प्रधानमन्त्री कोइराला र अध्यक्ष प्रचण्डबीच आज बिहान निर्णायक वार्ता हुँदै

१ चैत्र २०७१, आईतवार ०७:२१ मा प्रकाशित

काठमाडौँ, १ चैत्र । संविधानका विवादित विषयमा सहमति कायम गर्न प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अबको केहि बेरमै द्विपक्षीय वार्ता हुने भएको छ ।

सत्तारुढ दलका तर्फबाट प्रधानमन्त्री कोइराला र तीस दलीय विपक्षी मोर्चाका संयोजक दाहालबीच संविधानका अन्तर्वस्तुमा सहमति खोज्न वार्ता हुन लागेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ भएको प्रमुख राजनीतिक दलको वार्ताबाट निकास निस्कन नसकेपछि नेपाली काँग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री र संयोजक दाहालबीच निर्णायक वार्ता गर्ने सहमति भएको हो ।

सहमतिका आधारमा सबै पक्षलाई मिलाएर संविधान निर्माण गर्ने ध्येयका साथ दुई शीर्ष नेताबीच गम्भीर संवाद हुन लागेको बैठकपछि त्यसमा सहभागी नेताहरूले जानकारी दिनुभयो ।

प्रमुख चार दलको आजको वार्तामा पनि सहमति जुट्न नसकेपछि सहमतिकै आधारमा संविधान निर्माण गर्ने वातावरण तयार पार्न प्रधानमन्त्री कोइरालाले नै द्विपक्षीय वार्ताको प्रस्ताव गर्नुभएकाले सोहीअनुसार अगाडि बढ्ने निर्णय भएको एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

बैठकमा प्रधानमन्त्री कोइरालाले सहमति निकट पुग्न गत माघ ५ गतेकै सेरोफेरोमा वार्ता प्रक्रियालाई अगाडि बढाउन आग्रह गर्नुभएको थियो । राज्य पुनःसंरचना बाहेक संविधानका अन्य विषयमा माघ ५ को वार्तामा दलहरू सहमति नजिक पुगेका थिए ।

सभापति कोइरालाले दलहरूबीच विवाद बढाएर नभई त्यसलाई घटाएर अगाडि बढ्नुपर्ने, सहमति भएका विषयमा भन्दा असहमतिका बुँदामा घनिभूत बहस र छलफल गर्नुपर्नेमा जोड दिनुभएको कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्री नरहरि आचार्यले जानकारी दिए ।

बैठकमा चार पक्षबीच सघन छलफल भएको जानकारी दिँदै उहाँले कुन आधारमा संविधान निर्माण प्रक्रियालाई निष्कर्षमा पुर्याउने  भन्ने बारेमा संवाद भएको बताए   ।

“प्रधानमन्त्री कोइरालाले सहमतिका आधारमा संविधान जारी गर्न आफू प्रतिबद्ध रहेको जनाउँदै सार्थक संवाद हुनुपर्नेमा जोड दिनुभयो”– मन्त्री आचार्यले भने  ।

बैठकको सुरुमा प्रधानमन्त्री कोइरालाले वार्ताको विषयवस्तुमा प्रवेश गर्दै सत्तारुढ दलका तर्फबाट एमाले उपाध्यक्ष समेत रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमलाई आफ्ना धारणा प्रस्तुत गर्न समय दिएका थिए  ।

उपाध्यक्ष गौतमले शुक्रबार अध्यक्ष केपी शर्मा ओलीको निवासमा भएको छलफलका आधारमा गत कात्तिकमा सत्तारुढ दलले पेस गरेको नौ बुँदे प्रस्तावमा केन्द्रित रहेर संवाद हुनुपर्नेमा जोड दिएका थिए  ।

प्रधानमन्त्री कोइरालाले गत माघ ५ गते भएको सहमतिकै आसपासमा रहेर सार्थक संवाद हुनुपर्ने धारणा व्यक्त गर्नुुभएको सन्दर्भमा नौ बुँदे प्रस्तावमा नै छलफल हुनुपर्ने विषय नेता गौतमले उठाएपछि एमाओवादी नेतृत्वको मोर्चाका नेताले आपत्ति जनाएका थिए ।

एमाले उपाध्यक्ष गौतमले जातीयताका आधारमा राज्यको पुनःसंरचना हुन नसक्ने, पहिचानको नाममा पहाड र तराईलाई खण्डित गर्न नहुने, विगतका सहमति र सम्झौतालाई टेकेर संविधानसभाको जनादेशलाई ख्याल गर्नुपर्ने आवश्यकता औँल्याएका थिए ।

प्रधानमन्त्रीले असहमतिका विषयमा संवाद गर्ने भन्ने तर एमालेका तर्फबाट वार्ताको नेतृत्व गर्नुभएका नेता गौतमले नौ बुँदेको सन्दर्भ जोड्ने विषयले सहमति नहुने अडान आफूहरुले राखेको एमाओवादीका सचिव वर्षमान पुनले जानकारी दिए ।

तर उपाध्यक्ष गौतमले पार्टीको निर्णयअनुसार नै नौ बुँदे प्रस्ताव प्रस्तुत गरेको स्पष्टीकरण दिनुुभयो । उपाध्यक्ष गौतमले भन्नुभयो ‘‘जातीय आधारमा राज्य पुनःसंरचना गर्न सकिदैन, पहाड र तराईलाई खण्डित गर्न पनि मिल्दैन भन्दा एमाओवादी र मधेसवादी दलले आपत्ति जनाए ।’’

बैठकमा काँग्रेसका उपसभापति रामचन्द्र पौडेल, नेता शेरबहादुर देउवा, नेकपा (एमाले) का उपाध्यक्ष भीमबहादुर रावल, नेता माधवकुमार नेपाल, एमाओवादीका महासचिव कृष्णबहादुर महरा र मधेसवादी दलका शीर्ष नेताको सहभागिता थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सत्तारुढ नेकपा विवाद नटुंगिएसम्म कांग्रेसले भावी सरकारको बारेमा निर्णय नलिने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास

काठमाडौं । विगत् १० महिनादेखि श्रीलंका कारागारमा रहेका २६ नेपाली महिला तत्काल छुट्ने सम्भावना नरहेको श्रीलंकास्थित नेपाली दूतावासले जनाएको छ

काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनापछि नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले भेटवार्तालाई तीव्र पारेका छन् । बिहीबार बामदेव गौतमसँगको भेटवार्तापछि

बुटवल । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित दुई जना