तत्काल सम्वाद सुरु गर्न सभाध्यक्ष नेम्वाङको आग्रह

४ फाल्गुन २०७१, सोमबार २१:४९ मा प्रकाशित

काठमाडौँ, ४ फागुन । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संविधानका विवादित विषयमा सहमति जुटाउनका लागि तत्काल सम्वाद सुरु गर्न आन्दोलनरत दलका सचेतकहरूलाई आग्रह गर्नुभएको छ ।

सभाध्यक्ष नेम्वाङको कार्यकक्ष सिंहदरबारमा आज एकीकृत नेकपा(माओवादी) र मधेसी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक)का प्रमुख सचेतकसँगको छलफलमा उहाँले सो आग्रह गर्नुभएको हो ।

वार्ता र सम्वादको माध्यमबाटै अगाडि बढ्न आग्रह गर्दै उहाँले सबै दलको सहमतिमा नै संविधान जारी हुने भएकाले तत्काल पहल गर्न सचेकतद्वयलाई ध्यानाकर्षण गराउनुभएको हो ।

सो अवसरमा प्रमुख दलबीच वार्ता र सम्वादको प्रक्रिया कसरी सुरु गर्ने विषयमा छलफल भएको बुझिइएको छ । दलहरूबीच सम्वादको क्रम सुरु होस् भनेर नै संविधानसभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको भन्दै सभाध्यक्ष नेम्वाङले आफूले सत्तारुढ दललाई पनि तत्काल औपचारिक सम्वाद सुरु गर्न ध्यानाकर्षण गराएको जानकारी गराउनुभयो ।

सो क्रममा एमाओवादी र फोरम लोकतान्त्रिकका प्रमुख सचेतकले सहमतिको आधारमा संविधान जारी हुने वातावरण बने आफूहरू वार्ताका लागि तयार रहेको जानकारी गराउनुभएको थियो । भेटका बारेमा जानकारी दिँदै फोरम लोकतान्त्रिकका प्रमुख सचेतक रामजनम चौधरीले प्रधानमन्त्रीले वार्ताका लागि गरेको आह्वान सकारात्मक भएपनि विश्वास गर्ने आधार नभएकाले पुनः सार्वजनिक आह्वान हुनुपर्नेमा जोड दिइएको बताउनुभयो ।

सत्तारुढ दलका तर्फबाट सहमतिका आधारमा संविधान जारी गर्ने सुनिश्चितता नहुन्जेलसम्म वार्तामा बस्न नसकिने आफूहरूले सभाध्यक्षलाई ध्यानाकर्षण गराएको चौधरीले जानकारी दिनुभयो ।

सभाध्यक्ष नेम्वाङले आफूले प्रधानमन्त्री र नेकपा(एमाले)का अध्यक्षसँग सम्वादको लागि पहल गर्ने वचन दिनुभयो । सचेतकद्वयले संविधानसभाको अध्यक्षको भूमिका निष्पक्ष भएपनि गत माघ ११ गतेको घटनापछि त्यो भूमिकामा अविश्वास पैदा भएकामा समेत ध्यानाकर्षण गराउनुभएको थियो ।

सभाध्यक्ष नेम्वाङले भने सहमतिका लागि आफूले पहल सुरु गरिसकेको र सत्तारुढ दललाई समेत सहमतिका लागि ध्यानाकर्षण गराउने वचन दिनुभएको चौधरीले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

गोरखा । गोरखाको लाप्राकमा निर्माण गरिएको नमूना वस्ती आगामी वैशामा हस्तान्तरण हुने भएको छ । गैरआवासीय नेपाली संघको अगुवाइमा निर्माण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका नेताहरु निर्वाचन आयोग पुगेका छन् । पार्टीको नयाँ निर्णयबारे जानकारी गराउन र

खलङ्गा । जुम्ली मार्सी चामल र जैविक सिमीलगायत कृषिवस्तुका माग अन्तररष्ट्रिय बजारमा बढ्न थालेको छ । जिल्लाबाट पहिलोपटक रु छ

कोरोना महामारीका कारण अहिले धेरैजसो चिजबस्तुहरुको खरिद विक्री अनलाईनबाटै हुन थालेको छ । थुप्रै ब्यापारिक अनलाईन साइटहरु पनि सञ्चालनमा आएका