नसिदको कारबाहीप्रति विश्वव्यापी चासो

१ चैत्र २०७१, आईतवार २१:४४ मा प्रकाशित

माले, १ चैत । मालद्वीपका पूर्व राष्ट्रपति मोहम्मद नसिदलाई दिइएको जेल सजायप्रति विश्वव्यापी रुपमा चासो बढेको छ ।

उक्त विवादास्पद निर्णयप्रति बढेको विश्वव्यापी चासो र यसको विरोधका बाबजुद पनि सरकारले सो निर्णयको विरोध नगर्न चेतावानी दिएको छ ।

अदालतले सो निर्णय गरेकाले अदालतको निर्णयको स्वागत र सम्मान गर्न सो आग्रह गरिएको बताइएको छ ।

संयुक्त राज्य अमेरिका, युरोपेली युनियन, दक्षिण एसियाको एक शक्ति राष्ट्र भारतले पनि यस निर्णयप्रति चासो व्यक्त गरेको बताइएको छ ।

मालद्वीपका राष्ट्रपति अब्दुल्लाह यामिनले नसिदसँग उक्त निर्णयको विरोधमा अपिल गर्ने अधिकार रहेको धारणा राख्नुभएको छ ।

उहाँले यस निर्णयप्रति असहमति जनाउने विश्व समुदायलाई पनि सरकारलाई रचनात्मक सुझाव दिनसक्ने धारणा आइतबार राख्नुभएको राजधानी मालेबाट प्राप्त समाचारमा जनाइएको छ ।

शुक्रबार राति सो विषयमा निर्णय दिइएको हो । जसका कारण मालद्वीपमा निकै तनाव उत्पन्न गरिरहेको छ । उहाँलाई १३ वर्षको जेल सजाय सुनाइएको छ ।

शुक्रबार राति दिइएको सो कारबाहीपछिको पहिलो प्रतिक्रिया व्यक्त गर्दै मालद्वीपका राष्ट्रपति यामिनले अदालतको फैसलाको सबैले पालना गर्नुपर्ने बताउनुभएको छ ।

पूर्व राष्ट्रपति मोहम्मद नसिदलाई त्यहाँको अपराध हेर्ने अदालतले १३ वर्षको जेल सजाय सुनाएको हो । सो अदालतले उहाँलाई आतङ्कवादको आरोपमा सो सजाय सुनाएको समाचारमा जनाइएको छ ।

शुक्रबार सुनाइएको सो सजायको मालद्वीपमा पनि व्यापक विरोध भएको छ । मोहम्मद नसिदको पार्टीले सो निर्णयको विरोध गर्दै यसले राजनीतिक प्रतिशोध साँधेको बताएको छ ।

उहाँको राजनीतिक दल मालदिभियन डेमोक्र्याटिक पार्टी (एमडिपी) ले दिएको प्रतिक्रियामा भनिएको छ– यो राजनीतिक प्रतिशोध बाहेक अरु केही होइन, यसले वर्तमान सरकारको नियत देखिन्छ ।

विश्व मानवअधिकारवादी संस्था एम्नेष्टी इन्टरनेशनलले यस निर्णयलाई प्रक्रिया नपुगेको र नियतबसजस्तो देखिएको भनी प्रतिक्रिया दिएको छ ।

उसको निष्कर्षमा यस फैसलाले पूर्व राष्ट्रपति नसिदलाई जबर्जस्ती आतङ्कवादी क्रियाकलापमा लागेको भनी फसाउन खोजेको भनिएको छ ।

मोहम्मद नसिद मालद्वीपको राष्ट्रपतिका रुपमा सन् २००८ मा निर्वाचित हुनुभएको थियो । तर उहाँलाई विद्रोह गरी सन् २०१२ को फेब्रुअरीमा हटाइएको थियो ।

उहाँलाई वर्तमान सरकारले आतङ्कवादी क्रियाकलापलाई समर्थन गरेको आरोपमा विगतदेखि नै थुनामा राखेको थियो । तर आफूमाथिका कुनै पनि आरोप सत्य नरहेको भन्दै उहाँले त्यसको खण्डन गर्दै आउनुभएको थियो ।

उहाँमाथि वर्तमान सरकारले गरेको यो व्यवहारप्रति स्वदेश र विदेशमा पनि व्यापक मात्रामा आलोचना भएको थियो । उहाँमाथि कारबाहीका लागि गरिएको यस फैसलाको पनि देशभित्र र बाहिरबाट विरोध आएको बताइएको छ ।

आफुलाई यस जेल सजाय सजाय सुनाइएपछि दिइएको प्रतिक्रियामा पूर्व राष्ट्रपति नसिदले सरकारले आफूमाथि राजनीतिक प्रतिशोध साँधेको बताउनुभएको छ ।

उहाँले आफ्नो दलले आन्दोलन जारी राखेको भन्दै सो आन्दोलनमा सहभागिताका लागि सबैसँग आग्रह पनि गर्नुभएको छ ।

पूर्व राष्ट्रपति नसिदले आफुले अपिल नगर्ने पनि बताउनुभएको छ । यो निर्णय नै सरकारको निर्देशनमा आएकोले यसप्रति अपिल गर्नुको कुनै अर्थ नरहेको धारणा उहाँले राख्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

युरोपेली संघ ‘ईयू’ मा कोरोना भाइरस ‘भ्याक्सिनेसन पासपोर्ट’ अर्थात खोप राहदानीको प्रयोग गर्ने तयारी थालिएको छ । ग्रीस र अस्ट्रियाले

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विरोधी तथा भ्रष्टाचार विरोधी विपक्षी नेता एलेक्सी नाभाल्नीलाई अज्ञात ठाउँमा लगिएको छ । उनलाई

एजेन्सी । टर्कीको एक अदालतले दुई जना पाइलट र एक निजी विमान सञ्चालकलाई जेल चलान गरेको छ । सन् २०१९

म्यानमारको दोस्रो सबैभन्दा ठूलो शहरमा सुरक्षाकर्मीद्वारा चलाएको गोली लागी कम्तीमा दुई जनाको मृत्यु भएको छ । म्यानमारको सङ्कट व्यवस्थापन अधिकारीले