टर्कीस जहाज दुर्घटनापछि दुईदिनदेखि अन्तर्राष्ट्रिय उडान प्रभावित

२१ फाल्गुन २०७१, बिहीबार २२:०५ मा प्रकाशित

काठमाडौँ, २१ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टर्कीस एयरलाइन्सको जहाज दुर्घटनाग्रस्त भएपछि नेपालबाट विभिन्न क्षेत्रमा हुँदै आएका नियमित उडान तालिका प्रभावित भएका छन् ।
नियमित उडान गर्ने र हप्तामा दुई वा सो भन्दा बढी उडान गर्ने अन्तर्राष्ट्रिय वायु सेवा प्रदायकका सेवा बुधबार र विहिबार दुवै दिन प्रभावित भएका छन् । नेपाल वायु सेवा निगम, कतार एअरवेज, इन्डियन एयरलाइन्स, थाइ एयर, जेट एयर, एयर चाइना, चाइना साउदर्नलगायत नियमित उडान गर्ने विमान सेवाका उडान बढी प्रभावित भएका छन् ।
नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने मात्रै होइनन् विदेशका विभिन्न सहरबाट नेपाल भित्रिने यात्रुसमेत प्रभावित भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्पन्न अवरोधका कारण भारत भ्रमणमा रहनु भएका पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई आजै स्वदेश फर्कने कार्यक्रम रहेको भएपनि उहाँ फर्कन सक्नु भएन ।
अन्तर्राष्ट्रिय उडान अवरुद्ध हुँदा आजदेखि राजधानीमा आयोजना गर्न निर्धारित अन्तर्राष्ट्रिय जलविद्युत् सम्मेलनसमेत प्रभावित भएको छ । वैदेशिक रोजगारीका लागि हिँडेका श्रमिक भने विचल्लीमा परेका छन् ।
सम्मेलनमा सहभागी हुन आउने विदेशी पाहुना आउन नसक्ने भएपछि सम्मेलन स्थगित गरिएको हो । अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) विश्व बैंक, एसियाली विकास बैंकलगायत निकायका प्रतिनिधि सो सम्मेलनमा सहभागी हुने तय भएको थियो ।
सम्मेलनका क्रममा नेपालमा उत्पादित विद्युत् बङ्गलादेशलाई बेच्ने सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय गरिएको थियो ।
विमानस्थल अवरुद्ध भएपछि ढाकामा सम्पन्न बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को तयारी समितिको बैठकमा सहभागी सरकारी अधिकारी स्वदेश फर्कन पाएका छैनन् भने बैङ्ककमा पनि राजधानी आउने पर्यटक र नेपाली यात्री काठमाडौँ फर्कन व्यग्र भएर बसेका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले शुक्रबार विहान १० बजे अगाडि विमानस्थल खुल्न नसक्ने बताएको छ । टर्कीस एयरलाइन्सको एयरबस ३२०–३०३ ठूलो जहाज र वजन धेरै भएकाकारण विमानस्थलमा अड्किएको स्थानबाट हटाउन समस्या भएको हो । प्राधिकरणसँग करिब ७० टन मात्र भार उचाल्ने क्षमताकोे उपकरण भएका कारण भारतबाट उपकरण ल्याइएको छ । दुर्घटनाग्रस्त टर्कीस एयरको वजन १५० टन रहेको छ । जहाजको ल्यान्डिङ गियर क्षतिग्रस्त भएका कारण जहाजलाई गुडाएर तान्न पनि नसकिएको प्राधिकरणको भनाइ छ ।
विमानस्थल अवरुद्ध भएपछि अन्तर्राष्ट्रिय विमानसेवाले यात्रुलाई राजधानीका विभिन्न होटलमा आवासको व्यवस्था गरेका छन् । सिल्क एयरले होटल सोल्टीमा आफ्ना यात्रु राखेको छ भने केही काठमाडौँको नयाँ बसपार्क, सुन्धारालगायतका होटलमा बसेका पाइएको छ । बजेट एयरलाइन्सले भने यात्रुलाई कुनै पनि सेवा नदिएका बताइएको छ ।
बुधबार काठमाडौँबाट विभिन्न गन्तव्यका ४० उडान तालिका रहेका थिए भने आज पनि सोही सङ्ख्यामा उडान हुने तालिका निर्धारित थिए । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय सभाकी सांसद कोमल वलीले विघटित नेकपा नेता रघुजी पन्त विरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेकी छन ।

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि पार्टी कार्यालय पनि

काठमाडौं । नेकपाबाट राष्ट्रियसभा, प्रतिनिधिसभा र स्थानीय तहमा निर्वाचित ४६ जनप्रतिनिधि छन्। जब कि सर्वोच्च अदालतको आइतबारको आदेशले नेकपा एकीकरण

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानून सङ्काय स्कूल अफ ल कार्यक्रमका निर्देशकसहित चार उपप्राध्यापकले संयुक्त राजीनामा दिएका छन्। यही फागुन १७–१९