अर्थ समितिले स्वीस बैंकको डलर खाता बारे छानविन सुरु गर्यो, राष्ट्र बैंक बेखबर

३ फाल्गुन २०७१, आईतवार २१:४० मा प्रकाशित

काठमाडौं, ३ फागुन । नेपाल राष्ट्र बैंकले स्वीजरल्याण्डको एचएसबीसी बैंकमा ५ करोड १६ लाख डलर जम्मा गर्ने नेपाली खातावालका विषयमा आफू बेखबर रहेको बताएको छ । व्यवस्थापिका संसद्को अर्थ समितिको आइतबारको बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडाले राष्ट्र बैंकको स्वीकृतिविना नेपालमा बस्ने कुनैपनि नेपाली नागरिकले विदेशी बैंकमा खाता खोल्नु गैरकानूनी हुने भन्दै स्वीस बैंकका ८ जना नेपाली खातावालका विषयमा राष्ट्र बैंक बेखबर रहेको बताए । रोजगारीका क्रममा विदेशमा खाता खोलेका नेपालीहरुले पनि नेपाल फर्किएको ३५ दिनभित्र खाता बन्द गरिसक्नु पर्ने नियम छ ।

गभर्नर डा. खतिवडाले स्वीकृति विना विदेशी बैंकमा पैसा राख्ने नेपालीका विषयमा जानकारी लिन सरकारको उच्च तहबाट स्वीस बैंकलाई पत्राचार गरिनुपर्ने बताए । उनले पारस्परिक कानुनी सहायताको सिद्धान्त अनुसार खातावालहरुको विषयमा जानकारी लिन सकिने बताए ।

केहीदिन पहिले मात्र ८ जना नेपालीको नाममा स्वीजरल्याण्डको एचएसबीसी बैंकमा ५ करोड १६ लाख डलर रहेको खबर सार्वजनिक भएको थियो । बैठकमा गभर्नर डा. खतिवडाले वैदेशिक लगानीका नाममा विदेशबाट कालो धन भित्र्याउने क्रम बढिरहेको समेत बताए । उनले फास्ट ट्रयाकबाट विदेशी लगानी ल्याउने नाममा स्रोत र प्रयोजन नै नखुलाई ऋण ल्याउने व्यवसायीहरुको संख्या बढ्दै गएको भन्दै स्रोत र प्रयोजन नखुलाइएको विदेशी ऋणले विदेशी मुद्राको विनिमयदरमा नै प्रभाव पार्ने हुनाले यस विषयमा राष्ट्र बैंकले व्यवसायीहरुमाथि निगरानी गरिरहेको बताए।

उनले स्रोत र प्रयोजन नखुलाइएको विदेशी ऋण सकार्दा भविष्यमा ब्याज तिर्ने नाममा कर नै नतिर्ने र पूँजी पलायनको जोखिम हुने बताए । समितिले अर्थसचिव सुमनप्रसाद शर्मा, सम्पति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक केवल भण्डारी लगायतसँगको छलफलपछि स्वीस बैंकमा राखिएको रकमबारे छानविन गर्न सरकारलाई निर्देशन दिएको छ ।

यस्तै, समितिले उद्योग संचालनका नाममा भित्रिएको विदेशी रकम सम्बन्धित काममा प्रयोग भए÷नभएको बारेमा छानविन गरी जानकारी गराउन उद्योग मन्त्रालयलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।निर्वाचन घोषणाको सवालमा सत्तारूढ गठबन्धन संविधान र कानूनको परिपालना भन्दा पनि बढी नाफा र घाटाको जोडघटाउमा लागेको छ । कानून

दाङ। कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि दाङमा अग्रपंक्तिमा रहेर काम गर्नेहरूलाई खोप दिन थालिएको छ । स्वास्थ्यकर्मी, सपाइकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई

सुर्खेत। कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री भएको करिब चार महिनापछि आफ्नो सम्पत्ति विवरण सार्वजनिक

दाङ। कोरोना संक्रमण दर बढ्दै जाँदा नागरिक स्तरबाट भने स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा गम्भीर लापर्वाही देखिएको छ । स्वास्थ्य क्षेत्रका जानकारहरूले कोरोना संक्रमणबाट