कांग्रेस संविधानसभा पुनस्र्थापनाको पक्षमा छैन रामचन्द्र पौडेल (उपसभापति, नेपाली कांग्रेस)

२५ जेष्ठ २०६९, बिहीबार १४:१९ मा प्रकाशित

काङ्ग्रेस, एमाले लगायतका दलहरु यतिबेला जनप्रदर्शनमा किन ओर्लिएको उपसभापतिज्यू ?
– देशलाई निरङ्कुशतातिर बढाउन खोजिएको छ । संविधानसभा तथा व्यवस्थापिका संसद सून्य गराएर मुलकमा सत्ता कब्जाको रणनीतिमा माओवादी पार्टी अगाडि बढ्दैछ । त्यसलाई ध्यानमा राखेर मुलुकको लोकतन्त्रलाई रक्षा गर्न, संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासको वातावरण बनाउन हामी जनप्रदर्शनको आयोजना गर्दैछौं ।

जनप्रदर्शनले निकास दिने होइन द्वन्द्व बढाउंछ भनिएको छ नि ?
– हेर्नुहोला यसले द्वन्द्व बढाउंदैन अन्त्य गर्न नै सघाउंछ ।

राजनीतिक ध्रुवीकरण बढाउंदैन र यस्तो आयोजनाले ?
– राजनीतिक ध्रुवीकरणको अवस्था निम्तियोस् भन्ने हामी चाहंंदैनौं तर ध्रुवीकरण गराउन खोजिंदैछ भन्ने अनुभूति चाहिं हामीलाई पनि भएको छ । लोकतन्त्रवादी र लोकतन्त्रविरोधि कित्तामा राजनीतिक रुपले देशलाई विभक्त गर्न खोजिंदैछ । तर हामी त्यसको प्रतिवाद गर्छौं ।

अहिलेको राजनीतिक समस्याको निकासचाहिं के हो त ?
– छलछामको बाटो छोडेर, सत्ता कब्जा र निरंकुशताको बाटो छोडेर माओवादीले इमानदारिता देखाउनु पर्छ । पांचबुंदे सहमतिलाई कार्यान्वयन गराउने प्रतिवद्धता जाहेर गर्नुपर्छ । बाबुराम भट्टराईले राष्ट्रिय सहमतिको सरकार निर्माणको लागि कुर्सी छोडेर सहयोग गर्नुपर्छ । माओवादीले यत्ति गरिदिए सहमतिको निकास खुल्छ ।

बबुरामजीले त मैले राजीनामा गरेसरहको अवस्था हो, कसलाई प्रधानमन्त्री बनाउने हो तपाईंहरु मिलेर आउनुस् अनि छोडौंला भन्नुभएको छ नि ?
– उहां अहिले पनि छलछामकै बाटोमा लागिरहनुभएको छ । बाबुरामजीले इमानदार प्रयास गरिराख्नुभएको छैन । उहांले इमानदारी देखाउने हो भने सिधै भन्न सक्नुपर्छ कि हामीले पांचबुंदेमा सम्झौता गरिसकेका हौंं, अब त्यही बाटोबाट अघि बढ्छौं । त्यसरी खुला रुपले उहां नआउने र काइते कुरा गर्ने प्रवृत्तिले नै स्पष्ट पारेको छ कि उहांको नियत नै खोटो छ ।

उहांले त निकास खोज्ने कुरा मात्र गर्नुभएको छ, पांचबुंदे सहमति बिर्सिसकेको पो हो कि ?
– पांचबुंदेलाई निर्सेर या पाखा लगाएर निकास आउंदैन भन्ने हेक्का उहांहरुलाई हुनुपर्ने हो , तर जानाजान बुझपचाइरहनुभएको छ । बिडम्वना यही त हो ।

अब के गर्छ त नेपाली कांग्रेस ?
– नेपाली कांग्रेस पांचबुंदे कार्यान्वयन गराउन प्रयत्नशील छ । त्यसैको लागि जनमत निर्माण गरिरहेको छ कांग्रेसले । त्यसैको निम्ति वातावरण बनाइरहेको छ । माओवादीलाई बाध्य तुल्याउने परिस्थिति सिर्जना गराएरै छोड्छौं हामी ।

१४ गते राती संविधानसभाको आयु समाप्त हुनुमा कांग्रेसको दोष कति छ ?
– कत्ति पनि छैन । १४ गते राती १० बजेसम्म माओवादीले सहमति गर्नखोजेको नाटक गरेर पछि एकाएक बाटो बदली देश र जनतालाई धोका दियो । राती १२ बजेसम्म अल्मल्याएर जसरी पनि संविधानसभालाई अन्त्य गरिदिने सुनियोजित योजना उहांहरुको रहेछ । इतिहासले यस अक्ष्यम्य गल्तीका लागि माओवादीलाई उचित सजाय दिनेछ भन्ने हाम्रो ठहर छ ।

कांग्रेस र एमालेकै कारण संविधानसभा सकिएको माओवादीको कथन छ, हामीले कसरी बुझ्ने त यसलाई ?
– गल्ती र अपराधजति आफू गर्ने दोषचाहिं अर्काको टाउकोमा थोपर्ने त माओवादीको एक प्रमुख विशेषता नै हो । कांग्रेस एमालेले संविधानसभा र व्यवस्थापिका संसद अन्त्य गर्न किन चाहने ? हाम्रो हतिहार भनेकै संसद हो । हामी यस्तो लोकतान्त्रिक हतियारबाट निशस्त्र किन हुन चाहन्थ्यौं होला र ? हामी त त्यसलाई बचाउन अनेक विकल्प दिइरहेका थियौं । तर उहांहरुले संसद रहिरहंदा आफ्नो सत्ता हरण हुने सम्भावना देख्नुभयो र त्यसरी संसदको गला निमोठि दिनुभयो । संसद अन्त्य गरेर आफ्नो सत्ताको आयु लम्व्याउन उहांहरुले चाहेको कुराको प्रमाण त अस्ति अन्तरक्रिया कार्यक्रम आयोजना गरेर प्रचण्ड, बाबुराम र विजय गच्छेदारहरु स्वयम्ले स्पष्ट पारिसकेकै छन् नि ।

कांग्रेस संघीयता चाहंदैन भन्नेमा माओवादी र मधेसवादी दलहरुको एउटै स्वर छ नि ?
– सत्ताप्रतिको मोहले मधेसवादी दलहरुले माओवादीको आरोपमा सहमति जनाएर हामीप्रति आक्षेप लगाउनु अस्वाभाविक छैन । कांग्रेस संघीयताविरोधि दल होइन ।

संविधानसभा पुनस्र्थापनाको कुरा पनि उठाएका छन् नि तपाईंको दलका केही पूर्व सभासदहरुले, यो पार्टीको एजेण्डा हो ?
– कांग्रेसले संविधानसभा पुनस्र्थापनाको कुरा गरेको छैन । हाम्रो पार्टीको एजेण्डा होइन त्यो । त्यस्तो कुनै सोच कांग्रेसले अहिले बनाएको छैन ।

पार्टीका वरिष्ठ नेता शेरबहादुर देउवाले त पुनस्र्थापनाको पक्षमा अभिव्यक्ति दिएका छन्, के भन्न्ुहुन्छ ?
– खै उहांले किन त्यस्तो अभिव्यक्ति दिनुभयो । व्यक्तिगत विचार उहांले व्यक्त गर्न त पाइहाल्नुहुन्छ तर पार्टीले त्यस्तो दृष्टिकोण राखेको छैन ।

माओवादीका एउटा खेमाले बृहत गोलमेच सम्मेलनको प्रस्ताव अघिसारेको छ, यो सम्भव छ ?
– राष्ट्रिय सहमतिको खांचो छ, छलफललाई जुन रुप दिए पनि आवश्यकता सहमतिको हो ।

तपाईंहरुको यस्तो आग्रह हुंदाहुंदै प्रधानमन्त्रीले राजिनामा नदिए के गर्नुहुन्छ ?
– जनतालाई आन्दोलित तुल्याउंछौं , त्यस बाटोमा हामी अघि बिढिसकेका पनि छौं । प्रधानमन्त्रीले जबर्जस्त ीगर्न खोजे आमीसंग धेरै उपाय छन् ।

राष्ट्रपतिले के गर्नुहोला समस्या सल्टाउनका लागि ?
– राष्ट्रपतिले चाल्ने कदमबारे मलाई के थाहा हुन्छ र ? म त यत्ति जान्दछु कि परिस्थिति, जनताको चाहना, संविधानको भावना अनुसार संविधानको संरक्षकको भूमिका उहांले निर्वाह गर्नुहोला ।

कांग्रेस जनजातीको भावनाअनुसार हिंडेन भनेर पार्टीकै आदिवासी जनजाती नेता–कार्यकर्ताहरुले पार्टी छोड्ने धम्की दिएका छन् , के भन्नुहुन्छ ?
– यस विषयमा यथार्थभन्दा बढि प्रचार भएको हो, वास्तविकता मोडेर कुरा आएको हो । केही असन्तुष्टि त देखिएको हुनसक्छ तर जनजाती आदिवासी, दलित महिला वा समस्त वर्गलाई समान अधिकारको अवस्थामा ल्याउनका लागि हामी साठी वर्षदेखि लडेका छौं । माओवादी सदनमा आउनुअघि नै हामीले समावेसी विधेयक ल्याएका हौं । हाम्रो पार्टीको जस्तो समावेसी विधान अरु कुनै पार्टीको छैन नेपालमा । कसैले बहकाउन खोजेका होलान् तर हाम्रा साथीहरु बहकिने छैनन् ।

 

 

प्रतिक्रिया
सम्बन्धित खवर

आगामी सङ्‍घीय र प्रदेश संसद्को निर्वाचनमा पाँच दलीय गठबन्धनबीच तालमेल हुनेमा शंका उत्पन्‍न हुनेगरी शीर्ष नेताहरूले नै अभिव्यक्ति दिइरहेका छन् । स्थानीय

हालै सम्पन्न स्थानीय तह निर्वाचनमा ७५३ मध्ये सबैभन्दा बढी चर्चामा रहेको भरतपुर महानगरपालिकामा अन्ततः गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रबाट प्रमुखको

वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धनबाट नेकपा(एकीकृत समाजवादी)का धनराज आचार्य निर्वाचित हुनुभयो ।

काठमाडौं । पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले मुलुकमा विकास निर्माण लक्षित कामलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएकी