भूकम्पअघिको नेपाल ‘नो पाल’ बनेपछि….::देवप्रकाश त्रिपाठी

२५ बैशाख २०७२, शुक्रबार ०२:१९ मा प्रकाशित

नेपालमा राजनीतिकर्मी र राज्य पटक–पटक ‘एक्स्पोज्ड’ हुने गर्छ, महाभूकम्पपछिका हरेक क्षण राज्य थप ‘एक्स्पोज’ भएको छ । कमिला देखिए कुना पस्ने, हात्ती देखे हात पसार्ने, दुलो भेटे लुक्ने र निरीह जनताका अघिल्तिर मात्र भुक्ने हाम्रो राज्य यसरी लुलो र लुच्चो हुनुमा उच्च राजनीतिकर्मी र उच्चपदस्थ कर्मचारीबाहेक अरू कसैलाई जिम्मेवार ठहर गर्नुप-यो भने औँला हामी जनता आफैँतिर सोझिन सक्छ । देशको विकास नहुनु, अर्थतन्त्र सबल हुन नसक्नु, अशान्ति र आपराधिक क्रियाकलाप बढ्नु, सुशासन नहुनु र अनुशासनहीनता बढ्नु भनेको राज्य अर्थात् उसको भूमिका कमजोर हुनु हो, राज्य कमजोर हुँदा हामी जनताको योग्यता, क्षमता, आत्मसम्मान र आत्मविश्वास दुर्बल बन्न पुगेको छ । जनता सक्षम भए राज्य बलियो हुनसक्छ र राज्य बलियो भए अनेक समस्याको समाधान देशभित्रैबाट सम्भव हुन्छ । चीनमा केहीअघि महाभूकम्प जाँदा उसले विदेशी सहयोग पूरै अस्वीकार ग-यो । सुनामीको चपेटामा परेको थाइल्यान्डले विदेशी सहयोग अस्वीकार गर्दै आफ्ना छिमेकी मुलुक (कम्बोडिया, म्यानमार आदि) लाई सहयोग गर्न विदेशीलाई सुझाव दिएको पनि धेरै वर्ष भएको छैन । अचानक आइपर्ने विपत् व्यवस्थापन गर्ने क्षमताका आधारमा राज्यको स्तर निर्धारण गर्न सकिन्छ । त्यसैले समृद्ध एवम् आफ्नो प्रतिष्ठाप्रति संवेदनशील मुलुकले अन्तरिम विपत् व्यवस्थापनमा सकेसम्म अर्काको सहयोग लिन चाहँदैनन् । तर, माग्नुलाई नैसर्गिक अधिकार ठान्ने नेपाली राजनीतिकर्मी तथा कर्मचारीहरूले यसपटक पाल पनि मागे, घरविहीन हुन पुगेका जनतालाई पालसमेत उपलब्ध गराउन नसक्ने राज्यको सरकारमा मन्त्री, प्रधानमन्त्री र सचिव, मुख्यसचिव आदि बनेर बिचरा यिनले आफूहरूलाई आम्स्टर्डमका गल्लीमा आफ्ना तन बिक्रीमा राख्ने युवतीसरह ‘एक्स्पोज’ गरे, गरिरहेका छन् । पहिले प्रचण्ड–बाबुरामहरूले जनयुद्ध शीर्षकमा रोल्पा–रुकुमतिर गुलेली र भरुवा बन्दुक देखाए, राज्य नराम्रोसँग तर्सियो र अन्ततः मित्रराष्ट्र भारतलाई गुहारेर आफ्नो रक्षा गर्ने तहमा ओर्लियो । प्रचण्डहरूले त्यसरी भरुवा बन्दुक देखाएकै भरमा राज्य गलिगलान् होला भन्ने ठानिएको थिएन । नठानिएकै घटना भयो, राज्य गल्यो र त्यसपछि को कसको मर्जी चल्यो–चल्यो । वैशाख १२ गते (२०७२ वि.सं.) महाभूकम्प आएपछि तीन दिनसम्म कहीँ कतै राज्यको प्रभावकारी उपस्थिति महसुस गरिएन । बरु नरेन्द्र मोदी नेतृत्वको भारतले सबैभन्दा पहिले तदारुकता देखायो । पीडितहरूको उद्धार र राहत सामग्री उपलब्ध गराउने मामिलामा हाम्रो आफ्नै राज्यलाई उछिन्ने गरी भारत प्रकट भयो, नेपाली राज्यसत्ताका ठेकेदारहरूले लज्जाबोध गरेको महसुस हामी कसैले पनि गर्न पाएनौँ । सुशील कोइरालाभन्दा नरेन्द्र मोदीजीले चाँडो ‘रेस्पोन्स’ गरेपछि भूकम्पपीडितहरूले राज्यको केन्द्रबिन्दु कहाँ छ भन्ने ठाने होलान् ? सहजै अनुमान गर्न सकिन्छ । विदेश भ्रमणमा रहेका प्रधानमन्त्री सुशील कोइरालाभन्दा धेरै चाँडै भारतीय उद्धारकर्मीहरूले नेपालमा आफ्नो काम सुरु गरिसकेका थिए । महाविपत्तिको तीन दिनपछि स्वदेश आएर मुस्कुराउँदै टेलिभिजनमा देखापरेका प्रधानमन्त्री सुशील कोइराला जनताले भोग्नुपरेको पीडाप्रति कति दुःखी बनेका रहेछन् भन्ने उनको एकै मुस्कानले पुष्टि गरिहाल्यो । आफ्नो उपचारसमेत स्थगित गरेर तीन दिनपछि नेपाल फर्कनुलाई कोइरालाको ठूलो येगदानका रूपमा प्रचार गराए, उनले कर्मचारी तथा सम्बद्ध निकायलाई ‘निर्देशन दिनेजस्तो महानतम् कठिन कार्य’ सम्पन्न गरेको घोषणा टेलिभिजनबाट गरिदिए । सिंहदरबारको कौसीबाट नाङ्गो आँखाले देखिने गोंगबु क्षेत्र र नजिकैको भक्तपुरमा घर ढलेर पुरिएका मानिसको उद्धार गर्न नसक्ने र मृतकलाई भग्नावशेषबाट बाहिर ल्याउने हुति नभएको सरकारको मुखियाले गोरखादेखि सिन्धुपाल्चोक र दोलखासम्मका विकटतम् गाउँका मानिसलाई राहत दिने सक्रियता दर्शाएका छन् भन्ने कसरी मानौँ ? नेपाल, नेपाली र नेपाली र नेपाली सेना नै ओझेल पर्ने गरी विदेशी सेनाको ताँती लाग्दा टुलुटुलु हेरिबस्नेले देशको सार्वभौमिकताको रक्षा र सम्मान गर्ने विश्वास कसरी गरौँ ?
विपत्तिले ध्वंस गर्छ र त्यस क्रममा पीडितहरूको उद्धार गर्नु या तिनलाई राहत दिनु न्यूनतम तर अनिवार्य कार्य हो । त्यसपछि मूल काम त बाँकी नै रहन्छ, त्यो हो निर्माण । वि.सं. १९९० सालमा भूकम्प जाँदा तात्कालिक प्रधानमन्त्री जुद्धशमशेर राणाले पीडितहरूलाई टुँडिखेलमा राखेर पाले, कालाबजारी गर्ने र आपराधिक कार्यमा संलग्न रहनेविरुद्ध कठोर कदम चाले र पछि देशकै मुटु ठहर हुनेगरी नयाँसडक (न्युरोड) निर्माण पनि गरे । तर, जनतालाई सामान्य राहत दिन नसक्ने सुशील कोइरालाबाट निर्माणको अपेक्षा राख्नु भनेको आफैँलाई धोखा दिनु हो ।
नेपाल भूकम्पीय जोखिमयुक्त मुलुक भन्ने तथ्यबारे सम्पूर्ण विश्व जानकार छ भने सुशील कोइराला र उहाँको सरकार मात्र बेखबर थियो भन्न सकिएन । तर, महाभूकम्पपश्चात् राज्य र सरकारले दर्शाएको टिठलाग्दो व्यवहारले सुशील कोइरालाहरू कुनै पनि विपत्का लागि किञ्चित तयार थिएनन् भन्ने पुष्टि गरेको छ । भूकम्प होस् या अन्य कुनै पनि विपत्ति आइपर्दा अस्थायी बसोबास, खाना, पानी र स्वास्थ्योपचार पहिलो प्राथमिकतामा पर्छ भन्ने जानकारी पाउन कुनै व्यक्ति प्रधानमन्त्री बनिरहनुपर्दैन । विपत् आइपरेमा के गर्ने भन्ने विषयमा सरकारमा रहनेहरूले नसोचिदिएका कारण पीडितले पालसम्म पनि पाउन सकेनन्, राज्यको निरीहपना अन्तर्राष्ट्रियकरण भयो, नेपालीहरूले थप उपेक्षित र अपमानित हुनुपर्ने अवस्था बन्यो, यसका लागि राज्यको प्रतिनिधित्व गर्ने सुशील कोइरालालाई जिम्मेवार ठहर नगरेर कमल कोइरालालाई गर्न मिल्ने छैन । ‘पदमा आसक्ति नराख्ने, इमानदार, स्वच्छ छविका, भ्रष्टाचारविरोधी आदि–इत्यादि विशेषण पाएका सुशील कोइरालाले निर्धारित समयमा संविधान निर्माण गर्न नसक्दा त नैतिकताका आधारमा पद त्याग गर्न सक्नुभएन, पीडित जनतालाई समयमै राहत दिन नसकेपछि पदत्याग गरिदिएको भए सुशील कोइरालाको उचाइ घट्ने क्रम नियन्त्रित हुन सक्थ्यो । सिंहदरबार कीर्तिनिधि विष्टले जलाएका थिएनन्, तर जलेकै भोलिपल्ट प्रधानमन्त्री पदबाट उनले राजीनामा दिएका थिए । दशरथ रंगशालामा आँधी–बेहरी ल्याएर तात्कालिक शिक्षा तथा खेलकुदमन्त्री केशरबहादुर विष्टले दर्जनौँ नागरिकको निधन हुने स्थिति बनाएका थिएनन्, तर विष्टले नैतिकताका आधारमा तत्काल राजीनामा दिए र दोष आफूमा लिँदै राज्यको इज्जत रक्षा गरेका थिए । सुशील कोइरालाले पञ्चायतकालीन मन्त्री/प्रधानमन्त्रीले जत्तिको नैतिकता प्रस्तुत गर्न सक्नु भएन । आफ्नो हुर्मत जोगाउन राज्यको हुर्मत लिने काम उहाँबाट भइरहेको छ । अक्षमहरू अघि सर्नुभन्दा पछि हट्दा नै उनीहरूको इज्जत रहन्छ र राज्यको पनि नाक जोगिने सम्भावना हुन्छ भन्ने तथ्यबोध सुशील कोइरालामा भएको छैन भने कीर्तिनिधि र केशरबहादुरबाट सिक्नुप-यो, राज्यको प्रतिष्ठा रक्षाका निम्ति कोइरालाले पछि हटिदिनुप-यो । होइन भने क्यान्सरपीडित कोइराला या कोइरालापीडित राज्य दुईमध्ये एउटालाई मात्र जोगाउन जनस्तरले बेग्लै सक्रियता देखाउने सम्भावना असम्भव हुनेछैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । झापा जिल्लाको बिएण्डसी शिक्षण अस्पताललाई सम्बन्धन दिने तयारी भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताए । उनले आज बिर्तामोडस्थित

सिजन मिडियाद्वारा आयोजना गरेको ‘लेट मी इन मिसेज ब्युटी क्विन नेपाल सिजन ४’ की विजेता ललितपुरकी रश्मि शाक्य हुनुभएको छ

काठमाडौँ । स्वास्थ्य उपचारका लागि नयाँ दिल्लीमा रहको पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई आज स्वदेश फर्किन लागेका हुन् । न्युरो–इन्डोक्राइनको

धादिङ । एक्स्काभेटरको ठक्करबाट घाइते भएकी एक महिलालाई चालकले जिउँदै पुरिदिएका छन् । त्रिपुरासुन्दरी १ सल्यानटारको खोल्सी जिपजिपेमा सडक निर्माणका