तातेको होइन, तताएको : रेखा थापा

२९ जेष्ठ २०६९, सोमबार २३:०१ मा प्रकाशित

चलचित्र ‘हिरो’बाट नेपाली फिल्ममा पाइला टेकेकी नायिका रेखा थापाको त्यसपछि कहिल्यै फिल्मी उद्योगमा खुट्टा लरबराएन । निर्माता छवि ओझासँगको सम्बन्धले समेत उनलाई फिल्मी क्षेत्रमा अग्रस्थान ओगट्न टेवा मिलेको हो । छोटो कपडा, छुद्रो बोली र कामुक अभिव्यक्ति रेखाका चिनारी जस्तै बनेका छन् । झण्डै दुई सय सिनेमामा अभिनय गरिसकेकी रेखाले पति छविसँगको होम प्रोडक्सनबाट समेत आधा दर्जन फिल्ममा अभिनय गरेकी छिन् । तर झण्डै एक वर्षदेखि छविसँग सम्बन्ध बिग्रिएपछि उनीहरुको सम्बन्धका बारेमा बारम्बार विभिन्न कुरा आउँदै सेलाउँदै गरे । कतिपयले हट नायिका भनेर समेत चिन्ने रेखा थापासँगको कुराकानीः

झण्डै एक वर्ष तपाइँको वैवाहिक सम्बन्धलाई लिएर फिल्मी क्षेत्र तात्यो नि ?
तातेको होइन । तताएको । लोग्नेस्वास्नीमा अलिअलि मनमुटाब हुनु सामान्य हो । तर केही मिडियाले यसलाई अनावश्यक उचालेको हो । फेरि हामीले पनि १० महिनासम्म हाकाहाकी कुरा नगरी अरुका कुरा मात्रै सुनेछौं । त्यसैले अहिले फेसटुफेस कुरा गरिरहेका छौं ।
अब के सम्बन्ध पुरानै अवस्थामा आउँछ ?
यसै भन्न सकिन्न । जे पनि हुनसक्छ । कुरा भईराखेको छ । एकअर्काले कत्तिको बानी सुधार्न सकिन्छ त्यसमै भर पर्छ ।
भनिन्छ, फिल्मी क्षेत्रमा आएपछि तपाइँले कहिल्यै पछाडि र्फकनुपरेन । तर नयाँ कलाकारहरुको आगमनले तपाइँ विस्तारै छायाँमा पर्न थाल्नुभएपछि यस्तो स्टन्ट प्रयोग गरेको पनि भन्छन् नि ?
चर्चामा आउन पनि कसैले यस्तो गर्ला र ? यसले घरबार, करियर सबै डुबाउँछ नि । झन् घाटा पो हुन्छ ।
फरक प्रसंग, तपाइँले ‘चपली हाइट’ हेरेपछि नायिका बिनिता बराललाई अबकी हट नायिका भन्नुभएको थियो । अब आफ्नो दिन गए भनेरै यस्तो भन्नुभएको हो ?
मैले उसको अभिनय क्षमता देखेर त्यसो भनेकी हुँ । नेपाली समाजमा त्यस्तो सिन दिनु चानचुने कुरा होइन । बिनिताको अभिनयमा आत्माविश्वास देखें ।आफू पछाडि परें भन्ने कुरा नै आउँदैन ।
छोटा स्कर्ट लाउँदा तपाइँलाई हट नायिका भन्थे । अहिले त निकै ग्ल्यामरस सिन हुन्छ । यसको जस त तपाइँलाई पनि जाला नि ?
मैले त न्यूरोडमा हिंड्ने केटीले जे लाउँथी फिल्ममा त्यही लगाएँ । त्यति गर्दा पनि मेरो आलोचना फिल्म क्षेत्रबाटै भयो । आलोचना गर्नेहरु पछि किस सिन दिन समेत राजी भए । मैले त त्यस्तो गरेको छैन नि । ग्ल्यामरसको रुपमा मैले क्रान्ति नै गरें त्यतिबेला ।

तर अहिले यौनजन्य दृश्यलाई फोकस गरेर फिल्म बनाउन थालिएको छ । भल्गरिटीको खहरे आएको छ, फिल्ममा । ग्ल्यामरसको नाममा यौन बिकाउन खोजिंदैछ । यसले नेपाली फिल्मको मौलिकपनलाई धक्का दिनसक्छ । तर वर्षमा एकदुईपटक आउने खहरेदेखि डराइहाल्नुपर्ने अवस्था छैन ।
आफू पाखा लाग्ने डरले यसो भन्नुभएको त होइन ?
म त ५० वर्षकी उमेरसम्म यस्तै राम्री देखिन्छु ।
तपाइँले बारम्बार सेक्सलाई साधना भन्नुभएको छ । खासमा के भन्न खोज्नुभएको ?
सेक्स साधना नै हो । दालभात खाएजस्तो जतिबेला पायो त्यतिबेला हुँदैन । बन्द कोठामा स्वच्छ मनले गरिने काम भएकोले यसलाई मैले एकप्रकारको साधना भनेकी हुँ । त्यही साधना भएकोले सेक्स बन्द कोठामै ठीक छ फिल्ममा होइन भनेकी । देखाउने चीज होइन ।

नेपाली समाजले पनि यसै भनेर यौनलाई दबाएकोले समाजमा यौनकुण्ठा छ भन्छन् नि ?
यसको बारेमा ज्ञान लिने, दिने कुरा गर्नु ठीकै होला । तर प्रदर्शनी गर्ने चीज होइन ।
आफूलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
म एकदमै साधारण र ज्ञानी केटी । म कहिल्यै पनि यो मीठो भएन, यस्तो पुगेन भनेर घरमा किचकिच गर्दिन । जे पाकेको छ त्यही खाइदिन्छु । त्यही भएर म ज्ञानी छु जस्तो लाग्छ, आफूलाई । साधारण किनभने म फिल्ममा बाहेक मेकअप गर्दिन । बाहिर जानुपर्‍यो भने पाँच मिनेटमै तयार हुन्छु ।
तर अरुले त छुच्ची भन्छन् नि ?
म मनमा कुरा राखिराख्न सक्दिन । चित्त बुझेन भने ठाउँको ठाउँ भन्छु । त्यो व्यक्ति पनि तत्काल झनक्क रिसाउँछ । तर पछि उसले रेखाले ठीकै भनेकी रहिछ भन्ने रिअलाइज गर्छ । म आत्माले जे भन्छ त्यही गर्छु । भोलि के होला, कसले के भन्ला भन्ने डर लाग्दैन ।
रेखा थापा आफूलाई कसरी अग्रस्थानमै रहने भन्नेमा निकै खप्पिस छिन् होइन ?
यस्तो पतरपतर बोल्ने मान्छे कहाँ यस्तो कुरामा खप्पिस हुनु । कालोलाई सेतो भन्न सक्तिन । सत्यता र इमानदारिताको जीत हुन्छ भनेको यही होला सायद ।

Source: Filmnepal.com

प्रतिक्रिया
सम्बन्धित खवर

चिनियाँ प्रहरीले एक चर्चित पप गायक क्रिश वुलाई बलात्कारमा संलग्न भएको आशङ्कामा गिरफ्तार गरेको जनाएको छ । यसै महिनाको सुरुमा

काठमाडौँ । नेपाली नारीहरुको महान चाड हरितालिका तिज नजिकै गर्दा पछिल्लो समय बजारमा गीतहरु धमाधम आइरहेको छन् । यसैक्रममा नेपाली

अभिनेत्री मिया खालिफाले श्रीमानसँग सम्बन्धविच्छेद गरेकी छन् । हालै उनले आफुले सम्बन्धविच्छेद गरेको घोषण गरेकी हुन् । खलिफाले श्रीमानसँग अलग

काठमाडौँ । गायक स्वरूपराज आचार्य र गायिका अस्मिता परियारको आवाजमा रहेको ‘माया गर्ने मान्छे’ बोलको गीत सार्वजनिक भएको छ ।