देशको समय अब अरू कति बर्बाद गर्ने ? :: देवप्रकाश त्रिपाठी

४ चैत्र २०७१, बुधबार ११:०८ मा प्रकाशित

नेपाली नेताहरू ब्रह्मा, विष्णु, महेश्वरझैँ सृष्टिकर्ता, पालनकर्ता र संहारकर्ता सायद आफैँलाई ठान्दछन्, उनीहरूको सोच र हालसम्मको व्यवहारले यस्तै सङ्केत गर्दछ । ‘हामी आज जे दिन्छौँ त्यही मात्र भावी पुस्ताले पाउनेछन् र नदिए उनीहरू युगाँैयुगसम्म रित्तै बस्नेछन्’ भन्ने प्रकारको व्यवहार अगुवा राजनीतिकर्मीले प्रस्तुत गरिरहेका छन् । त्यसैले भावी पुस्तालाई ‘यो दिने कि त्यो’ भन्दाभन्दै यिनले दशकौँ बिताइसकेका छन् । संविधानसभालाई अस्तित्वमा ल्याएपछि झन् नेताहरूको एउटै काम ‘भोलिको पुस्तालाई कस्तो नेपाल दिने’ भन्ने प्रश्नमा बहस–छलफल गर्नु र तनाव बढाउनु भएको छ । आजको पुस्ता प्रताडित भइरहेको छ, नेपाली हुनुलाई बोझ ठानेर परदेश पलायन हुन नसक्नेहरूका लागि जीवन नै एउटा बोझ बनिरहेको छ, तर राजनीतिकर्मीहरूमा किञ्चित पीडाबोध देखिँदैन । हजारौँ बोकाहरूबीच उभिएका ‘बुचर’ जस्तै जनताबीच नेताहरूको ‘इमेज’ बन्दै छ । तथापि उनीहरूमा आफूहरू नेपाली जनताका मुक्तिदाता, अन्नदाता र जीवनदाता भएको भ्रम जीवित देखिँदै छ । संविधानसभाको नाममा, संविधानसभाभित्र ठ्याक्कै मानिसकै आकार–प्रकारका प्राणीहरू राखेर, राजनीतिक आवरणका केही व्यक्तिले यो दशकभित्र जे–जे गरे त्यसको लेखाजोखा अब पनि नगरे कहिले गर्ने ? हामै्र पुस्ताले नगरे कसले गर्ने ? दशकभित्र यिनलाई जे–जस्ता रूप, रङ्ग र भावमा देखियो फेरि पनि यिनैले देशलाई माया गर्ने तथा संविधान, स्थायित्व, शान्ति, विकास र समृद्धि दिने आशा जीवित राख्नु भनेको पागल पतिको प्रेममा डुबुल्की मार्ने र आनन्दमय जीवन यात्राको सपना देख्ने कुनै ‘पत्नी’कै अवस्था हामी सबैले व्यहोर्नु हो । यो गुलेलीले चरा मार्छ कि मार्दैन भनेर कति दिन पर्खने ? यो गाई ब्याउँछ कि ब्याउँदैन भनेर कति वर्ष प्रतीक्षा गर्ने ? यो बाटोबाट सगरमाथा पुगिन्छ कि पुगिँदैन भनेर कति किलोमिटरसम्म हिँड्ने ? यो सियोले घोच्दा रगत आउँछ कि आउँदैन भनेर शरीरको कति ठाउँमा घोच्ने ? हरेक कुराको परीक्षण र प्रतीक्षाको सीमा हुन्छ, तर के हामी नेपालीले मात्र सीमाहीन प्रतीक्षा र प्रयोगको पात्र अनन्तकालसम्म बनिरहनुपर्ने हो ?

राणाशासनलाई जन दु:खको कारण ठानियो र त्यसको अन्त्यपछि सुखको वर्षात् हुने प्रचार गरियो । पञ्चायतलाई समस्याको मुख्य स्रोत मानियो र त्यसलाई ढालेपछि साँचो अर्थको सुख प्राप्त हुने बताइयो । त्यसपछि राजसंस्थालाई बाँकी समस्याको जड ठानियो र लोकतन्त्रसहितको गणतन्त्र घोषणा पनि गरियो । संविधानसभामार्फत बनाइने संविधानको स्वाद मुस्ताङ्गी स्याउभन्दा पनि स्वादिलो हुने प्रचारबाजी भयो, हामीले पत्याइदियौँ । संविधानसभाको नाममा यस दशकभित्र जे देख्यौँ, हामीले जे भोगिरहेका छौँ यो नै चरम–परम् आनन्दको क्षण बनिरहेको छ भने दुईवर्षे कार्यकालको संविधानसभालाई ‘चारवर्षे’ बनाएझैँ चारवर्षे कार्यकालको दोस्रो संविधानसभालाई आठवर्षे बनाइदिऊँ र आठ वर्षपछि तेस्रो संविधानसभाको निर्वाचन पनि गराइदिऊँ । होइन भने संविधानसभा र यस्तो सभामार्फत शान्ति र स्थायित्व प्राप्त नहुने ठहरसहित विकल्पको खोजी गर्न ढिलाइ भइसकेको निष्कर्षमा पुग्न धेरै ढिलाइ भइसकेको छ । पहिले एमाओवादी, क्षेत्रीयता तथा जातीयताका पक्षधरहरूको बलियो उपस्थिति रहेको संविधानसभा थियो । एमाओवादीले दुईतिहाइ बहुमतको आधारमा संविधान जारी गर्ने प्रक्रिया सुरु गरेको भए असम्भव थिएन । त्यसबेला काङ्ग्रेस–एमालेले संविधान सहमतिमै बन्नुपर्ने अडान लिए, अडान नाजायज थिएन, तर सहमतिको सम्भावना नहुँदा संविधान बन्न सकेन । दोस्रो संविधानसभामा एमाओवादी र क्षेत्रीयता एवम् जातीयताका पक्षपातीहरू रक्षात्मक अवस्थामा छन्, उनीहरू सहमतिमै संविधान बन्नुपर्ने माग राख्दै सहमतिको संविधान जारी गर्न काङ्ग्रेस–एमालेले गरेको प्रयासप्रति अहसमति जनाउँदै छन् । राजनीतिकर्मीहरूबीच सहमति र असहमतिको यस्तो शृङ्खला निरन्तर चलिरहने र यिनकै वैयक्तिक आकाङ्क्षाको बन्धन यो मुलुक बनिरहने विद्यमान अवस्थालाई पन्छाउन विलम्ब भइसकेको छ । पहिलो कुरा सबै राजनीतिकर्मीहरूबीच सहमति असम्भव छ, बाह्रबुँदे सहमतिमा सहभागी राजनीतिक समूहहरूबीचकै मात्र सहमति पनि अब कठिन भइसकेको छ । दोस्रो, काङ्ग्रेस, एमाले, एमाओवादी र मधेसी नेताहरूबीच सहमति बनेछ र तिनले संविधान जारी गरे भने पनि त्यसलाई बाँकी धेरै पक्षले अस्वीकार गर्ने र संविधानकै कारण मुलुकमा अर्को प्रकारको हिंसात्मक द्वन्द्व प्रारम्भ हुनेमा शङ्का गरिरहनुपर्ने छैन ।

त्यसमाथि जसले संविधानसभामार्फत संविधान बनाउनुपर्ने भन्दै हिंसात्मक युद्धको बाटो अवलम्बन गरेका थिए, तिनले संविधानसभा ‘अपहरणमा परेको’ भन्दै पुन: अर्को बाटो हिँड्ने यात्राको तयारी गरिसकेका छन् । यस्तो पृष्ठभूमिमा संविधानसभालाई निरन्तरता दिनु र यिनकै प्रतीक्षा गर्नु भनेको देशको समय बर्बाद गर्नु मात्र हो । वि.सं. २००७ सालयताका साढे ६ दशक हामीले विभिन्न नाम, शीर्षक र चरित्रका राजनीतिक नाट्ययात्रा हेरेर बितायौँ । अब यसैगरी अरू कति समय राष्ट्रको समय बर्बाद गर्ने हँ ? ‘वीर’ हुनुको पनि एउटा सीमा हुन्छ, हामी ‘धेरै वीर’ भइसकेका छौँ, अब अलिकति बुद्धिमान पनि बन्ने हो कि ? भोलिको पुस्तालाई सुख, सुरक्षा र शान्ति दिन हामीले आफ्नै पालामा शान्ति, सुख र समृद्धि प्राप्तिको निम्ति नयाँ विकल्प खोज्ने हो कि ? हो भने संविधानसभाबाट संविधान बनाउने व्यर्थ कुरामा किन अल्झिरहने ? ब्रिटेन, न्युजिल्यान्ड र इजरायलले संविधानबिना पनि शान्ति र समृद्धि प्राप्त गरिरहेका छन् भने हामीलाई मात्र संविधान नभइनहुने किन ? संविधान नै चाहिने भए वि.सं. २००४ सालदेखि ०१५, ०१९, २०४७ र २०६३ सम्म विभिन्न चरित्रका संविधान पाएकै हौँ, तीमध्ये उत्कृष्ट एउटालाई स्वीकार गर्न जम्बो आकारको एउटा संविधानसभालाई मात्र अस्वीकार गरे पुग्छ । राष्ट्रले यो ‘गलगाँड’ अब किन बोकिरहनु ?

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । झापा जिल्लाको बिएण्डसी शिक्षण अस्पताललाई सम्बन्धन दिने तयारी भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताए । उनले आज बिर्तामोडस्थित

सिजन मिडियाद्वारा आयोजना गरेको ‘लेट मी इन मिसेज ब्युटी क्विन नेपाल सिजन ४’ की विजेता ललितपुरकी रश्मि शाक्य हुनुभएको छ

काठमाडौँ । स्वास्थ्य उपचारका लागि नयाँ दिल्लीमा रहको पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई आज स्वदेश फर्किन लागेका हुन् । न्युरो–इन्डोक्राइनको

धादिङ । एक्स्काभेटरको ठक्करबाट घाइते भएकी एक महिलालाई चालकले जिउँदै पुरिदिएका छन् । त्रिपुरासुन्दरी १ सल्यानटारको खोल्सी जिपजिपेमा सडक निर्माणका