सुशील कोइरालाले दिनसक्ने जम्मा एउटा योगदान :: देवप्रकाश त्रिपाठी

१४ फाल्गुन २०७१, बिहीबार ११:३२ मा प्रकाशित

‘अप्ठ्यारो परेका बेला मानिसको पहिचान हुन्छ’ यो प्रचलित नेपाली भनाइ हो । जीवन सामान्य चलिरहँदा व्यक्तिले सच्चा र जाली मित्रको भेद छुट्याउन नसकेजस्तै देशको अवस्था सामान्य रहँदा नेताको दूरदर्शिता, क्षमता, योग्यता, इमानदारी र आत्मविश्वासको उचाइ मापन गर्न सकिँदैन । जब देशले अनेक कठिनाइहरूको सामना गर्नुपर्ने हुन्छ, त्यस्तो स्थितिमा नेताको योग्यता–क्षमताको परख रामै्रसँग गर्न सकिन्छ, जस्तो हामीले विगत नौ वर्षदेखि गर्दै आएका छौँ । यो दशकमा धेरै नेताको ‘पाइन’ हेरियो र अझै हेरिँदै छ । नेताका योग्यता–क्षमता हेर्दाहेर्दै देशको समय बर्बाद गरिरहेका हामी नेपाली थप समय बर्बादीका निमित्त पनि तयार भइरहेका छौँ, नभए सुशील कोइराला प्रधानमन्त्री बनेको र उनले पद त्याग गर्दिनँ भन्ने उद्घोष गरेको सहेर बसिरहनुपर्ने थिएन ।
एकल जीवन बिताइरहेका दाह्रीसहितको ‘पोकर फेस’का सुशील कोइरालाको आकर्षणहीन व्यक्तित्वलाई एक समय नेपाली जनताको ठूलो हिस्साले इमानदारी र सादगीपूर्ण जिन्दगीको प्रतिबिम्ब ठाने । चिन्नेहरूले उनलाई ईश्वरीय गुण–शक्ति भएर पनि झुत्रेझामे्र देखिने सिर्डीका साईबाबा नभएर समयको वेगसँग चल्न नसक्ने एउटा पराजित मानसिकताको व्यक्तिका रूपमा चिनेका थिए । तर, गुफामा अत्यधिक रम्ने हुनाले सबै सर्वसाधारण जनताका दृष्टिमा यिनी महान्तम् कर्मसाधक तपस्वीझैं ठहरिन पुगे । राजनीतिमा हैसियत प्राप्त गर्न कि विगतमा केही कठोरतम् योगदान पु-याएको हुनुपर्छ कि भविष्यमा केही गर्न सक्ने क्षमता प्रकट हुनुपर्छ । सुशील कोइरालाले बनारसमा बीपी कोइरालाको परिवारका लागि तरकारी खरिद गरेर बिताए, फुर्सदको समयमा बीपीलाई भेट गर्न जाने आगन्तुक–पाहुनालाई झन्झट नमानीकन चिया सर्भ गर्ने काम पनि सुशीलले गरेका हुन् । ०४७ यताको लामो समय उनले गिरिजाप्रसादको ढोका र कोठा कुरेर बिताएका हुन् । राम्रा र प्रशंसित होइन्छ भन्ने ठानिएका काम गरिजाप्रसाद कोइराला आफैँ गर्ने गर्थे, तर विवादास्पद या अलोकप्रिय निर्णय (काम) आफैँ अग्रसर भएर गर्नुहुँदैन भन्ने म्याकियावेली सूत्र राम्ररी बुझेका गिरिजाले त्यस्ता काम सुशीलको नाममा गर्थे । त्यसैले आफूकहाँ गुनासो या आलोचनाको पोको लिएर पुग्ने हरकोही नेता–कार्यकर्तासँग गिरिजाप्रसाद ‘सुशीलले सब बर्बाद ग-यो’ भन्ने गर्थे, तर उनले सुशीललाई आफूभन्दा टाढा र प्रधानमन्त्री रहँदा बालुवाटारभन्दा बाहिर कहिल्यै राखेनन् । आफैँसँग राख्ने, तर बिगे्र–बिगारेको दोष पनि बोकाइरहने भरिया बनाएका हुन् वास्तवमा गिरिजाप्रसादले सुशीललाई । नबुझ्नेहरूले ठाने– सुशीलले गिरिजाप्रसादलाई घुमाइरहेका छन् । सुशीलले विगतमा पु-याएका योगदान यिनै हुन्, यदि यस्ता कुरालाई योगदान मान्ने हो भने ।
सुशील कोइराला गमलामा फुलाइएका फूल हुन् (फुलेका होइनन्), जमिनमा उम्रिएका या हुर्किएका बिरुवासँग यिनको नाता–साइनो बनेन, त्यसैले गमलाबाहिरको संसारबारे यिनी बेखबर छन् । मानिसले चिन्दा यिनलाई सेताम्मे दाह्रीसहित चिने, दाह्रीकै भरमा यिनलाई सन्त, इमानदार, सीधा, सादगी के–के मानियो–भनियो । वास्तवमा दाह्री पाल्दैमा मानिस सन्त हुन सक्दैन, दाह्री फुल्दैमा मान्छेका विचार परिपक्व हुँदैन र जतिसुकै अक्षम या अयोग्य व्यक्तिले पनि सत्ताको साँचो पाउँदा बलवान् भएको ढाँचा देखाउँछ भन्ने सजीव दृष्टान्त हुन्– सुशील कोइराला । सुशीललाई साधु, सन्त, इमानदार, निस्वार्थी ठान्नु र पालेका दाह्री फुलेकै कारण कुनै लक्ष्मणसिंह खड्कालाई विद्वान्, दार्शनिक ठान्नुका बीच तात्विक अन्तर रहँदैन ।
पत्नी र सन्तान नभएका मानिसबाट भ्रष्टाचार नहुने ठानिन्छ, त्यस्ता व्यक्तिले ‘कसैका निम्ति भनेर’ केही सङ्ग्रह गर्ने छैनन् भन्ने विश्वासका आधारमा जनधारणा बन्ने गर्दछ । पत्नी भएका शिवजी या सोक्रेटसभन्दा पत्नीबिनाका कैयन मानिस लोभी, पापी, व्यभिचारी र षड्यन्त्रकारी हुनसक्छन् भन्ने तत्वज्ञान नहुँदा मानिस सुशील कोइरालालाई इमानदार ठान्न विवश छन् ।
विदेश र विदेशीबाट प्राप्त चन्दा र सहयोग निजी सम्पत्तिमा रूपान्तरित गरेको जानकारी नपाउनेहरूको आँखामा सुशील कोइराला इमानदार हुन् । परिवारका सदस्य तथा नातेदारबाहेक अन्यले उनको संसारमा प्राथमिकता पाउने गर्दैन भन्ने नबुझेकाहरूको दृष्टिमा सुशील नातावादी पनि होइनन् । आफैँ अर्थात् आफ्नै हातले कसैबाट रकम ग्रहण नगर्ने, तर आफ्ना नातेदार तथा परिवारका सदस्यहरूले नगद सङ्ग्रह गर्ने वातावरण बनाइदिनुलाई भ्रष्टाचार नमान्ने हो भने सुशील कोइराला भ्रष्टाचारी पनि होइनन् । ‘स्मार्टनेस’ र ‘स्मार्ट’ मानिसप्रति वैरभाव राख्दै ‘सी गे्रड’का लुमे्रझुमे्रहरूको घेरामा रम्नुलाई साधारण जीवनशैली भन्नुपर्ने हो भने सुशीलको जीवनशैलीलाई अत्यन्त साधारण भनिदिए हुन्छ । स्पष्ट विचार–अभिव्यक्ति दिन नसक्नु र कुनै पनि निर्णय लिन असमर्थ रहनु सत्जन या भद्रपनको गुण हो भने सुशील कोइराला नेपालकै नम्बर एक भद्र र सत्जन पुरुष हुन् । फेरी–फेरी स्त्रीसुख भोग्न पल्केकाहरूको विवाह र घरजमप्रति मोह हुँदैन, तर विधिवत् विवाह नगरेकै कारण हामी जो–कसैलाई भनिदिन्छौँ, ‘उहाँ साधु, सन्त, सदाचारी हुनुहुन्छ ।’ खुला चौरभन्दा छेउ, कुना मनपराउने, हतपति बोल्दै नबोल्ने, बोल्नुपरेका बेला सधैँ तोतामैनाको एउटै कथा–कहानी सुनाइराख्ने, कसैमाथि विश्वास र भरोसा नगर्ने, समयमै आवश्यक निर्णय लिन नसक्ने, देखाएर केही नखाने, लुकाएर कुनै कुरा बाँकी नराख्ने, आफू कसैसँग सहमत हुन नसक्ने र अरूलाई सहमतिमा ल्याउन पनि नसक्ने कोटीकै नेता देशलाई चाहिएको हो भने सुशील कोइरालाभन्दा उपयुक्त पात्र नभेटिन सक्छन्, देशको अर्को एक दशक उनकै नाममा समर्पण गरिदिऊँ । होइन भने भिखारी–जोगीको सरसङ्गतबाट मोक्ष या स्वर्ग प्राप्तिको आशा राख्नु र सुशील कोइरालाबाट राष्ट्रको सङ्कटमोचनको चाहना गर्नुबीचको अन्तर भेटिँदैन ।
सुशील कोइरालाका केही सकारात्मक पक्ष पनि छन्, उनी गिरिजाप्रसादझैँ हाकाहाकी भ्रष्टाचारलाई प्रश्रय दिने मानिसमध्ये पर्दैनन् । पूर्वाधार निर्माणका कतिपय काम उनले आफ्नो कार्यकालको वर्ष दिनभित्रै गरेका छन् । सुशीलले राष्ट्रलाई ठूला देन दिन नसके पनि बर्बाद गरेका छैनन्, यसलाई सकारात्मक मान्न सकिन्छ । जब कि नेपाललाई यस घडीमा कुनै ‘सिनाइल’ होइन ‘डाइनामिक’ नेतृत्वको अभाव छ, जसले परिणाममुखी केही निर्णय लिन सकोस् । तर, प्रधानमन्त्रीको कुर्सीमा कुनै एक जीवित मानिस मात्र रहन सक्छन् भन्ने मान्यताको निरन्तरता मात्र सुशीलले दिइरहेका छन् । स्वस्थानी कथाका बहुचर्चित पात्र सत्तरी वर्षीय शिव शर्माले सात वर्षीया गोमा ब्राह्मणीलाई बाहुपासमा राखेकै शैलीमा सुशीलले प्रधानमन्त्रीको जिम्मेवारी कब्जा गरेको बोध हुँदै छ । जीवनमा एकपटक प्रधानमन्त्री बन्ने रहर पूरा भइसकेपछि राष्ट्रको समय थप बर्बाद गर्नेतर्फ नलागिदिएको भए सुशीलप्रति सम्मान यथावत् रहन पनि सक्थ्यो ।
०७१ को माघ ८ मा संविधान जारी भए या नभए पनि पदबाट राजीनामा गर्ने घोषणा ०७० मै गर्नुभएका सुशील कोइरालाले संविधान जारी गर्न नसके पनि पदत्याग गर्ने इच्छा गरेनन्, बरु पद त्याग्ने इच्छा नै परित्याग गरिदिए । पदप्रति उनले दर्शाएको अनुराग उनको आफ्नै पूर्वछविको प्रतिकूल छ । सुशीलबाट देशले कुनै ठोस योगदानको अपेक्षा राखेको छैन, उनले मुलुकलाई लगाउन सक्ने एउटै गुन छ, त्यो हो– पदत्याग । सुशीलको पदत्यागले वर्तमानमा सङ्कटमोचनको द्वार खोल्ने सङ्केतहरू देखिँदै छन् । संविधान, स्थिरता, समृद्धि र विकास नदिए पनि राजीनामा दिएमा उनले आफ्नो जीवनकालमै सर्वाधिक ठूलो योगदान पु-याएको मानिनेछ । जोगीले धुनी नछोडेजस्तै सुशीलले सिंहदरबार र बालुवाटार ओगटिरहँदा राजनीतिक निकास र देशको विकास अवरुद्ध भइरहने भयो । पहिले सुशीलको प्रधानमन्त्री बन्ने रहर पूरा होस् भन्ने चाहना जनता र विपक्षी राजनीतिकर्मीहरूको समेत थियो । प्रधानमन्त्री बनेको प्रमाण सिंहदरबारमा फोटो बनेर अवश्य झुन्डिइरहनेछ, कुनै ठूलै निर्णय लिएर इतिहास बदल्ने अपेक्षा गरिएको छैन, त्यसैले पदत्याग गरेर राष्ट्रलाई योगदान दिन सुशील कोइरालाजीलाई आग्रह गरिन्छ, जय नेपाल ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । निर्वाचन आयोगमा सरिता तिवारीको अध्यक्षतामा दर्ता भएको नेकपा एमालेले बैठक बोलाएको छ । सर्वोच्च अदालतले नेकपालाई पार्टी एकीकरणको

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी नामसम्बन्धी विवादबारे रिट निवेदक ऋषिराम कट्टेलको पक्षमा फैसला सुनाएपछि नेकपा विघटन भएको छ

भिएना । ‘चुज टु च्यालेन्ज’ भन्ने नारा सहित यस वर्ष पनि मार्च ८ मा अन्तर्राष्ट्रिय नारी दिवस मनाइदै छ। एनआरएन

काठमाडौ । प्रतिनिधिसभाको बैठकमा संवैधानिक परिषदसम्बन्धी अध्यादेश जबर्जस्ती पेश गरिएको भन्दै प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले बैठक कक्षमा नाराबाजी गरेको छ