काँग्रेस–एमालेको पूर्वराजासँग साँठगाँठ थियो: उपेन्द्र यादव 

८ फाल्गुन २०७१, शुक्रबार २१:५३ मा प्रकाशित

काठमाडौं, ८ फाल्गुन । मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली काँग्रेस र नेकपा एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहसँग साँठगाँठ गरेको आरोप लगाएका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा उनले पूर्वराजासँग काँग्रेस र एमालेको गोप्य सहमति भएकाले त्यसको भण्डाफोर हुनुपर्ने बताए ।

‘काँग्रेस र एमालेले ज्ञानेन्द्र शाहसँग साँठगाँठ गरेका छन्,’ यादवले भने,‘पूर्वराजासँग विगतमा के सहमति भएको हो त्यसको खुलासा हुनुपर्छ ।’ गणतन्त्र स्थापनापूर्व बेबि किङ, सेरेमोनियल किङको विषय काँग्रेस र एमालेले उठाउने गरेकाले गोप्य सहमति भएको बुझ्न सकिने बताए ।

पहिलो संविधानसभाको बैठकबाट गणतन्त्र घोषणा गर्ने सवालमा काँग्रेस र एमालेले आनाकानी गरेकाले विगतमा भएको साँठगाँठ पुष्टि हुने दाबी गरे । कम्युनिष्ट पार्टीको महासचिव भएर माधवकुमार नेपालले प्रधानमन्त्रीका लागि दरबारमा निवेदन दिने देखि दाम चढाउने सम्म गरेबाट साँठगाँठ प्रष्ट भएको बताए । उनले भने,‘ के सहमति गरेका थिए भन्ने ज्ञानेन्द्र शाहले खुलासा गर्नुपर्छ ।’

सत्ताका लागि काँग्रेस र एमालेले जेसुकै गतिविधि गर्ने गरेको आरोप लगाउँदै विगतमा अपनाएको हथकण्डा पर्दाफास हुने भयले आत्तिएको बताए । इतिहासको वास्तविक घटनालाई कसैले लुकाएर नलुक्ने भन्दै जनताले काँग्रेस र एमालेको वास्तविक चरित्र थाहापाउन धेरै समय नलाग्ने बताए । प्रजातन्त्र दिवसको अघिल्लो दिन पूर्व राजा ज्ञानेन्द्र शाहले विज्ञप्तिमार्फत् आफूसँग भएको सहमति कार्यान्वयन गर्न दलहरुलाई आग्रह गरेपछि टिकाटिप्पणी भइरहँदा यादवको पछिल्लो भनाई सार्वजनिक भएको हो ।

रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा अध्यक्ष यादवले सहमतिबाट संविधान जारी हुनुको विकल्प नभएको बताए । बहुमतको दम्भ देखाएर अगाडि बढ्न खोजे कडा आन्दोलनको सामना गर्न तयार हुन भने । उनले भने,‘अहिलेसम्म सहमतिको बटमलाइन प्रष्ट पारेका छौं, बहुमतको दम्भ देखाउँछन् भने आन्दोलनले देशको भविष्य तय गर्नेछ ।’ सहमतिमा जाने भएमात्र आफूहरु संविधान निर्माण प्रक्रियामा सहभागी हुने बताए । बहुमतलाई मान्नुहुँदैन भन्ने प्रश्नमा उनले भने,‘निरंकुश पञ्चायतले जनमतसंग्रहमा जित हासिल गरेको थियो, अहिले त्यसको जिम्मेवारी लिने कोही छैन ।’

बहुमतको दम्भ देखाएर प्रक्रियामा गए आफूहरु त्यसको विरुद्धमा विद्रोहमा जाने चेतावनी दिए । उनले भने,‘जुन बाटो रोजेपनि उहाँहरुलाई विकल्प खुल्ला छन्, जनपक्षीय संविधान बनाए विपक्षीको केही लाग्दैन, जनविरोधी संविधान बनाए हामी विद्रोहमा जान्छौं ।’ विगतमा भएका सबैखाले सहमति, सम्झौताहरु सत्तारुढ दलले पालना गरेरै अगाढि बढ्छौं भनेर प्रतिबद्धता जाहेर गरे आफूहरु वार्तामा बस्न तयार रहेको समेत उनले बताए । उनले भने,‘हामी वार्ताको विरोधी होईनौं, वार्ताबाट त उहाँहरु नै उठेर हिँडनुभएको हो, एकपक्षीय ढंगले अघि बढ्ने सोच तत्काल फिर्ता लिनुपर्छ ।’

उनले काँग्रेस–एमालेका शीर्ष नेताहरुले नै सार्वजनिक रुपमा विगतमा भएका सहमति, सम्झौता मान्दैनौं बरु बहुमतबाटै संविधान जारी गर्छौ भने भाषणवाजी गर्दा दलहरुकाबीचमा विश्वासको वातावरण नबनेको स्पष्ट पारे । यादवले काँग्रेस र एमाले संविधान जारी गर्न सक्षम नभएको आरोप लगाए ।

उनले भने,‘हामीले त संविधानसभा नै बहिष्कार गरेका थियौं तर उहाँहरुले दुईतिहाई हुँदाहुँदै पनि संविधान जारी गर्न सक्नुभएन, मलाई आश्चर्य लागेको छ उहाँहरुको फूर्ति एक दुई दिनमै कहाँ हरायो ?’ उनले सत्तारुढ दललाई संविधान जारी गर्न विपक्षी दलको आवाश्यकत्ता परेको हो भने सच्चिएर आउनुपर्ने बताए ।

अध्यक्ष यादवले आफ्नो पार्टी मधेशमा एक प्रदेशको पक्षमा अडिग रहेको समेत जिकिर गरे । उनले भने,‘यो कुनै नौलो माग होईन, त्यतिवेलै सरकारले हामीसँग एक मधेश स्वायत्त प्रदेश दिन्न्छौं भनेर लिखित सहमति गरेको थियो, त्यही सहमति कार्यन्वयन गर्नुपर्छ भन्ने हाम्रो माग हो ।’ मधेशमा अलग राज्यको मागसहित आन्दोलन उठिरहेकोबारे सोधिएको प्रश्नमा यादवले त्यस्ता गतिविधिको कुनै तुक नरहेको बताए । उनले भने,‘मधेशी जनता नेपाल राज्य निर्माणको संस्थापक हुन् कसरी अलग हुन्छन् ?’ आफूहरुलाई अलग बनाउने षड्यन्त्र कदापि सफल नहुने बताए ।

मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारको अभिव्यक्तिलाई मधेश र मधेशी जनताको हितविपरित भने । गच्छदारले सहमतिका नाममा उठाएको सवाल स्वयं उनको पार्टीका कार्यकर्ताले नमान्ने तर्क गरे । उनले भने,‘उहाँले उठाउनुभएको सवाल उहाँकै दलका मान्छेले मान्दैन भने मधेशी या थारुले मान्दैनन् ।’ उनले अगाडि भने‘गच्छदारको प्रस्ताव मोर्चाले ठाडै अस्विकार गरिसकेको छ, उहाँले काँग्रेस–एमालेको पूरानो प्रस्ताव बोकेर हिँड्नुभएको हो ।’

उनले काँग्रेस–एमालेद्धारा संविधानका विवादित विषयवारे जारी गरिएको नौ बुँदे साझा अवधारणालाई जालसाँझीको संज्ञा दिए । उनले भने,‘त्यो प्रस्ताव भीषण आन्दोलन, विभिन्न आन्दोलन, माओवादी आन्दोलन सबैका मर्म र भावना विपरित छ, यो त खाली दुई तिहाईले पेलेरै जाने चालबाजी मात्रै हो ।’

यादवले वर्तमान सरकार भ्रष्टाचारमा लिप्त रहेको समेत आरोप लगाए । उनले सरकारले उपभोग्य वस्तुमा समेत कालोबजारी गरेको गुनासो पोखे । यादवले भने–‘सरकारले सुशासनको नाममा कुशासन देखाईरहेको छ, भ्रष्टाचार मौल्याईरहेको छ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सत्तारुढ नेकपा विवाद नटुंगिएसम्म कांग्रेसले भावी सरकारको बारेमा निर्णय नलिने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास

काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनापछि नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले भेटवार्तालाई तीव्र पारेका छन् । बिहीबार बामदेव गौतमसँगको भेटवार्तापछि

काठमाडौं । नेकपा केपी ओली समूहको स्थायी कमिटीको बैठक आज पनि बस्दै छ । संसद विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक

प्रत्येक वर्ष माघ शुक्ल द्वादशीका दिन साँखुस्थित शालिनदी क्षेत्रमा करिब डेढ सय वर्षदेखि हुने गरेको भीमसेन जात्रा सांस्कृतिक झाँकीसहित सम्पन्न