एफ.एम.रेडियो र बालबालिका -विमलकुमार थापा

३० फाल्गुन २०७१, शनिबार १४:०९ मा प्रकाशित

सञ्चारका विभिन्न माध्यमहरुमध्ये रेडियो एक सशक्त माध्यमका रुपमा लिने गरिन्छ । नेपाल मात्रै होेइन, रेडियो संसारभर नै उत्तिकै भरपर्दाे र विश्वसनीय माध्यमका रुपमा अझैपनि रहँदै आएको छ । नेपालको सन्दर्भमा त यसको महत्व र भूमिका अत्यन्त गर्वीलो अवस्थामा रहेको छ । राजनीतिक, सामाजिक अनि आर्थिक विकासमा समेत रेडियोले उल्लेखनीय भूमिका खेलेको देखिन्छ नेपालको सन्दर्भमा ।
वि.सं. २००८ देखि सालमा स्थापना भएको रेडियो नेपालको प्रसारणसँगसँगै गति लिएको देखिन्छ । यद्यपि, यसपूर्व पनि विशेषतः राणा शासनको विरुद्धमा नेपाल प्रजातन्त्र रेडियो सक्रिय थियो भन्ने इतिहास भेटिन्छ । वि.सं.२००५ सालमा नेपाली काँग्रेसले राणा शासनको विरुद्ध प्रजातन्त्रको पक्षमा सूचना सम्प्रेषण गर्नको लागि नेपालको पूर्वी क्षेत्र विराटनगरमा यसको सुरुवात गरेको इतिहास पनि भेटिन्छ । सन् १९२३ देखि नै नेपालमा सम्भ्रान्त समुदाय तथा वैदेशिक रोजगारमा गएका परिवारले छिटफुट रुपमा छिमेकी राष्ट्र भारतका रेडियो स्टेशनबाट प्रसारण हुने कार्यक्रमहरु सुन्दै आउने गरेका थिए ।
रेडियोको इतिहासलाई अध्ययन गर्ने हो हो भने राणा प्रधानमन्त्री पद्म सम्शेर राणाले वि.सं २००३ मा जनताले आफ्नो निजी रेडियो राख्न पाउने घोषणा गरे । सोही बेलादेखि छिटफिुट रुपमा नेपालमा रेडियोको प्रयोग जनस्तरमा हुन थालेको देखिन्छ । त्यसको दुई बर्षपछि वि.सं. २००५ सालमा पद्म शम्सेरले नै तत्कालिन विजुली अड्डामा राष्ट्रिय रेडियोको स्थापना गरे । तर उनले गरेको यो प्रयासले धेरै लामो समयसम्म निरन्तरता पाउन सकेन । जब राजनीतिक रुपम पद्म शम्शेरले राजिनामा गरे तब, केही महिनामा नै यो प्रसारण सेवा स्थगित हुन पुग्यो । तत्पश्चात प्रधामन्त्री भएका मोहन शम्शेरले सोही रेडियो प्रसारणलाई निरन्तरता दिनको लागि दुईवटा ‘ट्रान्समिटर’ ल्याए । जब वि.सं. २००८ सालको अन्त्यतिर यी दुईवटा ‘ट्रान्समिटर’ नेपाल भित्रिए तबभने संस्थागत रुपमा रेडियो नेपालको स्थापना हुनपुग्यो । त्यतिखेर सेवा प्रदायक रेडियोको रुपमा रेडियो नेपालको स्थापना भएको थियो । २५० वाट क्षमताको रेडियो नेपालले दैनिक साँढे ४ घण्टा आफ्नो कार्यक्रम प्रसारण गर्दथ्यो । त्यसको करिब १ बर्षपछि मेडियम वेभ र वि.सं. २०१३ सालमा सर्ट वेभ प्रसारण समेत प्रारम्भ हुन पुग्यो । यो क्रम वि.सं. २०५२ सालसम्म कायमै रह्यो ।
खासगरी देशमा प्रजातन्त्रको पुनस्र्थापनापश्चात सरकारको उदारीकरण नीतिका कारण सञ्चार क्षेत्रमा समेत उल्लेखनीय विकास हुन पुग्यो । जसको कारण निजी स्तरमा रेडियो स्थापनाको निम्ति इजाजतपत्र प्राप्त भयो । अनि देशमा निजी स्तरबाट रेडियोको स्थापना हुने क्रम ह्वात्तै बढेको देखिन्छ । वि.सं.२०५२ सालमा फ्रिक्वन्सी मोडुलेशन (एफ.एम) को प्रविधि नेपालमा भित्रिएपश्चात भने रेडियोको प्रसारण विस्तारमा छलाङ्ग नै मार्न पुग्यो । वि.सं. २०५४ सालमा पहिलोपटक सामुदायिक रेडियो ‘रेडियो सगरमाथा एफ.एम. १०४ थोप्लो ४ मेगाहर्ज’ स्थापना हुन पुग्यो । यसले नेपाल मात्र होइन दक्षिण एशियामा नै स्वतन्त्र सामुदायिक प्रसारण संस्थाको रुपमा आफूलाई स्थापित गर्न पुग्यो । खासगरी जनताको अभिव्यक्ति तथा सूचनाको अधिकारलाई सुनिश्चित गर्न सामुदायिक रेडियोले उल्लेखनीय भूमिका खेल्न थाल्यो । हुन त सामाजिक न्याय र परिवर्तन सामुदायिक रेडियो आधारभूत मान्यता मान्ने गरिन्छ । सोही अनुरुप देशका विभिन्न भागहरुमा यस्ता सामुदायिक रेडियोहरुको स्थापना हुँदै गयो । खासगरी जनजिविकाका बिषयहरुलाई सामुदायिक रेडियोले महत्वका साथ उठाउनु पर्दछ भन्ने मान्यता पनि राखिन्छ । यसो भन्दा सम्पूर्ण सञ्चार माध्यमले यस बिषयमा खेल्ने भूमिकालाई कम आङ्कन गर्न खोजिएको भने होइन । अझ नेपालको मानवअधिकार, प्रजातन्त्र र सामाजिक परिवर्तनको सवालमा सामुदायिक रेडियोले उल्लेखनीय भूमिका खेल्न पुगे । वि.सं. २०६२÷६३ को आन्दोलनमा समेत सामुदायिक रेडियोले महत्वपूर्ण भूमिका खेलेको कुरालाई यहाँ विर्सन मिल्दैन । खासगरी, नेपालको कानुन, लैङ्गिक समानता, शिक्षा, स्वास्थ्य, नागरिक शिक्षा, भ्रष्टाचारविरोधी गतिविधि, सुशासन, वातावरण, महिला तथा बालबालिका लगायत दैनिक जीवनमा जनताले भोगको विविध बिषयबस्तुलाई यथार्थपरक रुपमा उठान गरी त्यसका बारेमा सम्बन्धित निकायलाई झक्झक्याउने कार्यलाई समेत सामुदायिक रेडियोहरुले उल्लेखनीय भूमिका निर्वाह गरेका छन् ।
सरकारले एफ.एम.रेडियो स्थापनाको निम्ति लिएको उदारीकरण नीतिका कारण हालका बर्षहरुमा निजी क्षेत्रको आकर्षण बढ्दो क्रममा रहेको छ । खासगरी व्यवासयिक मूल्य र मान्यतामा रहेर निजी स्तरमा सञ्चालित एफ.एम.रेडियोहरुले आफ्ना कार्यक्रमहरु निर्माण गरिरहेका छन् । सामुदायिक रेडियोको तुलनामा व्यवसायिक रेडियोहरुले आफ्नो प्रसारणको दायरालाई अलि फराकिलो बनाएका देखिन्छन् । खासगरी सामाजिक सरोकार तथा विकासका सवालहरु भन्दा अलि पर रहेर व्यवसायिक रेडियोहरुले आफ्ना कार्यक्रमहरु निर्माण गरिरहेका छन् । हुन त सामुदायिक रेडियो र व्यवसायिक रेडियो सञ्चालनको निम्ति नेपालमा छुट्ट्रै नीतिगत व्यवस्था नभएतापनि व्यवसायिक र सामुदायिक रेडियोले प्रस्तुत गर्ने प्रसारण सामग्रीहरुमा भने केही भिन्नता रहेको छ । अहिले नेपालमा १ सय ५० भन्दा बेसी व्यवसायिक रेडियोहरु स्थापना भइसेका छन् । र, यो क्रम अझै बढ्दो अवस्थामा छ । अहिले सामुदायिक र व्यवसायिक रेडियो गरी उपत्यकामा ४२ वटा एफ.एम. रेडियो स्टेशनहरु प्रसारणमा रहेका छन् ।
एफ.एम रेडियो र बालबालिकाकाः
नेपालको सन्दर्भमा विभिन्न सञ्चार माध्यमहरु मध्ये एफ.एम. रेडियाले अत्यन्त सकारात्मक विकास गरेको देखिन्छ । खासगरी सूचना प्रवाह र सचेतना अभिबृद्धि गर्नको लागि भरपर्दाे र छरितो सञ्चार माध्यमका रुपमा एफ.एम.रेडियोलाई अत्यन्त प्रभावकारी रुपमा लिन सकिन्छ । भौगोलिक विविधता र जटिल भौतिक संरचनाका बीचमा रेडियो जनस्तरसम्म सूचना प्रभाव गर्न अन्य सञ्चार माध्यमभन्दा भरपर्दाे र विश्वसनीय भूमिका निर्वाह गरिरहेको छ । कतिपय भौगोलिक विकटता र भौतिक संरचनाको अभाव भएका स्थानहरुमा समेत जनस्तरमा सूचना प्रवाह गर्न एफ.एम. रेडियोले प्रभावकारी भूमिका खेलेको दृष्टान्त हामीबीच विद्यमान रहेको छ । स्वभाविक रुपमा विद्यमान परिस्थिति र अवस्थामा जनस्तरमा सचेतना अभिबृद्धि गर्न होस् वा जनताका कुरा जनतासम्म पु¥याउन एफ.एम. रेडियो सशक्त माध्यम बन्दै आएको छ ।
यो सन्दर्भमा बालबालिकाका कुरालाई सहज ढङ्गले उठान गर्न एफ.एम.रेडियोले पनि प्रारम्भदेखि नै महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । खासगरी बालबालिकाका निम्ति रमाइला कुरा, उनीहरुका निम्ति कथा, कविता, सिर्जनात्मक अभिव्यक्ति अनि ज्ञानगुनका कुरालाई एफ.एम.रेडियोहरुले प्रसारण गर्दै आएका छन् । यो कुरालाई अग्रगति दिने क्रममा व्यवसायिक भन्दा पनि सामुदायिक रेडियोले उल्लेखनी भूमिका निर्वाह गरेका छन् । खासगरी नेपालका केही रेडियो स्टेशनलाई छाडेर हेर्ने हो भने एफ.एम.रेडियोहरु सामान्यतया दैनिक १८ घण्टा प्रसारणयात्रामा रहेका छन् । यो अवधिमा उनीहरुले प्रसारण गर्ने कार्यक्रमहरु पनि व्यवसायिकतामा बढी निर्भर हुने गर्दछ । व्यवसायिक एफ.एम.रेडियोमा भने महिला तथा बालबालिकाका बिषयबस्तुहरु प्राथामिकतामा नै पर्ने गरेका छ्रैनन् अझैपनि । यसो हुनुमा दुईवटा कारणहरु हुन सक्दछन् । पहिलो कारण व्यवसायिक रेडियो सञ्चालकहरुले बालअधिकारका बिषयबस्तुलाई प्राथमिकताको बिषयका रुपमा नबुझ्नु हो भने दोश्रो कारण भनेको रेडियोको श्रोता बालबालिका पनि हुन् भन्ने मान्यताको अझैपनि विकास हुन नसक्नु नै हो । तर, यो कुरालाई सामुदायिक रेडियोले भने आत्मसाथ गरेको देखिन्छ । खासगरी दैनिकजसो बालबालिकाका निम्ति प्रसारण सामग्री तयार गर्नु अनि त्यसलाई नियमितता दिनु सामुदायिक रेडियोको प्राथमिकतामा पर्ने गरेको छ । यो कुरालाई ‘रेडियो सगरमाथा’ले स्थापित नै गरिदिएको छ । सामुदायिक रेडियो भएको नाताले मात्रै नहुन पनि सक्दछ, ‘रेडियो सगरमाथा’ सञ्चालनमा क्रियाशील व्यक्ति तथा निकायहरुको बालअधिकार प्रतिको संवेदनशीलताका कारण पनि रेडियोमा प्रसारण हुने सामग्रीहरुमा बालअधिकारले प्राथमिकता पाउन सकेको हो । रेडियो सगरमाथाले प्रसारण गर्ने बालबालिकाका रेडियो सामग्री र अन्य रेडियोले प्रसारण गर्ने रेडियो सामग्रीमा धेरै भिन्नता देखिन्छ, गुणस्तरीयताको हिसाबबाट पनि । बालबालिका भनेका अवोध हुन् । उनीहरुप्रति गरिने व्यवहार र बोलीचालीमा कुनै औपचारिकता आवश्यक छैन भन्ने नेपाली सञ्चार माध्यमको पुरातन सोचाइमा रेडियो सगरमाथाले विराम लगाउने काम गरेको छ, बालबालिकालाई ‘तपाई’ भन्ने सम्बोधन गरेर । प्रारम्भमा बालबालिकालाई ‘तपाई’ भन्ने सम्बोधनप्रति विभिन्न कोणबाट कटाक्ष पनि नभएका होइनन् । समाजमा प्रभुद्ध भनिने व्यक्तिहरुबाट समेत बालबालिकालाई तपाई भनेको शब्दप्रति अप्रत्यक्ष रुपमा विमति जनाइरहेका बेला रेडियो सगरमाथाले यसलाई स्थापित गरिछाड्यो । जसको प्रतिफलस्वरुप कतिपय रेडियो स्टेशनले अहिले यसलाई अनुकरण गरिरहेका छन् ।
हाल उपत्यकामा सञ्चालित प्रमुख सामुदायिक तथा व्यवसायिक रेडियोहरुले बालबालिकाका निम्ति यसरी कार्यक्रमहरु निर्माण एवं प्रसारण गर्ने गरेका छन् । जसमा सामुदायिक रेडियोहरु रेडियो सगरमाथाले ‘लुकामारी’ र मेट्रो एफ.एमले ‘बाल सरोकार’ हरेक दिन १ घण्टा प्रसारण गरिरहेका छन् । त्यस्तै, व्यवसायिक रेडियोमा क्यापिटल एफले ‘बाल मञ्च’ हरेक दिन १ घण्टा प्रसारण गर्दछ भने नेपाल एफ.एम.ले ‘कोपिला’ हप्ताको ६ दिन प्रसारण गर्दछ । यस्तै, सिटिजन एफ.एम.ले ‘क्लास रुम’ नामक बाल कार्यक्रम हप्ताको दुई दिन ४५ मिनेट अवधिको र रेडियो कान्तिपुरले हप्ताको एक दिन ‘गेम पिपल प्ले’ नामक कार्यक्रम १ घण्टा प्रसारण गर्दछ । उपत्यकामा प्रसारणमा रहेका कतिपय एफ.एम.रेडियो हप्ताभरि नै कुनैपनि कार्यक्रम प्रसारण गर्दैनन् भने कतिपयले कुनै सन्दर्भ विशेषमा निर्माण गर्ने गरेका छन् । देशभर रेडियो नेटवर्क भएको उज्यालो एफ.एम.ले बालबालिका सम्बन्धी कुनैपनि कार्यक्रम उत्पादन गर्दैन ।
रेडियोको ‘कन्टेन्ट’ सामग्री सामान्यतया श्रोता लक्षित गरेर निर्माण गरिन्छ । खासगरी अहिलेको व्यवसायिक एफ.एम.रेडियोमा युवा वर्गका निम्ति लक्षित ‘कन्टेन्ट’हरु बेसी निर्माण हुने गरेका छन् । यसो हुनुमा दुईवटा मनोबृत्तिले काम गरेको हुनुपर्दछ । एउटा रेडियोका श्रोताहरु युवाहरु नै बेसी छन् भन्ने र अर्काे भनेको व्यवसायिकतालाई धान्नको लागि यस्तै ‘कन्टेन्ट’हरुको भर पर्नु अनि, यसका श्रोताहरु संख्यात्मक रुपमा अधिक भन्ने सतही विश्लेषण हुनु । तर, समग्रमा नेपाली एफ.एम. रेडियोले आफूलाई व्यवसायिक रुपमा निर्भर गराउने पहिलो आधार मान्ने गरेको यी बिषयबस्तुहरुप्रतिको बस्तुपरक विश्लेषण भने कतैबाट भएको पाइँदैन । जनसांख्यिक रुपमा हेर्ने हो भने मुलुकको झण्डै आधा हिस्सा ओगटेका १८ बर्षमुनिका बालबालिकाको संख्या रहेको छ । तर, उनीहरुको निम्ति एफ.ए.रेडियोले अझैपनि यथेष्ट समय र लागानी सामग्री उत्पादनमा खर्चिन कन्जुस्याँइ गरिनुलाई कुनैपनि हातलमा युक्तिसंगत मान्न सकिँदैन । यसमा केटाकेटी पनि एफ.एम.रेडियोका राम्र्रै श्रोताहरु हुन सक्दछन् भन्ने विश्लेषण गर्न नसक्नु नेपाली एफ.एम.रेडियो सञ्चालकहरु कमजोरी मान्न सकिन्छ । संसारमा कतिपय मुलुकका रेडियोहरुले आफ्नो प्रसारण अवधिभर केटाकेटीकै निम्ति पूर्ण रुपमा सामग्री निर्माण गर्ने गरेका छन् । उदाहरणका लागि जर्मनीको ‘रेडि जोजो’ वल्र्ड चिल्ड्रेन मिडिया नेटवर्कले विश्वभर नै बालबालिकाको निम्ति रेडियो कन्टेन्ट निर्माण गरी प्रसारण गर्ने गरेको छ । यसले पनि रेडियोका श्रोता बालबालिका पनि हुन सक्दछन् भन्ने पुष्टी गर्दछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

जिल्लाको दिपायल सिलगढी नगरपालिका–८ लडागडाकी मायाकुमारी विष्टको कक्षा ८ मा पढ्दा पढ्दै सामाजिक सञ्जाल फेसबुकमा एक युवकसँग चिनजान भयो ।

विगतमा घैयाको भाउमा जाने अदुवाले अहिले राम्रै मूल्य पाउन थालेपछि कर्णालीका अदुवा किसान मख्ख छन् । प्रतिकिलो रु पाँच–१० मा

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मृगेन्द्र शिखरबाट राजधानीको सभ्यताको स्रोत वाग्मती प्रकट भएको छ । यो स्थल अहिले गोकर्णेश्वर नगरपालिकाको भौगोलिक

नेपाली युवायुवती आफ्नो रोजगारीको गन्तव्य विदेश सम्झन्छन् र विदेशिन निकै पहल पनि गर्ने गर्छन् । नेपालबाट रोजगारीका लागि दैनिकजसो विदेशिने