थाइ पूर्वप्रधानमन्त्री यिङलक सिनावात्रालाई पाँच वर्षका लागि राजनीतिक प्रतिबन्ध

१० माघ २०७१, शनिबार १६:४५ मा प्रकाशित

बैंकक, १० माघ । थाइल्यान्डका अधिकारीहरूले पूर्वप्रधानमन्त्री यिङलक सिनावात्राविरुद्ध महाअभियोग लगाएका छन् । उनको राजनीतिक जीवनमा पाँच वर्षका लागि प्रतिबन्ध लगाइएको छ । उनलाई जेल हुने गरी एक कानुनी मुद्दालाई अगाडि बढाइएको छ ।

एक योजनाको तहत चामल कृषकलाई छुट दिने नाउँमा भ्रष्टाचार गरेको भन्दै उनीमाथि सेनाद्वारा नियुक्त एक विधायकले महाअभियोग लगाएका हुन् । चामल परियोजनासँग समेत जोडिएका आपराधिक अभियोगहरूले सिनावात्रालाई १० वर्ष जेल हुन सक्छ । ‘कू’ मार्फत सिनावात्राको सरकारलाई हटाएपछि सन् २०१४ देखि त्यहाँ सेनाको शासन छ । कुनै सम्झौता नगरिने र उनको परिवारलाई राजनीतिबाट हटाउने संकेत यो महाअभियोगले दिएको छ ।

यिङलक र टाइकुन तथा पूर्वप्रधानमन्त्री दाइ थाक्सिन सिनावात्रा मुलुकका ग्रामीण भेकका विपन्नमाझ निकै लोकपि्रय छन् । तर भ्रष्टाचार तथा शक्ति दुरुपयोगको आरोप लगाउने सहरी तथा मध्यमवर्गीय कुलीनबीच उनीहरू अलोकपि्रय छन् । दाजुबहिनीको दल मुलुकमा निकै लोकपि्रय छ । सन् २००१ देखि विभिन्न नामबाट उनीहरूका दलले विजय हासिल गर्दै आएको छ । सेनाले यिङलकलाई आफ्नो पक्ष राख्न पत्रकार सम्मेलन समेत गर्न दिएन । त्यो मुलुक अहिले ‘मार्सल ल’ भित्र छ । अनाधिकृत राजनीतिक बैठकहरूमा त्यहाँ प्रतिबन्ध लगाइएको छ ।

अधिकारीहरूले आफूलाई बर्बाद पार्न लागेको भन्दै उनले फेसबुकमा पोस्ट गरेकी थिइन् । ‘थाइल्यान्डमा कानुनको शासनसँगै अहिले प्रजातन्त्रको मृत्यु भएको छ,’ उनले भनिन् । यो कदमको राजनीति वा मेलमिलापसँग कुनै सम्बन्ध नरहेको महाअभियोग पक्षधरहरूले बताए । उनीहरूका अनुसार यसलाई यिङलक सरकारको चामल सहयोग योजनामा भएको भ्रष्टाचारविरुद्ध कारबाहीको रूपमा मात्र लिनुपर्छ । उनीहरूको दाबीमा यो अस्वीकार्य नमिल्ने भ्रष्टाचार हो । यसबारे पर्याप्त प्रमाण छ । यो उदार अनुदान आर्थिक रूपले धान्ने खालको नरहेको उनीहरूको तर्क छ । तर अहिलेसम्म कसैविरुद्ध सुनुवाइ वा सजाय भएको छैन । पदबाट हटाइएका एक राजनीतिज्ञविरुद्ध सेनाद्वारा नियुक्त विधानसभाले महाअभियोग लगाउन कसरी सम्भव भयो भन्नेबारे उनीहरू बोल्न सक्षम छैनन् । यीे सबबीच यिङलकले पनि दाजु सिनावात्राझैं निर्वासनमा वा जेल जानुपर्ने अवस्था देखा परेको छ । सिनावात्रा परिवारको कोषमा निर्भर उनको दल र समर्थकहरूका अगाडि नयाँ नेतृत्वको चयन गर्नुपर्ने वा सेनाको विरोध गर्ने मात्र विकल्प छ ।

सिनावात्राको फेऊ थाई नेतृत्वको सरकारले किसान संघ विश्व बजारको मूल्यभन्दा धेरै बढी रकम तिरेर चामल किनेको सेरोफेरोमा ती आरोपहरू आधारित छन् । यसले ठूलो परिमाणमा चामलको सञ्चय हुनपुग्दा मुलुकमा यसको निर्यात कठिन भयो । भ्रष्टाचारविरोधी अनुसन्धानकर्ताहरूले यिङलक र उनको दलमाथि विशेष गरी आफ्नो पकड भएको उत्तरी क्षेत्रका किसानसँग मत किन्न यो योजना प्रयोग गरेको आरोप लगाउँछन् । सरकारलाई फाइदा लिन नदिएको उनीमाथि आरोप छ ।

त्यहाँको राष्ट्रिय विधानसभामा शुक्रबार २ सय १९ मध्ये उपस्थित १ सय ९० विधायकले उनीविरुद्धको मतदानमा भाग लिए । १८ ले विरोधमा मतदान गरे भने अन्य उपस्थित रहे । ह्वाइटबोर्डमा लेखिएको मतको राष्ट्रिय टीभीमा प्रसारण भएको थियो । उक्त मुलुकमा सन् २००६ को सेप्टेम्बरमा सेनाले यिङलकका दाजु थाक्सिनलाई हटायो । सन् २००७ को डिसेम्बरमा थाक्सिन समर्थित दलले निर्वाचन जित्यो । सन् २००८ को अगस्टमा सेनाको नियतमा गडबड देखेर थाक्सिन मुलुक छाडेर भागे । त्यही बेला थाक्सिनविरुद्ध ठूलो प्रदर्शन भयो । अदालतले सत्ताधारी दलमाथि प्रतिबन्ध लगायो । प्रजातन्त्रवादी अभिसित भेजाजिवामा सत्तामा आए । सन् २०१०/११ को मार्च-मेमा थाक्सिन समर्थकको प्रदर्शनमा सैन्य हस्तक्षेप हुँदा दर्जनौं मारिए । सन् २०११ को जुलाईमा यिंग्ालक प्रधानमन्त्री निर्वाचित भइन् । सन् २०१३ को नोभेम्बरमा त्यहाँ सरकारवरोधी प्रदर्शन सुरु भयो । (बीबीसी)

प्रतिक्रिया
सम्बन्धित खवर

यंगुन । म्यान्मारमा हिजो बुधवार सैनिक कू विरुद्ध प्रदर्शनमा उत्रिएका ३८ जनाको मृत्यु भएको छ । घटनालाई संयुक्त राष्ट्रसंघले सेनाले

बेइजिङ । शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् ।

मस्को । संयुक्त राष्ट्रसंघले रुसी बिपक्षी नेता अलेक्सी नाभाल्नीलाई बिष सेवन गराईएको बिषयमा छानविन गर्न माग गरेको छ । संयुक्त

यांगुन । म्यानमारमा सैन्य शासनको विरोधमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर एकै दिन १८ जनाको मृत्यु भएको छ ।