जसले जे भने पनि जिया नाङ्गिरहने – चलचित्रमा अश्लील दृश्य कथाले माग्छ कि मगाइन्छ ?

२६ जेष्ठ २०६९, शुक्रबार ०९:५८ मा प्रकाशित

चर्चा पनि र व्यापार पनि बटुल्न सफल भनिएको चलचित्र ‘चपली हाइट’की नायिका हुन्– विनिता बराल । यौनजन्य विषय र दृश्यहरुले भरिएको उक्त चलचित्रमा काम गर्नुअघिभन्दा गरिसकेपछि झन् बढ्ता डर लागेको स्वीकार गर्दै विनिता भन्छिन्– ‘सुरुमा कन्ट्रोभर्सियल हुँदा म एकदम आँत्तिएकी थिएँ । इमानदारीका साथ भन्नुपर्दा मेरो फ्यामिलीका मान्छेहरु पनि आँत्तिएका थिए ।’ यसरी डरै मान्नुपर्ने सिनेमामा किन काम किन गरेको त भन्ने जिज्ञासा उनले यसरी मेटाउने कोसिस गरिन्– ‘केही त्यस्ता दृश्यहरु कटाउनका लागि धेरै कोसिस गरेकी हुँ मैले पनि, तर यो सेक्सुअल कन्टेक्स्टमै बनेको हुनाले ती दृश्य राख्नैपर्ने भन्ने तर्क निर्माता–निर्देशकका तर्फबाट आयो र उहाँहरुको तर्क मलाई चित्त पनि बुझेपछि जे त होला भनेर मैले मन दरो बनाएँ ।’
यतिबेला नेपाली चलचित्र बजारलाई यौनजन्य दृश्यहरुले तताएको छ । यसै मामलामा पछिल्लोपटक एटीएम नामक चलचित्रमा हालसम्मकै सर्वाधिक अश्लीततापूर्ण दृश्य दिएर अत्यन्त विवादित बन्न पुगेकी नायिका जिया केसी भन्छिन्– ‘हो मेरो पछिल्लो चलचित्र एटीएममा एक–दुईवटा दृश्य त्यस्तो छ, छैन भन्न मिल्दैन । म आर्टिस्ट भएर यो गर्छु–त्यो गर्दिनँ भनेर अडान लिन या अनावश्यक नखरा देखाउन पनि त सक्दिनँ । कि त म यो क्षेत्रमै आउन हुँदैनथ्यो । मलाई कुनै स्टोरी मन प¥यो र मेरो मन खायो भने अझै पनि म त्यस्ता दृश्य डेफिनेट्ली गर्छु, कसैले के भन्ला भनेर म पछि हट्दिनँ ।’
जियाको तर्क जेसुकै भए पनि चलचित्र निर्माणमा कलाकारहरुकोभन्दा निर्माताकै हात माथि रहन्छ । के निर्माता हुनु कमाउनकै लागि मात्र हो ? उसको कुनै सामाजिक दायित्व हुँदैन ? कलाकार भए पनि एक निर्माता समेत रहेका सुनिल रावल भन्छन्– ‘बरु म फिल्म बनाउँदिनँ तर त्यो किसिमको सिनेमा कुनै हालतमा पनि गर्दिनँ । रियालिटी वेसमा बनाउनु प¥यो भने समाजमा यौन कुन किसिमले झल्कने गरेको छ त्यही हिसावले ल्याउँछु ।’ रावलले पनि आफ्नो चलचित्र ‘सायद’मा फिल्माएको एउटा अश्लिल प्रतीत हुने दृश्यको यसरी बचाउ गरे– ‘अहिले यसरी सेक्सुअल दृश्यहरु ल्याएर यु टुव र फेसबुकमा हाल्ने ट्रेन्ड चलेकोले कुनै कुरा लुक्न सक्दैन र छिट्टै प्रचारप्रसार भइहाल्छ, मैलेचाहिँ यो कुरालाईस माजलाई पाच्य हुनेगरी मिलाएर देखाएको छु ।’
धेरैतिर सुनिने विषय हो– कथाले मागेअनुसार दृश्य दिने । तर कथाले यौनजन्य दृश्यहरु साँच्चै माग्छ कि मगाइन्छ ? चलचित्र लेखक ब्रजेश खनाल भन्छन्– ‘तपाईं अलरेडि लेखिसकिएको कुनै कथामाथि सिनेमा बनाउँदै हुनुहुन्छ भने पक्कै कथाले माग्छ । जस्तो कि सुम्निमा उपन्यासमाथि कसैले सिनेमा बनाउँछ भने कथाले माग्छ, नायिकालाई निर्वस्त्र नदेखाए सुम्निमा कथामाथि बनेको सिनेमाको कुनै तुक रहँदैन । त्योचाहिँ कथाले माग्ने कुरा भयो, तर फ्रेस कुनै लेखेर बनाउने हो भनेचाहिँ त्यस्तोमा कथाले माग्ने होइन कथालाई मगाइने हो ।’
प्रदर्शनअघि सिनेमालाई जाँच गर्ने चलन पनि छ । केही दिनअघि मात्र चलचित्रको अश्लील दृश्ययुक्त प्रोमो पहिले नै जथाभावी प्रदर्शन गरेको विषयलाई लिएर चलचित्र एटीएमका निर्मातालाई चलचित्र विकास वोर्डले पत्र नै काटेको थियो । वोर्डका अध्यक्ष गणेश भण्डारी भन्छन्– ‘समाजिक मर्यादा या दायित्वविरुद्ध छ भन्ने उजुरी आएकोले हामीले सोधपुछ गर्नु आवश्यक ठानेर त्यसो गरेका हौँ ।’ तर जस्तो कदम चाले पनि आजकाल नेपाली चलचित्रमा यौनजन्य दृश्यहरुको प्रयोग बेस्सरी बढेको छ र खासगरी नायिकाहरुलाई अनेक तरहले प्रलोभनमा पार्ने प्रयत्नहरु हुने गरेको छ । आफूलाई आएको यस्तै प्रस्ताव बारे नायिका विनिता बराल भन्छिन्– ‘पाँच लाख दिन तयार छु विनिताजी मेरो फिल्म खेल्दिनुस् पनि भने, मैले त्यो स्वीकार गरेर पैसा लिइ मोज गरिदिएको भए पनि त हुन्थ्यो नि, तर मैले त्योभन्दा समाजप्रतिको आफ्नो कर्तव्य हेरेँ, मेरो परिवार छ, प्रतिष्ठा छ, मप्रति समाजको आँखा छ र भरोसा पनि गरेको छ भने मैले पाँचलाखको लागि त्यो विश्वास किन तोड्ने भन्ने मलाई लाग्यो र अस्वीकार गरिदिएँ ।’
यस्तो दृश्यको बिगबिगीलाई रोक्न बोर्डसँग के उपाय छ त ? अध्यक्ष भण्डारी भन्छन्– ‘चलचित्र विकास बोर्डमा अन्तर्निहित अधिकारहरुलाई प्रयोग गरी कानुनी दायरामा ल्याउनु पर्छ, हामी त्यही गर्छौं ।’
बोर्डले यो दाबी गरे पनि के नेपाली चलचित्रमा अश्लील यौनजन्य दृश्यको प्रयो के साँच्चै मत्थर भएर जाला त ? त्यस्तो आशा गर्ने आधार भने देखिँदैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली नारीहरुको महान चाड हरितालिका तिज नजिकै गर्दा पछिल्लो समय बजारमा गीतहरु धमाधम आइरहेको छन् । यसैक्रममा नेपाली

अभिनेत्री मिया खालिफाले श्रीमानसँग सम्बन्धविच्छेद गरेकी छन् । हालै उनले आफुले सम्बन्धविच्छेद गरेको घोषण गरेकी हुन् । खलिफाले श्रीमानसँग अलग

काठमाडौँ । गायक स्वरूपराज आचार्य र गायिका अस्मिता परियारको आवाजमा रहेको ‘माया गर्ने मान्छे’ बोलको गीत सार्वजनिक भएको छ ।

काठमाडौं । म्युजिक भिडियोमा डेब्यु गरेका अमेरिकाको पेन्सिलभिनिया राज्यको पिटर्सबर्ग निवासी पुर्ण लम्साल अभिनित ‘तिमी छौ र’ बोलको को म्युजिक