यो अनौठो प्रयोग :: वावुलाल भण्डारी

२८ माघ २०७१, बुधबार २१:५० मा प्रकाशित

धेरै मान्छेहरु पानीको मात्रा बढांउदा मृगौलाको कार्यवोझ बढ्छ भन्ने भ्रममा देखिन्छन् जवकि मृगौलाको खास कठिनाई पानी छनौट नभएर शरीरको विकार र विषादीको निष्काशन हो र यो काम घोल पातलिंदा झनै सजिलो हुन जान्छ । शरीरका प्रणालीहरुलाई विकारमुक्त गरी सुध्दिकरण गर्न पानी विना ठिक त्यसैगरी संभव हुदैन जसरी पानी विना ट्वाइलेटको फ्लस हुन सक्तैन । यस्तो अवस्थामा मृगौलाले शरीरका असुध्दी र विकार कलेजो र अरु अङ्गमा थुपार्दै जान्छ र यिनै असुध्दीको भारले अन्ततः हामी बिरामी पर्छाै । शरीरमा पानी अभाव भए नभएको सही अड्कल पिसावको रङ्ग हेरेकै आधारमा सजिलै हुन सक्तछ । पिसाबको रङ्ग सफा र मल त्याग सहज भएमा निश्चित हुन सकिन्छ हामीमा पानीको अभाव छैन । तर हल्का पहेंलो रङ्गको पिसाब सामान्य डिहाइड्रेसनको सूचक हुनाले यसले थप पानी पिउनु पर्ने कुराको संकेत गर्नेे र पिसाबको रङ्ग ब्राउन भएमा भने व्यक्ति सिधै अस्पताल पुग्नु पर्ने अवस्था हो भन्छन् , विशेषज्ञहरु । पानीको सेवनलाई प्रायः सबै र खास गरी वैकल्पिक उपचार पध्दतिहरुमा जोड दिएको पाइन्छ र पानी बाटै उपचार गर्ने सिध्दान्तमा आधारित हाइड्रोप्याथी भन्ने एउटा पृथक चिकित्सा विधा पनि छ । शरीरलाई पानीको बढ्ता जरुरी विहानको समयमा हुने हुदाँ दैनिक काम धन्दामा जुट्नु अघि नै करीब ८०० मि लि पानी सेवनले आन्तरिक अङ्गहरुलाई चुस्त दुरुस्त पार्ने चिकित्सकहरुको विश्वास छ । “रात्रान्ते (बिहान ) जलम् ः दिनान्ते(बेलुका) दुग्धम् ःभोजनान्ते (खाना पछि) तक्रम् (मोही)” जस्ता लोकोक्तिले पनि आर्युवेदमा वर्णित यस्तो उषापानको महत्वलाई दर्साउँछन् । तर खाना पछिको पानीले पेटको पाचक अम्ललाई पातलो गर्ने र पाचन कृयालाई ढिलो गर्ने कारणले खाना र पानीको विचमा न्युनतम पनि १ घण्टाको समयान्तर जरुरी बताइन्छ । भनिएको पनि छ “अजिर्णे भेषजम् वारि जिर्णे वारि वलप्रदम् ,भोजने चामृतम् वारि भोजनान्ते विष प्रदम्” अर्थात् अपचको अवस्थामा पानी औषधी र पाचन क्रिया पछिको पानी बलबद्र्धक वा पुष्टिकारक हुन्छ भने खाना संगैको थोरै थोरै पानी अमृत र खाना पछि पानीको सेवन विष समान भइदिन्छ । शरीर अनुकूलको तापक्रममा ल्याउन शक्ति खर्च हुने आधारमा चिसो पानीले चाहिं तौल घटाउन सहयोग गर्ने विश्वास रहेको छ ।
हो ,पानी पिउनुका निश्चित रुपले फाइदाहरु छन् ।तर त्यसो भन्दैमा जहिलेसुकै जबर्जस्ती र उचित मानिएको भन्दा ज्यादा धेरै मात्रा अनावश्यक मात्र हैन हानीकारक ठहर्छ र यदाकदा जानलेवा पनि । एउटा भनाई पनि छ “दि डोज इज द पोइजन” । एकैपटक अत्यधिक पानी मृगौलाले छान्न नसकी रगतमा जम्मा हुन्छ । यसले एकातिर शरीरको नुन– पानीको सन्तुलन खल्बलिई अस्मोसिसको प्रक्रियाबाट सेल भित्रको सोडियम बाहिर चुहिन्छ र अर्काेतिर बढी पानी सेल भित्र छिरेर शरीर सुन्निन जान्छ । तर टाउकोको कडा हाडभित्र रहने मस्तिष्क तन्तुहरुलाई फैलिनका लागि सुन्यस्पेसले गर्दा तिनीहरु माथी उच्च दबाब उत्पन्न हुन्छ र यसबाट व्यक्तिको मृत्यु समेत हुन सक्तछ । रगतमा बढी पानी र कम लवणको असन्तुलित अनुपातको यस्तो अवस्था हाइपोनाट्रेमिया हो र यो अस्वाभाविक जस्तो लागे पनि असंभव चाहीं होइन । म्याराथुन धावकहरु,साइकोजेनिक पोलिडिप्सिया नामक मनोरोग र इस्कटसी भनिने मनोद्दिपक औषधी सेवनको अवस्थामा अस्वाभाविक प्यास र अत्यधिक पानी सेवनको यस्तो जोखिम बनिरहन्छ । सन् २००५ मा क्यालीफोर्निया निवासी २८ वर्षीय जेनिफर स्ट्रेन्जले पानी पिउने रेडियो प्रतियोगितामा भाग लिई ३ घण्टामा ६ लिटर (२४गिलास) र १८ वर्षे लेह वेटले जन्मदिनको पार्टीमा इस्कटसी ड्रगको प्रभावमा ९० मिनटमा ७ लि (२८ गिलास) पानी पिउँदा जल विषाक्तताले मृत्यु भएका घटना उल्लेख्य छन् ।एकैपटक धेरै पानी पिउँदा अहिले सम्म थुपै्र म्याराथुन धावकहरुको ज्यान गुमेको इतिहास छ ।तर यो भनेको असामान्य रुपले अत्यधिक पानी पिउंदाको अवस्थाको कुरा भयो ।जर्ज टाउन यूनिर्भसिटी मेडिकल कलेजका अध्यक्ष डा. जोसेफ भर्वालिस बताउछन् —स्वस्थ मृगौलाले हरेक घण्टा ८०० मि लि देखि १ लि र १ दिनमा झण्डै १५ लि (६० गिलास ) पानी छानेर निष्काशन गर्न सक्तछ । यसले गर्दा एकैपटक अचाक्ली बढी पानी पिउने अपबाद बाहेक ज्यादा पानी होइन कि शरीरमा पानीको न्यूनता नै हालसम्मको अनुभवमा आम मानिसहरुको सधैको समस्या हो ।
प्रामाणिक मान हेर्र्दा एउटा ७० केजी तौलको वयस्क मान्छेको शरीरमा ४२ लि (९२पाउन्ड अर्थात २।४ ग्यालन)पानी हुन्छ । विज्ञहरु भन्दछन् ,नवजात शिशुहरुमा हुने ७५% पानीको मात्रा उमेर ढल्दै गएपछि घटेर ५०% को सेरोफेरोमा आइपुग्छ । औषत पुरुषहरुमा ६०% र महिलाहरुमा यो मात्रा ५५% को हाराहारी हुन्छ र वाेंसोमा पानी सञ्चय कम हुने हुंदा अधिकतर दुब्ला मान्छेहरुमा भन्दा मोटा मान्छेहरुमा पानीको मात्रा स्वभाबैले कमी हुने गर्दछ । शरीरमा उपलब्ध हुने पानी मध्ये पनि दुई तिहाई खण्ड सेल भित्र र बाकीं रगत र अरु भागमा छरिएर रहेको हुन्छ । शरीरका विविध अङ्ग र अवयव मध्ये रगतमा सर्वाधिक ८२ % ,मस्तिष्कमा ७०—७८% हुदैं मुटुमा ७३%, छालामा ६४%,माशंपेशी र मृगौलामा ७५—७९% अनि हाडहरुमा २०—२२% र वोसोमा भने पानीको मात्रा १०—१५% मात्र रहने बताइन्छ । जब पानीको मात्रा घटेर शरीरको द्रवमा नूनको मात्रा बढ्छ मस्तिष्कले प्यासको संयन्त्रलाई अगाडी सार्छ । दिमागको पृष्ठभागको पिट्यूटरी ग्रन्थीले पानीको मात्रा हेरी पिसाब बढी खोल्न वा कम गर्न मृगौलासंग सञ्चार सम्पर्क बनाउँछ । यसरी नुन पनि पानीको मात्रा नियमन गर्ने कारक बन्दछ । अर्थात शरीरमा सोडियम कम हुँदा मस्तिष्कले पिसाबको मात्रा वृध्दि गर्न र वढी हुँदा पेसाबको मात्रा घटाउन मृगौलालाई आदेश गरी नुन र पानीको निरन्तर उचित सन्तुलन कायम गरिरहन्छ ।सन्तुलनको यो क्षणिक प्रबन्धलाई कायम राख्न भने पानी पिउने बाहेक अर्को बाटो छैन ।
पछिल्लो समयमा पानीका तमाम औषधीय गुणहरुलाई प्रामाणिकताका साथ स्थापित गर्ने बेलायतमा अध्ययन गरेका प्रसिध्द इरानी डा. फेरिदुन वातम्यान (एम् डि) हुन् । उनको अनुसन्धानको पृष्ठभूमिमा एउटा रोचक संयोग रहेको छ । इरानमा सन् १९७९ मा धार्मिक नेता आयातुल्लाह रोहल्ला खुमैनी नेतृत्वको इस्लामिक क्रान्तिमा अपदस्थ राजा शाह मोहम्मद रेजा पहल्वीसंगको कथित निकटताको आरोपमा तेहरान स्थित कुख्यात एभिन जेलमा उनी राजनैतिक बन्दी थिए ,अवश्यंभावी मृत्युदण्डको काउन्टडाउन (उल्टोे गिन्ती) गर्दै । परन्तु यही वन्दी जिवननै उनको लागि वरदान साबित भयो । जेलमा कहिलेकाहीँ हप्तौं सम्म पनि खाना नमिल्ने र पानीको भरमा बाच्नु पर्ने अवस्थामा औषधी कल्पना भन्दा बाहिरको कुरा हुन्थ्यो । तर पानी मात्रैले २ वर्ष ७ महिनाको जेल बसांइदा उनले धेरै रोगका करिब ३००० कैदी वन्दीहरुलाई निको पारे । हाम्रो लागि यो चमत्कार लाग्छ भने उनी स्वयंमको लागी पनि यो सानो आश्चर्य थिएन । जेलभित्रै रिर्सच पेपर तयार गरी ज्यूरी समक्ष पेश गरेर उनी असल आचरण (गुडकण्डक्ट) कै कारण जेलमुक्त पनि भए । पछि अमेरिका प्रवासमा उनले अध्ययन र अनुसन्धानलाई जारी राख्दै पानीकै विषयलाई लिएर ६ वटा प्रसिद्ध पुस्तकहरु प्रकाशित मात्र गरेनन् एकहिसाबले विश्व पैमानामा सचेतना आन्दोलननै चलाए । उनका सबै कृतिहरुको निष्कर्ष हो —हामीले पानी पिउनको लागि प्यासलाई कुर्नु सर्वथा गलत हुन्छ यस अर्थमा कि प्यास र मुख सुक्ने कुरा डिहाइड्रेसनका प्रारंभिक नभएर धेरै ढिलो गरी प्रकट हुने सङ्कटकालिन लक्षणहरु मात्र हुन् । उनकै भनाइमा प्यास माथि भर पर्नु आज पर्यन्तको मेडिकल इतिहासको सबैभन्दा ठूलो दूर्भाग्य हो । उनको एउटै सन्देश छ — मानिसहरु रोगी होइन तिर्खाएका मात्रै हुन् । त्यसैले प्यासलाई औषधीले संबोधन र समायोजन गर्ने चेष्टा नै सही होइन । उनका सन्देश झट्ट सुन्दा अतिसयोक्ति जस्तो लागेतापनि यसका अनुगामी र प्रयोक्ता चिकित्सकहरुको संख्या दिनपरदिन बढ्तो छ । होलिष्टिक मेडिसिनका विश्वविख्यात अभियन्ता डा. डेविड व्राउस्न्टिन (एम् डि) ले यसै शुत्रबाट आफ्नो दीर्घ दमको रोग निर्मूल गरेपछि “पानी पिउनुहोस् रोगलाई भगाउनुहोस्”भन्ने नाराका साथ यसको प्रचारमा जुटेका छन् । एउटा जापानी मेडिकल सोसाइटीले रोगहरुको एउटा लामै फेहरिस्त सङ्ग जोडेर पानीबाटै शतप्रतिशत उपचारको सम्म दावा गरेको छ । भिक्टोरीया निवासी प्रसिध्द डाइटिसियन र स्वास्थ्य प्रशिक्षक डानियल भ्यान साइकले हाम्रा भोक र प्यासका अनुभूति परस्पर उस्ताउस्तै र अन्योलपूर्ण हुने र भोकका अनुभवहरु वास्तवमा सबै भोक नभएर यदाकदा प्यास हुन सक्ने भएपनि हामीले पानीको सट्टा खाना खाने भूल गरेको बताउछन् । त्यसैले वर्जित अवस्थालाई छोडेर बाकीँ सबै स्वास्थ्य समस्यामा अवस्था हेरी पानीलाई पहिलो मौका दिन वा कमसेकम समानान्तर आजमाइस गर्नुमा हानी नै के छ ? पानी सम्बन्धी यो आलेख सूचना सम्प्रेषणको लागि मात्र भएकाले कुनै पनि प्रकारको मेडिको—लिगल प्रयोजनका लागि आधार बन्ने छैन । अस्तु ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पर्यटन विकास आयोजना वागमती प्रदेश हेटौडा, मकवानपुरका सव–इन्जिनियर नेत्रप्रसाद लामिछाने ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

नवलपरासी । सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको

काठमाडौं । विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आज सार्वजनिक हुनुहुँनेछ । सरकारले विप्लव समूहसँग वार्ता गरी तीन बुँदे सहमति

झुट्टा विवरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्नेलाई सघाएको आरोप लागेका म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाका वडाध्यक्ष पुर्म पुन र सचिव