के भयो न्युयोर्कमा ? :: बबिता बस्नेत

४ चैत्र २०७१, बुधबार २२:२६ मा प्रकाशित

विश्वको महिला आन्दोलनले एक सय पाचौँ वर्ष मनाइरहँदा संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालय न्युयोर्कमा चौथो विश्व महिला सम्मेलनपछिका उपलब्धि र यसबीचमा हुन नसकेका कुराहरूको बारेमा पुनरावलोकन र समीक्षा भइरहेको थियो । सन् १९७५ मा मेक्सिकोमा भएको पहिलो विश्व महिला सम्मेलनपछि सन् १९८० मा कोपनहेगन, १९८५ मा नैरोबी र १९९५ मा बेइजिङपछि पाँचौँ विश्व महिला सम्मेलन भएको छैन । चौथो विश्व सम्मेलनले महिला सरोकारका १२ वटा बुँदा पारित गरेपछि ती सरोकारका विषयमा संयुक्त राष्ट्रसङ्घका सदस्यराष्ट्रहरूले के–के उपलब्धिहरू गरे भनेर प्रत्येक पाँच वर्षमा पुनरावलोकन र समीक्षा हुँदै आएको छ । यसपल्ट भने बेइजिङ सम्मेलनको २० वर्षकै समीक्षा गरिएकाले विगतको भन्दा फराकिलो तवरमा छलफल, बहस र प्रस्तुतिहरू भएका थिए । सदस्यराष्ट्रहरूले सम्बोधन गर्नुका साथै विभिन्न क्षेत्रमा कार्यरत विज्ञ तथा महिला अधिकारवादीहरूले कार्यक्रमहरूको आयोजना गरेर समानताको लडाइँको २० वर्षे यात्राको समीक्षा गरेका थिए । संयुक्त राष्ट्रसङ्घीय मुख्यालय र यसका वरिपरिका सभाहलहरू समारोहमय बनेका थिए । विश्वभरिबाट करिब सात हजार महिला तथा महिला अधिकारवादी पुरुषले भाग लिएको अनुमान गरिएको बेइजिङ+२० मा बेइजिङ सम्मेलनले पारित गरेका १२ वटा सरोकारका विषयसँगै यसबीचमा उदाएका नयाँ विषयहरू यौनिकता, प्रविधिको प्रयोग, वैदेशिक रोजगारी, युवा महिलासँग जोडिएका सवालहरू, सहकारी, एकल महिला, आश्रय शिविरलगायतका विषयमा पनि छलफल भए । अन्तर्राष्ट्रिय महिला दिवस ८ मार्चका दिन विश्वका विभिन्न मुलुकबाट जम्मा भएका महिला अधिकारवादीहरूको ‘मार्चपास’बाट सुरु भएको यसपल्टको ‘कमिशन अन द स्टेटस अफ विमेन’को कार्यक्रम २० तारिखमा उपलब्धि घोषणापत्र जारी गरेर सम्पन्न हुनेछ ।

पाँच वर्षअघि भएको समीक्षा कार्यक्रम बेइजिङ+१५ मा न्युयोर्क गएका नेपालीलाई यसपटक आफ्नै मुलुकको सन्दर्भमा भने अलि फरक अनुभव भयो । धेरैले तत्कालीन संयुक्त राष्ट्रसङ्घीय मिसन प्रमुख ज्ञानचन्द्र आचार्यलाई सम्झिए । त्यतिबेला उहाँले सरकारी र अन्य सबै नेपाली प्रतिनिधिमण्डललाई सँगै राखेर एक–अर्काले त्यहाँ पुगेर निर्वाह गरिरहेको भूमिका तथा गाह्रो–साँघुरो भएका कुराहरूमा छलफल गर्ने वातावरण बनाउनुभएको थियो । उहाँले त्यतिबेला भनेको सम्झन्छु, ‘यहाँ ठाउँ साँघुरो छ, तर के भयो त यहाँहरू सबैको आफ्नै घर त हो ।’ हो, नेपाली मिसन या राजदूतावासको व्यवस्थापन हामीले गरे पनि यी दूतावासहरू नेपाल तथा सबै नेपालीका नाममा स्थापना भएका हुन् र सबै नेपालीका लागि बराबरी हुन् भन्ने मान्यता राख्ने कूटनीतिज्ञहरू अहिले हाम्रो आवश्यकता हो । त्यतिबेला महिला, बालबालिका तथा समाजकल्याणमन्त्री सर्वदेव ओझा हुनुहुन्थ्यो । नेपालको प्रतिनिधिमण्डलसँग बसेर उहाँले भन्नुभएको थियो, ‘यो यूएन भन्ने चिज त के रहेछ–रहेछ, त्यसै हराइने, कोहीसँग भेटघाट नै छैन । मैले गरेको प्रस्तुति यहाँहरूलाई राम्रै लाग्यो भन्ने लागेको छ । यति अनुभवी मान्छेहरू यहाँ आउनुभएको छ । म त समयले बनाएको मन्त्री मात्रै हुँ, नेपालमा यहाँहरूले गरेको काम र उठाएको आवाजकै कारण महिलाका मुद्दाहरू यहाँसम्म आइपुगेका हुन् ।’ हुन पनि महिला मन्त्रालयको स्थापना नै महिला आन्दोलनको उपलब्धिको रूपमा हो, बेइजिङ सम्मेलनको उपलब्धि हो । हाम्रा आँखैअगाडि धेरै मन्त्रीहरू फेरिए, कहिले महिला आए, कहिले पुरुष आए । भागबण्डा पु-याउने क्रममा राजनीतिक दलहरूका लागि महिला मन्त्रालय भाग पु-याउने सहज स्थान बन्यो, बनिरहेको छ । सर्वदेव ओझा नेपालको महिला आन्दोलनले त्यति सम्झिरहनुपर्ने नाम हो जस्तो लाग्दैन, तर कहिलेकाहीँ पदमा बसेका मान्छेको बोली र व्यवहारका कारण सम्झिने बनाउन सक्ने रहेछ भन्ने उदाहरणका रूपमा उनलाई लिन सकिन्छ ।
यसपटक नेपाली मिसनले विभिन्न क्षेत्रबाट त्यहाँ पुगेका प्रतिनिधिमण्डल एकै ठाउँमा बसेर कुराकानी गर्ने वातावरण बनाएन । मिसन प्रमुख दुर्गा भट्टराईले त्यतिका मान्छेलाई कहाँ बोलाउने भन्नु भो भन्ने सुनियो । आफ्नै ठाउँ हो, जति भए पनि के नै हुन्थ्यो र ? हामीलाई थाहा छ, हामी गरिब छौँ, हाम्रा मिसनहरूलाई धेरै बजेट छुट्याउने अवस्थामा छैनौँ । आखिर जे–जति छुट्याइन्छ त्यो नेपाली जनताले तिरेकै कर त हो । चिया खुवाउन चिनी–चियापत्ति नभएको भए तातोपानी खाएरै भए पनि भेटघाट गरिन्थ्यो, अमेरिकामा पानी तताउनलाई हामीकहाँ जस्तो बत्ती जाँदैनथ्यो क्यारे । पूर्वसभासद् मोहमदी सिद्धिकीदेखि डा. रेणु राजभण्डारी, शशि श्रेष्ठ, प्रतिभा सुवेदी हुँदै विजया राई श्रेष्ठसम्म विभिन्न पेसा, व्यवसायमा संलग्न अनुभवी नेतृहरू थिए । अन्य विभिन्न मुलुकका साथीहरूले आ–आफ्नो मिसनमा बैठकहरू भएको कुरा सुनाउँदा आफूलाई नमज्जा लागेको रेनु सिजापती बताइरहेकी थिइन् । कुराकानीकै क्रममा दलित महिला आन्दोलनकी नेतृ दुर्गा सोवले भनेकी थिइन्, ‘मिडियाका मान्छेहरूले त बरु लेखेर भए पनि फ्रस्ट्रेसन पोख्छन्, हामीलाई त यस्तो व्यवहारले पछिसम्म घोचिरहन्छ ।’ राजनीतिमा जस्तै मिसन या एम्बेसीहरूमा पनि नेतृत्वले धेरै फरक पार्दोरहेछ । पहिला ती मन्त्रीले आफ्नै अवधारणाले त्यो सब गरेका थिए भन्न सकिन्न, अवश्य पनि त्यो तत्कालीन मिसन प्रमुखको अवधारणा थियो । विभिन्न मुलुकमा रहेका नेपालका कूटनीतिक निकायले नेपालीलाई गर्ने व्यवहारका बारेमा गम्भीर रूपमै छलफल र बहसहरू गर्नुपर्ने भएको छ ।
यसपटक ‘मिस’ भएको अर्को व्यक्तित्वमा चाँदनी जोशीको नाम पनि धेरैले लिए । ‘यसअघि चाँदनी दिज्यु हुनुहुन्थ्यो, माहौल अर्कै थियो,’ विजया राई श्रेष्ठले भनिन् । हरेक कुरालाई सकारात्मक कुराले हेर्ने उहाँको व्यवहारले नेपालीलाई मात्र होइन, अन्तर्राष्ट्रिय समुदायलाई नै नतमस्तक बनाउने गरेको छ । न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको एउटा हलमा चाँदनी जोशीसँग हात मिलाउन र गला मिलाउन मानिस लाइन लागेको दृश्य यो पङ्क्तिकारले जस्तै विजयाले पनि देखेकी रहिछन् । बेइजिङ पुनरावलोकन र समीक्षाको कुरा गर्दा दक्षिण एसियाली महिला आन्दोलनले चाँदनी जोशीको नाम बिर्सन सक्ने प्रकारको पनि छैन । सपना प्रधान मल्ललाई पनि यसपटक धेरै सम्झिइयो । चाँदनी र सपना दुवैजना व्यस्तताका कारण न्युयोर्क नपुग्नुभएको हो ।
यसपटक महिलाका सवालमा न्युयोर्कमा धेरै कुरा भए । अफ्रिकन महिलाको सक्रिय जमात बढी देखियो, कतिले यसलाई सीएसडब्लूमा अफ्रिकन महिलाको डोमिनेसन धेरै भयो पनि भने । नेपाली प्रतिनिधिमण्डल ठूलो थियो, तर आवाज राख्ने, प्रस्तुति गर्ने कुरामा भने धेरै महिला सहभागी हुन पाएनन् र छलफलमा सहभागी भएरै चित्त बुझाए । कार्यक्रम राख्दा सुरुवाती प्रक्रियामै सहभागी हुन सकेको भए धेरैले प्रस्तुतिको मौका पाउने थिए । बन्दना राणा, भारती सिलवाल गिरी, डा. रेणु राजभण्डारीलगायत जस–जसले प्रस्तुति गरे ती अन्तर्राष्ट्रिय समुदायमा प्रभाव छोड्ने प्रकारका थिए । समयसँगै महिलाका सवालहरू पनि परिवर्तन भइरहेका छन् । हिंसाका रूप मात्रै होइन, महिलाले पाएका अवसर र भोगेका चुनौतीहरू पनि फरक भएका छन् । टाढाको के कुरा गर्नु बीस वर्षअगाडिकै कुरा गर्दा पनि त्यतिबेलाका धेरै महिलालाई घर–व्यवहार सम्हाल्नु नै चुनौती थियो । अहिलेका महिलालाई घर र कार्यालयको व्यवस्थापनलगायत आफ्नो पेसा र व्यवसायमा आफूलाई पटक–पटक प्रमाणित गर्नुपर्ने चुनौती पनि त्यत्तिकै छ । संयुक्त राष्ट्रसङ्घ परिसर र बाहिर गरेर यसपटक दुई सयवटा कार्यक्रमहरू आयोजना गरिएका थिए । अचम्म त के भने अमेरिकाका हुन् या युरोप, अफ्रिका, एसिया या दक्षिण एसिया महिलाले सामना गर्दै आएका समस्या करिब–करिब उस्तै–उस्तै थिए । घटनाका प्रकृतिहरू अलि तलमाथि भए पनि मानिसले हेर्ने दृष्टिकोणदेखि राज्यले गर्ने व्यवहारसम्ममा समानता देखियो । आशा गरौँ, अबको पाँच वर्षमा परिस्थिति फरक हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहसँग मिलेर जानुपर्ने धारणा राखेका छन्।

काठमाडौँ । नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ । आगामी शुक्रवार दिउँसो १ बजे संघीय संसद् भवन नयाँबानेश्वरस्थित ल्होत्से

बेइजिङ । शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् ।

काठमाडौं । झापा जिल्लाको बिएण्डसी शिक्षण अस्पताललाई सम्बन्धन दिने तयारी भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताए । उनले आज बिर्तामोडस्थित