रोल्पाली माओवादी र फुटको रोग

३२ जेष्ठ २०६९, बिहीबार ०९:४५ मा प्रकाशित

उत्तरतर्फ फर्केको रोल्पाको लिबाङ बजारमा रहेको बसपार्कनजिक अहिले पनि हंसिया–हथौडा अंकित माओवादीका राता झण्डा फहराइरहेका छन् । पर्खालका भित्तामा सशस्त्र विद्रोहकालमा लेखिएका मगरात स्वायत्त प्रदेशका नारा फुङ्ग उंडेको इनामेल अक्षरमै भए पनि कुंदिएका छन् । सत्ता, समाज र देशै परिवर्तन गर्ने नारा बोकेर संगसंगै हिंडेका माओवादी कार्यकर्ताहरु भने अहिले राजधानीमा रहेका नेताहरुभन्दा पनि विभाजित अवस्थामा देखिन्छन् । एक कार्यक्रमको सिलसिलामा लिवाङ पुगेका माओवादी नेता झलक सुवेदीले कुनैबेलाको आफ्नै कार्यथलो रोल्पामा पार्टीकार्यकर्ताबीच ध्रुवीकरण चुलिएको स्वीकार गरे । फुटको उत्कर्षमा साथीहरु पुगेको अनुभुति आफूलाई भएको जनाउंदै सुवेदीले भने– ‘धेरै साथीहरुको बुझाई ठिक छ तर केही साथीहरुको बुझाई भने अधुरै रहेछ ।’
अध्यक्ष प्रचण्डलाई समर्थन गर्ने र फरक विचार समूह अर्थात् वैद्य–वादललाई समर्थन गर्नेहरु रोल्पामा स्पष्ट दुई खेमामा विभाजित देखिन्छन् र आ–आफ्ना समूहका नीति–कार्यक्रमअनुसार उनीहरु परिचालित छन् । माओवादीका जिल्ला इन्चार्ज संस्थापन र सेक्रेटेरी फरक विचारलाई समर्थन गर्छन् । वैद्य समूहनिकटका जिल्ला सेक्रेटरी चुडामणि ओली अध्यक्षले पार्टीनीतिलाई नै सिध्याउन लागेकोले आफू फरक विचार समूहमा लाग्नुपरेको बताउंछन् । ‘प्रचण्डले हामीलाई लास्ट प्वाइन्टमा आएर धोका दिनुभयो, सेना समायोजन र संविधानलेखन कार्य संगसंगै हुनुपर्छ भन्ने स्पिरिटमा बाह्रबुंदे समझदारी भएको थियो तर उहांले पार्टीपोलिसी र कार्यनीतिमा लात हान्नुभयो र एकलौटी रुपमा शान्ति संविधानमा मात्र पार्टीलाई सिमीत गराएर सिध्याइ दिनुभयो ।’
प्रचण्डनिकटका जिल्ला इन्चार्ज मानबहादुर बुढाचाहिं ‘अब पार्टी फुट्यो भने पनि आश्चर्य नमाने हुन्छ’ भन्छन्, ‘युद्धकालमा पनि पार्टीबाट मान्छेहरु बाहिरिएर हिंडेकै हुन्, अहिले मन्च पाएर बढ्ता हल्ला गरिएको छ ।’
सबैभन्दा ठूलो दलको रुपमा उभिएको माओवादीमा देखिएको फुटको यो रोग नेपालका अरु दलमा पनि रहेको प्रत्यक्ष–परोक्ष रुपमा देखिएकै छ । खासगरी जातीयताको रोगले एमालेजस्तो दललाई पनि खङ्ग्रङ्ग पारेको छ । त्यस्तो रोग अरुमा पनि नसर्ला भन्ने कुनै ग्यारेन्टी छैन । विश्लेषकहरु भन्छन्, ‘फुटवादी प्रवृत्तिले नेपालको राजनीतिलाई थप अस्थिर बनाउने छ र लोकतन्त्र संथागत हुने त कुरै नगरौं उल्टै गृहयुद्धमा नराम्रो गरी जाकिने सम्भावना बढेको छ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

कोराना रोकथाम तथा नियन्त्रण गर्न नलगाड नगरपालिका–८ हल्चौरमा देवीलाई बलि ( बोका) चढाइएको छ । शनिबार दिउँसो गाउँलेहरु जम्मा भएर

गत वर्ष कोरोना सङ्क्रमणको दर तीव्र भएका बेला दैलेखमा आइसीयू र भेन्टिलेटर जडान भयो । तीनवटा आइसीयू र दुईवटा भेन्टिलेटरका

काठमाडौं । ईस्लाम धर्मावलम्वीहरूको महान पर्व रमजान आज धुमधामसँग मनाउने तयारीमा जुटेका छन् । यो पर्वलाई ‘इद उल फित्तर’ भनिन्छ

एक महिनाअघि वैदेशिक रोजगारीका क्रममा खाडी मुलुक दुबई पुगेका झापा, कमल गाउँपालिकाका चार युवा अलपत्र परेका छन् । स्थानीय दलालमार्फत