एनआरएन अमेरिकाको एक दशक, नेपाली अमेरिकनको अपेक्षा र यो बार्षिक साधारणसभा :: पुरुषोत्तम ढकाल

७ चैत्र २०७१, शनिबार ०९:२९ मा प्रकाशित

नेपाली अमेरिकनको सुन्दर भविष्यको कल्पना गर्दै गैर आवाशीय नेपाली संघ (एनआरएन) अमेरिकाको बार्षिक साधारण सभामा सहभागी हुन डिसी महानगर क्षेत्र अन्तर्गत मेरिल्याण्डको बेथेस्डास्थित हिल्टन होटलमा उपस्थित गैर आवाशीय नेपालीहरु यति बेला अंध्यारो बिगत भुलेर स्वप्निल बनेका छन् । सम्भावना र आशाको नजरले हेरिरहेका छन् । मातृभूमिको अनिश्चय पूर्ण राजनीतिक संक्रमण र अमेरिका भित्रकै नेपाली संघ संस्थाको कहाली लाग्दो बिगत र मूल थलोको राजनीतिले आक्रान्त नेपाली अमेरिकनको भावना र समबेदना लुटिनुको पिडा बिर्सदै अमेरिकी मुलधारमा नेपाली जातिको आर्थिक, सामाजिक र राजनीतिक सामाजिकीकरणको लागि एनआरएन अमेरिकाको यो बार्षिक साधारणसभाले बाटो पहिल्याउने छ, योजना तय गर्नेछ र सामुहिक सहभगितामा कालजयी नीति तय गर्नेछ भन्ने विश्वास सहित जिज्ञाशु छन् उपस्थित अनुहारहरु । तर बर्तमान नेतृत्वले छोटो कार्यकालमा दिएको अमेरिका ब्यापी सांगठानिक संरचना र सहभागिता मुलक एनआरएन अमेरिकाको निर्वाचन आयोगले चर्को र खर्चिलो मूल्य सहितको महँगो उम्मेदबारीको मापदण्ड घोषणा गरेको सार्वजनिक सुचना जारी भए लगत्तै श्रमजीबी नेपाली अमेरिकनको चुनिने सपना यति बेला कुण्ठित भएको छ । निर्वाचन आयोग र वर्तमान कार्यसमितिको यो निर्णयले यो बार्षिक साधारण सभामा उपस्थित हुन नसकेका र उपस्थित श्रमजीबी नेपाली अमेरिकनको दाँतमा ढुंगा लागे जस्तो अनुभूति भएको छ । अर्को तर्फ एनआरएन अमेरिकालाई झन्डै एक दशक अँध्यारो कुनामा राखेर मनो मालिन्य गर्ने पूर्व नेतृत्वलाई सम्मान गर्ने निर्णयले चोरलाई चौतारो साधुलाई शुली भन्ने भनाइ चरितार्थ भएको छ । संगै अमेरिकी मुलधारमा राजनीतिक भबिष्य र नेपाली जातिको पहिचान र भबिष्य खोजिरहेका भनिएका अनुहारहरु, दर्शन रौनियार, अमृता रेग्मी र हरिबोल भण्डारी ‘ह्यारी’ जसलाई भावना, समबेदना र प्रतिष्ठा ठानेर आर्थिक, नैतिक र भौतिक सहयोग गरेका नेपाली अमेरिकनको सहयोग राशि कुन कुन प्रयोजनमा खर्च भयो र त्यो आर्थिक, नैतिक र भौतिक सहयोग राशिले नेपाली अमेरिकनको अमेरिकी मुलधारमा राजनीतिक भबिष्य खोज्ने दिशामा के उपलब्धि भयो सार्वजनिक जवाफ बिनै यो बार्षिक साधारण सभाको महत्वपूर्ण समय दिंदै सम्पूर्ण नेपाली अमेरिकनको मन भाँच्ने र दुखाउने काम गरिएको छ । यसै लेख मार्फत अमेरिकी मुलधारमा राजनीतिक भबिष्य र नेपाली जातिको पहिचान र भबिष्य खोजिरहेका भनिएका अनुहारहरु, दर्शन रौनियार, अमृता रेग्मी र हरिबोल भण्डारी ‘ह्यारी’लाई त्यो आर्थिक, नैतिक र भौतिक सहयोग राशिले नेपाली अमेरिकनको अमेरिकी मुलधारमा राजनीतिक भबिष्य खोज्ने दिशामा के उपलब्धि भयो सार्वजनिक जवाफ दिन आग्रह गर्दछु । र त्यो दान र चन्दाको रकम कुन प्रायोजनमा कसरी खर्च गरियो पारदर्शी हिसाब सार्वजनिक गर्न समेत जोडदार आग्रह गर्दछु । मलाइ हेक्का छ यति बेला यो साधारण सभामा नेपाली अमेरिकनलाई लुट्ने अमुक अनुहारहरु पनि उपस्थित छन् । अदालत देखि सामाजिक रुपले बहिस्कृत अनुहारको नाम खुल्ला किताब जस्तै सार्वजनिक छ । दुर्भाग्य त्यस्ता अनुहार पनि चोखिने थलो बन्दै छ यो बार्षिक साधारण सभा । मेरो कामना संसारकै बृहद प्रजातान्त्रिक मुलुकमा रहेका हामी नेपाली अमेरिकनले यस्ता अनुहारहरु बैध हुने मुल्थलोको चरित्र रुपान्तरण गर्नु जरुरी छ । घृणा, आक्षेप र आरोप, प्रत्यारोपको शिलशिलानै रच्ने अनुहार पनि उपस्थित छ यो बार्षिक साधारण सभामा । यो तितो सत्य हो र यसलाई आत्मसात गरेर परिवर्तनको बाटोमा लाग्न यो बार्षिक साधारणसभा सफल रह्यो भने मात्र सम्पूर्ण नेपाली अमेरिकनको मुहारमा मुस्कान आउने छ, आशाको दियो जल्ने छ । म आशा गर्दछु एनआरएन अमेरिकाको वर्तमान नेतृत्व जसले छोटो कार्यकालमा संगठित गैर आवाशीय संजाल निर्माण गर्यो त्यस तर्फ पनि हेक्का राख्ने छ । अब म मूल बिषय तर्फ प्रवेश गर्न चाहन्छु । झन्डै एक दशक नेपाली अमेरिकनको पहुँचबाट बाहिर रहेको गैर आवाशीय नेपाली संघ (एनआरएन) अमेरिका बढ्दो जन दवाव र सरोकार वालाहरुको चासोले गत बर्ष सबैका लागि सदस्यको सहज ढोका खोल्दै वाध्यकारी निर्वाचन प्रक्रियामा सामेल भयो । सुखद संयोग भन्नु पर्छ शन २०१४ मा भएको निर्वाचनले एनआरएनए अमेरिकाको संस्थागत प्रक्रिया प्रारम्भ भयो संगै नेपाली अमेरिकन प्रति जवाफदेही नेतृत्व चयन गर्न सफल रहयो । परिणाम ९ महिनाको कार्यकालका लागि निर्बाचित नेतृत्वले झन्डै ११ हजार सदश्य विस्तार र १६ राज्यमा च्याप्टर निर्माण गर्ने आधार निर्माण गर्न सफल रह्यो । यसका अलावा गैर आवाशीय नेपालीको मूल मुद्धा र साझा सरोकार रहेको नेपाली नागरिकताको निरन्तरताका लागि मातृभूमि नेपालको प्रमुख राजनीतिक दल र सरकार प्रमुखसंग यो जटिल र पेचिलो मुद्धामा एनआरएनए अमेरिकाको नेतृत्वले स्थापना गर्न सफल रहेको सिधा पहुँचको कारण दवाव मुलक र नेतृत्वदायी भूमिका सहित बन्ने संबिधानमा राजनीतिक अधिकार बाहेकको नेपाली नागरिकताको निरन्तरता सम्बोधन गरिने सुनिस्चितता प्राप्त गर्न सफल भएको छ । यो सफलताका लागि संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो र पूर्व अध्यक्षहरु देवमान हिराचन, जिबा लामिछाने, प्रमुख संरक्षक रामप्रताप थापा, पूर्व नेतृत्व र बर्तमान नेतृत्वको अथक मेहनत, सुझबुझ पूर्ण विश्वव्यापी अभियान, रचनात्मक छलफल र दवाव सम्झन योग्य छन् । यसै गरी नेपाली अमेरिकनको सरोकारको बिषय दोहोरो कर र अमेरिकामा अध्यन गरी फर्किएका नेपलीहरुको कर सामाजिक सुरक्षा कर फिर्ती प्रक्रियाको बहस सुरु गर्ने कार्य पनि बर्तमान नेतृत्वले मुद्धा र प्रमुख कार्यको रुपमा उठाउनु अर्को सुखद र सकारात्मक कार्य रह्यो । साना मसिना विवाद र बहसलाई छोडेर हेर्ने हो भने एनआरएन अमेरिकाको यो नेतृत्वले संघको केन्द्रिय भवन निर्माणको लागि सबै भन्दा ठुलो धनराशी संकलन गर्नुका अतिरिक्त लिखित राहदानीको कारण अफ्ट्यारोमा परेका नेपाली अमेरिकनलाइ सहज राहदानी उपलब्ध गराउन स्वयमसेवी रुपमा सेवा पुर्याउने देखि न्युयोर्कमा बाणिज्य दुतावाश स्थापना गर्नको लागि दवाव मुलक भूमिका निर्बाह गर्न सफल रह्यो । झन्डै एक दशक अध्यारो कुनामा अमुक मान्छेहरुले संचालन गरेको कोठे संगठन थियो एनआरएनए अमेरिका ९ महिना अघि सम्म र नेपाली अमेरिकनको चासो नभएको बिबादास्पद संगठन भन्दै नानाथरी नकारात्मक चर्चा परिचर्चा हुन्थ्यो । ९ महिना नबित्दै समय फेरिएको छ, आसाको संचार भएको छ । झन्डै ५ लाख नेपालीहरु रहेको अनुमान गरिने अमेरिकामा ११ हजार हाराहारी सदश्य संख्या न्युन भए पनि नेपाली अमेरिकनको उभार बढ्दो छ यसको दृष्टान्त मार्च महिनामा आयोजना हुँदै गरेको वार्षिक साधारण सभाले बिधान परिवर्तन गरी संरचनात्मक स्वरूप कायम गर्नु अगावै दर्जनौ नेतृत्वको आकांक्षी देखिनुले पुष्टि गर्दछ । तर एनआरएनए अमेरिका बाँकि विश्वको गैर आवाशीय नेपाली आन्दोलन भन्दा भिन्न स्वरुपको रहेको र आजाका दिन सम्म यो मुद्धा तर्फ संघको अमेरिकी नेतृत्व सचेत, जानकार र केन्द्रित हुन नसक्नु दुखद र बिडम्बना पूर्ण रहेको छ । स्वाभाविक रुपमा प्रश्न उठ्छ के हो होत नेपाली अमेरिकनका महत्व पूर्ण मुद्दाहरु । उत्तर सहज छ, अमेरिका आइपुगेको नेपाली अमेरिकाले प्रदान गर्ने बसोबास, आर्थिक, सामाजिक सुरक्षाको कानुनि प्रत्याभूतिले गर्दा बहुसंख्यक नेपाली अमेरिकन स्वदेश फर्कदैनन । उनीहरुको भाग्य र भबिष्य अमेरिकामै सुनिश्चित छ । उनीहरुलाई जोड्ने बृहद नेपाली अमेरिकनको साझा संगठनको खाचो छ र यति बेला एनआरएनए अमेरिका प्रति उनीहरुमा आशाको संचार भएको छ । यसको लागि संघले नेपाली अमेरिकन हितमा नीति निर्माण गरी कार्वान्यन गर्नु जरुरी छ । सहज छ नेपाली अमेरिकन हितमा नीति निर्माण गर्न तर पहिले नेपाली अमेरिकनको मूल मुद्धा पहिचान गर्नु जरुरी छ । ति मुद्धाहरु हुन् पहिलो पुस्ताको नेपाली अमेरिकनको लागि शैक्षिक, आर्थिक, सामाजिक र राजनीतिक मुद्धाहरुमा अमेरिकी मुलधारमा सामाजिकीकरण गर्न नीति र कार्यक्रमहरु तय गर्ने । दोस्रो पुस्तका नेपाली अमेरिकनको हितमा भाषा, कला, संस्कृति र परम्परा जीवित राख्ने अभियान सुरु गर्ने । तेस्रो मातृभूमि संग जोड्न अब बन्ने संविधानले प्रदत्त अधिकार ‘राजनीतिक अधिकार बाहेकको नेपाली नागरिकता निरन्तरता’ मार्फत लगानी र शिपको मातृभूमिमा अधिकतम उपयोग गर्न सहजीकरण गर्ने । यसका लागि यो बार्षिक साधारण सभाले बिधान र नीतिमा परिमार्जन गरी नेपाली अमेरिकनलाई अमेरिकी मुलधारमा सामाजिकीकरण गर्न सके मात्रै एनआरएनए अमेरिका सबैको साझा संगठनको रुपमा बिस्तार हुन सक्छ । नेपाली अमेरिकनको पहिलो पटक सिधा र सहज पहुँच भएको एनआरएनए अमेरिकाको पहिलो बार्षिक साधारणसभा भएकोले सबैको जानकरिको लागि गैर आवाशीय नेपाली संघ (एनआरएन) को छोटो पृष्ठभूमि प्रस्तुत गर्ने जमर्को गरेको छु । २०४८ मा निर्वाचित जननिर्वाचित सरकारले राहदानीमा सहज पहुँचको अवशर निर्माण गरे पछि बिदेशिएका नेपालीहरुको संख्या झन्डै आधा करोड पुगी सकेको तथ्यहरु सार्वजनिक हुँदै छन् । त्यस बिचमा मुलुक ठुलो राजनीतिक द्वन्दमा फस्यो जसको कारण पनि बिदेशिने नेपालीहरुको संख्या ह्वातै बढ्यो । यस अबधिमा मनाव बस्ति रहेको ६ ओटै महादेशमा नेपालीले उपस्थिति जनाइसकेका छन् । शन २००३ विदेशमा बस्ने नेपालीले पनि मातृभूमिका लागि केही गर्नुपर्छ र गर्ने छौ भन्ने प्रतिबद्धता सहित स्थापान भएको गैरआवासीय नेपाली संघ यति बेला बिदेशमा बस्ने सबै नेपालीको छाता संगठन बन्न सफल भएको छ । तर यसको परिकल्पना भने उस्तै संस्कृति भएका र बिदेशमा समेत एकै कार्य क्षेत्रमा भेटिने छिमेकी मुलुकका गैर आवाशीय भारतीयहरुलाई भारत सरकारले गैरआवासीय भारतीय (एनआरआई) मार्फत संगठित गरी मित्र राष्ट्र भारतमा लगानी भित्र्याउन थाले पछि बिदेशमा स्थापित र सफल अगुवा नेपालीहरु उपेन्द्र महतो, रामप्रताप थापा, जिबा लामिछाने, भिम उदाश, देवमान हिराचन लगायतको प्रेरित अगुवा नेपालीहरुको पहलमा शन २००३ को सेप्टेम्बर महिनामा एनआरएनएको विश्व सम्मेलन काठमाडौमा सम्पनन भै संघको बिधिबत नेतृत्व चयन भएको थियो अर्थात् संघको बिधिबत स्थापना भएको थियो ।
संघ स्थापनाको झन्डै १२ बर्ष पछि यस अघिका अध्यक्ष जिबा लामिछानेको अनवरत पहलमा उनको कार्यकालको अन्तिम समयमा संघ नेपालमा बिधिबत दर्ता भएको छ भने गैर आवाशीय नेपालीहरुको मूल मुद्धा नयाँ बन्ने संविधानमा नेपाली नागरिकताको निरन्तरताको प्रावधान सुनिश्चित गर्ने आश्वासन प्रमुख राजनीतिक नेतृत्वबाट पाइएको सुखद संयोग छ । आशा गरौ धमिलो बिगत व्यहोरेको गैर आवाशीय नेपाली संघ (एनआरएन) अमेरिकाको यो बार्षिक साधारण सभा मार्फत तय गरिने नीतिहरूले नेपाली अमेरिकनको बिसिष्ठ परिस्थितिलाई ध्यानमा राख्दै नेपाली अमेरिकनको सूख, दुख बाड्ने साझा थलो, समृद्धिको मार्ग पहिल्याउने नीति निर्माता, मातृभूमिसंग जोड्ने सहजकर्ता र अमेरिकी मुलधारमा सामाजिकीकरण गर्ने अगुवा संगठनको भूमिका निर्बाह गर्न जरुरी छ ।

एनआरएन अमेरिकाको मार्गदर्शक नीतिका रुपमा निम्न लिखित प्रस्तावनाहरुले नेपाली अमेरिकनलाई समृद्धि र एकताको सुत्रमा जोड्ने छ ।
बिशिष्ठ परिस्थतिमा नेपाली भाषी अमेरिकन, संसारको जुनै कुनाबाट अमेरिका आएका भएपनि विशेष गरी भुटानबाट लखेटिएका नेपाल मुलथलो भएका अहिले अमेरिकामा पुनर्स्थापित गरिएका नेपाली मुलका झन्डै ८० हजार परिवारलाई एनआरएन अमेरिकाको झन्डामा गोलबद्ध गर्दै बृहद नेपाली अमेरिकनको परिभाषा अनुसार एनआरएन अमेरिकाको संगठन विस्तार गरिनु जरुरी छ ।

:: नेपालको नयाँ संविधानले प्रत्याभूत गर्ने राजनीतिक अधिकार बाहेकको नेपाली नागरिकता निरन्तरताले प्रत्याभूत गर्ने अधिकार मार्फत मातृभूमि नेपालसंगको अभिछिन्न सम्बन्ध र सम्पर्कको लागि तय गरिनु पर्ने नीति:
१. नेपाली अमेरिकनको निष्क्रिय पुंजी संकलन गरी मातृभूमिको विकास प्रक्रियामा साझेदारी हुने र प्रतिफल दिने आयोजनाका छनौट गरी सूचना-प्रबिधि, कृषि, जलबिद्युत, पर्यटन जस्ता क्षेत्रहरुमा एक मुष्ट लगानीको लागि नेपाल सरकारसंग समायोजनकारी भूमिका निर्बाह गर्ने ।
२. त्यस्ता आयोजना र क्षेत्रमा नेपाली अमेरिकनको शिप र दक्षता उपयोग गर्ने ।
३. अमेरिकी बार्षिक बिदाको अबसरमा नेपालको महत्वपुर्ण भ्रमण सुचिमा रहेका घुम्न योग्य स्थानहरुको चयन गरी घुम्न अभिप्रेरित गर्न नेपाली अमेरिकन प्रबर्द्धित ट्राभल एजेन्सीहरुलाई सहजीकरण गर्ने ।
४. अध्यन, तालिम, सेमिनार र छोटो अवधिका लागि अमेरिका आएका व्यक्ति वा समुहको सामाजिक सुरक्षा कर फिर्तीको लागि सरोकार वाला निकायसंग समन्वय गरी नियमित प्रक्रिया आरम्भ गर्ने ।
५, नेपाली भाषा प्रबर्द्धनको लागि प्रभाबकारी माध्याम उत्कृष्ट नेपली चलचित्रहरुको महोत्सव गर्ने ।
६. संस्कृतिको जगेर्ना हुने जाति भाषा विशेष चाड पर्व आयोजना गर्ने, त्यस्तै नेपाली भाषा, साहित्य महोत्सव, पुस्तक प्रदर्शनी, पुस्तकालय निर्माण र महोत्सव आयोजना गर्ने ।
७. नेपाली अमेरिकनलाई नेपालको नयाँ संविधानले प्रत्याभूत गर्ने राजनीतिक अधिकार बाहेकको नेपाली नागरिकता निरन्तरताको लागि निरन्तर प्रोत्साहित गर्ने ।

:: नेपाली अमेरिकनलाई अमेरिकी मूलधारमा सामाजिकीकरण तय गरिनु पर्ने नीति:
१. अमेरिकामा ब्यापार र बजारको सम्भावना रहेको साना उद्योग र व्यापारका लागि सिटि, काउन्टी, संघिय र केन्द्रिय सरकारले अल्पसंख्यक समुदाएको लागि प्रदान गर्ने कानुनि र आर्थिक सहुलियतको लागि हेल्प डेस्क निर्माण गर्ने ।
२. अमेरिकी मुलधारको राजनीतिमा हाम्रो उपस्थिति र सहभागिता बिना हाम्रो पहिचान र मुलधारको सामाजिकीकरण असम्भव भएकोले अमेरिकी मुलधारको राजनीतिमा क्रियाशील नेपाली अमेरिकन जुन कुनै राजनीतिक दल मार्फत उम्मेदबार हुँदा आवश्यक आर्थिक, नैतिक र भौतिक सहयोग, समर्थन र सुभेच्छा जुटाउन सहजीकरण गर्ने ।
३. नेपाली अमेरिकनको आर्थिक समृद्धिको लागि आवश्यक स्रोत र पुंजी जुटाउन सहकारी मोडेलको बित्तिय संस्था निर्माण गरी अमेरिकामा ब्यापार र बजारको सम्भावना रहेको साना उद्योग र व्यापारको क्षेत्रमा नेपाली अमेरिकनलाई सहभागी हान अभिप्रेरित गर्ने ।
४. अमेरिकाको कानुनि, आर्थिक, सामाजिक, सांस्कृतिक र शैक्षिक क्षेत्रको सामाजिकीकरणको लागि हेल्प डेस्क निर्माण गर्ने ।
५. दोस्रो पुस्ताका नेपालीको सहभागिता न्युन रहेको संघको गतिविधिमा उनीहरुलाई जोड्न उनीहरुको रुचि अनुकुलको संगीत, खेलकुद, सूचना प्रबिधि, शैक्षिक र चलचित्र महोत्सव आयोजना गर्ने ।
६. नेपाली अमेरिकन प्रबर्द्धित संचार माध्यमको विकासले मात्रै हाम्रो आवाज अमेरिकी मूलधारमा स्थापित हुन सक्ने हुदा नेपाली मुलका संचारकर्मी र संचार माध्यमको विकासको लागि आवश्यक नैतिक र आर्थिक समर्थन जुटाउन सहजीकरण गर्ने ।

पुनश्च: इन्डियन अमेरिकनहरूले उनीहरुको मातृभूमि संग अभिछिन्न सम्बन्ध र अमेरिकी मूलधारमा सामाजिकीकरणको लागि अबलम्बन गरेका यस्ता बहूअपयोगि नीतिहरु अबिलम्ब कार्वान्यन गर्न प्रभावकारी बैतनिक संजाल सचिबलाय निर्मण गर्नु जरुरी छ ।

(लेखक गैर आवाशीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषद अन्तर्गतको नेपाली नागरिकता निरन्तरता कार्यदल र भाषा, साहित्य र संस्कृति सम्बन्धि कार्यदलका सदश्य हुन् )

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले फागुन २३ गते प्रतिनिधिसभाको बैठक बोलाउन सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ

काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह

युरोपेली संघ ‘ईयू’ मा कोरोना भाइरस ‘भ्याक्सिनेसन पासपोर्ट’ अर्थात खोप राहदानीको प्रयोग गर्ने तयारी थालिएको छ । ग्रीस र अस्ट्रियाले

गुल्लरिया । बर्दियाको बाँसगढी नगरपालिकामा एकै दिन चार बालिका बलात्कारको शिकार भएका छन् । १४ वर्षीय एक किशोरले एकै दिन