‘ज्वरोले सिकिस्त भएकाहरुले सिटामोल खानुहोस, फुटाउने र भाँच्ने उत्तेजनापूर्ण अभिव्यक्तिको अर्थ छैन’

२२ माघ २०७१, बिहीबार २१:३० मा प्रकाशित

काठमाडौँ, २२ माघ । एमाले अध्यक्ष केपी शर्मा ओलीले विनाशको बाटो नहिँडी संविधान निर्माण कार्यमा संलग्न हुन एमाओवादीलाई आग्रह गरेका छन् ।

बिहिबार प्रेस चौतारी नेपालको १७ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले वर्तमान एमाओवादीलाई संवादमा आउन आग्रह गर्दै संविधानसभाले जुनसुकै हालतमा भएपनि नेपाली जनतालाई नयाँ संविधान दिएरै छाड्ने बताएका हुन् ।

अध्यक्ष ओलीले हिंसा मात्रै सत्य र बाँकी जगत् मिथ्या ठान्ने एमाओवादीले देशमा हुँडलो र रक्तपात मच्चाउन आन्दोलनको धम्की दिएको आरोप लगाउँदै धम्की र भ्रमका भरमा राजनीतिमा लागेका ती दलका कार्यकर्तालाई आफ्नो पार्टीमा आएमा सम्मान र सुरक्षा दिने उद्घोष पनि गरे । उनले भने, ‘आवेशको ज्वरो चढेका पार्टीका साथीहरुलाई सिटामोल खान र पानीपट्टी लगाउन भन्छु, धेरै दाह्रा किट्यो भने बङ्गारा खिइन्छ, त्यसकारण मान्छेका टाउका फुटाउने र खुट्टा भाँच्ने उत्तेजनापूर्ण अभिव्यक्ति नदिन आग्रह गर्छु ।”

माघ ५ गते सम्म एमाओवादीका अध्यक्षसँग सुमधुर सम्बन्ध रहेको सन्दर्भ कोट्याउँदै उनले भने, ‘मैले त सहमति हुने विश्वास गरेको थिएँ, दिउँसोको मधुर मुस्कान त राति छातीमा माइक प्रहार गर्ने घटनामा परिणत भयो ।’ बाह्रबुँदे सहमति र बृहत् शान्ति सम्झौतामा संविधानसभा छाडेर बाहिर गएर आन्दोलन गर्ने सहमति नभएकोतर्फ ध्यानाकर्षण गराउँदै ओलीले सहमति र संविधान निर्माणको प्रक्रियामा आउन विपक्षी मोर्चालाई आग्रह गरे ।

कार्यक्रममा काँग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले दोस्रो संविधानसभाको निर्वाचनमा आफू सानो दल भएकै आधारमा एमाओवादीले संविधान निर्माणको प्रक्रियालाई रोक्नु लोकतान्त्रिक नहुने बताए । उनले भने, “जनताको चाहना संविधान ल्याउनुपर्छ भन्ने छ, त्यसमा हामीले अब खेलबाड गर्न मिल्दैन, निर्वाचनको जनमत नै मान्ने हो भने हामीले शीघ्र संविधान दिन सक्नुपर्छ ।”

एमालेका सचिव प्रदीप ज्ञवालीले एमाओवादी नेतृत्वको मोर्चा आन्दोलनका उपलब्धिलाई संस्थागत गर्न संविधान बनाउन छाडेर बहिष्कार र तिरस्कार गर्दै पश्चगमन र घृणाको बाटो हिँड्न थालेपनि आफूहरुले उनीहरुलाई कदापि भाग्न नदिने बताए ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले प्रेस जगत् तुलनात्मक रुपमा जिम्मेवार बन्दै गएको धारणा राखेका थिए भने नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले श्रमजीवी पत्रकार ऐनको कार्यान्वयनका लागि सञ्चारगृहले चासो नदिएको गुनासो पोखे । यस्तै चौतारीका अध्यक्ष राजेन्द्र अर्याल, नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, क्रान्तिकारी पत्रकार सङ्घका प्रतिनिधि सचिन रोक्का, सञ्चारिका समूहका अध्यक्ष निर्मला शर्मालगायतले यथाशीघ्र प्रेसमैत्री संविधान ल्याउन आग्रह आग्रह गरेका थिए ।

कार्यक्रममा प्रेस चौतारीले आज आफ्नो स्थापना दिवसका अवसरमा पत्रकारिता तथा आमसञ्चारका क्षेत्रमा भूमिका निर्वाह गर्ने सञ्चारकर्मीहरुलाई पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । घोषित पुरस्कारमध्ये ‘हृदयचन्द्रसिंह प्रधान स्मृति पत्रकारिता पुरस्कार’ कान्तिपुर टेलिभिजनका समाचार प्रमुख तीर्थ कोइरालालाई, ‘अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार गोविन्द पोखरेललाई, ‘वीरेन्द्र साह युवा क्रियाशील पत्रकारिता पुरस्कार’ सङ्खुवासभा युवा पत्रकार छेटु शेर्पा र ‘डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार’ रोल्पका ईश्वरी जिएमलाई दिइने निर्णय भएको छ ।

यस्तै चौतारीले दार्चुला, दाङ, कास्की, चितवन र मोरङ जिल्लालाई उत्कृष्ट शाखा घोषणा गरेको छ । ती पुरस्कार आगामी प्रेस स्वतन्त्रता दिवस (मे ३) मा प्रदान गरिनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

योङ स्टार क्लबद्वारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएमका कार्यालयमा आगलागी भएको छ । आज विहान लागेको आगलागी नियन्त्रणमा आइसकेको रेडियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने भएको छ । पार्टीको प्रदेश कमिटीले

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वास प्रस्तावबाट आफूलाई हटाएर देखाउन चुनौती दिएका छन् । उनले प्रतिनिधि सभा विघटन गर्ने

काठमाडौ । न्यायाधीशकी श्रीमती ब्राउन सुगरसहित पक्राउ परेकी छिन् । उच्च अदालत सुर्खेतका न्यायाधीश मदन पोखरेलको श्रीमती तुलसीपुर उपमहानगरपालिका–५ निवासी