पछि नहटे कोइराला आफैँ हट्ने

२२ माघ २०७१, बिहीबार ०९:११ मा प्रकाशित

जयप्रकाश त्रिपाठी, काठमाडौ , २२ माघ । प्रधानमन्त्री सुशील कोइराला आफ्नो अडानबाट पछि नहटे मुलुकमा द्वन्द्व बढ्ने र वर्तमान सरकारको निरन्तरतामा समेत अवरोध पैदा हुने सङ्केतहरू देखिन थालेका छन् । एमाओवादीसहितका विपक्षीहरू टसको मस नभएपछि कोइराला केही गल्नु त भएको छ, तर एमालेसँग बनेको समझदारी भत्काउने सोच उहाँले बनाउनुभएको छैन । संविधान निर्माणको न्यूनतम प्रक्रिया आरम्भ गरेर कोइरालाले आफ्नो राजीनामा मागिने सम्भावनालाई टार्नुभएको छ । त्यसैले ‘आफू सुरक्षित रहने वचन पाएमा’ कोइराला अब यसभन्दा बढी बलजफ्ती गरेर अघि बढ्ने मानसिकतामा नरहनुभएको बुझिन्छ । यसैबीचमा कतिपय मुलुकका राजदूतहरूलाई भेटी कोइरालाले आफू विपक्षीलाई समेत साथ लिएर अघि बढ्न प्रतिबद्ध भएको जानकारी दिनुभएको छ । कोइरालाले आफ्नै पार्टीका महामन्त्री कृष्णप्रसाद सिटौला र एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई मँन्य हुन्छ भने आफू पछि हट्न तयार रहेको जानकारी केही मुलुकका राजदूतलाई गराउनुभएको छ । यसबाट कोइरालाको आफ्नै अडान नरहेको, ओली र सिटौलाका कारणले मात्र उहाँले ‘अडान’ लिनुपरेको स्पष्ट भएको छ । पछिल्ला केही दिनयता कोइराला केही मत्थर बन्नुभएकोले नेकपा एमालेका नेताहरू सशङ्कित हुन थालेका छन् । सुशील कोइरालाले खुट्टा छाड्ने हुन् कि भन्ने चिन्ता एमालेका नेताहरूमा पैदा भएको छ । ‘प्रधानमन्त्री पद र एमालेको साथ’ छोड्ने पक्षमा नरहनुभएका कोइरालाले एमाओवादी अध्यक्ष प्रचण्डलाई ‘साम्य’ पार्न गरेका सबै प्रयास असफल भएकोले उहाँले खुट्टा कमाउन भने अवश्य थाल्नुभएको छ । प्रचण्डलाई सहमतिमा ल्याइदिन कोइरालाले अमेरिकी राजदूत पिटर बोडीलाई समेत आग्रह गर्नुभएको थियो । प्रचण्डले आफूलाई टेलिफोनमा राम्रोसँग ‘रेस्पोन्स’ नगरेपछि उहाँ बोडीको शरणमा जानुभएको थियो । तर, कोइरालाको इच्छा राजदूत बोडीले पनि पूरा गर्न सक्नुभएन । एमाओवादीसहित विपक्षी दलहरू निर्णायक सङ्घर्षको तयारीमा जुट्नुलाई उहाँले आफ्नो अनिष्टका रूपमा हेर्नुभएको देखिन्छ । त्यसैले सुशील कोइरालाले कुनै पनि दिन कुनै पनि बहानामा पछि हट्ने निर्णय लिनुभयो भने आश्चर्य हुनेछैन ।
नेपाली काङ्गे्रस र एमालेबीच दूरी पैदा गर्न अनेकौँ कोणबाट विभिन्न प्रयास भइरहेका छन् । सुशील कोइरालाप्रति एमालेमा आशङ्का प्रकट हुनुलाई त्यस्तै प्रयासको पहिलो सफलता मानिएको छ । तर, कोइरालाप्रति आशङ्का हुँदाहुँदै पनि एमालेले उहाँलाई अडानबाट पछि हट्न नदिन अनेकौँ उपाय भने गरिरहेको छ । कदाचित कोइराला पछि हट्ने स्थितिमा पुग्नुभयो भने नेकपा एमाले सरकार छोडेर बाहिरिने निश्चितप्रायः छ । त्यस्तो स्थितिमा एमाले नै सङ्घर्षमा जाने सम्भावनालाई अस्वीकार गर्न सकिँदैन । अडान कायम राख्दा विपक्षीहरू निर्णायक सङ्घर्षमा जाने र अडान छोड्दा सत्ता साझेदार दल नै विरुद्धमा उत्रने भएकोले यतिबेला प्रधनमन्त्री सुशील कोइराला निकै सकसमा हुनुहुन्छ । विपक्षीहरूलाई सहमतिमा ल्याउन सकिने कुनै सङ्केतहरू नदेखेपछि उहाँले नेपाली राजनीतिमा प्रभाव राख्ने विभिन्न मुलुकका राजदूतहरूसँग परामर्श गरी अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरूलाई ‘न्युट्रलाइज्ड’ गर्ने या विश्वासमा लिने प्रयास गर्नुभएको छ । तर, अन्तर्राष्ट्रिय शक्तिहरूको विश्वास प्राप्त गर्न कोइरालाले ‘दुई कदम’ पछि हट्नैपर्ने अवस्था छ । पछि नहटे उहाँ नै पदबाट हट्ने स्थिति सिर्जना हुने निश्चित छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोभिड–१९ बाट विदेशमा यस साता थप दुई नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक

काठमाडौं । नेकपा संसदीय दलको नेताबाट केपी ओलीलाई हटाएर पुष्पकमल दाहाललाई चयन गरिएको पत्र संसद सचिवालयले दर्ता गर्न अस्वीकार गरेको

काठमाडौँ । सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी(नेकपा) राख्ने निर्वाचन

प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोभिड–१९ विरुद्धको खोप लगाउनुभएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बिहान पुगेर प्रधानमन्त्री ओलीले धर्मपत्नी