एमाओवादीसहितको विपक्षी मोर्चालाई वार्तामा आउन प्रधानमन्त्रीको आग्रह

८ फाल्गुन २०७१, शुक्रबार २१:४६ मा प्रकाशित

काठमाडौँ, ८ फागुन । प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रिय एकता, सहमति, सहकार्य र मेलमिलापको भावनाप्रति प्रतिबद्ध भएर वार्तामा आउन एनेकपा एमाओवादी तथा मधेस केन्द्रित दललाई पुनः आग्रह गर्नुभएको छ ।

आफ्नो नेतृत्वमा गठन भएको वर्तमान सरकारको एकवर्षे कार्यकाल पूरा भएको अवसरमा आज दिनुभएको सन्देशमा उहाँले एनेकपा एमाओवादी तथा मधेस केन्द्रित दलका नेतृत्व पङ्तिलाई संविधानका सहमति हुन बाँकी बाँकी विषयमा सहमति खोज्न वार्तामा आउन अनुरोध गर्नुभएको हो ।

“नेपालको अन्तरिम संविधानको मर्म र भावनाअनुरुप संविधानबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समावेशी शासन÷प्रशासनलाई संस्थागत गर्ने मूल उद्देश्यमा केन्द्रित भएर संविधान निर्माणमा देखिएका मतभेद हटाउने निरन्तर प्रयास भइरहेको ” बताउँदै उहाँले सहमतिका आधारमा संविधान बनाउन आन्दोलनका सबै कार्यक्रम स्थगन गरी वार्ताको टेवलमा आउन आह्वान गर्नुभएको छ ।

संविधानका सहमति हुन बाँकी विषयमा अन्तरिम संविधानले हामीलाई मार्गदर्शन गर्छ र विगतमा भएका सम्झौतामा अभिव्यक्त उदार लोकतान्त्रिक भावनले प्रेरित गर्छ भन्दै प्रधानमन्त्रीले सहमतिमा संविधान निर्माण गर्ने प्रयास र समझदारीले मूर्तरुप लिएको अवस्थामा अरु प्रक्रियाको सान्दर्भिकता स्वतः हराएर जाने स्पष्ट गर्नुभएको छ ।

“यो एक वर्षको अवधिमा शान्ति प्रक्रियामा लामो समयदेखि अवरुद्ध सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता छानविन आयोग सहमतिका आधारमा गठन भएका र सबै पक्षबाट गम्भीर प्रयास गरिँदा सहमतिमा नै महत्वपूर्ण निर्णय गर्न सकिने दृष्टान्त” प्रस्तुत भएको बताउँदै सन्देशमा प्रधानमन्त्रीले आगामी दिनमा संविधान लेखनका निम्ति अनुकूल राजनीतिक परिवेश बनाउने कार्यलाई वर्तमान सरकारले उच्च प्राथमिकतामा राखेको प्रष्ट गर्नुभएको छ ।

जवाफदेहिता र परादशिृता अवलम्बन गर्दै भ्रष्टाचारमुक्त प्रशासन दिने र विकास निर्माणका काममा ध्यान केन्द्रित गर्ने आफ्नो नेतृत्वको सरकारका प्राथमिकता दर्शाउँदै प्रधानमन्त्री कोइरालाले आगामी दिनमा राष्ट्रिय एकता र सामाजिक सद्भावलाई बढाउँदै जनताका चाहनाअनुरुप सरकार क्रियाशील हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

एकवर्षभित्र संविधानसभाबाट नयाँ संविधान जारी गर्न अनुकूल राजनीतिक वातावरण बनाउन सरकारद्वारा अथक प्रयास भएपनि तोकिएको समयमा संविधान जारी हुन नसकेकामा दुःख प्रकट गर्दै उहाँले संविधान लेखनलाई गति दिन आगामी दिनमासमेत सम्पूर्णरुपमा लाग्ने दृढता व्यक्त गर्नुभएको छ ।

सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले सिंहदरबारस्थित राष्ट्रिय विकास परिषद्को पेक्षालयमा आज अपराह्न आयोजित एक कार्यक्रममा प्रधानमन्त्री कोइरालाको उक्त सन्देश वाचन गर्नुभएको थियो ।

त्यस अवसरमा परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापा, महिला, बालबालिका तथा समाजकल्याणमन्त्री नीलम केसी खड्का, मुख्यसचिव लीलामणि पौड्याल, विभिन्न मन्त्रालयका सचिव, उच्चपदस्थ सरकारी अधिकारी र सञ्चारकर्मीहरूको उपस्थिति थियो ।

प्रधानमन्त्री कोइरालाको नेतृत्वमा गत वर्ष माघ २७ गते वर्तमान सरकार गठन भएको भएपनि सोही वर्षको फागुन ८ गतेमात्र मन्त्रिपरिषद्ले पूर्णता पाएको थियो । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पूर्वमन्त्री कुबेर शर्माको निधन भएको छ । २०५९ सालमा पर्यटनमन्त्री भएका शर्माको ८४ वर्षको उमेरमा शुक्रबार काठमाडौंमा निधन

काठमाडौं । सरकारले फागुन २३ गते प्रतिनिधिसभाको बैठक बोलाउन सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह