“स्वनिर्णय” – पार्बती शाही

२० जेष्ठ २०६९, शनिबार १८:५७ मा प्रकाशित

रातीको यस्तै १२ बजेको हुँदो हो । सारा गाउँ निदाएको थियो । आकाश भरी टहटहाउँदा ताराहरुको विस्कुन अनी भुई भरी पूर्णिमाको जुनेली च्यादर । आहा ! कति सुन्दर थियो त्यो रात । निकै दिनदेखि बुनिदै गरेको हाम्रो योजना अनुरुप नितान्त दैनिक आवश्यकताका मेरा अवशेषलाई पोको पारी सकेकि थिएँ मैले । मनभरी अनेक किसिमका निरुत्तरित विचारहरुको अन्तरद्धन्द्धले थिल्थिलाएको गरुङगो शरीर लिएर एक्लै ओछ्यानमा छट्पटाई रहेकी थिए म । यत्तिकैमा सिरानी निरको सानो झ्यालबाट रातीको सन्नटालाई तोड्दै परिचित आवाज आएर मेरो कानमा ठोकिन्छ । कानलाई झ्यालमै टाँसेर सुनें । कसैले डाक्दै थियो … “सुमी ! सुमी !!” मैले प्रतिउत्तर दिएं । उसले फेरि भन्छ – “छिटो आउ”, अहो ! यतिवेला त म त्यही ओछ्यानमा थेचारिन पुगे । लामो सुस्केरातान्दै एक छिन आँखा बन्द गरे । कापि रहेको मेरो मुटुलाई बलियो बनाउने साहस मागे भगवानसँग । म जन्मेको यो जन्मघर तथा मलाई जन्मदिने मेरी आमा अनी म सम्झिने भए देखि म सँग जोडिएका सम्पूर्ण स्मृतिहरुलाई मनमा थाती राख्दै सधैको लागि विछोडिएर जादै थिएं म । मनमनै सोच्नथाले “कठै ! मेरी आमा, उनी त छोरी मान्छे । मेरै जस्तै मुटु छ उनीसँग । सधै मलाई सम्झेरै रोएर बस्लिन् तर बुबा, उहाँ त कठोर, कट्टर हुनुहुन्छ । मेरो कदम्ले उहाँको अहिले सम्म कमाउनु भएको आडम्वरी ईज्जत माथि धक्का लाग्नेछ । मलाई राम्रो सँग थाहा छ भोली देखि नै उहाँ मेरो अनुहार हेर्न पनि रुचाउनु हुन्न । त्यसैले आजै बाट मेरा लागि यो जन्मघरको ढोका सदाकालागि बन्द हुदैछ ।”
झ्यालको चिराबाट छिरेको जुनको उज्यालोले कोठामा टल्काए जतिका स्मृतिहरुलाई एकटक नियालेर हेरे । कुनामा लुकाएर राखेको सामानको पुन्तुरो छामछुम गरी खोजे । कसैले चाल नपाउने गरि पुन्तुरोलाई काखीमा च्याप्दै विरालो भेषमा बाहिरीने योजना बनाए । सिरानी मुनी मेरो अन्तिम चिनो चार पेज लामो चिट्ठी छोडिदिए । कठै ! मेरो जन्म घर, जसले मलाई नवजात शिशु देखि यौवनको खुट्किलो चढ्दा सम्म आश्रय दियो । उसैलाई छाड्न पर्दाकौ पिडाले मन अमिलो भएर आयो । गला भरिएर आयो । एक छिन पछि कसैले चाल नपाउने गरी म निस्किए ।
मैले रोजेको बाटो यो समाजको मान्यता विपरित त छदैछ आफैमा पनि निकै चुनौतीपूर्ण थियो । यति थाहा हुंदाहुंदै पनि विद्रोहको रापमा आफूलाई तताउँदै बलिन्द्र आँशुका धारा सँगै जन्मघर सँग गाँसिएका मेरा सम्पूर्ण सम्झनाहरुलाई धित मर्नेगरी पखाली दिएँ मैले त्यो रात ।
चकमन्न राती, टाढा टाढा कुकुर झुकेको कर्कश आवाज शिवाय अरु केहि पनि सुन्नमा आइरहेको थिएन् । आँगनको डिलमा बकाईनो दोछायाँ मुनि सुमनको आकृति म तर्फ अघि बढी राखेको मैले चाल पाएँ । मन जति नै कठोर बनाउने प्रयास गरे पनि नारी हृदय ढुङ्गा कहिले बन्न नसक्दो रहेछ । मैन जस्तै पग्ली हाल्ने । म खुट्टा सार्न खोज्छु । त्यहि भाँसिन्छन् । मेरा पाईला उचाल्न नसक्ने भई सकेका थिए । म त्यतिबेला म थिएन् । यन्त्रवत पदचाप लिएर कतिवेला सुमनको समिपमा पुगे पत्तो नै पाईन् । आफूलाई नियन्त्रण गर्न नसकेर सुमनको हात समात्न नपाउँदै म त्यहि ढल्न पुगे ।
त्यो समय हाम्रो मिलनको त्यो संकेतको कुनै अर्थ नरहेता पनि, वर्तमानमा यसले निकै महत्व राख्दो रहेछ । बल्ल आएर बुझ्दैछु प्रेवेश द्धारमा सजिएको कलश घोप्टिनुले के अर्थ राख्दो रहेछ दामपत्ते जीवनमा भनेर ।
“सुमी ! सुमी ! सुमी !” कानमा अनौठौ गरी सुमनको स्वर ठोक्किएर प्रति ध्वनित हुन्छ । म झल्यास्स निन्द्राबाट विउँझे झंै भए । जीउँ भरी छम्छमी पसिनासँगै कम्पन छुट्छ मेरो । आँखा खोल्दा सुमनको न्यानो स्पर्श, कलेटी परी सकेमा ओठमा मिठो चुम्वनको चिस्यान अनि म तर्फ छोप्टो परेको उनको अनुहार सँगै उनैको न्यानो काखमा लम्पशार म आफूलाई पाउँछु ।
यतिवेला सुमनको आत्मियताले म मा एक किसिमको उर्जा भरीदिएको थियो र मैले निमेक भरका लागि भएपनि अघिको दृष्यलाई भुलिसकेकी थिए । उर्र्झाएको मलिन मेरो अनुहारलाई नियाल्दै सुमन भन्छन् (“सुमी ! तिमी मेरी प्राण, मेरी मनकी रानी । आज देखि मेरो एकलासे जिन्दगीको गोरेटोमा नयाँ आयाम लिएर सहयात्री बन्न मनको दैलो उघारेर म मा प्रवेश गर्दैछौं । सर्वप्रथम त म तिम्रो शाहसिलो यो नारी हृदयको सम्मान साथ स्वागत पनि गर्छु । मेरो हृदय साक्षी राखेर भन्छ,ु जुनसुकै परिस्थितिमा पनि म तिमीलाई खुशी भएको हेर्न चाहन्छु । मेरो बर्कतले भ्याए सम्म तिम्रो अनुहारमा खुशी भर्न रत्तीभर कहिले चुक्ने छैन । अबको हाम्रो यात्रा हामी दुबै भएर तय गर्नेछौं चाहे समस्याका पहाड उठाउन् किन नपरोश् अनि संघर्षका जंघार तर्न किन नपरोस् ।”
राती निकै छिप्पि सकेको थियो । सामुहिक जिन्दगीको नौलो यात्राको पूर्व सन्ध्यामा थियौ हामी त्यतिवेला । नयाँ मान्छे, नयाँ जीवन, नयाँ गोरटो र नौलो यात्रा सबै कुरो नयाँ नै थियो मेरा लागि । मनमा एक किसिमको भय नपलाएको पनि होईन् तर सुमनको सानिध्यले विस्तारै हराउँदै गयो । सम्झिन पुगे–“म अब एक्ली छैन् । सुमन मेरो सुरक्षाको कवज अनि सहाराको दरिलो खम्बा बनेर आएका छन् । उनी त पुरुष हुन् । हामी नारी जस्तो निरीह त पक्कै होइनन् ।”
जन्मथलोलाई एक पल्ट लामो सुस्केर हाल्दै फर्केर हेरे । मानसपटलको ताजा स्मृतीलाई धुमिल बनाउँने प्रयास गर्दै सुमन को हात समाते । उनैको पदचाप पछ्याउदै धकेलिए उनै संग । शुरु भयो हाम्रो नौलो यात्रा ।
आर्थिक विपन्नताको रापले पिल्सिएको सामान्य बाहुन परिवारमा चौथो नम्वरकी छोरी भएर मेरो जन्म भएको थियो आज भन्दा बाईस वर्ष पहिले । यस पाली पनि आमाले छोरो जन्माई दिनु भएन रे भनेर बाबा निकै रुष्ट हुनु भएर महिना दिन सम्म घर फर्कनु भएन भनेर आमा भन्नु हुन्थ्यो । घरमा हजुरवुवा आमा कोहि पनि हुनुहुन्नथ्यो । विचरी मेरी सुत्केरी आमालाई लोग्नेको अनुपस्थितीमा घरव्यवहार लगायत हामी चार वटी छोरीको रेखदेखले नराम्रो सँग थला पर्नु भएछ । सुत्केरी जीउँ, अरुले पकाएर दिएको खान नहुने (भान्साखाने) आफ्नो घरमा चोखो पकाएर दिने मान्छे कोहि थिएन रे । यसरी म जन्मिदा आमाको स्वास्थ्य निकै विग्रेको थियो पेट भरी खान पनि नपाएर । आमाको सुत्केरीले टोल छिमेकमा गन्हाउने समाचारको विषय बनेर निकै दिन सम्म चर्चा पाएछ । जसको फलस्वरुप छिमेकीको सहयोग पनि आमाका लागि अपेक्षा बाहिरको कुरो भयो ।
दिनहरु बित्दै गए । मेरी तीनटी दिदी र म बीचमा जन्मको अन्तर त्यति धेरै छैन । दिदीहरु वस्तुभाउ चराउन, घाँस दाउरा गर्न र घरमा आमालाई पनि काममा सघाउन सक्ने भई सकेका थिए । म पनि दिदीहरु सँगै ठूली दिदीको जामाको फेर समातेर पछि पछि लाग्थ्ये ।
यस्तैमा एक दिन हाम्रो घरमा निकै तामझाम को वातावरण सृजना भयो । मलाई त्यति सम्झना छैन् दिदीहरु भन्ने गर्नु हुन्थ्यो । खुशी त सबैजना थिय तर सवभन्दा वढी बाबा नै खुशी हुनु भएको थियो रे । अहिले सम्म कहिले पनि नदेखिएका शुखीका धर्काहरु त्यस दिन मात्रै सवैले बाबाको अनुहारमा देखिएका थिय रे । कुरो के रहेछ भने – बर्सेनीको हामी चार वटि दिदी बहिनीको जन्मले बिटोलिएको आमाको कोखलाई चोख्याउंदै बाबाको अंशको हकदार तथा बंशको विडो थाम्ने नयाँ अनुहार लिएर भाईको जन्म भएको हरेछ । अव त बाबाले घर छोडेर विरक्तीएर भाग्नु परेन् । आफ्नै हातले सुत्केरी आमालाई स्याहार्नु भएछ । गाउँ छिमेकमा पनि आमाको सुत्केरीको बास्ना फैलिदै गयो । त्यहि गाउँ हो जहां हामी छोरीको जन्म गाउँभरी नै गन्हाउने समाचार को शीर्षक बन्यो तर भाईको जम्न सँगै बास्नादार सुवास जताततै फैलियो । यो कस्तो विडम्वना ? कति विचित्र परिवेश ? कति सङ्किर्ण सोचाई ? उफ !! सम्झिदा पनि टाउको भारी भएर आउँछ अहिले ।
समय को गति संगै भाई पनि बढ्दै गयो । उसको उमेर विद्यालय जाने भई सकेको थियो । हामी छोरी त अर्काको नासो, पढाउनु हुदैन् भन्ने मान्यताले जकडिएको समाजमा बाबा पनि कसरी अुछतो रहन हुन्थ्यो र ? मेरी तीन वटि दिदी लगाएत उहाँहरुका थुपैं दौतरीहरुले लेखपढ गर्न पाएका थिएनन् । धन्य मेरा वावाको मानसिकता, अहिले त उहाँ छोरोको पढाईका विषयमा निकै चिन्तित हुनु भएकोथियो । छोराको जातले नपढेर हुन्छ भनेर सबैलाई नाना भाती कुरा गरेर सम्झाउन खोज्नु हुन्थ्यो । नभन्दै एक दिन भाईलाई स्कुल भर्ना गरेर आउनु भएछ । परिवारमा अव निकै खैला बैला हुन थाल्यो भाईलाई स्कुल पठाउने विषय लिएर । दिदीहरु त ठूला–ठूला भई सकेका थिए । सबैलाई कामको जिम्मा छुट्याइएको थियो । म मुनीको भाई भएकोले उसको साथी तथा उसको सरसफाई हेरविचार गर्ने जिम्मा मलाई भाग लगाईएको थियो । भाई एक्लै स्कुल जान नमान्ने त्यसमा पनि उ त छोरो एक्लै पठाउन् पनि नमिल्ने । त्यसैले भाईको संरक्षण भएर भाईलाई सकि नसकी पिठ्यूमा झुल्ड्याउदै दैनिक एक, डेढ घण्टाको उकाली ओराली छिचोल्न थाले म पनि ।
मलाई सुम्पिएको यही जिम्मेवारीले भाई सँगै विद्यालयको दैलो कुल्चिने अवसर मलाई पनि जु¥यो । मेरो औपचारिक शिक्षाको ढोका उघार्नमा प्रेरणाको स्रोतको हकदार म कसैलाई पनि बनाउँन चाहँदिन किनकी विद्यार्थी भनेर चिनाउने भुमिका मेरो बाबाले मलाई सुम्पेका पनि थिएनन् । भाईको रक्षक हुँदाको खातीर प्राप्त भएको बरदार नै हो मैले पाएको यो औपचारिक चेतना । यसको श्रेय म सिर्फ भाईलाई दिन्छु । जसको कारण मैले पनि संसारलाई चिन्ने मौका पाए ।
माध्यमिक शिक्षालाई विट मार्दासम्म भाईलाई डो¥याउदै मैले पनि तीन वटा गोरेटा बदलिसकेकी थिए । जहां जहां भाईलाई पढाईन्थ्यो, मलाई पनि त्यही पठाइन्थ्यो शायद उसैसँग पढ्ने भएर होला । पढाई कै कुरा गर्दा भाई को भन्दा मेरो राम्रो भएता पनि बाबाको मूल्याङ्कन गर्ने नजरले भाईकै तीर झुकाउ बढ देख्थे । यसरी हामी दुवैले सँगै प्रवेशिका परीक्षा उत्तीर्ण ग¥यौ । भाईका लागि प्रवेशिकाको नतिजा उज्वल भविष्यको मार्ग दर्शन बन्यो । भविष्यमा सम्भावनाका ढोकाहरुलाई उघारी दियो । जसको परिणाम स्वरुप ऊ अहिले नेपालकै नामी डा.को उपाधि भिरेर प्रसिद्धि कमाई सकेको छ तर उसको भन्दा बढी परिणाममा प्राप्त भएको मेरो नतिजाले मार्केट लिन सकेन किनकी यो त छोरी मान्छेले प्राप्त गरेको नजिता थियो मेरो समाजका लागि र त त्यस पछिको पठन पाठनमा पूर्ण विराम लाग्यो मेरो । उच्च शिक्षा आर्जन गर्ने सम्भावनाका सबै ढोकाहरुमा सदाका लागि विसङ्गतीका फलामे साङ्ला लागे । भाई सँगको मेरो सह यात्रा त्यहि विर्सजन भयो ।
हुन त पिछडिएको त्यो समाजमा समय अनुशारको शिक्षा मेरा सहपाठीले भन्दा जे जसरी भए पनि मैले नै हासिल गर्न पाएकी थिए । यस अर्थमा म आफैलाई खुवै भाग्यमानी ठान्थ्ये पनि । यदि म पछि मेरो जस्तै छोरीको अंग लिएर आमाको काख बहिनीले बिटोलेकि भए, शायद अहिले बेदनाका बात्छिटालाई सुनौला अक्षरका रंगले कोलाज भर्ने सामथ्र्य म मा कुनै हालतमा पनि हुने थिएन ।
मेरो दिनचर्या त विकट गाउँमा कुटो कोदालो सँगै नङ्गा खियाउँनमा वित्थ्यो होला । शरीरको तौल भन्दा पनि ठूलो घाँसको भारीले थिचिएर तालुका कपाल टुक्रा–टुक्रा भई ठुटिएका हुथ्ये होलान् । कुखुराको डालो सँगै जातोको संगितमा रन्थनिएकी हुन्थ्ये होला । अनि अभाव र बेदनाको विस्कुनलाई ओखल मुसलको सुस्केरा सँगै यथार्तको नाङलामा निफनि रहेकी हुन्थ्ये हुँला । बर्सेनीको ओथारोको रापले छाती पिल्सिएकी कुपोषित् चल्लाकी काठे माउँको जस्तो जिन्दगी भोग्नु पथ्र्यो मैले । धुलाम्मे गोरेटोमा नाङ्गो खुट्टाको हिंडाईले कत्लिएर छिया–छिया भई रगतपच्छे भएका पैतलामा चिउरीको घ्यूले टाल्दै पारीवारिक समस्यासँग लुछाचुडि गर्दै हुन्थ्ये हुँला म अहिले किनकी अनपढ मेरी आमाले भोगेको र मैले नजिकबाट देखेको आम महिलाको दर्दनाक जिन्दगी यस्तै थियो र हुने गर्दछ पनि ।
दश कक्षाको पढाई पछि म निकै फुर्सदिली भएकी थिए । मेरा दिदीहरु लगायत जोरीपारी सबैको विहे भई सकेको थियो । मेरो उमेरका गाउँमा छोरी मान्छे केही थिएनन् । त्यसैले सबैका आखाले मलाई नै औल्याई रहेका हुन्थ्ये । चिया पसल देखि लिएर पानी पंधेरो सम्म सबैको चर्चाको विषय बनेकी थिए म । त्यसै नचाहिंदो कुराहरुले बाबाको कान भरिदिएका थिए त्यहाँका कुरौटे जमातले र त जति सक्दो चाँडो बाबा मलाई पराईको पोल्टामा सुम्पिन आतुर हुनु भएको थियो ।
यस्तैमा हाम्रो गा.वि.स.मा महिलाका लागि नयाँ आयाम लिएर एउटा क्ष्ल्न्इ भित्रियो । महिला शशक्तीकरण सम्बन्धि उक्त क्ष्ल्न्इ मा महिलाहरुकै अगुवाईमा कार्यक्रम संचालन गर्नु पर्ने थियो । हाम्रो गा.वि.स. मा पढेलेखेका महिला कोहि नभएर उनीहरुलाई सहयोग गर्न मलाई राखिने निर्णय भएछ ।
मलाई उक्त काममा पठाउन बाबाले मानीरहनु भएको थिएन सुमन नै हाम्रो घरमा गएर बाबालाई कन्भेन्स गरेका थिए । परिणामस्वरुप दैनिक जसो गा.वि.स.मा जाने बहाना बन्यो । उक्त कार्यक्रमको गा.वि.स. सहयोगि का रुपमा सहयोग गर्ने मौका पाएं ।
जिल्लाबाट टीमको अगुवाई गर्दै जिल्ला को–ओर्डीनेटर भएर आएका थिए सुमन । निकै पछि काम गर्दै जादा सुमनका बारे थाहा पाए मैले । उनि शिक्षित परिवारमा जन्मेका हुने खाने बाबुका एक्ला छोरा थिए । पढाई सकेर क्ष्ल्न्इ तीर जागिरे । सबै कुरा मेरो भन्दा राम्रो नै थियो उनको ।
काम कै शिलशिलामा मलाई गाउँबाट सदरमुकाममा पनि गई रहनु पर्दथ्यो । त्यतिवेला सुमन मेरो निकै ख्याल राखेर मलाई बस्ने खाने सुरक्षित स्थान मिलाई दिन्थ्ये । भेटघाटको क्रम बाक्लिदै गयो । उनी त त्यो ठाउँका लागि नयाँ भाषा देखि लिएर सबै कुरामा मैले सहयोग गर्नु पर्दथ्यो । यसरी परिचयको शिलशीला गाडा हँुदै गयो । थाहै नपाई हामी एक अर्कोलाई मन पराउन पनि थाले छौं ।
सदुमुकामबाट गाउँ फर्किने क्रममा एक दिन तीन घण्टाको पैदल यात्रा हामी दुवै सँगै भएर तय गरेका थियौं । हो, त्यो स्वर्णीम दिन त्यहि थियो, जुन दिन पहिलो चोटि हामी बीचमा भावनाहरुको साटासाट् भएको थियो । मन मुटु साट्ने अबसर जुरेको थियो । त्यो समयावधिमा धेरै कुराहरु भए हामी दुवैको बीचमा । कहिले देखि मनमा साचेर राखेका अभिप्सालाई पोख्ने अनुकुल बातावरण उपलब्ध भएको थियो हामीलाई र त मन खोलेर निसंकोच माया साटेका थियौ ।
कुरैकुरामा उनले सोधेका थिए –“तिमी मलाई माया गछौं ?”
मैले लजाउंदै भने–“आफुलाई भन्दा पनि धेरै गर्छु ।”
मेरो बोली भुईमा खस्न नपाउँदै सुमन मेरो आँखामा हेर्दै लामो सुस्केरा तान्दै भन्छन – “हेर सुमी ! हो,म त तिमीलाई धेरै मन पराउँछु अनि माया पनि गर्छु । यो कुरा पनि साच्ची हो कि तिमी बिना को मेरो जीवन नै अधुरो र अपुरो हुनेछ । मेरो मन मन्दिर तिम्रो आगमनले मात्रै सुन्दुर र पवित्र हुनेछ । म तिमीलाई यस अर्थमा माया गर्दछु की तिम्रो मन निर्मल, स्वच्छ छ । यति धेरै समस्याका बापजुत पनि तिमीमा त्यो खुशी झल्केको हुन्छ जुन अरुमा म देख्दिन् । अर्को कुरो तिमीमा मान्छेलाई चिन्न सम्ने खुवी छ र व्यवहारिकताले पनि निखारिएकी छौं । यदि तिमी चाहन्छ्यौ भने हामी जिवनभरीका लागि सुख दुखका भागिदार हुनसक्छौ । यसमा मेरो पूर्ण समर्थन नै रहनेछ ।” कुरा गर्दै हिड्दा त बाटो कटेको पत्तो नै भएन । हाम्रो छुट्टिने कुइनेटो पनि आयो । एकछिनमै छिप्पिदो गोधुंलि संगै ओझेल पर्यौ दुबै जना ।
म घर आइ पुग्दा झमक्क सांझ परि सकेको थियो । बाबा पिढीमा एक जना अपरिचित मान्छे सँग गफिरहनु भएको थियो । केहि वास्तै नगरी म सरासर घरभित्र छिरें । कोठाको सिरानीमा पिढीसँगै जोडिएको सानो झ्यालमा कान लगाएर दुई जनाको संवाद सुन्छु म । निकै बेर सुने मैले बाबा र त्यो अपरिचित व्यक्ति विचको बार्तालापलाई । थाहा पाए, त्यो केटो त मलाई माग्न आएको रहेछ । बाबालाई खुवै मन परेछ क्यारे कुरो अन्त्यतिर पुगाई सक्नु भएको थियो ।
धन्य मेरो बाबाले निर्णय । ऊ संग हाम्रो जातभात मिल्दैमा के भयो र ? ऊ त म भन्दा दश वर्ष बुढो आठ कक्षा पनि पास गर्न नसकेर इन्डीया चहारेर आएको तोरी लाउरे रहेछ । मेरो भविष्य उसले कति चक्काउन सक्ला भने सोच्नु भएको होला र ? उसैसँग भिडाउने तरखरमा हुनुहुन्थ्यो । बाबाको यो निर्णय मलाई खपि नसक्ने भई सकेको थियो तर मेरो मुखमा प्रतिक्रिया दिनै नमिल्ने गरी संस्कारको ताल्जा लगाईएको थियो । कि त त्यो समाजमा जीवन साथी छनौट प्रक्रियामा छोरी भन्ने जन्तुलाई कहि कतै मनसाय राख्ने उचित स्थान छुट्याइएको होस् । विकल्प रहित एकलौटी निर्णय नै सबैका लागि मान्ने हुने गरेता पनि मेरा लागि स्वीकार्य हुन सकेन किनकी अलिकति भए पनि राम्रो र नराम्रो छुट्टाउन सक्ने क्षमता म मा भरिदिएको छ शिक्षाले । म टाट्नामा बन्धक बनाईएको बाख्रोको जस्तो नियति भोग्न असमर्थ भए । निर्णयको बन्दि हुनु भन्दा मेरो स्वईच्छाको बैकल्पिक बाटो रोज्ने बिचार गरे । यसरी एक्लै विद्रोहको आगोमा खुवै जलाए मैले आफू लाई । मनमनै तुलना गर्न थाले सुमन र त्यो तोरी लाउरे को बीचमा ।
बाबाको निर्णय उपर परिवारका सामु मुक समर्थन जनाएता पनि मैले सुमनसँग बाबाको एकल निर्णयको बारेमा सबै बेलिविस्तार लगाई सकेकी थिए । दुबैको सल्लाह अनि सुमनको समर्थनमा हामीले अव त्यो ठाउँबाट सदा–सदाका लागी हराउने तयारी गर्यौ, परिणाम स्वरुप नयाँ गोरेटो ततायौं हामीले र त्यतै तिर हेलियौं ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली वाङ्‍मय क्षेत्रका विभिन्न व्यक्तित्वलाई विभिन्न प्रज्ञा पुरस्कार प्रदान गर्नुभएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा राष्ट्रपति

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी

काठमाडौं । साहित्यकार डा वानीरा गिरिको गए राति कोरोना सङ्क्रमणले निधन भएको छ । काठमाडौँ बानेश्वरस्थित निजामती अस्पताल पु¥याइएको आधा