ग्रिनकार्ड पाउन कलाकारिताको दुरुपयोग

१४ फाल्गुन २०७१, बिहीबार २२:४३ मा प्रकाशित

राजन घिमिरे, काठमाडौं । कलाकारिता क्षेत्रमा लाग्नुको पछाडि सबैको आ–आफ्नै ध्येय, उद्देश्य तथा गन्तव्य हुन्छ । कोही नामका लागि लागेका छन् भने कोही रहर मेटाउन । कोही धन पनि कमाउने आशामा लागेका छन् भने कोहीले रमाइलोको रूपमा पनि यो क्षेत्रलाई अँगालेको पाइएको छ । तर, पछिल्लोपटक कलाकारिता, विशेष गरेर विदेश प्रवेश गर्ने अनि उतै लुकेर बस्ने सशक्त माध्यम अनि प्लेटफर्मको रूपमा यो क्षेत्र प्रयोग भइरहेको छ । विशेष गरेर चलचित्र क्षेत्रका अभिनेता तथा अभिनेत्रीहरूलाई विदेश छिराउने सशक्त र बलियो माध्यम एवम् कडी सावित हुन थालेको छ नेपाली चलचित्र क्षेत्र ।
थोरै पारिश्रमिकमा चित्त बुझाउनुपर्ने र यताको जीवन पनि त्यति सुखमय नहुने निश्चित भएका कलाकारहरूले विदेश पलायन हुने कुरा सोच्नु स्वाभाविकै होला । तर, नेपालमा नै वार्षिक पचास लाखको हाराहारीमा चलचित्र खेलेर कमाउने नायक–नायिका पनि खुरुखुरु विदेश पलायन हुन थालेपछि चलचित्र क्षेत्र उनीहरूका लागि कलाकारिता देखाउने वा दर्शक कमाउने नभई विदेश छिर्ने कार्डको रूपमा प्रयोग हुन थालेको छ । यतै शानको जीवन, रामै्र पारिश्रमिक र आफ्नै कारमा सयर गर्ने अवस्थामा आइपुग्दा पनि ती कलाकारहरूलाई के कुराको कमीको महसुस भयो खै ? उनीहरू फटाफट विदेश पलायन हुने क्रमले निरन्तरता पाउन थालेको छ । नेपाली चलचित्र क्षेत्रले नाम, इज्जत, धन र शान दिँदा पनि चलचित्र क्षेत्रलाई लत्याएर विदेश जाने क्रममा यतिबेला अमेरिका उनीहरूका लागि बलियो र पहिलो मुलुकको रूपमा रहेको छ । अनि त्यहाँ पुग्नासाथ ग्रिनकार्ड एप्लाई गर्ने सोच र उद्देश्य नै उनीहरूको पाइएको छ । लाग्छ, कलाकारितामा लाग्नुको मूल उद्देश्य नै अमेरिकामा छिर्नु हो उनीहरूका लागि । यी कलाकारहरूको व्यवहारले पनि अमेरिका र ग्रिनकार्डलाई उनीहरूले दर्शकहरूको माया, सद्भाव र आत्मीयताभन्दा ठूलो ठानेका छन् । त्यसो त सधैँ फेरि एउटै उचाइमा रहन गाह्रो पर्ने भएकाले पनि नायक–नायिकाले आफ्ना लागि ‘सेफ साइड’ खोजेको कुरा पनि उनीहरू बताउँछन् । हातमा आएको अवसरलाई गुम्न नदिईकन कार्यक्रम प्रस्तुत गर्न वा चलचित्र प्रदर्शन गर्ने बहानामा अमेरिका छिर्ने अनि ग्रिनकार्ड एप्लाई गरिहाल्नेतिर उनीहरूको सोच जाने गरेको छ ।
नेपाली चलचित्र क्षेत्रमा रामै्रसँग चलेका अभिनेता–अभिनेत्रीहरू पनि यतिबेला अमेरिकाको ग्रिनकार्डका लागि पहल गरिरहेका छन् भने केहीले ग्रिनकार्ड नपाएपछि स्वदेश फर्कने क्रमलाई निरन्तरता दिइरहेका छन् । तर, ग्रिनकार्ड र अमेरिका बसाइ उनीहरूको जीवनको लक्ष्य र उद्देश्यभित्र पर्ने गरेको छ । अहिले अमेरिकामा नेपाली नायक–नायिकाहरूको भीड वा लर्को नै लागेको छ । कोही त्यहाँ छिर्नासाथ ग्रिनकार्ड एप्लाई गर्नतिर लागेको देखिएको छ भने ग्रिनकार्ड एप्लाई गर्न ढिला भएपछि उतै गैरकानुनी रूपमा बस्न बाध्य भइरहेका छन् । ग्रिनकार्ड भएन भने नेपाल फर्कंदा फेरि जीवनभर अमेरिका छिर्न नपाउने कुरा बुझेका यस्ता कलाकारहरू गैरकानुनी रूपमा भए पनि अमेरिकामा बसिरहेका छन् ।
नायक राजबल्लभ कोइरालाले ग्रिनकार्ड हात पारिसकेका छन् भने केही समयअघि मात्र अमेरिका पुगेका दुई नायक जीवन लुइँटेल र नीरज बरालले ग्रिनकार्डका लागि निवेदन दिइसकेका छन् । अभिनेत्री रञ्जना शर्माको ग्रिनकार्ड नहुने निश्चित भएपछि उनी बाध्य भएर गैरकानुनी रूपमा भए पनि अमेरिकामा नै बसेकी छिन् । यता नेपालमा आर्थिक रूपमा भासिएपछि अमेरिका छिरेका शङ्कर घिमिरे र ऋचा घिमिरे पनि ग्रिनकार्डको तयारीमा छन् भने पाँच वर्षभन्दा बढी बस्दा पनि ग्रिनकार्ड हात नपरेपछि अभिनेत्री गौरी मल्ल नेपाल फर्किएकी थिइन् । हास्य कलाकार राजाराम पौडेलले पनि ग्रिनकार्डका लागि भरमग्दुर प्रयास गरेका थिए, तर उनी यो मामिलामा सफल हुन सकेनन् । आज पौडेल नेपाल फर्किएका छन् ।
सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्न वा चलचित्र प्रदर्शन गर्ने बहानामा अमेरिका छिर्ने र उतै लुकेर बस्नेजस्ता प्रवृत्तिले यतिबेला ठूलै रूप लिइरहेको छ । चलेका नायकहरूको अहिले नेपालभन्दा अमेरिकामा ठूलो लर्को देखिएको छ । ग्रिनकार्डको आकर्षण र उताको जीवनबाट तानिएका अभिनेता– अभिनेत्रीहरूले विदेशको घुमाइ र सयरलाई अवसरको रूपमा लिनुपर्ने हो । तर, मौका पाउनासाथ अर्काको देश पुगेर लुकिहाल्नेजस्ता प्रवृत्तिमा वृद्धि हुन थालेपछि नेपालमा काम गर्ने वाचा गर्ने, तर उतै लुकेर बस्नेजस्ता विचारबीच तारतम्य नमिल्दा यता चलचित्र बनाउन अन्तिम तयारीमा रहेका निर्माताहरू मारमा पर्ने गरेका छन् । अमेरिका जाँदा फिल्म खेल्ने सम्झौता गर्दै अमेरिकाबाट चाँडै फर्कन्छु भन्ने, तर उता पुग्नासाथ ग्रिनकार्ड एप्लाई गरेर उतै लुक्नेजस्ता गैरजिम्मेवार व्यवहारले अन्ततः उनीहरूलाई नै घाटा पुग्ने देखिन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चर्चित रियालिटी टिभी शो ‘बिग बोस’ मा देखिएकी एक अभिनेत्रीले बोल्डनेसमा बलिउडका ठूला अभिनेत्रीहरुलाई पछि पारेकी छिन् ।

काठमाडौं । नायिका नम्रता मल्ल अहिले इन्टरनेटमा निकै चर्चामा आएकी छिन् । ‘हट एण्ड सेक्सी’ अवतारमा उनी सामाजिक सञ्जालमा छरपष्ट

काठमाडौं । अन्य सामाजिक सञ्जालजस्तै नेपालमा इन्स्टाग्राम पनि निकै चर्चित छ । इन्स्टामा नेपालका प्रयोगकर्ता पनि धेरै रहेका छन् ।

काठमाडौं । फिल्म ‘पुष्पाः द राइज’ अभिनेत्री समान्था रुथ प्रभु भारतकै लोकप्रिय अभिनेत्री बनेकी छन् । उनले कैटरिना कैफ, आलिया