के बीपी र जीपीको मूल्य एउटै हो ? :: देवप्रकाश त्रिपाठी

१५ चैत्र २०७१, आईतवार ११:०७ मा प्रकाशित

गिरिजाप्रसाद कोइराला स्मरण गरिरहनुपर्ने नाम हो कि होइन यो बहसको विषय हुनसक्छ, तर यो नाम नेपाली इतिहासले बिर्सनचाहिँ कहिल्यै सक्नेछैन । नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली काङ्गे्रसको अगुवाइ गरेर बीपी कोइराला इतिहास–स्मरणीय बन्नुभएको छ । काङ्गे्रसलाई वैचारिक मार्गदर्शन दिएर बीपीले नेपाली जनतालाई जुन गुन लगाउनुभएको छ त्यसका निम्ति बीपी स्मरणीय बन्नुभएको हो । देश र जनताका निम्ति आफ्नो पूरै जीवन समर्पण गर्नुभएका उहाँले आफूलाई कहिल्यै केन्द्रमा राखेर सोच्नुभएन, सोचेकै भए पनि त्यसरी लाञ्छित गर्न मिल्ने अवसर उहाँले दिनुभएन । बीपीका विचार र व्यवहार देश, प्रजातन्त्र र जनताको हितभन्दा पर रहेको महसुस कहिल्यै कसैले गर्नुपरेन । तत्कालीन राजदरबारबाट बीपीले जति प्रताडना अरू कुनै नेताले व्यहोर्नुपरेको पनि थिएन । निरन्तर आठ वर्ष काराबास, झन्डै दशक लामो निर्वासन र स्वदेश आगमनपछि उहाँविरुद्ध अपनाइएको व्यवहार बीपीलाई गणतन्त्रको पक्षमा उभ्याउन पर्याप्त थियो । तर, बीपीले आफूले पाएको दुःख र हैरानीलाई आधार बनाएर राजनीतिक दृष्टिकोण बनाउनुभएन, बदला र कुण्ठाभावबाट ग्रसित भएर राजनीतिक निर्णय लिने गरेको पनि पाइएन । बीपीका अधिकांश निर्णय देश र प्रजातन्त्रकेन्द्रित रहे, अरू कैयनको जस्तो आत्मकेन्द्रित भएको पाइन्न । संवैधानिक राजतन्त्रसहितको संसदीय प्रजातन्त्र र समाजवादी आर्थिक कार्यक्रमको पक्षमा बीपीका दृढ अडान र स्पष्ट विचार नै काङ्गे्रसको मार्गदर्शन बनेको हो । प्रजातन्त्र र समाजवादभन्दा अगाडि राष्ट्रियतालाई राखेर उहाँले राष्ट्रियता प्रथम प्राथमिकताको विषय भएको सन्देश दिन खोज्नुभएको थियो । त्यसैले आफ्नो स्थापनापछिका साठी वर्षसम्म काङ्गे्रसले राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई मूल आदर्श, नीति र कार्यक्रमका रूपमा अङ्गीकार ग-यो । वि.सं. २०१७ सालको ‘कु’ताक नेपालमा कम्युनिस्टहरूको प्रभाव अत्यन्त न्यून थियो । पञ्चायती व्यवस्थाको आयुसँगै नेपालमा वामपन्थी कम्युनिस्टहरूको बढोत्तरी हुन थालेपछि बीपीले राष्ट्रियता र प्रजातन्त्रको भविष्यमाथि दायाँभन्दा बायाँ कुनाबाट बढी खतरा पुग्ने ठान्नुभयो र उहाँले कम्युनिस्टहरूसँगको सहकार्यलाई आफ्नो जीवनकालभरि अस्वीकार गर्नुभयो । काङ्गे्रसका नेता–कार्यकर्ताहरूलाई पनि बायाँ कुनाप्रति होसियार रहन बीपीले सधैँ सचेत गराइरहनुभयो । राजासँग लडेर ढिलो–चाँडो प्रजातन्त्र फिर्ता गर्न सकिन्छ भन्ने विश्वास गर्नुहुने बीपीले वामपन्थी–कम्युनिस्टहरूको हातमा राजनीति र राज्यसत्ता पुगेपछि राष्ट्रियता र प्रजातन्त्रसहित समाजवादको भविष्य घोर सङ्कटमा पर्ने ठहर गर्नुभएको थियो । त्यसैले पुष्पलाल र अन्य कतिपय कम्युनिस्ट नेताहरूले कार्यगत एकताका लागि राख्नुभएको प्रस्तावलाई बीपीले कहिल्यै सकारात्मक रूपमा लिनुभएन । कम्युनिस्टहरूको सैद्धान्तिक–वैचारिक ‘अडान’समक्ष आत्मसमर्पण गर्दा प्राप्त हुने ‘उपलब्धि’हरूले बीपीलाई मोहित तुल्याउन सकेन । जनसमूहमा आधारित काङ्गे्रस पार्टी र तालिमप्राप्त कार्यकर्तामा आधारित कम्युनिस्ट पार्टीबीचको सहकार्यले राजतन्त्रलाई सङ्कटमा पु-याउन सक्छ भन्ने तथ्यबोध बीपीमा नभएको होइन । तथ्यबोध हुँदाहुँदै पनि बीपी कम्युनिस्टहरूसँग मिसिन तयार हुनुभएन, यो दशकभित्र कम्युनिस्टका कारण देशले जे–जस्तो नियति भोग्नु परिरहेको छ, यसको आभाष बीपीले दशकौँ अघि नै गरिसक्नुभएको बुझ्न सकिन्छ ।
बीपीद्वारा प्रतिपादित विचार–दर्शनलाई गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईजस्ता नेताहरूले अवज्ञा गर्न सक्नुभएन या अवज्ञा गर्नुपर्ने कुनै कारण देख्नुभएन । बीपीसँग कार्यनीतिक प्रश्नमा किसुनजी र गणेशमानजीको मतभिन्नता पटकपटक प्रकट भए पनि मूल विचार–दर्शन र सिद्धान्तमा उहाँहरूले कहिल्यै प्रश्न उठाउनुभएन । कदाचित किसुनजी या गणेशमानजीहरूले बीपी विचारको विकल्प खोज्नुभएको भए उहाँहरूलाई गैरकाङ्गे्रसी पुष्टि गर्ने अभियानको अगुवाइ गिरिजाप्रसाद कोइरालाले नै गर्नुहुने निश्चित थियो । तर, बीपी विचारको मुण्डन गर्न बीपीकै सहोदर भाइ गिरिजाप्रसाद कोइराला अग्रसर हुनुभयो, कसैले प्रश्न उठाउने मौका पनि पाएनन् । बदला, कुण्ठा र प्रलोभनबाट प्रेरित गिरिजाप्रसाद कोइराला पहिलोपटक प्रधानमन्त्री भएलगत्तै सम्पूर्ण उदार अर्थनीति अवलम्बन गरी काङ्गे्रस प्रतिपादित समाजवादी अवधारणाको धज्जी उडाउनुभएको थियो । आफूबाहेक अरू कसैको हातमा सत्ता जानै नहुने व्यवहार दर्शाएर गिरिजाप्रसादले प्रजातन्त्रवादको खिल्ली पनि उडाउनुभएकै हो । कृष्णप्रसाद भट्टराई र शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विस्थापित गर्न गिरिजाप्रसादले अपनाउनुभएको हथकण्डाले उहाँ कुन दर्जाको प्रजातन्त्रवादी हुनुहुन्थ्यो भन्ने स्पष्ट गरेकै हो । नेपालको राष्ट्रियता एवम् राष्ट्रिय एकता र सामाजिक सद्भावलाई ध्वंस तुल्याउने अभियानको जग पनि गिरिजाप्रसादले नै राख्नुभएको हो । राष्ट्रभन्दा प्रजातन्त्र ठूलो, प्रजातन्त्रभन्दा पार्टी ठूलो, पार्टीभन्दा गुट ठूलो र सबैभन्दा आफैँ ठूलो भन्ने मान्यताका पक्षपाती गिरिजाप्रसादका दृष्टिमा गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, एमाले र एमाओवादीबीचको भेद थिएन । त्यसैले सत्ताकेन्द्रमा पुग्ने र रहिरहने चाहनामा जो–जसले अवरोध पैदा गरे गिरिजाप्रसादले तिनलाई समान व्यवहार गर्नुभयो । गिरिजाप्रसाद आफू उभिएको ठाउँलाई पृथ्वीको केन्द्र मँन्नुहुन्थ्यो र नमँन्नेहरू आफ्ना या पराया जो भए पनि समान रूपले दुश्मन ठान्नुहुन्थ्यो । गिरिजाप्रसाद कोइरालालाई सूक्ष्म रूपमा केलाउँदा उहाँ आफूभन्दा माथि उठ्न कहिल्यै नसकेका मानिसका रूपमा देखिनुहुन्छ । बीपीको भाइ हुनुको लाभ सर्वाधिक उठाएर अन्ततः बीपीकै विचार–दर्शनलाई दरकिनार गर्ने काम गिरिजाप्रसादले गर्नुभएको हो । तर, बीपी विचारलाई विस्थापन गर्ने भूमिका निर्वाह गर्दा पनि बीपीका अनुयायीहरूले गिरिजाप्रसादलाई महान् ‘देख्न–भन्न’ छाडेनन् ।
गिरिजाप्रसादको देहावसान भएको पाँच वर्षपछि सिङ्गापुरका राष्ट्रपिता लि क्वान युको यसै साता निधन भयो । लि क्वान यु प्रजातन्त्रमा विश्वास राख्थे, तर आर्थिक विकासका निम्ति उनले अवलम्बन गरेका नीति र कार्यक्रम, जसले सिङ्गापुरलाई विश्वकै एक उदाहरणीय मुलुक बनायो, ती प्रजातान्त्रिक मूल्य–मान्यताभन्दा भिन्न थिए । अर्थात् निरङ्कुशतानिकटको नीति उनले अवलम्बन गरेका थिए । तर, चामत्कारिक विकासका कारण सिङ्गापुरे जनता र संसारले उनको प्रशंसा ग-यो । सुन्दर गन्तव्य प्राप्तिका लागि कहिलेकाहीँ अप्रिय साधन अपनाउन पनि पछि हट्नुहुँदैन भन्ने दृष्टान्त लिले स्थापित गरेका छन् । गिरिजाप्रसादका सोच–व्यवहार पनि प्रजातान्त्रिक मूल्यभन्दा टाढाका थिए, तर कोइरालाले आफू सर्वशक्तिमान बन्नुको लाभ कम्तीमा मुलुकलाई पु-याएकोचाहिँ ठानिँदैन । गिरिजाप्रसादसँग सत्ताकेन्द्रमा पुग्ने र पुगेपछि ‘त्यहीँ’ बसिरहनेबाहेक अर्को सपना भएको महसुस गर्न पाइएन । पदप्राप्तिको सपनामा लिप्त भएपछि मुलुक निर्माणको सपना देख्ने स्पेस रहँदैन, गिरिजाप्रसाद त्यस्ता स्वप्नदर्शी हुनुहुन्छ जसले मुलुक निर्माणको सपना देखेको एउटै प्रमाण पनि छोड्नुभएन । बीपी कोइरालासँग एउटा सपना थियो, मुलुक निर्माण र जनताको जीवनस्तर सुधारको एउटा मार्गचित्र थियो । प्रजातन्त्र पुनस्र्थापनाको आधार तयार गर्दागर्दै बीपीले आफ्नो जीवनलीला विसर्जन गर्नुभयो । गिरिजाप्रसाद भने जनता, प्रजातन्त्र, काङ्गे्रस र देशैलाई प्राप्त सुवर्ण अवसर विसर्जन गरेर परमधाम हुनुभयो । त्यसर्थ बीपीको भाइ भएकै कारण बीपीसरहको सम्मान र सम्झना जीवित राख्नुपर्छ भन्नेहरूको तर्कमा वजन देखिँदैन । गिरिजाप्रसादलाई सम्झने भनेको त सुशील कोइराला, सुजाता कोइराला, महेश आचार्य आदिले हो, जसले गिरिजाप्रसादका कारण मुलुकमा आफ्नो पहिचान र हैसियत पाएका छन् । कृष्णप्रसाद सिटौला र दिलबहादुर घर्तीहरूले पनि गिरिजाप्रसादको स्मरण गर्दा हुन्छ, प्रचण्डले त स्मरण गरिरहेकै छन् । तर, देशले सम्झना गर्नुपर्ने कारण नबन्दै उहाँको निधन भएको भए पनि केही त्यस्ता कर्म जसले मुलुकलाई सधैँ चह-याइरहने घाउ लगाएको छ, त्यसका लागि चाहिँ गिरिजाप्रसादलाई कहिल्यै बिर्सन सकिँदैन ।
पौराणिक कालमा लङ्कापति रावणलाई उनको प्रताप र प्रभावलाई हेरेर मानिसहरू उनको महिमा गाउँथे । अयोध्याका राजा रामबाट पराजित नहुन्जेलसम्म रावणको महिमा घर–घरमा गाइन्थ्यो । कालान्तरमा रामबाट रावण मारिए र रावणकै भाइ विभीषणलाई रामले श्रीलङ्काको राजा बनाइदिए । विभीषण रावणका सहोदर भाइ अवश्य थिए, तर रावणपूजकहरूले विभीषणलाई सम्मान दिन सकेनन्, भाइ भए पनि रावणमा विद्यमान गुण, क्षमता, प्रतिभा र आत्मस्वाभिमान विभीषणमा भएको ठानिएन । स्वयम् रामकै दृष्टिमा पनि रावणबराबर विभीषण थिएनन् । हामी अहिले पनि विभीषणप्रति सकारात्मक हुन सकिरहेका छैनौँ । गिरिजाप्रसाद कोइराला पनि बीपी कोइरालाका सहोदर भाइ अवश्य हुनुहुन्छ, तर रामका लक्ष्मणजस्ता नभई रावणका विभीषणजस्ता । आफ्नो निजी महत्वाकाङ्क्षा पूरा गर्न विभीषणले जसरी आफ्नै दाजुलाई धोका दिएका थिए गिरिजाप्रसादले पनि बीपी कोइरालामाथि ठीक त्यस्तै व्यवहार गर्नुभएको हो । व्यक्तिगत कुण्ठा, बदला र महत्वाकाङ्क्षाका कारण गिरिजाप्रसादले राष्ट्र, प्रजातन्त्र र काङ्गे्रस पार्टीलाई नै सकसमा पार्ने जुन काम गरेर जानुभयो यसलाई नेपालको इतिहासले भुल्न सक्दैन । माओवादी विद्रोहको विसर्जन गराएको एक्लो जस (यस) का हकदार कोइरालालाई बनाइयो भने अन्य दलका कतिपय नेता एवम् नेपालको शान्ति र स्थिरताका निम्ति सहयोग पु-याउने मित्रराष्ट्रहरूको योगदानलाई अवमूल्यन गरेको अर्थ लाग्नेछ । गिरिजाप्रसादलाई नै सम्पूर्ण जस दिने हो भने एउटा विद्रोह पन्छाउँदा अरू कति प्रकारका विद्रोह जन्मिएका छन् त्यसको मुख्य कारण पनि गिरिजाप्रसादलाई मात्र मान्नुपर्ने हुन्छ ।
त्यसैले बीपी र जीपीलाई सँगै राखेर तुलना गर्नु भनेको बीपीको चरम अपमान गर्नु हो । गिरिजाप्रसाद प्रचण्डहरूको दृष्टिमा महान् हुन सक्नुहुन्छ र प्रचण्ड स्वयम्ले बारम्बार गिरिजाप्रसादको प्रशंसा गर्दै आउनुभएको पनि छ, यो नितान्त स्वाभाविक छ । तर, प्रचण्डका प्रियपात्र गिरिजाप्रसादलाई राष्ट्रियता, प्रजातन्त्र र समाजवादका समर्थकहरूले समेत अभिनन्दनीय बनाउन खोज्नुचाहिँ अस्वाभाविक छ । बीपी र जीपी समान होइनन्, हुन दिइनु सर्वथा गलत हुनेछ । बीपी र जीपी दुवैलाई मँन्नु भनेको युधिष्ठिर र दुर्योधनलाई एकैपटक पूजा–आराधना गर्नुजस्तै हो, दुर्योधनका प्रशंसकहरूलाई युधिष्ठिरको पूजा गर्ने अधिकार रहँदैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

हङकङ । चीनको उच्च कानून निर्माता निकाय नेशनल पिपुल्स कांग्रेस एनपीसीले हङकङमा राष्ट्रवादीले मात्रै शासन गर्न पाउने योजना सार्वजनिक गरेको

काठमाडौँ । पर्यटन विकास आयोजना वागमती प्रदेश हेटौडा, मकवानपुरका सव–इन्जिनियर नेत्रप्रसाद लामिछाने ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

नवलपरासी । सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको

काठमाडौं । विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आज सार्वजनिक हुनुहुँनेछ । सरकारले विप्लव समूहसँग वार्ता गरी तीन बुँदे सहमति