बन्धक प्रकरण: आईएसआईएसले जापानसँग २० करोड डलर माग्यो

७ माघ २०७१, बुधबार २२:३४ मा प्रकाशित

टोकियो, ७ माघ । लडाकु समूह आईएसआईएसले मंगलबार टोकियोसँग २० करोड डलर माग गरेको छ। अंग्रेजी बोलिरहेका ती नकाबधारीले ७२ घन्टाभित्र उक्त रकम हस्तान्तरण नभएमा आफ्नो नियन्त्रणमा रहेको दुई जापानीलाई मार्ने उसले धम्की दिएको छ ।

अनलाइनमा मंगलबार पोस्ट गरिएको भिडियोमा पूरै कालो पहिरनमा रहेका एक नकाबधारीलाई हातमा छुरी बोकेको र उनको दुवैतिर घुँडा टेकेर दुई जापानी नागरिक बसिरहेका देखिएका छन्। पृष्ठभूमिका विशाल मरुभूमि देखिन्छ। इराक र सिरियामा आईएसविरुद्ध लडिरहेको अमेरिकी गठबन्धनलाई जापानले समर्थन गरेकोमा ती दुई नागरिकको प्राण लिन चाहेको ती नकाबधारीको वक्तव्यको आशय छ।

‘तिमीहरू इस्लामिक राज्यभन्दा ८ हजार ५ सय किमि टाढा भए पनि स्वेच्छाले यस धर्मयुद्धमा सहभागी भयौं,’ जापानी प्रधानमन्त्री सिन्जो अबेलाई सम्बोधन गर्दै उनले भने। अबे अहिले मध्यपूर्वको भ्रमणमा छन्। उक्त भिडियो सार्वजनिक भएलगत्तै उनले समर्पण नगरी अन्तर्राष्ट्रिय समुदायले आतंकवादीको सामना गर्नुपर्ने इजरायलको जेरुसेलममा आयोजित पत्रकार सम्मेलनमा आफ्नो धारणा राखे।

अपहरणकर्तालाई फिरौती बुझाउने वा सम्झौता गर्ने प्रसंगबाट सफाइका साथ उनी उम्के। आफ्नो यो यात्रालाई अब बन्धक संकट सामना गर्नेतर्फ केन्दि्रत गरिरहेका अबेले ती दुईलाई बचाउन अधिकतम प्रयास गर्न अधिकारीहरूलाई आदेश

दिएको बताए।

उक्त भिडियाको आधिकारिकता पुष्टि गर्ने कार्य भइरहेको टोकियोमा रहेका जापानी विदेशमन्त्रीले बताए। भिडियोमा ती नकाबधारीले अपहरण गरिएका ती दुई व्यक्तिहरूको परिचय केन्जी गोटो जोगो र हारुना युकावाको रूपमा गराइसकेको छ। जापानी न्युज एजेन्सी क्योडोका अनुसार सिरियामा विद्रोहीहरूसँग यात्रा गरिरहेको बेला अगस्टमा ४२ वर्षे युवकलाई नियन्त्रणमा लिइएको थियो। उनले टोकियोमा सशस्त्र सुरक्षा सेवासम्बन्धी कम्पनी स्थापना गरेको दाबी

गरिएको छ।

उनी सिरियामा पनि एक निजी सैन्य करार कम्पनी खोल्न गएका थिए। उनले इराक र सिरियामा आफ्ना गतिविधिबारे भिडियोहरू अनलाइन पोस्ट गर्थे। समाचार एजेन्सी रोयटर्सको अगस्टको एक रिपोर्टमा उनलाई अघिल्लो दशकमा श्रीमती, व्यापार र घर गुमाएपछि एक उद्देश्यका लागि मध्यपूर्व पुगेको हराएको आत्माको रूपमा चित्रण गरिएको थियो।

जोर्डनमा रहेका जापानी अधिकारीहरूले अपहरणकारीसँग सम्भाव्य सम्पर्कहरू भएको विभिन्न समूहसँग वार्ता गर्दै उनको सुरक्षित रिहाइका लागि प्रयास गरिरहेका छन्। अर्का अपहृत गोटो भने एक चर्चित स्वतन्त्र पत्रकार हुन्। उनी सिरियाको युद्धग्रत कोबानी र अन्य क्षेत्रहरूबाट विभिन्न थापानी समाचार संगठनहरूका लागि रिपोर्टिङ गर्थे। अक्टोबर २३ मा उनको अन्तिम

ट्वीट पोस्ट भएको थियो।

आईएसका लागि यस्ता बन्धकहरू प्रमुख प्रचार उपकरण भएको छ। उक्त समूहले पूर्वी सिरिया तथा उत्तरी र पश्चिमी इराकभर ठूलो भूमिमा आधिपत्य जमाएको छ। उनीहरूको सामूहिक संहार गर्ने लगायत सेना, पत्रकार र अन्य बन्धकहरूको हत्या गर्ने क्रूर शैलीले अन्तर्राष्ट्रिय समुदायलाई आक्रोशित बनायो। यही कारणले अमेरिकी गठबन्धन सैन्य हस्तक्षेप गर्न बाध्य भयो।

अमेरिकी र बेलायती बन्धकहरूको हत्या गरिएको वा मृत्युको त्रास देखाइएको आईएसआईएसकै यसअघिको भिडियो र यसमा समानता छ। आईएसले अगस्टमा पश्चिमा बन्धकहरूको निर्मम हत्याको प्रचार प्रसार गर्न सुरु गरेको थियो। उनले त्यतिबेला अमेरिकी पत्रकार जेम्स फोलीको घाँटी छिनालेकै भिडियो सार्वजनिक गर्‍यो। अमेरिकी पत्रकार स्टेभन सोटलोफ, बेलायती सहायता कर्मी डेभिड हान्स, बेलायती ट्याक्सी चालक अलान हेनिङ र अमेरिकी सहायता कर्मी पेटर कासिगपछि उनको हत्या भएको थियो।

आफ्नो शासित क्षेत्रमा इस्लामको अतिवादी व्याख्यालाई नमान्ने केही समूहसँग क्रूर व्यवहारका लागि पनि आईएसआईएस कुख्याति कमायो।

अमेरिकाले अगस्टमा इराकी बललाई लडाकुसँगको युद्धमा सहयोग पुर्‍याउन इराकमा आईएसआईएसविरुद्ध हवाई आक्रमण सुरु गर्‍यो। केही अरब राष्ट्रहरूसहितको एक अन्तर्राष्ट्रिय गठबन्धनको मद्दतले अमेरिकी बलले सेप्टेम्बरमा सिरियास्थित आईएसआईएस ठेगानाहरूलाई लक्ष्य बनायो। दोस्रो विश्वयुद्धपछिको संविधानले आत्मरक्षाका लागि मात्रै सेनाको प्रयोग गर्ने मिल्ने राखेको प्रावधानका कारण जापानले उक्त आक्रमणमा भाग लिएनन्। अबेले आइतबार कायरोमा देखिएको मन्तव्यमा आईएसआईएससँग संघर्ष गरिरहेका मुलुकहरूलाई मानवीय क्षमता र पूर्वाधार विकास लगायतमा मद्दत गर्न २० अर्ब रुपैयाँ सहयोगको वचन दिए। आईएसआईएसको भिडियोमा नकाबधारी वक्ताले अबेको सहयोगतर्फ संकेत गर्दै पूर्ण धम्कीको भाषाको प्रयोग गर्दै घोषित रकम बराबरको फिरौती मागेका छन्।

अबेले मंगलबार मध्यपूर्वमा आर्थिक सहयोग उपलब्ध गराउने नीतिलाई परिवर्तन नगर्ने बताए। सहयोग अत्यावश्यक भएकालाई बचाउन यो जरुरी भएको बताए। सन् २०१० को जनवरीमा अल्जेरियाको प्राकृतिक ग्यास भण्डारणमा आतंकवादीले कब्जा गरेपछि १० जापानी नागरिक पक्राउ पर्दा अबेले बन्धक संकटको समाधानका लागि अगाडि आउनुपरेको थियो।

जापानी प्रधानमन्त्री अबेले इस्लामिक स्टेट -आईएस) द्वारा दुई जापानी नागरिकको हत्या गर्ने भनी दिएको धम्कीको निन्दा गरेका छन्। स्वतन्त्र रूपले पुष्टि हुन नसकेको उक्त भिडियोमा आईएसविरुद्ध लडिरहेको मुलुकहरूलाई जापानले गरेको सहयोगको वाचालाई नकाबधारी लडाकुले आलोचना गरेका छन्। धम्की अस्विकार्य भएको र बन्धकलाई बचाउन प्रतिबद्ध रहेको अबेले बताए। उनीहरूको जीवन पहिलो प्राथमिकतामा रहेको र आतंकवादको सामु जापानले घुँडा नटेक्ने प्रतिबद्धता अबेले व्यक्त गरेका छन्। जापानी विदेश मन्त्रालयले भिडियोको पुष्टि गर्ने प्रयास गरिरहेको छ।

मध्यपूर्वको ६ दिने भ्रमणको क्रममा अबे हाल जेरुसेलममा छन्। उनी हाल आइपरेको संकट समाधानका लागि भ्रमण छोट्टयाएर जापान र्फकने अपेक्षा गरिएको छ। अबेले आफू रुष्ट भएको र धम्कीप्रति सशक्त असन्तोष महसुस गरेको बताए। उनले बन्धकहरूको तत्काल रिहाइको माग गरेका छन्। ‘अतिवाद र इस्लाम पूर्णतः फरक विषयहरू हुन्,’ उनले भने, ‘अन्तर्राष्ट्रिय समुदायले कुनै पनि खाले आतंकवादको अघिल्तिर समर्पण गर्दैन, यसविरुद्ध सँगै काम गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु।’

मध्यपूर्वका मुलुकहरूलाई गैरसैनिक सहयोग दिने वाचाले निरन्तरता पाउने बताए। उनले आइतबार कायरोमा उक्त क्षेत्रका लागि २.५ खर्ब डलर बराबरको गैरसैन्य सहयोग दिने वचन दिए। आईएसविरुद्ध लड्ने मुलुकका लागि २० खर्ब रुपैयाँको घोषणा पनि उनले गरे। सिरिया र इराकबाट विस्थापित भएका शरणार्थीहरूलाई ध्यानमा राखेर उक्त कोष प्रदान गरिएको अधिकारीहरूले बताए। सहायता राशिको घोषणा गर्ने क्रममा उनले उक्त क्षेत्रमा आतंकवाद फैलिएमा विश्वले अथाह क्षति बेहोर्ने औंल्याए। अधिकांश कच्चा तेलको निर्यातका लागि जापानले मध्यपूर्व मुलुकमा निर्भर हुनुपर्छ। ताजा संकटले अबेलाई गम्भीर राजनीतिक समस्यामा धकेलेको छ। अबे जापानलाई अन्तर्राष्ट्रिय मामिलामा निकै सक्रिय भूमिका देख्न चाहन्छ। आउने परिणामको डरले जापानमा धेरैले त्यसको विरोध गर्छन्।

– अपहृत हुनेमा व्यापारी र पत्रकार

– बचाउने प्रयास सुरु

– प्रधानमन्त्री अबेद्वारा निन्दा

प्रतिक्रिया
सम्बन्धित खवर

यंगुन । म्यान्मारमा हिजो बुधवार सैनिक कू विरुद्ध प्रदर्शनमा उत्रिएका ३८ जनाको मृत्यु भएको छ । घटनालाई संयुक्त राष्ट्रसंघले सेनाले

बेइजिङ । शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् ।

मस्को । संयुक्त राष्ट्रसंघले रुसी बिपक्षी नेता अलेक्सी नाभाल्नीलाई बिष सेवन गराईएको बिषयमा छानविन गर्न माग गरेको छ । संयुक्त

यांगुन । म्यानमारमा सैन्य शासनको विरोधमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर एकै दिन १८ जनाको मृत्यु भएको छ ।