बेवारिसे देशमा नयाँ शक्तिले दिएको आवाज :: डा. प्रदीप ढकाल

९ माघ २०७१, शुक्रबार ००:२५ मा प्रकाशित

देशको राजनीति बेवारिसे बनेको छ । कसैले पनि देशको राजनीतिलाई मार्ग र गति दिन सकेका छैनन् । आम जनताले आफ्नो अभिमत दिएर चुनिपठाएका मूल शक्तिहरूले जनताको अभिमत माथि कुठाराघात गरिरहेका छन् । संविधान, संघीयता, सहमतिजस्ता शब्दमा जञ्जालमा देशलाई रुमलाइरहिएको छ ।

अहिले देशको मानवता पनि बिभक्त छ । कसैले जातीय राज्य चाहन्छन्, कसैले समानताको राज्य चाहन्छन्, कसैले धर्म सापेक्षता चाहन्छन् कसैले निरपेक्षता चाहन्छन् । तर यी सबै चाहनाका बीचबाट सबैले आ–आफ्नो स्वार्थ पूरा गर्न चाहन्छन् । कोही आफ्ना मालिकलाई रिझाउन चाहन्छन्, कोही बिदेशीको चाकडी गरेर पद पाउन चाहन्छन्, कोही धर्म बेचेर बिदेशी मालिकको नजरमा राम्रो बन्न चाहन्छन्, कोही राष्ट्रपतिको कुर्ची चाहन्छन्, कोही प्रधानमन्त्री, मन्त्रीको कुर्ची चाहन्छन् …… तर यो देश समुन्नत बनोस् भन्ने चाहना भएका ज्यादै कम छन् । अधिकांशले आफ्नो स्वार्थलाई लुकाएर देशको कुरा गरिरहेका छन् । देश बिकासको कुरा, समाज उन्नतिको कुरा सबै देखावटी मात्र प्रमाणित भएका छन् ।

आजको ५० बर्षपछि हाम्रो देश कता जान्छ ? देश जोगिन्छ कि जोगिँदैन भन्नेतर्फ कसैको पनि ध्यान छैन । वर्तमानमा कसैलाई सम्पत्ति कमाउनु परेको छ, कसैलाई सत्ताको रवाफ चाहिएको छ, कसैलाई आफ्नो अपराध लुकाउन राज्यसत्ताको प्रयोग गर्नुपरेको छ । सबै स्वार्थी र आत्मकेन्द्रित मात्र देखिन्छन् । देशको पीर लागेर नभई आफ्नो व्यक्तिगत स्वार्थका लागि देशको कानून, राज्यसत्ताको प्रयोग गरिरहेका छन् । एकछिन अहिलेको राजनैतिक पद्धतिमा मूल बनेर दरिएकाहरूको विश्लेषण गर्दै समग्र मूल्यांकन गरौँ ।

पूरातन पार्टीहरू

अहिले मूलधारमा भएका राजनैतिक पार्टीहरूसँग उनीहरूको आफ्नो विचार छैन, देशको प्राणअनुरूपको दर्शन छैन । उनीहरूका दर्शनका प्रतिपादक यहाँका ऋषिमूनिहरू, दार्शनिकहरू, बुद्धहरू होइनन् धर्मलाई अफिम देख्ने माक्र्स, रक्तपात गरेर पनि सत्ता कब्जा गर्नुपर्छ भन्ने माओ, प्रजातन्त्रको व्याख्या गर्दै भीडको मतलाई संसदीय प्रणालीको रूपमा दिएको बेलायती संसदको नमूना, अमेरिकी अर्थनीति आदि आदि छन् । अर्थात् यहीँको माटोले के भन्छ, यहाँको माटोको सुगन्ध अनुसार होइन, यहाँका जनताको भावना अनुरूप होइन कि अरुको विचार, दर्शन, व्यवस्थालाई सापट लिएर भएपनि देशको सत्तामा बसिरहने भीडको शक्ति हो नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा एमाओवादी लगायतका पार्टीको शक्ति ।

कांग्रेस र एमाले राजनैतिक दर्शन र विचार भएका पार्टीजस्ता नै लाग्दैनन् । लहरले जता लग्यो त्यतै भौँतारिने शक्तिहरू हुन् । यिनीहरू त राणाशासन र पञ्चायती व्यवस्था फाल्नका लागि मात्र प्रयोग भएको भीडको समूह मात्रै हुन् । यिनीहरू हिजो राजावादी भए । राजतन्त्र अपरिवर्तनीय तथा त्यसको बारेमा सोच्न सम्म पनि नसकिने बताउन थाक्दैनथे । जब देश राजतन्त्रका बिरुद्धमा गयो र देशमा गणतन्त्र स्थापना हुन लाग्यो तब यिनीहरू आफूलाई गणतन्त्रवादी हौँ भनेर घोषणा गरे । अझ गणतन्त्र र संघीयता पनि यिनकै मूल मुद्दा बन्यो ।

अरुको मुद्दा लिए पनि अरुको विचार लिए पनि त्यही विचारलाई शुद्ध रूपमा लागू गर्ने हो भने र देश र जनताप्रति इमानदार बन्ने हो भने त राम्रै हुन्थ्यो नि । तर यिनीहरू कहिल्यै पनि इमानदार भएनन् । हिजो राजभक्त भए, आज सत्ता भक्त भएका छन्, देशभक्त हुन यिनीहरू कहिल्यै सक्दैनन् ।

यिनीहरूको जन्म नै चलिरहेको व्यवस्था बिरुद्ध आन्दोलन गर्नका लागि मात्रै भएको थियो । त्यही आन्दोलनका लागि विश्वमा चलिरहेका कुनै विचारलाई अँगालेर भीड बटुली राज्यसत्ता परिवर्तन गर्नका लागि आन्दोलन गरेका शक्ति हुन् यी । परिवर्तन, विकास, देशको सामाजिक, सांस्कृतिक, धार्मिक, आर्थिक धरातलबारे यिनीहरू कहिल्यै पनि सचेत भएनन् । आन्दोलन गर्न जनता चाहिन्छ, जनताको शक्तिबाट सत्ता पाइन्छ, सत्तामा बस्दा रमाइलो पो हुने रहेछ भन्ने बाहेक अरु कुनै पनि सोच, विचार र क्षमता छैन यिनीहरूसँग । यिनीहरू रमाइलाका लागि, आफ्ना लागि सत्ता चाहने शक्ति हुन् । त्यसका लागि झुटो बोल्न, आफ्नो लेखिएका विचार र दर्शनलाई कागजमा मात्रै राख्न, अनेक तिकडम र फोहोरी खेल खेल्न यिनीहरूलाई राम्रैसँग आउँछ । यिनीहरूलाई बिकास, देशको स्वाभिमान जस्ता पक्षसँग बिल्कुल चासो छैन । विश्व लहरले दिएको सामान्य बिकासलाई पनि यिनीहरू आफैले सिर्जना गरेको हो भन्न पनि लजाउँदैनन् । यिनीहरूलाई देशको शक्ति मान्नु नै यो देशको बिडम्बना हो ।

माओवादी

माओवादीहरू त बनको चरी बनमै रमाउँछ भनेजस्तै हो । उदण्डता, हत्याहिंसा र अत्याचार गरेर अगाडि आएको शक्ति हो यो । अनि खुला राजनीतिमा आउनासाथ कांग्रेस र एमालेलाई पनि माथ गर्दै भ्रष्टाचार गर्ने, राज्यसत्ता र संयन्त्रमा आफ्ना मान्छे भर्ती गर्ने, विदेशी शक्तिसँग लम्पसार परेर राष्ट्रिय स्वाभिमानको अपमान गर्ने दुष्ट शक्ति हो यो । अनि बन्द, हडताल गर्दै दुःख माथि दुःख दिन रमाउने परपीडक स्वभाव भएको शक्ति हो । जहिले पनि अस्थिरता र अराजकता भइरह्यो भने त्यसैमा खेलेर आफ्नो स्वार्थ पूरा गर्न सकिन्छ भन्ने क्षुद्र सोच राखेको शक्ति हो यो । यसमा लोकतान्त्रिक चरित्रको बिकास हुन सदियौँ लाग्नेछ । यसबाट कुनै आशा गर्नु व्यर्थ छ ।

राजाबादी

अर्को छ राजावादी – राप्रपा नेपाल । अहिले देशमा राजतन्त्रको अस्तित्व नै छैन । पहिलेका राजाले राजसत्ता त्यागेर गइसके । अझै पनि यी स्वघोषित राजावादीहरू राजतन्त्र चाहिन्छ भन्ने माग राखिरहेका छन् । हरेक बच्चा जन्मिँदै आफूभन्दा माथि कोही शासक छ भन्ने मानसिकतामा हुर्कनु नपरोस् भन्ने बिडम्बनाबाट देशलाई मुक्त गरिसकेको अवस्थामा अझै पनि राजतन्त्रको वकालत गर्नु देशलाई फेरि दासयुगमा धकेल्नु सिबाय अरु केही होइन ।

हामीहरू मानिसको एउटै जात छ अर्थात् बसुधैव कुटुम्बकम अर्थात् संसारका सारा मानिसहरू एकै हुन् भन्ने आधारमा व्यवहार गर्ने धर्तीका सन्तति हौँ । हिजो वैदिक कालमा पनि राजा भनेको जनताको प्रतिनिधि थियो । हिजोका दिनमा पनि राजा भनेको जनताबाट प्रत्यक्ष निर्वाचित व्यक्ति हुन्थ्यो । त्यसैलाई अहिले राष्ट्रपति वा प्रधानमन्त्री जे नाम दिए पनि हुन्छ । तर त्यो व्यक्ति कम्तीमा पनि हरेक ५ वर्षमा जनताबाट निर्वाचित हुनैपर्छ । बंशपरम्पराको राजा अलोकतान्त्रिक र अराजक राज्यको उपज मात्र हो । हिन्दु धर्म सापेक्षताको कुरा गर्ने तर त्यही हिन्दु दर्शनमा भएको यो कुरा नबुझ्ने अज्ञानीहरूसँग पनि पूरानो राजतन्त्र फेरि फर्किएमा राज्यसत्तामा आफ्नो हालीमुहाली रहने आशा बाहेक देशभक्ति, देश बिकास र देशको स्वाभिमानको रक्षाको कुनै मतलब पनि देखिँदैन । देशका जनताभन्दा पनि विदेशी शक्तिले हिन्दु धर्मको आडमा पूरानो सत्तालाई स्थापित गरिदिन्छन् कि भन्ने आशा गर्नेहरू देशप्रति इमानदार छन् भनेर कसरी मान्न सकिन्छ र ?

अर्को कुरा भनेको ल राजतन्त्र चाहियो रे, ल्याउँ पनि रे …. तर राजतन्त्र ल्याउने बिधि के हो त ? सबै मानिसहरू कानूनमा समान छन् त्यसैले कुनै निश्चित जाति अर्थात् ठकुरी, क्षेत्री जातिका कुनै व्यक्तिलाई सत्तामा राखौँ भन्ने तर्क हो भने त्यो जायज तर्क छैन र कानूनतः त्यो मान्य हुँदैन । अहिलेको संविधानसभामा प्रतिनिधित्व गर्ने ३० दलहरूका बीचमा लिगलिगे दौड गर्ने एउटा उपाय हुन सक्छ । त्यसमा यिनै राजतन्त्रभक्त नै विजयी हुन सक्छन् भन्ने पनि केही छैन । कांग्रेस, एमाले, माओवादी, जनमोर्चा, खम्बुवान, थारुवान लगायतका दलकै कुनै नेता लिगलिगे दौडमा प्रथम भएर राजा हुँदा यही राप्रपा नेपालले राजतन्त्र नै भट्याउला त ? पूराना राजा इतिहासमा सिमित भइसकेको अवस्थामा राजतन्त्रको आडमा सत्ताको राग अलापेको कुरा त ती राजावादीहरूका हिजोको चरित्रले पनि प्रमाणित गरेको छ । यिनीहरूबाट देशको उन्नति हुने कल्पना पनि छाडौँ । बरु फेरि दासयुगमा धकेल्ने आवाज उरालेकोेमा यिनीहरूका आवाजलाई पनि दुत्कार्नैपर्छ ।

तराईको राजनीति

अब आए तराईमा राजनीति गर्नेहरू । एक मधेस एक प्रदेश हुनुपर्छ भन्ने अधिकांश नेताहरू तराईमा नै छन् । उनीहरूलाई देशको अस्मिता, अस्तित्व र तराईमा बस्ने जनताको भावना के छ भन्ने कुरासँग कुनै सरोकार छैन । यिनीहरूलाई देशको सत्ताको वरिपरि बसिरहनु छ र आफूले भक्ति दर्साइरहेको भारतको अनुग्रह पाइरहनु छ । अनि भारतको हितमा देशको संयन्त्र प्रयोग गर्नुपर्दाका बखतमा यिनीहरू सबैभन्दा सजिला माध्यम बन्न रुचाउँछन् । त्यसैले त जनताले निर्वाचनमा मत नदिँदा आफ्नो शक्ति लगाएर नजिताएकोमा उही भारतीय सत्तासँग गुनासो गर्दछन् । राष्ट्र र राष्ट्रको स्वाभिमानको रक्षा यिनीहरूबाट हुनै सक्दैन । तराईका गरिब, शोषित र उत्पीडित वर्गको नाममा राजनीति गर्नेहरू त्यहाँका जनताको आधारभूत आवश्यकता पूर्तिका लागि कहिल्यै पनि संवेदनशील भएको देखिएको छैन । शासनलाई मात्रै अधिकार हो भन्ने संकीर्ण सोचबाट यिनीहरू मुक्त हुने पनि देखिँदैन । तराईमा बस्ने जनतालाई अनेकौँ नाममा बिभाजन गरेर सामाजिक सद्भाव खल्बलाई त्यही खल्बलाहट र अराजक अवस्थाको बुई चढेर सत्ता प्राप्त गर्ने अभीष्ठ बाहेक सम्पूर्ण देशको उन्नतिको चिन्ता उनीहरूलाई छैन । हुँदाहुँदा संघीयताको नाममा तराईको भूभाग हामीलाई मात्रै देओ अरु भूभाग पनि टुक्राओ भन्ने माग गर्न समेत पछि नपर्नेहरूले नेपाल राष्ट्र भनेको के हो ? यसको शक्ति के हो ? भन्नेतर्फ बिल्कुलै सोचेको देखिँदैन । त्यसैले तराईको नाममा मात्रै राजनीति गर्नेहरूले समग्र देशको हित सोच्नै सक्दैनन् ।

जातिवाद निम्त्याउने युरोपेलीहरु

विदेशीहरू एनजिओ र आइएनजिओको माध्यमबाट हामीलाई पानी खुवाउन आए, आची धुन सिकाउन आए … अनि बिस्तारै बिस्तारै हाम्रो सामाजिक सद्भावलाई खल्बलाउन थाले र जाति जातिबीच बैमनश्यताको बीज रोपिदिए र जातीय अधिकारको जग बसालिदिए । हिजोको दिनको अचेतना र अज्ञानताको उपजमा भएको क्रियालाई वर्तमानमा आएर अधिकारको रूपमा स्थापित गरिदिए जसले गर्दा यहाँको सहिष्णुताको जग हल्लिएको छ । छुवाछुत, बोक्सीप्रथा, दाइजोप्रथा जस्ता सामाजिक बिकृतिलाई हटाउन देशभरी सचेतना अभियान, शिक्षा कार्यक्रम सञ्चालन गर्नुभन्दा पनि जातजातका बीचमा बिभेद र अधिकारका आवाज भरिदिएर एकअर्कामा द्वन्द्व र कटुताको बीज हालिदिए । हिजोको दिनमा अज्ञानताका कारण बिभेद गर्नेले माफी माग्ने अवसर पनि नपाई आत्मरक्षा गर्नुपर्ने अवस्था सिर्जना गरिदिए । यदि यो देशलाई अबको ५० बर्ष पछि पनि नेपाल नै कायम राख्ने हो यस्ता बिषधारी युरोपियन मुलुकका कार्यक्रमहरू तुरुन्तै बन्द गरिदिनु जरुरी छ ।

निरपेक्षता र सापेक्षता

सामाजिक र सांस्कृतिक बिकृतिको प्रचार गरी त्यसैलाई हिन्दु धर्म नाम दिएर यहाँको सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय अखण्डताको जगलाई ध्वस्त पार्ने काम निरपेक्ष शब्दका नाममा भएको छ । हिन्दु धर्ममा भएको महान दार्शनिक धरातललाई सम्बोधन नै नगरी देशमा रहेको हिन्दु दर्शनको जगलाई निमिट्यान्न पारी केवल शरीरको बारेमा मात्र व्याख्या गर्ने भौतिकवादलाई जबर्जस्ती लागू गरी यहाँको दार्शनिक र आध्यात्मिक पृष्ठभूमिलाई समाप्त पार्ने र यहाँ द्वन्द्व गराई भारत र चीन बीचको सम्बन्धलाई नियाल्नका लागि नेपाललाई प्रयोगस्थल बनाउने जुन कार्य भएको छ, त्यो पूर्णरूपमा रोकिनु पर्दछ । यसका लागि पनि देशलाई हिन्दू धर्म सापेक्षताको जगमा उभ्याउनै पर्दछ । आफ्नो भएको सबै ध्वस्त गर्ने, अनि विदेशीका स्वार्थलाई यहाँ लाद्ने अनि नेपाल भन्ने देशको आन्तरिक अस्तित्व नै के रहन्छ र ? त्यसैले पनि नेपाल देश नेपालकै रूपमा अस्तित्वमा रहिरहनका लागि पनि यो देश हिन्दु धर्म सापेक्ष राष्ट्र हुनैपर्छ ।

सञ्चार माध्यम

सञ्चार पनि राज्यको मूल शक्ति हो । तर बिडम्बना हाम्रो देशमा स्वतन्त्र सञ्चार कमजोर छ । कुन पार्टीको सरकार आयो भने आफूले फाइदा पाउँछु भन्ने सोच भएका कतिपय सञ्चारकर्मी र तिनका साहुहरूले देशको राजनीतिलाई अपराधी, भ्रष्टाचारी र आतंककारीका हातमा दिनका लागि भरमग्दुर प्रयास गरिरहेका छन् । पार्टीगत आधारमा नै सञ्चारकर्मी बाँडिएको देशमा सञ्चार क्षेत्रले राष्ट्रको हितलाई भन्दा बढी आफ्ना माऊ पार्टीको हितमा आफ्नो हित देख्ने हुँदा त्यस्तो प्रचलनलाई निरुत्साहित गरी यसलाई बिशुद्ध पेशाको रूपमा प्रयोग गर्ने दिशामा लाग्नै पर्छ ।

राजनीतिमा शुद्धीकरण अभियान

एकपटक देशको आन्तरिक अस्तित्वलाई महसुस गरेको र देशको आत्मालाई प्रतिविम्बित गर्न सक्ने राजनैतिक शक्तिले पुरानो परिपाटीलाई, देशलाई बन्धक बनाएर राज्यसत्ता लुट्नेलाई पाखा लगाउनु अत्यावश्यक बनेको छ । राजनीतिलाई शुद्ध गरेर सामाजिक, सांस्कृतिक, आध्यात्मिक र आर्थिक अवयवलाई पूर्णरूपमा सक्रिय बनाई एक सभ्य, समृद्ध र समुन्नत नेपालको निर्माणमा लाग्नै पर्ने देखिन्छ । वि.सं. २०४६ सालपछि अर्थात् जनताको सेवा गर्न भनेर जनप्रतिनिधिको रुपमा सत्तामा गएको कालदेखि आजसम्म राज्यसत्ताको आडमा भ्रष्टाचार गर्ने नेता, पार्टी, राज्यसत्ताका सम्पूर्ण निकायमा रहेका व्यक्तिहरुको सम्पत्ति छानबिन गरी द्रुत अदालतमार्फत् भ्रष्टाचारीलाई आजीवन काराबास दिई उसका आगामी तीन पुस्तासम्मले सरकारी निकायमा प्रवेश नपाउने नीति लागू गर्न सक्ने हो भने देशको राजनीति सर्लक्क शुद्धीकरणतर्फ लम्किन्छ । यो हिम्मत बोकेर कोही न कोही अगाडि आउनै पर्छ ।

अब के गर्ने त ?

देशको राजनीतिमा शुद्धीकरण अभियान थाल्दै राष्ट्रप्रेमी, राष्ट्रवादी, यही देशको सभ्यता र संस्कृतिका अनुयायी, शान्ति र सहअस्तित्वपूर्ण दर्शनका पक्षपाती, देशको हितलाई सर्बोपरी ठान्ने, विश्व सामु एक गरीब देशको नागरिक हुनुको पीडालाई बदल्दै देशलाई समुन्नत र समृद्ध बनाउन कटिबद्ध व्यक्तिहरू, आफ्नो स्वार्थमा नभई सर्बहितको भावना राख्ने व्यक्तिहरू एकजुट भएर देशको राजनीतिलाई सम्बोधन गर्दै राज्यसत्तामा आफ्नो पहुँच पु¥याउनु जरुरी छ । अन्यथा, अहिलेकै घटनाक्रम, अहिलेकै परिपाटीमा देशलाई छाडिदिने हो भने अबको २० बर्षमा नै देशको अस्तित्व रहने वा नरहने भन्ने भन्न सकिँदैन ।

:: लेखक डा. प्रदीप ढकाल, प्रवक्ता, अखण्ड नेपाल पार्टी हुनुहुन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपाल जस्तो मुलुकमा राष्ट्रिय समाचार समिति (रासस)को भावी दिनमा पनि अन्यत्रभन्दा महत्व बढ्छ । पहिलो कुरा, समाचार समिति राष्ट्रको ‘प्रेष्टिज

थारुहरू नेपालको तराई क्षेत्रको पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्मका विभिन्न २० जिल्लामा विशेषतः भित्री मधेसमा छरिएर बसोबास गरेका छन् । यतिखेर

दूध, मासु, अन्डा, उन, श्रम आदिका लागि जनावरहरूलाई घरमा पाल्ने कामलाई पशुपालन भनिन्छ । पशुपालन जनावर वा पशुपक्षी पाल्ने पेसा

गैरआवासीय नेपाली संघ (एनआरएनए) मा विशेष महाधिवेशनका बारेमा पक्ष र विपक्षमा लामो समयदेखि स्वर सुनिँदै आएको छ। संस्थापन पक्ष जसरी