परिवर्तन, विकास गर्नुपर्छ” दाहालले भन्नुभयो, “संसारले हामीलाई हेरेको छ । हामी नयाँ सङ्कल्प गरेर अगाडि बढौँ । आफ्नो अर्को पार्टी नभनी एक भएर अगाडि बढौँ ।”

एकले अर्कोलाई सहयोग गरेर विपद्को क्षणलाई समाधानतर्फ लैजानुपर्ने उहाँले बताउनुभयो ।

अध्यक्ष दाहालले राष्ट्रिय सरकार गठन गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय शक्तिहरू एक ठाउँमा उभिनुपर्ने भन्दै दाहालले राष्ट्रिय सरकार राष्ट्रिय एकताको रूप मात्रै भएको उल्लेख गर्नुभयो ।

हिजो विवाद गरेका दलहरू एउटै सङ्कल्प प्रस्तावमा सहमत भएकाले अब संविधान पनि निर्माण हुने, स्थानीय चुनाव गर्नेतर्फ लाग्नुपर्ने बताउनुभयो ।

“राष्ट्रिय सरकार नै चाहिन्छ भन्ने हाम्रो अडान होइन”, उहाँले भन्नुभयो, “प्रधानमन्त्रीको नेतृत्वमा शक्तिशाली प्राधिकरण पनि गठन गरेर राष्ट्रिय एकता गर्न सकिन्छ । सरकार नै गठन गर्नुपर्छ भन्ने होइन ।”

दाहालले भूकम्पको केन्द्रविन्दु रहेको बारपाक गाउँ, लाप्राक र गुम्दा गाउँका भूकम्पपीडितसँग भेटघाट गर्नुभएको थियो ।

भूकम्पपीडितले अझै पनि राहत सामग्री नपाएको आफूसँग गुनासो गरेको भन्दै उहाँले त्रिपालसमेत नपाएका पीडितलाई तत्कालै राहत सामग्री पुर्याउन स्थानीय प्रशासनलाई आग्रह गर्नुभयो । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

खलङ्गा । जुम्ली मार्सी चामल र जैविक सिमीलगायत कृषिवस्तुका माग अन्तररष्ट्रिय बजारमा बढ्न थालेको छ । जिल्लाबाट पहिलोपटक रु छ

कोरोना महामारीका कारण अहिले धेरैजसो चिजबस्तुहरुको खरिद विक्री अनलाईनबाटै हुन थालेको छ । थुप्रै ब्यापारिक अनलाईन साइटहरु पनि सञ्चालनमा आएका

रुकुम (पूर्व) का कृषक ओखर खेतीतर्फ आकर्षित भएका छन् । प्रशस्त मात्रामा हाडे ओखर पाइने यस जिल्लाका कृषक पछिल्लो समय

गलकोट । बागलुङ जिल्लामा बर्सेनि सम्बन्धविच्छेदका घटना बढ्दै गएको छ । जिल्ला अदालत बागलुङमा परेका मुद्दा र फैसलाको तथ्याङ्कअनुसार सम्बन्धविच्छेद