पार्टी हाइज्याक हुन दिइन्न :: प्रकाशचन्द्र लोहनी (राप्रपा)

२९ चैत्र २०७१, आईतवार ०४:१२ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टीको असन्तुष्ट पक्षले संस्थापन पक्षमाथि पार्टी फुटाउन खोजेको आरोप लगाउँदै आएको छ । महाधिवेशनको म्यान्डेट लत्याएर पूर्वअध्यक्ष सूर्यबहादुर थापाको सहयोग र समर्थनमा पशुपतिशमशेर जबराले अवैधानिक रूपले जबर्जस्ती आफूलाई अध्यक्ष घोषणा गरेको भन्दै लोकेन्द्रबहादुर चन्द, डा. प्रकाशचन्द्र लोहनीलगायतका राप्रपाका वरिष्ठ नेताहरूले सार्वजनिक रूपमा असन्तुष्टि पोख्दै आएका छन् । असन्तुष्ट पक्षले गत २१ गते शनिबार काठमाडौंमा मध्यमाञ्चलस्तरीय भेलासमेत गरी संस्थापन पक्षमाथि पार्टी फुटाउन खोजेको आरोप लगाएको छ । असन्तुष्ट पक्षका एक शीर्षनेता डा. लोहनीले त राणा पक्षले पार्टीका विभिन्न तहमा निर्वाचित सभापतिहरूलाई अधिकार खोस्ने र निलम्बन गर्ने धम्की दिएर जानाजान पार्टी फुटाउन खोजेको आरोप लगाउँदै आएका छन् । तर, कुनै पनि हालतमा पार्टी टुक्रिन नदिने र गलत पक्षसँग मुकाबिला गरी विधिबाट चल्ने थिति बसाउने उनको कथन छ । असन्तुष्ट पक्षकै अर्का शीर्षनेता लोकेन्द्रबहादुर चन्दले समेत संस्थापन पक्षले पार्टीलाई पेवा बनाएको आरोप लगाउँदै यसविरुद्ध आमकार्यकर्ताले आवाज उठाउनुपर्ने उद्घोष गरिरहेका र असन्तुष्ट पक्षले पार्टी–समानान्तर गतिविधिसमेत गर्दै आएको सन्दर्भमा के हो त राप्रपाका असन्तुष्ट पक्षको असन्तुष्टि ? यसैमा केन्द्रित रही डा. प्रकाशचन्द्र लोहनीसँग गरिएको कुराकानी प्रस्तुत गरिएको छ ।
० पशुपतिशमशेरले नेतृत्व गरेको राप्रपा तपाईंको पनि पार्टी हो, तर तपाईंहरूमाथि आफ्नै पार्टीलाई तहसनहस पार्न लागेको आरोप लगाइएको छ नि ?
– राष्ट्रिय प्रजातन्त्र पार्टीलाई यतिबेला पशुपतिशमशेरको नेतृत्व गर्नु अवैधानिक कुरो हो । महाधिवेशनले दिएको म्यान्डेटविपरीत उनले जबर्जस्ती आफूलाई पार्टीअध्यक्ष दाबी गरिरहेका छन् । महाधिवेशनलाई उपेक्षा र दुई हजार प्रतिनिधिलाई तिरस्कार गरेर आफूले आफैँलाई पार्टीको नेतृत्व दाबी गर्नु पूरापूर अवैधानिक कार्य भएकाले यस्तो अवैध नेतृत्वलाई मान्ने त प्रश्नै भएन नि !
० राप्रपाका शीर्षनेता भनेका त सूर्यबहादुर थापा, पशुपतिशमशेर राणाहरू नै होइनन् र ?
– को शीर्ष हुन् र को जमिनका हुन्, त्यो अरूले परिभाषित गरेर हुने कुरा होइन । यस पार्टीका लाखौँ कार्यकर्ताले नै यसको निक्र्योल गर्ने हुन् । सबभन्दा ठूलो नेता को भनेर छान्नको निम्ति सबभन्दा ठूलो निकाय भनेको पार्टी–महाधिवेशन नै हो । महाधिवेशनले पहिलो वर्ष सूर्यबहादुर थापा, दोस्रो वर्ष लोकेन्द्रबहादुर चन्द, तेस्रो वर्ष पशुपतिशमशेर र चौथो वर्ष प्रकाशचन्द्र लोहनीले आलोपालो गरी पार्टीको नेतृत्व गर्ने भनेर प्रस्ट निर्णय गरेको थियो । तर, महाधिवेशनले गरेको निर्णय लत्याएर पशुपतिजीले आफूलाई अध्यक्ष घोषणा गर्नु अवैधानिक मात्र नभई षड्यन्त्र पनि हो ।
० अनि तपाईंहरूले समानान्तर कमिटीजस्तो गठन गरी पार्टीमा तुफान खडा गर्नुचाहिँ षड्यन्त्र हो कि के हो ?
– पार्टीभित्र षड्यन्त्र गर्नेहरूलाई निस्तेज गर्न, अवैधानिक प्रयासलाई वैधानिक बाटोमा ल्याउन हामीले चालेको कदम षड्यन्त्र नभई पार्टीहितको विषय हो । पार्टीलाई प्रजातान्त्रिक विधिबाट हिँडाउन खोज्नु, महाधिवेशनले दिएको म्यान्डेटअनुरूप एक ढिक्का भएर हिँडौँ भन्नु पनि षड्यन्त्र हुन्छ र ? हामी जे गरिरहेका छौँ त्यो पार्टीको एकताका लागि हो । षड्यन्त्रकारीहरूको षड्यन्त्रलाई पाखा लगाउनका लागि नै हो ।
० तपाईंहरूको गतिविधिले राप्रपा त फुटतिर लम्केको आभास दिलाउँछ, अब कसरी अघि बढ्नुहुन्छ तपाईंहरू ?
– हामीले पार्टीलाई फुटाउने कुनै कदम चालेका छैनौँ, त्यस्तो सोच्न पनि सक्दैनौँ । पार्टी फुटेको पनि छैन र फुट्दा पनि फुट्दैन । महाधिवेशनले गरेको निर्णयलाई लत्याएर, उपेक्षा गरेर पार्टीमा विग्रह ल्याउँदै पार्टी कब्जा गर्न एकथरी मरिमेटिरहेका छन् भने महाधिवेशनको निर्णयको पक्षमा उभिएर पार्टी बचाउन हामी लागिपरेका छौँ । षड्यन्त्रकारीहरूलाई पार्टी फुटाउन दिनेछैनौँ हामी ।
० कमल थापाले नेतृत्व गरेको राप्रपा नेपालले राप्रपासँग एकताको हात बढाइरहँदा तपाईंहरूचाहिँ पार्टी नेतृत्वको खिलाफमा जाँदा आमजनताका कस्तो सन्देश जाला ?
– कुनै पनि दुई पार्टीबीच सैद्धान्तिक धारणाहरू मिलेर एकता प्रक्रिया अघि बढ्नु राम्रो कुरा हो । यस्तो कार्यको हामी स्वागत नै गर्छौं । तर, जब आफ्नो घरभित्रै बेथिति छ, असन्तुष्टि छ, भाँडभैलोको अवस्था निम्तिएको छ, महाधिवेशनको निर्णयसमेत लागू नगरी समस्या निम्त्यिाइँदै छ भने छिमेकीसँग हात मिलाउन खोज्नुको के तुक ? घरमा भाँडभैलो मच्चाउन खोज्नेले छिमेकीसँग कति दिन मित्रता राख्न सक्लान् ? वास्तवमा घरभित्रको समस्यालाई पन्छाउनका लागि यसरी एकताको नाटक मञ्चन गरिन लागेको आमकार्यकर्ताले अनुभूति गरेका छन् । वास्तवमा घरभित्रको नसुल्टाइनहुने समस्यालाई त्यत्तिकै पन्छाउनका लागि नै यतिबेला पार्टीएकताको हल्ला चलाइएको हो भन्ने हामीलाई पनि लागिरहेको छ ।
० तर, कमल थापा र पशुपतिशमशेर राणाको त मन मिलिसकेकै बुझिन्छ त ?
– उहाँहरूको मन कति छ या छैन त्यो आ–आफ्नो बुझाइको कुरा होला, तर घरभित्रका समस्या नमिलेको अवस्थामा, महाधिवेशनको निर्णयलाई उपेक्षा या अनादर गरेको र दुई हजार डेलिगेट्सको भावनालाई तिरस्कार गरेको अवस्थामा बाहिर गई कसैसँग साइनो जोड्छु भन्नुको मतलब अत्यन्त लापरबाही हो भन्ने सहजै बुझ्न सकिन्छ । यस्तो एकता–चर्चाको कुनै तुक नै छैन । एकता हुनु राम्रो हो, दर्शन–दृष्टिकोण मिल्नेसँग हुनुपर्छ र होला पनि, तर यसरी समस्याको चाङ एकातिर असरल्ल छोडेर गर्न खोजिएको एकताको तुकै रहन्न । यो त पार्टीमा उठेका असन्तुष्टिको आवाजलाई ढाकछोप गर्नका निम्ति रचिएको षड्यन्त्र मात्र हो ।
० त्यसो भए अब तपाईंहरू नयाँ पार्टी गठन गरेर अघि बढ्नुहुन्छ कि कसो ?
– कहाँ भनेँ मैले नयाँ पार्टी गठन गर्ने कुरा !? किन चाहियो नयाँ पार्टी ? पार्टी ध्वस्त गर्न खोज्नेहरूलाई निस्तेज तुल्याएर पार्टीलाई एकढिक्का राख्नुपर्छ भन्ने मान्यताबाट अभिप्रेरित छौँ हामी । यस्तो मान्यता राख्नेले किन नयाँ दल बनाउने ? फुटपरस्त र षड्यन्त्रकारी तत्वविरुद्ध हामी सङ्घर्ष गरिरहेका छौँ, पार्टी बचाउन लागिपरेका छौँ हामी, कुनै नयाँ दल बनाउन होइन ।
० अध्यक्ष पशुपतिशमशेरलाई कारबाही गर्न पनि नसक्ने, मिलेर बस्न पनि नसक्ने, कस्तो चाल हो त तपाईंहरूको ?
– कति प्रस्ट्याउने ? पार्टी–महाधिवेशनको म्यान्डेट मिच्न खोज्नेहरूलाई सच्याउने अभियान हो यो हाम्रो । यदि उहाँहरूलाई शङ्का छ भने एकदिने विशेष महाधिवेशन बोलाएर मुद्दा किनारा लगाऔँ भन्ने विकल्प पनि दिएका छौँ हामीले त । विशेष महाधिवेशन बोलाउन पनि खुट्टा कँपाउने अनि पहिलेको निर्णयलाई पनि लत्याउने, यो कस्तो प्रवृत्ति हो ? कुनै मुद्दाले पार्टीभित्र चर्को रूप लियो भने विशेष महाधिवेशन बोलाएर तमाम कार्यकर्ता साथीहरूलाई सोध्नु, उहाँहरूबाट म्यान्डेट लिनु त प्रजातान्त्रिक विधि नै हो नि । दुई वर्षअघि तपाईंहरूले के निर्णय गर्नुभएको थियो भनेर कार्यकर्ताहरूलाई सोध्न किन हिच्किचाइरहेका छन् आफूलाई पार्टीको शीर्ष नेतृत्व ठान्नेहरू ?
० यो सब प्रकरणका आधारमा भन्नुपर्दा पूर्वपञ्चहरू कहिल्यै मिलेर बस्न सक्दैनन् भनी टिप्पणी गर्नेहरूलाई बल मिल्यो जस्तो लाग्दैन तपाईंलाई ?
– पार्टीहरूमा फुट्ने र जुट्ने प्रवृत्ति जताततै छ, यो वा त्यो भनी कसैप्रति मात्र इङ्गित गरी आरोप लगाउनु आवश्यक छैन । जो जुट्छ त्यो फुट्छ र जो फुट्छ त्यो जुट्छ पनि । यसमा हाम्रो कमजोरी नभएको होइन– छ, तर फुट्ने र जुट्ने प्रक्रिया परिस्थिति हेरेर जहाँ र जहिले पनि चलिरहेको हुन्छ भन्ने तथ्यको हेक्का राख्नुपर्छ ।
० त्यसो भए तपाईंहरू न फुट्न सक्नुहुन्छ न त जुट्न नै ! राप्रपा यस्तै रहन्छ ?
– यो त माओवादीभन्दा पनि जेठो पार्टी हो । काङ्ग्रेस र एमालेपछिको जेठो पार्टी हो राप्रपा । यस्तो इतिहास बोकेको पार्टीलाई हाइज्याक गर्न खोज्नेहरूलाई रोक्न खोजिरहेका छौँ हामी । यस्तो समस्या हरदम रहन्छ भन्नेचाहिँ होइन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । बहुपदीय प्रणालीमा सहमति भएसँगै गैरआवासीय नेपाली संघ(एनआरएनए)मा पहिलो कार्यकारी अध्यक्ष भएका हुन् कुल आचार्य। एनआरएनएको इतिहासमै पहिलोपटक बनेको यो

मुलुकमा सङ्घीयता आइसकेपछि हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकाको प्रमुख पदमा निर्वाचित हुनुभएका नागेश कोइराला राजनीतिक वृत्तमा मात्र नभई

आगामी सङ्‍घीय र प्रदेश संसद्को निर्वाचनमा पाँच दलीय गठबन्धनबीच तालमेल हुनेमा शंका उत्पन्‍न हुनेगरी शीर्ष नेताहरूले नै अभिव्यक्ति दिइरहेका छन् । स्थानीय

हालै सम्पन्न स्थानीय तह निर्वाचनमा ७५३ मध्ये सबैभन्दा बढी चर्चामा रहेको भरतपुर महानगरपालिकामा अन्ततः गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रबाट प्रमुखको