गोर्वाच्योभले देखेको भावी महायुद्ध ! :: राजेश मिश्र

२४ माघ २०७१, शनिबार ००:०२ मा प्रकाशित

९ सेप्टेम्बर २०१४ का दिन ८० नाबालक सहित २८३ यात्री बोकेको मलेसियाको हवाईजहाज, ३० हजार फीट माथी युक्रेनको आकाशबाट पड्किंदै युद्धग्रस्त फाँटमा झर्यो। अलिकति तेल जोगाउने स्वार्थवश रूस समर्थित युक्रेनी पृथकतावादीको कब्जामा रहेको क्षेत्रमाथी उडेको त्यो जहाजलाई रूसमा बनेको बिमान भेदी ‘रकेट लन्चर’ बाट तारो हानिएको पुष्टि भयो।

तर घटनाको जिम्मेवारी कसैले लिएन। आधा जलेका मानव-अंगहरु विवादित क्षेत्रमा छरपस्टिए, उद्धार भएन। अमेरीकी र पश्चिमी संचार माध्यमहरुले कोकोहोलो मच्चाएपछि रुसी राष्ट्रपति भ्लादिमीर पुटीनले आफूतिर सोझिएका औंलाहरुलाई ‘पट्मूर्ख’ भन्दै औपचारिक बचाऊ बक्तब्य जारी गरे-“यो रसियालाई बद्नाम गर्ने सी.आई.ए. को षड्यन्त्र हो।”

पश्चिमी जगतका केवल न्युज हेर्नेहरुलाई लाग्यो, अब कि पुटीन सकियो, कि युद्ध शुरु भयो ! तर भोलिपल्ट सूर्य यथावत् उदायो।

क्रिमियाको रुसी भूभागमा बिलयपछि जागेको रूसी राष्ट्रवादको पृष्ठभूमिमा पुटीनप्रति आफ्ना जनताको ८० प्रतिशत ‘अप्रुभल रेट’ तल झरेन। २०१३ मा पुटीनले राजनितीक दमन गर्दा उनको कटू आलोचना गर्ने पूर्व राष्ट्रपति मिखाईल गोर्वाच्योभले “विश्व-मंचमा एक सोचनीय शक्ति” का रुपमा रूसको पुरानो प्रतिष्ठा “पुनर्स्थापित गर्ने” राष्ट्रपतिको कदमप्रति मौन समर्थन गरिरहे। के पुटीनले अहिले कुनो परेको बिरालोको व्यवहार गरेका हुन् त? गोर्वाच्योभ भन्छन, “हो।”

”विश्व नयाँ शीतयुद्धको चरणमा प्रवेश गरेको छ। र, यसका लागी अमेरीका जिम्मेवार छ।”

२०१५ को पूर्वसन्ध्यामा “टाईम” लाई अन्तर्वार्ता दिंदै ८३ बर्षीय गोर्वाच्योभले तीतो पोखे। मिखाईल ‘ग्लास्नास्त/पेरेस्त्रोईका’ गोर्वाच्योभ उनैहुन् जो १९८३ मा रूसलाई “शैतानी साम्राज्य”को नाम दिने अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन संग टेक्ससमा ‘काऊ-ब्वाय’ टोपी र ‘लिवाईज जिन्स’मा त्यही दशकमै तस्वीर खिचाउन पुगे।

अमेरिकी “थिङ्क ट्याङ्क”को खुराक मानिने “टाइम”ले कहिले बर्ष पुरुष त कहिले दशक पुरुष भन्दै आएको नोबेल शान्ति बिजेता, बुढा रूसी राजनेता अब आएर भन्दैछन, “अमेरिकीहरुको कुरा सुन्न सकिन्छ तर पत्याउन सकिन्न । अमेरिकीहरू आफ़ुलॆ चाहेको हासिल गर्न आकाश पनि पल्टाउन खोज्छन।”
२०१५ को आरम्भ अघिनै विश्व “नयाँ शीतयुद्ध” को चरणमा प्रवेश गरेको निष्कर्षमा पुग्ने गोर्वाच्योभ आफै एक्ला बृहस्पति होइनन। खुला र उदार समाजको पक्षपाति पश्चिमा बुद्धिजीवीहरु पनि यो सम्भावनाप्रति सचेत छन्। गोर्वाच्योभले जस्तै उनीहरुपनि यो जटीलताका लागी अमेरिका र उसको पछि लागेको लागेको पश्चिमी युरोपलाई दोष दिन्छन।
२०१४ मार्चमा “प्रजातन्त्रवादी” पश्चिम र अमेरिकाको ब्यापक घुसपैठ हुँदाहुँदै पुटीन क्रिमियालाई रुसी माटोमा मिसाउन सफल रहे। यो घटनाले “शैतानको साम्राज्य” ढालेर २५ बर्षदेखी एकछत्र रजाईं गरिरहेको शक्ति झस्कियो। कूटनीतिका पण्डितहरु कर्मकाण्डमा ब्यस्त भए। निष्कर्ष आयो- रूसलाई विश्वको एक शक्तिका रुपमा स्वीकार नगर्ने अमेरिकी दम्भ र एक्ल्याउने युरोपेली षड्यन्त्रका कारण यो एक चौथाई शताब्दीमा विश्वमंचका आणविक अश्त्रधारी खेलाडीहरुबीचको खाडलमा चिन्ताजनक बिस्तार भैसकेको छ।
“सोभियत संघको समाप्तिपछि हामीलाई एक साम्राज्यको कुनै प्रान्तजस्तो व्यवहार गरियो,” क्षुब्ध गोर्वाच्योभ “टाईम” संग दुखेसो गर्छन “यस्तो व्यवहारलाई हाम्रो राष्ट्रले पचाउन सक्दैन। यो रुसी स्वाभिमान संग मेल खाने कुरो होइन। हामीलाई उपदेश दिईन्छ, हामीमाथि नाकाबन्दी लगाइञ्छ, अनि हरेक खेलमा गोटी चाल्ने अमेरिका हुन्छ। ”
जर्ज टाउन युनिभर्सिटीकी प्राध्यापक सिरीं हन्टर गोर्वाच्योभसंग सहमत हुँदै आफ्नो ब्लगमा लेख्छिन………
“सोभियत संघ पछिको रूस र पश्चिमाहरुबीचको साझेदारी समान स्तरमा हुन सकेन। विश्वका कम्युनिष्ट बिरोधी शक्तिहरु रूसलाई एक्लो पारेर आफ़ूखुसी “ए रूस, तँलाई यस्तो प्रणाली चाहिन्छ,” भन्ने स्तरमा ओर्लिए। रूसी जनता, संस्कार, संस्कृति र परम्परागत अभिमानलाई कुल्चेर रूसलाई पश्चिमा सामाजिक मोडलमा रुपान्तरित गर्न खोजियो। “

तर अब बोरीस येल्त्सीनको जस्तो “त्वं शरणं” जमाना छैन। एकातिर अमेरिका छ। उसको पछि लाग्ने नेटो गठबन्धन छ। अर्कोतिर रूस एक्लै छ। तर आणविक शस्त्रधारी छ। अमेरिकाको नेतृत्व बाराकले गरेका छन। बाराक बास्केट बलको “हुप” मा झुण्डिञ्छ्न। पुटीन फुर्सतमा माछालाई बल्छीमा झुण्ड्याउञ्छन। ओबामा गल्फका पारखी हुन्। पुटीन ते-क्वान्दोका “सेवेंथ-ग्रेड” ब्ल्याक बेल्ट हुन्। ओबामा राजनीतिमा लागेको १२ बर्षमा राष्ट्रपति भए। त्यस्ता २ ओटा १२ बर्ष पूटीनले केजीबीमा बिताए। ओबामा लाइब्रेरीमा कानूनका किताबसंग भिड्दा पुटीन काउण्टर्पार्ट कूत्नीतिज्ञहरुसंग बारहरुमा पन्जा लडाउँथे। र, जित्थे।
अहिले पनि, पुटीनकालागी प्रजातान्त्रिक मूल्य र मान्यताको अर्थ छैन। तर उनी खेलाडी हुन्।
सिरियाको मुद्धामा अमेरिकी सैन्य गठबन्धन फौजी कारवाहीका लागी तयार थियो, अघिल्लो बर्ष। सिरिया संग दह्रो व्यापारिक/सामरिक सम्बन्ध रहेको रूसले हात हाल्यो। ओबामा एक पछि अर्को लक्ष्मण रेखा कोर्दै गए, पछि हट्दै गए। सैन्य अभियान सिरियामा घातक हतियार पर्यवेक्षण गरिने सहमतिमा टुङ्गियो। पुटीनको हात माथी पर्यो। अहिले ओबामालाई इतिहासकै निकृष्ट राष्ट्रपति ठहर्याउने अमेरिकी संस्थाहरु सिरियाको मुद्धालाई उठाउन चुक्दैनन।
२०१५ को नयाँ बर्ष अमेरिकाको को लागी झट्काको रूपमा आयो। उसलाई उछिनेर चीन विश्वको पहिलो अर्थतन्त्रको रुपमा स्थापित भयो। यता फोर्ब्स म्यागजीनले पुटीनलाई समकालीन विश्वको सर्वाधीक शक्तिशाली व्यक्तिका रुपमा घोषणा गर्यो। विश्वकै शक्तिशाली अमेरिकाका कार्यकारी प्रमुख ओबामाको कुनै भूमिका देखिएन।
पश्चिमी प्रजातन्त्र, जो स्वयं रूसको प्राकृतिक ग्याँस भण्डारको उर्जामा निर्भर छ, अमेरिकाको अगुवाईमा रुसमाथीनै आर्थिक नाकाबन्दी लगाउन तम्सिन्छ। तर गोटीचालमा पुटीन अगाडी छन्। उनी युरोप/अमेरिका हेर्दैनन्। बरु, नरेन्द्र मोदी कालको प्रारम्भमै भारत पुगेर, २४ घन्टामा २० ओटा “डील” गरिदिन्छन। रूसी लगानीमा आगामी २० बर्ष भित्र भारतमा १२ ओटा आणविक भट्टी बन्दैछन। भारतले रूसलाई १० बर्षका लागी कच्चा तेल आपूर्ति गर्ने ठेक्का दिएको छ। रूस भारतमा लडाकू हेलिकप्टर उद्योग संचालन गर्दैछ।
“हाम्रो रक्षार्थ आवश्यक सैन्य उपकरण किन्न हामीसंग अहिले धेरै विकल्पहरु छन्। तर, रूस संधै हाम्रो अति महत्वपुर्ण रक्षा साझेदार रहिआएको छ।” ११ डिसेम्बर २०१४ बिहिबार, नयाँ दिल्लीमा पुटीनसंग कुम जोरेर मोदीले यसो भन्ने बित्तिकै अमेरिकी संचार माध्यममा भुइञ्चालो आयो। त्यतिबेला १०० बिलियन डलरको सम्झौता गरेर पुटीनले दिल्ली छोडेको झन्डै २ महिना ढिलो पुगेर ओबामा यहाँ पनि पछि परेका छन्।
नयाँ बर्षको शुरुवात संगै जति बेला ओबामा दिल्लीमा भारत संगको ९ बर्ष पुरानो आणविक उर्जा सम्झौताको गाँठो फ़ुस्काउँदै थिए, अमेरिकी टेलिभिजनहरु, मोदीले पुटीनलाई गत जुलाईको “ब्रिक्स” सम्मेलनमा “भारतमा बच्चा बच्चाले रुसलाई बेस्ट फ्रेन्ड भन्ने गरेको किस्सा सुनाएको” चर्चा गर्दैथिए। यसअघि, भारतलाई आगामी ३० बर्ष सम्म नागरिक प्रयोजनका लागी समेत आणविक उर्जा उपभोग गर्न नदिने अमेरिकी रणनीतिलाई पनि पुटीनकै चलखेलले गलाएको हो। अमेरिका भारत-रूस सम्बन्ध इन्दिरा गान्धी कालमा फर्केको हेर्न चाहँदैन।
अर्को तिर रूस पनि अब पछाडी फर्किने पक्षमा छैन। ९० को दशकदेखिनै विश्वको भूराजनीतिक दृश्यबाट ओझेलमा पार्न खोजिएको रुसी अस्तित्वले फेरी टाउको उठाउन थालेको छ। ईराक र सिरियाको द्वन्दले रुसलाई फेरी एकपटक उपेक्षा गर्न नमिल्ने शक्तिको भूमिका दिएको छ। रूस समर्थित सिरियाली सत्ता पल्टाउन सीआईएले बिद्रोहीहरुलाई उपलब्ध गरेको हतियार घुमिफिरी अल कायदा र आईसीस लडाकुको हातमा पुगेको घाऊमा अमेरिका अझै मलम लगाउदैछ। मुसलमान आतंककारीहरुसंग पैसा छ, र- आणविक अस्त्रधारी सत्ताहरुसंगको पहुँच पनि। रूसको सहयोग बिना यी हतियारको चुहावट रोक्न संभव छैन।
पुटीनले यो एक बर्षमा २ पटक “रूस आणविक शक्ति हो” भन्ने वाक्य दोहोर्याईसकेका छन्, विश्व मंचमा। “रूसको प्रतिस्ठा पुनर्स्थापित गर्न” रुसी जनताको प्रजातान्त्रिक अधिकार संग सम्झौता गर्न गोर्वाच्योभलाई स्वीकार्य छ। अनि उनी टाईम मार्फत अमेरिकालाई भन्छन, “युद्धको तयारी हुँदैछ, तर यो शीत युद्ध हुनेछैन। यो तातो हुनेछ। ”
गोर्वाच्योभ्को अभिव्यक्तिमा आक्रोश हावी भएको होला। तर एउटा सत्य स्पष्ट छ, अमेरिकाको खस्कदो पकड, रूसको जाग्दो महत्वाकाँक्षा र भारत-चीनको नयाँ आर्थिक सान्दर्भिकताले संसारमा नयाँ ध्रुबीकरणको आरम्भ गरेको छ। शक्ति सन्तुलन अब पारम्परिक हुने छैन।

:: लेखक नेपालमा रहंदा मूल धारको पत्रकारितामा क्रियाशील थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । ललितपुरको पाटन दरबार क्षेत्रबाट हराएको लक्ष्मीनारायणको मूर्ति अमेरिका सरकारले नेपाललाई हस्तान्तरण गरेको छ । एकतीस वर्षदेखि टेक्सस राज्यको

हङकङ । चीनको उच्च कानून निर्माता निकाय नेशनल पिपुल्स कांग्रेस एनपीसीले हङकङमा राष्ट्रवादीले मात्रै शासन गर्न पाउने योजना सार्वजनिक गरेको

काठमाडौँ । पर्यटन विकास आयोजना वागमती प्रदेश हेटौडा, मकवानपुरका सव–इन्जिनियर नेत्रप्रसाद लामिछाने ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

नवलपरासी । सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको