माओवादीले एक झापड हाने अब जनताले दुई झापड हान्नेछन् – उदयशमशेर राणा (अध्यक्ष, नेपाल तरुण दल)

३२ जेष्ठ २०६९, बिहीबार १७:१७ मा प्रकाशित


काङ्ग्रेसमा पुराना नेताले केही गर्न नसकेकाले युवा नेताको जरुरत परेको ठानिन्थ्यो, तर अवसर पाएका युवाले पनि क्षमता देखाउन सकेनन् भन्ने गुनासो बढेको छ, यसको उदाहरणका रूपमा तपाईंलाई पनि लिन सकिएला ?
– अहिले नै त्यतिसम्म भन्नु अलिक बढ्ता नै होला । तपाईंले भनेजस्तै पुराना नेताहरूले पार्टीका लागि दिन सक्ने कन्ट्रिब्युसन दिइसके, अब युवाहरू नै अघि सर्नुपर्छ, युवालाई नै स्थान दिनुपर्छ भन्ने धारणा पार्टीभित्र र बाहिरबाट पनि त्यत्तिकै सुनिन्छ । मेरो विषयमा भन्नुपर्दा म आफूलाई नेपाली काङ्ग्रेसको एउटा कार्यकर्ता नै ठान्छु, केन्द्रीय पङ्क्तिमा त म आइसकेको छैन । तरुण दलको अध्यक्षको जिम्मेवारी मैले हालै मात्र पाएको हुं । मेरो ‘टेस्ट’ हुन त अझै समय लाग्छ भन्ने मेरो बुझाइ छ । पार्टीको केन्द्रीय समितिमा बाह्रौं महाधिवेशनबाट थुप्रै युवा साथी जितेर आएनुभएको छ र उहांहरूले वर्तमान परिवेशमा दर्शाउनुभएको भूमिकाप्रति मचाहिं सन्तुष्ट नै छु । स–साना गाउंस्तरका कार्यक्रममा पनि पुगेर उहांहरूले काङ्ग्रेसको पक्षमा लहर ल्याउन पहल गर्नुभएको देखिन्छ, तर शीर्षकतहबाट जति सपोर्ट मिल्नुपर्ने हो, त्योचाहिं उहांहरूले पाउनुभएको छैन ।
तपाईंले तरुण दल अध्यक्षको जिम्मेवारी पाउनुभएको ६–७ महिना भइसकेको छ, यसबीचको आफ्नो भूमिकासंगचाहिं सन्तुष्ट हुनुहुन्छ ?
– मुख्य कुरा के भने मैले यो कमिटी ढिलै पाएं, तथापि यसबीच तरुण दलले थुप्रै कार्यक्रम लञ्च गरिसकेको छ । त्यति असन्तुष्ट हुनुपर्ने अवस्था त छैन ।
आफ्नो कमिटी बनाउने अधिकार पनि तपाईंलाई छैन या थिएन ?
– सर्वसम्मत रूपमा मलाई पार्टीले अध्यक्ष चुने पनि आफ्नो तजबिजले कमिटी बनाउनका लागि म स्वतन्त्र थिइनं या छैन भन्नैपर्छ । पार्टी नेतृत्वको सम्झौताबाट कमिटी बनेको हो । नेतृत्वबाट जुन नामहरू आएको छ– त्यसप्रति म असन्तुष्ट त छैन तर अध्यक्षका नाताले पूर्ण स्वतन्त्र भई सदस्यहरू चयन गर्न पाउंदा साङ्गठनिक गतिविधिमा थप सहजता र चुस्तता आउंछ भन्ने यथार्थलाई इन्कार गर्न त सकिन्न नि ।
त्यसो भए तपाईंलाई सहयोग पुग्नेगरी साथीहरू पठाइएनन् कमिटीमा ?
– त्यस्तो होइन । सबै युवा साथीहरू पार्टीकै कार्यकर्ता हुन्, सबै तरुण दलकै वफादार सिपाही नै हुन् । म धेरै ‘तेरो–मेरो’ भन्ने पक्षमा पनि छैन । अध्यक्षको जिम्मेवारी बोकेको व्यक्तिले कसैलाई काखा र पाखा गर्नुभन्दा सबैलाई समेटेर लैजाने प्रयत्न गर्नुपर्छ भन्ने मान्यता मेरो छ ।
तपाईं वरिष्ठ नेता देउवाको कोटाबाट तरुण दलको अध्यक्ष बन्नुभएको भनिन्छ, अब तपाईंमा चाहिं सबैलाई एउटै देख्ने क्षमता छ भनी कसरी पुष्टि गर्ने ?
– मैले त आफ्नो कुरा भन्ने हो, भनेअनुसार व्यवहारमा उतार्ने हो । अब त्यसको पुष्टि त समयक्रमले गरिहाल्ला नि । तरुण दलको अध्यक्ष हुनुअघि पार्टीको जिल्ला नेतृत्वका लागि काम गरेकै व्यक्ति हुं । त्यहां म कुनै नेताविशेषको पक्षधरका रूपमा काम गर्थें या पार्टीको समग्र हितमा, त्यो त खेजे भइहाल्छ । मेरो त्यस्तो नेचर नै होइन, त्यसमाथि अहिलेको परिस्थितिमा त झन् सबै साथी मिलेर अगाडि बढ्नुपर्ने हुन्छ । काङ्ग्रेसभित्रको द्वन्द्वभन्दा माथि उठेर हामी युवाले काम गर्नुपर्ने अवस्था किन पनि आएको छ भने यतिबेला लोकतन्त्रमाथि खतरा मडारिएको छ, देश नै रहला–नरहला भन्ने त्रास पैदा भएको छ । नेपाली काङ्ग्रेस र तरुण दलका युवाहरूको कांधमा यस सङ्कटबाट देशलाई मुक्त तुल्याउने गम्भीर दायित्व रहेको छ ।
तरुण दललाई कसरी अघि बढाउने सोच बनाउनुभएको छ तपाईंले ?
– मलाई पार्टीले दिएको मूल म्यान्डेट भनेको दलको अधिवेशन सम्पन्न गराउनु हो । यसका लागि केही महिना मात्रै अवधि तोकेर दिइएको छ । तरुण दललाई पुरानै फर्ममा ल्याउनका लागि तत्कालको आवश्यकता भनेको अधिवेशन नै हो भन्ने पार्टीको पनि ठहर छ । हाम्रा गाउं, जिल्ला र केन्द्रमा बसेर प्रसस्तै काम गरिसकेका कैयन साथीहरू त्यत्तिकै अड्किएर बसेका छन् । उहांहरूलाई पार्टीमा जाने अवसर दिएर तरुण दलभित्र नयां जोससहितका युवा साथीहरू ल्याउनुपर्ने धारणा हाम्रो छ । गाउं, जिल्ला र केन्द्रमा तरुण दलको अधिवेशन सम्पन्न भइसकेपछि दल त्यत्तिकै पनि चुस्त भएर अघि बढ्ने विश्वास मलाई छ ।
देश सङ्कटमा रहेको कुरा गर्नुभयो, वास्तवमा देशलाई कसरी देखिरहनुभएको छ तपाईंले ?
– अहिलेको परिस्थिति अत्यन्त अन्योलमा छ । धेरै प्राविधिक तथा कानुनी कुराले पनि अप्ठ्यारो पारेको छ । तर, दुईवटा कुरामा म स्पष्ट छु कि वर्तमान कामचलाउ प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ र चुनाव पनि गर्नैपर्ने हुन्छ । चुनाव कसरी गर्ने भन्ने कुरामा सबै पार्टीको संयुक्त सरकार बनाएर मात्र निर्णय लिन सकिन्छ । त्यसपछि अघि बढ्न त सहमति आवश्यकता छ ।
काङ्ग्रेस रक्षात्मक अवस्थामा आइपुगेको देखिन्छ, यसरी पछिपर्नुमा माओवादीको एजेण्डा बोकेर हिंड्नु एक प्रमुख कारण हो भन्ने लाग्छ कि लाग्दैन तपाईंलाई ?
– मलाई त त्यस्तो लाग्दैन । यतिबेलाको परिस्थिति फरक हो, शान्तिप्रक्रियालाई टुङ्ग्याउनुपर्ने बेला हो यो । यस्तोमा अब शान्तिप्रक्रिया अन्तिमा–अन्तिमतिरै आइपुगेको छ र यो काम काङ्ग्रेसकै एजेण्डाअनुरूप नै भइरहेको छ भन्ने मलाई लाग्छ । कति कुरामा माओवादी, एमाले र तराईतिरका पार्टीले उठाएका एजेण्डामा पनि काङ्ग्रेसले कम्प्रोमाइज गर्न सक्नुपर्छ, गरेको छ । सबै हामीले भनेका कुरा मात्रै लागू हुन्छ या हुनुपर्छ भन्ने पनि छैन यस्तो सङ्क्रमणकालीन राजनीतिमा । काङ्ग्रेस पनि र अरू पनि अलिक लचकदार नै हुनुपर्छ यतिखेर । त्यसरी लचकदार भएको अवस्थालाई अर्काको एजेण्डामै हिंड्यो भन्नु अलिक अतिसयोक्तिपूर्ण हुन्छ ।
काङ्ग्रेसले आफ्नो सबै कुरा छोडिसक्यो, छोड्न बांकी भनेको ‘संसदीय प्रजातन्त्र’को पुरानो धारणा मात्रै त हो, अब यो पनि छोड्नुपर्छ भन्ने तपाईंको भनाइ हो ?
– तपाईंले भन्नुभएजस्तै काङ्ग्रेसले सबै छोडेजस्तो त मलाई लाग्दैन । प्रजातन्त्रको सवालमा काङ्ग्रेसले कुनै सम्झौता गर्दैन, बांकी कुरा प्राविधिक रूपमा छोडेजस्तो देखिएको मात्र हो । समयानुकूल हिंड्नखोज्नु अर्कै कुरा हो तर सिद्धान्तच्युत नै भएर त कसरी अस्तित्व रहन सक्छ र ?
काङ्ग्रेसले संसद्को सर्वोच्चतालाई छोड्न हुन्छ कि हुंदैन त अब ?
– राज्यमा न्यायपालिका, व्यवस्थापिका र कार्यपालिकाले मिलेर काम गर्नुपर्छ र आ–आफ्नो स्वतन्त्र अस्तित्व पनि राख्न सक्नुपर्छ । त्यसैले त्योभित्र विभिन्न सिस्टमहरू छन् । ती सिस्टमबारे हामी कम्प्रोमाइज गर्न सक्छौं, तर कार्यपालिकाले व्यवस्थापिकालाई डोमिनेट गर्ने, व्यवस्थापिकाले न्यायपालिकालाई डोमिनेट गर्ने अनि न्यायपालिकाले अर्कोलाई डोमिनेट गर्नेचाहिं हुनुहुंदैन ।
नेपाली तरुणहरूको प्रवृत्ति तपाईंले कस्तो पाउनुभएको छ ?
– प्रवृत्ति अलिक बिग्रेको स्वीकार गर्नैपर्छ, सबैले देखे–बुझेको कुरो हो यो । युवाहरू अलिक छाडापनको सिकार बन्न लागेका पो हुन् कि भन्ने अनुभूति पनि हुन्छ । बितेको दश वर्षमा यस्तो छाडापन हुर्कियो । यस्तो किन भयो भनी घोत्लिंदा मैले पाएं कि नेपाली युवाले अरूको सुन्नेभन्दा पनि आफ्नै दिमागले फैसला गर्न थालेका छन् । जुन व्यक्तिले नेपाली समाजमा हिंसाको भाव बढाए, जसले हत्या–हिंसा मच्चाए, ध्वंश रचे, जसले मानिसलाई विस्थापित गरे, जसले भयको सिर्जना गराए, त्यस्ता व्यक्ति नै पुरस्कृत भएर अहिले मन्त्री, प्रधानमन्त्री बनेको र विभिन्न महŒवपूर्ण पदमा पुगेको देखेर नेपाली युवाले पनि सोच्न थाले कि नराम्रो काम गरे पनि ओहदा पाइंदोरहेछ भने हामी पनि त्यस्तै किन नगर्ने ? सीधै व्यक्त नगरे पनि नेपाली युवाको मेन्टालिटी यस्तै बनेको छ । मूल कुरो के हो भने ‘रुल अफ ल’लाई सबै पार्टीले अवलम्बन गर्दैनन् तबसम्म युवाहरूमा यस्तो विकृति कायम रहन सक्छ । यसमा गम्भीर हुनु जरुरी छ ।
यस्तो प्रवृत्तिमा परिवर्तन ल्याउन के गर्नुपर्ला ?
– हो, यो गम्भीर प्रश्न हो । सबै मिलेर यस्तो खतरनाक प्रवृत्तिविरुद्ध लागिपर्नुपर्छ । विशेषगरी माओवाद पार्टी नेतृत्वले के बुझ्नुपर्छ भने रुल अफ ल भनेको सबैलाई लागू हुनुपर्छ । अपराध र अपराधीलाई प्रश्रय दिने र दण्डहीनताको अवस्था हुर्काउने गल्ती कसैले गर्नुहुंदैन । माओवादीले बालकृष्ण ढुङ्गेलजस्ता व्यक्तिलाई प्रश्रय दिने, पुरस्कृत गर्ने गरेसम्म समाजले रुल अफ ल फलो गर्न सक्दैन । यो एउटा उदाहरण मात्र दिएको मैले । रुल अफ ल फलो गर्ने अवस्था नहुंदासम्म नेपाली युवामा छाडापन बढ्ने खतरा छ । प्रचण्ड–बाबुराम आफै हिंसाको माध्यमबाट सत्तामा पुगेका होइनन् र । उनीहरूलाई जनताबाट कारबाही हुनुपर्ने ठाननुहुन्छ तपाईं ?
– जनताले कारबाही गर्ने भनेको अब चुनावको समयमा हो । योभन्दा पहिले पनि नेपाली जनताले माओवादीलाई भोट हाल्न खोजेका होइनन्, बाध्यतामा पारिएकोले मात्र हो । माओवादीलाई सिंहदरबारतिर पठाइदिन पाए गाउंमा दुःख पाइन्थ्यो कि भन्ने भावना जनतामा उत्पन्न भएर मात्र हो । लाग्छ, अब आउने निर्वाचनमा जनताले माओवादीलाई भोट नहालेर उचित सजाय दिनेछन् ।
माओवादीले त फेरि पनि पहिलेकै जस्तो धम्की दिन सक्छन् नि ?
– अब त जनता डराउलान् जस्तो लाग्दैन । पहिले अन्य दलका कार्यकर्ताहरूसमेत त्रसित मानसिकतामा थिए, अब त्यो डरबाट सबै मुक्त भइसकेका छन् । माओवादीले एक थप्पड हाने उसलाई दुई थप्पड लगाउन सक्ने हैसियत र मानसिकतामा छन् अरू पनि ।
तपाईं चुनावको कुरा गर्नुहुन्छ यता तपाईंको पार्टीका पूर्वसभासद्हरू संविधानसभा पुनस्र्थापनाको कुरा गर्दै छन्, के भन्नुहुन्छ ?
– व्यक्ति–व्यक्तिको आ–आफ्नो सोचाइ होला तर यसबारे पार्टीको आधिकारिक धारणा बनेको छैन । व्यक्तिगत रूपमा भन्नुपर्दा मचाहिं संसद् पुनस्र्थापनको पक्षमा छैन । संविधानसभा संविधान लेख्न नसकेरभन्दा पनि माओवादीको चाहनाका कारण अवसान भएको हो । त्यसैले संविधानसभा पुनस्र्थापन गरिए पनि फेरि पनि संविधान लेखिने छैन । संविधानसभालाई जागिर खाने निकायको रूपमा लिइरहेका थिए अधिकांश सभासद्ले । त्यस्ता हैसियतका व्यक्तिलाई फेरि जिम्मेवारी सुम्पिएर के काम हुन्छ र ?
माओवादीले जातीय राज्यको कुरा उठाइरहेको छ, यसरी जातीय सद्भाव खलबल्याउने कदमविरुद्ध केही गर्नुपर्छ भन्ने तपाईंलाई लाग्छ कि लाग्दैन ?
– एकदम लाग्छ । अहिलेको युगमा पनि हामी जातको आधारमा विभाजित हुन थाल्यौं भने त्योजस्तो विडम्बनाको कुरा अरू हुने छैन । विश्वका थुप्रै देश जो जातीय विभाजनका कारण अभिशप्त बन, तिनबाट हामीले शिक्षा लिनुपर्छ । यसैबारे एउटा सद्भाव ¥याली गत १२ गते जेठमा तरुण दलले आयोजना गेको स्मरण गराउन चाहन्छु । पिछडिएका र सीमान्तकृत वर्गलाई केही न केही आरक्षणको व्यवस्था राज्यले गर्नुपर्छ । जातजाति, आदिवासी, महिला, दलितहरूलाई पनि त्यसै आधारमा सोचिनुपर्छ । तर, जातीय कुरालाई सद्भाव बिथोलिनेगरी उछाल्न हुंदैन । यसमा काङ्ग्रेस या तरुण दल स्पष्ट छ । अरू दलले पनि विचार गरून्, घरदेखि समाजहुंदै देशमै व्यावहारिक तवरमा जातीय सद्भावका लागि प्रतिबद्ध बनून् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ, १९ बैशाख । विश्वमा कोरोना माहामारीका कारण नेपाल लकडाउन भएको १ महिना भन्दा बढी भइसक्यो । यो एक महिनाको

निरोज कुमार थापा, काठमाडौँ, १० असार । सबै मानिसहरु आफ्नो कर्ममा सफल हुन्छन् भन्ने छैन । तर निरन्तरको लगाव, कामप्रतिको

पर्यटन प्रवद्र्धनका लागि सन् २०१७ बाट हरेक वर्ष हिमालय ट्राभल मार्ट आयोजना हुँदै आएको छ । यसवर्ष पनि जुन ६

निरोज कुमार थापा, काठमाडौँ, ६ बैशाख ।  नेपालमा होमस्टेको इतिहाँस लामो छैन। यो अभियानले गति लिएको एक दशक पनि भएको