कतिचोटि कुरा फेर्न सक्छन् प्रचण्ड ? देवप्रकाश त्रिपाठी

३० जेष्ठ २०६९, मंगलवार २२:१५ मा प्रकाशित


विकासोन्मुख देशका राजनीतिकर्मीहरूप्रति जनधारणा सम्माजनक र भरोसायोग्य देखिंदैन । उनीहरूको प्राथमिकतामा सदैव देश र जनता होइन, सत्ता मात्र पर्छ भन्ने जनविश्वास रहेको पाइन्छ । जनता राजनीतिकर्मीका कुरामा किन भरोसा राख्दैनन् भने उनीहरू सधैं झुटो मात्र बोल्छन् भन्ने आममान्यता छ । सबै राजनीतिकर्मी अयोग्य र अविश्वासी अवश्य छैनन् तर सत्ता केन्द्रको वरिपरि निर्णायक तहमा पुगेका केही सीमित नेताको व्यवहारका कारण आमराजनीतिकर्मीको छवि धमिलिएको छ । राजनीतिकर्मी भन्नेबित्तिकै एउटा कुख्यात अविश्वसनीय छवि जनताको मानसपटलमा उत्पन्न हुने गर्छ, नेपाली राजनीतिमा प्रचण्डको उदयपश्चात् राजनीतिकर्मीको छवि थप धुमिल हुन पुगेको छ । त्यसो हुनुमा केही कारण देखिएका छन् ।
(क) ०४६ सालको राजनीतिक परिवर्तनपश्चात् मुलुक सञ्चालनको जिम्मा जनप्रतिनिधिको हातमा आएको थियो र देशले अनपेक्षित किसिमबाट स्थिरता र समृद्धिको मार्ग पछ्याउन थालेको थियो । जनतालाई विश्वासमा लिएर शासनसत्ताको मालिक हुन पाउने अवसर हरकोही नेपालीलाई उपलब्ध थियो । तर, प्रचण्डले जनविश्वास आर्जन गर्नतिर नलागी हिंसा र आतङ्कको बलमा राज्यसत्ताको स्थायी मालिक बन्ने मार्ग अवलम्बन गरे । प्रजातन्त्रले स्थायित्व प्राप्त नगर्दै उन्नतस्तरको प्रजातन्त्र स्थापना गर्ने सपना देखाएर प्रचण्डहरूले सुरु गरेको हिंसात्मक युद्धको परिणाम मुलुकले यतिबेला व्यहोरिरहेको छ । उनले नेपाली जनतालाई देखाएको सपना एउटा गहिरो झुट र बेइमानीबाहेक केही नभएको तथ्यहरूले पुष्टि गरिरहेको छ ।
(ख) कम्युनिस्टहरू सर्वसाधारण जनताका स्थायी र भरपर्दा मित्र हुन् भन्ने ठम्याइ कतिपय नेपालीको थियो । जनयुद्धका नाममा जनताकै घांटी रेटेर प्रचण्डले कम्युनिस्ट भनेको जनताका साथी हुन् भन्नेमा शङ्का गर्नुपर्ने अवस्था पैदा गरिदिएका छन् । कथित जनयुद्धका नाममा दशौं हजार गरिब नेपालीले ज्यान गुमाउनुपरेको घटना–सन्दर्भलाई केलाउने हो भने माओवादी कम्युनिस्टलाई जनताको
मित्र मान्न निष्पक्ष मानिस कोही तयार हुने छैनन् ।
(ग) प्रजातन्त्रकालका सरकार तथा उपल्लो तहमा रहेका नेताहरू विदेशीबाट सञ्चालित भएको आरोप प्रचण्डहरूले लगाउने गर्थे । ०५२ सालमा भूमिगत भई हिंसात्मक युद्धमा सरिक हुनुअघि सरकारसमक्ष पेस गरिएको चालीससूत्रीय मागमध्ये नौवटा विदेशीसंग सम्बन्धित थिए । उनीहरूले उठाएका मागहरू हेर्दा लाग्थ्यो– प्रचण्डहरूबराबर देशभक्त यहां कोही छैनन् । तर, राजनीतिको उपल्लो तहमा प्रचण्डहरू पुगेपछि तिनको कथनी र करनीमा आकाश–जमिनको अन्तर देखिएको छ । विदेशीको इच्छा र निर्देशनलाई सर्वोपरि तुल्याउने अभ्यास प्रचण्ड–बाबुरामहरूले गरेका छन् । प्रचण्डहरूको उदयपश्चात् राष्ट्रिय राजनीतिमा विदेशीहरूको अतुलनीय ढङ्गले हस्तक्षेप बढेको छ । देशको अखण्डतामा चुनौती आइलागेको छ, सार्वभौमिकता थप दुर्बल र रुग्ण भएको छ, राष्ट्रिय एकतामा आंच पुगेको छ । दार्शनिक दृष्टिकोणले प्रचण्डहरू देशभक्त थिएनन् र माक्र्सवाद, लेनिनवाद र माओवादलाई मार्गदर्शक सिद्धान्त बनाइन्जेलसम्म कोही कहिल्यै देशभक्त हुन पनि सक्दैनन् । तर, लेनिनवादी दर्शन नबुझेका जनताले प्रचण्डहरूलाई देशभक्त ठाने, उनीहरूको देशभक्ति एउटा मिथ्या मात्र भएको अहिले प्रमाणित भइसकेको छ ।
(घ) प्रचण्डले भारतको राजधानी नयांदिल्लीमा लोकतन्त्रपक्षीय सात राजनीतिक दलसंग सम्झौता गर्दा निरङ्कुश राजतन्त्रको अन्त्य गर्ने प्रतिबद्धता दर्शाएका थिए । तर, आफ्नो हात माथि पर्नेबित्तिकै उनले राजतन्त्रकै अन्त्य गरिनुपर्ने अड्डी लिइदिए । मुलुकमा संवैधानिक राजतन्त्रसहितको प्रजातन्त्र चाहने जनता र राजनीतिक दलहरूमाथि उनको यो अर्को धोखाधडी थियो । राजसंस्थाको नाममा देशलाई अवरुद्ध तुल्याइनुभन्दा माओवादीलाई मूल प्रवाहमा सामेल गर्नु राजनीतिक दलहरूले उपयुक्त ठाने र गणतन्त्र घोषणा गर्न सहमत भए । तर, गणतन्त्र स्थापनापछि पनि प्रचण्ड साम्य भएनन्, उनले कुनै न कुनै बखडा झिकेर देश, जनता र लोकतन्त्र पक्षधर शक्तिहरूलाई सताइरहे, अझै सताउंदै छन् ।
(ङ) मुलुकमा निरङ्कुश राजतन्त्रको अन्त्यका लागि सुरु भएको अन्तिम सङ्घर्षमा एकपटक साथ दिनका लागि प्रचण्डले ०६२ सालमा लिखित वक्तव्यमार्फत गरेको आग्रह दस्तावेजका रूपमा अहिले पनि सुरक्षित छ । प्रजातन्त्रका लागि अन्तिम सङ्घर्ष नै होला भन्ने ठानेर नेपाली जनताले अभूतपूर्व साथ दिए । एकपटकका लागि केही दिन कष्ट सहिदिन प्रचण्डले गरेको आग्रहमा नेपाली जनताले विश्वास गरेका थिए, तर त्यो कष्ट अहिले सात वर्ष बित्दा झन् गहिरिंदै गएको छ । यसबाट उनले सत्य बोलेका थिएनन् भन्ने स्पष्ट गरेको छ ।
(च) जनताले धर्मनिरपेक्षता, सङ्घीयता र जातीयताका लागि कहिल्यै आवाज उठाएका थिएनन्, जनताले सोच्नसम्म पनि नसोचेका विषय अघिसारेर प्रचण्डले मुलुकमा थप सङ्कट निम्त्याएका छन् ।
(छ) ०६२÷६३ को शान्तिपूर्ण जनआन्दोलनमा जनता सरिक भइरहंदा प्रचण्डले राजनीतिक परिवर्तनपश्चात् आफू, बाबुराम भट्टराई र पार्टीका खास–खास नेताहरूले राज्यको कुनै सार्वजनिक पद धारण नगर्ने भनी बीबीसी रेडियोमार्फत घोषणा गरेका थिए । जनताले प्रचण्डको त्यस्तो घोषणालाई सकारात्मक रूपमा ग्रहण गर्दै उनीहरूमाथि विश्वास गर्न सकिने ठानेका थिए । तर, ०६३ पछि प्रचण्ड सत्ता र पदबिना बांच्नै नसक्ने प्राणीका रूपमा स्थापित भएका छन् । पदका लागि जेसुकै गर्न पनि तत्पर रहने व्यक्तिका रूपमा प्रचण्डको छवि बनेको छ । यसबाट प्रचण्ड कतिसम्म झुटा छन् भन्ने छर्लङ्ग बनाएको छ ।
(ज) संविधानसभामार्फत संविधान निर्माण गर्नु आफ्नो एकमात्र अभीष्ट भएको प्रचण्डले बताउने गरेका थिए । आखिर प्रचण्डको अभीष्ट त्यही नै हो भने किन अर्घेल्याइं गर्नु भनेर नेपाली काङ्ग्रेससहितका प्रजातन्त्र पक्षधर दलहरू संविधानसभामार्फत संविधान निर्माण गर्न सहमत भएका हुन् । तर, संविधानसभाको गठन भएपछि उनी संविधान निर्माणप्रति कहिल्यै इमानदार भएनन् । कहिले लडाकु त कहिले केको निहुंमा अत्तो थाप्दै आखिर संविधानसभा आफ्नो कर्तव्य पूरा नगरी मर्नुपर्ने अवस्थामा उनले पु¥याए । प्रचण्डहरूको निम्ति संविधानसभा अभीष्ट थिएन, सत्ता हत्याउने एउटा चालबाजी मात्र थियो भन्ने अब प्रमाणित भइसकेको छ ।
(झ) ०६३ को परिवर्तनपश्चात संविधान निर्माण नभएसम्म सात दल र माओवादीबीचको एकता कायम राख्ने र गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा गठित सहमतिको सरकार पनि यथावत् राखिने लिखित वचन प्रचण्डले दिएका थिए । तर, संविधानसभाको निर्वाचनपश्चात् ठूलो दलको हैसियतमा आफैंले सरकारको नेतृत्व गर्न पाउनुपर्ने अड्डी लिएर प्रचण्डले गिरिजाप्रसादलाई एक रात पनि राम्ररी सुत्न दिएनन् । आखिर कोइरालालाई हटाएर प्रचण्ड बहुमतीय सरकारकै भए पनि प्रधानमन्त्री भइछाडे । त्यसै घटनादेखि नेपालमा राजनीतिक सहमतिको वातावरण अन्त्य भएको हो ।
(ञ) ०६५ साल जेठ १५ गते संविधानसभाबाट गणतन्त्र घोषणा हुनुअघि र पछिसम्म पनि प्रचण्डले गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाउने वचन दिएका थिए । तर, आफू केही बलियो भएको अनुभूति गरेपछि प्रचण्डले गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बन्न दिएनन् बरु राष्ट्रपति बन्न नदिनका लागि जेसुकै गर्न पनि तयार भए । बिचरा गिरिजाप्रसादले त्यसबेला प्रचण्डको भुलभुलैयामा परेर आफू दलविशेषको मात्र नेता नभएको सार्वजनिक घोषणा गर्दै संविधानसभाको निर्वाचनमा काङ्ग्रेसको प्रचारमा नजाने निर्णय सुनाएका थिए । राष्ट्रपति बन्न उनले गरेको त्यस्तो अभ्यास गलत थिएन । त्यसताक लोकप्रिय रहेका गिरिजाप्रसाद काङ्ग्रेसको प्रचारमा नजांदा पार्टीले ठूलो क्षति व्यहोर्नुपरेको तथ्य आमजानकारीको विषय हो । प्रचण्डको विश्वासमा नपरेका भए गिरिजाप्रसाद कोइराला न गणतन्त्र घोषणाका लागि तयार हुन्थे न काङ्ग्रेसको प्रचारमा जानबाट नै रोकिन्थे । प्रचण्डले कोइरालालाई दिएको यो धोखा इतिहास स्मरणीय छ ।
(ट) युद्धकालमा आफ्नो पांचदेखि सात हजार मात्र लडाकु रहेको तथ्य प्रचण्डले ‘शक्तिखोर भिडियो’ मा खुलस्त गरेका छन् । कमजोर राज्यसत्ता र प्रजातन्त्रवादीहरूको सोझोपनको लाभ उठाउंदै उनले ०६३ पछि लडाकुको सङ्ख्या बढाएर तेत्तीस हजार पु¥याए । करिब बीस हजारलाई त अनमिनमार्फत प्रमाणित नै गराएर राज्यबाट तलब–भत्ता खाने व्यवस्था मिलाए । बीस हजारमध्ये पनि कम्तीमा चार हजार लडाकु जो क्यान्टोनमेन्टमा छंदै थिएनन् तिनको नाममा समेत तलब–भत्ता आफैंले बुझेर राज्यको ढुकुटीमा ब्रह्मलुट गरे । जनताले तिरेको करमा अर्बौं रुपैयांको नोक्सानी पु¥याउंदा पनि प्रचण्डमा ग्लानिभाव देखिएको छैन । यसबाट उनी कुन दर्जाका मनुवा रहेछन् भन्ने पुष्टि भएको छ ।
(ठ) प्रधानमन्त्री बनिसकेपछि कसैमाथि कुनै पूर्वाग्रह नराखी राज्य सञ्चालन गर्ने कसम खाएका प्रचण्डले नेपाली सेनालाई क्षतविक्षत बनाउने कोसिस गर्दै तात्कालिक प्रधानसेनापति रुक्मांगद कटवाललाई पदच्युत गर्ने प्रयास गरे । यस घटनाले प्रचण्ड प्रजातान्त्रिक अभ्यासमा होइन विधान, कानुन र राज्यसंयन्त्रलाई उपयोग गर्दै देशमा एकदलीय अधिनायकवादी शासनसत्ता स्थापित गर्न चाहन्छन् भन्ने स्पष्ट गरेको थियो । प्रचण्डको बोली र व्यवहारमा अन्तर रहेको अर्को एउटा दृष्टान्तका रूपमा यस घटनालाई लिइन्छ ।
(ड) प्रधानमन्त्री भइसकेपछि शक्तिखोर पुगेर प्रचण्डले एक सभा गरी माओवादी लडाकु राज्यको मातहत आएको घोषणा गरेका थिए । तर, लडाकुलाई राज्यको अधीनस्थ गर्न त्यसपछिको चार वर्ष लाग्यो, अझै पनि विश्वस्त हुन सकिने स्थिति छैन ।
उपसंहार ः शान्ति र संविधानलाई मूल गन्तव्य बनाएको भन्दै विद्रोह र सत्ताकब्जा गर्ने प्रचण्ड तयारीलाई प्रजातन्त्रपक्षीय शक्तिहरूले बुझ्न नसक्दा आज मुलुकको यो दुर्गति भएको छ । मुलुकको जिम्मेवार भूमिकामा रहनुपर्ने प्रमुख नेता प्रचण्ड पेटमा एउटा कुरा, मनमा अर्कै कुरा, घांटीमा अर्को र जिब्रोमा अझै अर्को कुरा राख्ने, अनि व्यक्त अर्कै कुरा र व्यवहार अर्कै गर्ने भएपछि मुलुकले सास्ती पाउनु स्वाभाविक हो । बिहान ब्युंझंदा एउटा कुरा, स्नान गरेपछि अर्को, खाना खाएपछि एउटा र खाजा खाएपछि अर्कै, बेलुका मदिराको मदमा एउटा र सुत्ने बेलामा अर्कै कुरा गर्ने प्रचण्डले विगत सात वर्षका बीचमा तेह्र सयभन्दा बढी झुट बोलेको दस्तावेजहरूले पुष्टि गर्दछ । यस अवधिमा भएका करिब साढे पांच सयभन्दा बढी विभिन्न बुंदे सम्झौताको कार्यान्वयन नहुनुमा पनि प्रचण्डको भूमिका नै जिम्मेवार रहेको मानिन्छ । देशलाई अन्योलको भूमरीमा होमिसकेपछि प्रचण्ड अहिले जातीय आधारमा मुलुक विखण्डन गर्ने कसरतमा छन् । चौबीस वर्षदेखि आफ्नै पार्टीको समेत महाधिवेशन नगराई पार्टीको सत्ता कब्जा गरेर बसिरहने प्रचण्डबाट मुलुकमा लोकतन्त्रको विकास हुन्छ भनी सोच्नु नेपाली जनताको सबैभन्दा ठूलो भूल हो । प्रचण्ड न आफू सुध्रिन तयार छन् न अरूमा उनलाई सुधार्ने सामथ्र्य देखिएको छ । जब कि प्रचण्ड नसुध्रिएसम्म न यस मुलुकको राजनीति सुध्रने अवस्था छ न मुलुकको सुधार र उद्धार हुने स्थिति छ । नेपाली राजनीतिमा प्रचण्डको क्रियाशीलता कायम रहेसम्म नेपालले तीनवटा कुरा (शान्ति, स्थिरता र समृद्धि) प्राप्त नगर्ने अब निश्चित भइसकेको छ । देशले शान्ति, स्थिरता र समृद्धि प्राप्त गर्न प्रचण्डको भूमिका न्यून हुन आवश्यक छ, तर कसले गराउने उनको भूमिका न्यून ? गम्भीर र अत्यासलाग्दो प्रश्न नेपाली जनताका अघिल्तिर उभिएको छ ।
बुद्धि, चातुर्य र प्रतिभाका दृष्टिले प्रचण्ड अब्बल छन्, चातुर्यमा उनीसंग प्रतिस्पर्धा गर्न सक्ने अर्का कुनै नेता समकालीन राजनीतिमा देखिएका पनि छैनन् । तर, मानिसले आफ्नो क्षमता कुन अभीष्टका लागि कसरी प्रयोग गर्छ भन्ने प्रश्न मुख्य हो । कृष्ण र शकुनी दुवैको बुद्धि बराबरी जस्तै हो, शकुनीको दिमाग उल्टो चल्थ्यो अर्थात् नकारात्मकताबाट प्रेरित थियो, कृष्णको सकारात्मक । शकुनीले बदला र ईष्र्याको भावनाबाट प्रेरित रहंदै आफ्नो दिमाग विध्वंशात्मक तथा गैरन्यायिक कार्यका लागि प्रयोग गरे । कृष्णले सत्य र न्यायका लागि रचनात्मक र सकारात्मक रूपमा आफ्नो दिमागको उपयोग गरे । चातुर्यमा अब्बल भए पनि क्षमताको दुरुपयोग गरेका कारण शकुनीलाई दानवी प्रवृत्तिको षड्यन्त्रकारीका रूपमा चिनिन्छ, कृष्ण भागवान्का रूपमा पुजित छन् । प्रचण्डले आफ्नो दिमागी शक्तिको प्रयोग देश, समाज, शान्ति, अहिंसा, सिर्जना, समृद्धि, न्याय र सत्यको पक्षमा भन्दा आफ्नै हितकेन्द्रलाई सुदृढ पार्नमा गरेका छन् । मानव–मानवबीच हिंसा र वैरभाव प्रकट गराउने उनको भूमिकाले निरन्तरता पाइरह्यो भने प्रचण्ड र शकुनीबीचको अन्तर मानिसले भेट्ने छैनन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

समयको गति पनि कस्तो ? पच्छ्याउदा, पच्छ्याउदै हामी कतिबेला छुट्छौं थाहै हुन्न । आज हामी जुन गतिमा छौं । भोलि

भाषा मानव जातिले मौखिक, लिखित वा सांकेतिक माध्यममा प्रयोग गर्ने संचार माध्यम हो। संसारका कतिवटा भाषाहरू छन् भनेर एकिन का

बाबा राजेश्वरी थापा, भिएना, अस्ट्रिया: थोरै घाम लाग्ने युरोपमा घाम लागेको दिन मन फुरुंग हुन्छ।  केहि दिन अघि घाम लागेको

भक्त वाग्ले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी एकिकरण हुंदाका दुई पार्टीहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्र मध्ये व्यवस्थित,अनुशासित र विधिमा