अमेरिकाको हतियार कम्पनीमा काम गरेका राउतको नेपालमा विद्रोहको योजना !

४ आश्विन २०७१, शनिबार ११:०४ मा प्रकाशित

किशोर पन्थी, न्युयोर्क, गोकुल श्रेष्ठ, काठमाडौं, ४ असोज । अमेरिकी सरकारलाई हतियार उपलब्ध गराउने र अमेरिकी जासुसी संस्था सीआईएसँग विशेष सम्बन्ध भएको मानिने अमेरिकाको चर्चित हतियार कम्पनीमा काम गरेका चन्द्रकान्त उर्फ सीके राउत नेपालमा पुगेर सैन्य विद्रोहसम्मको योजना बनाइरहदा प्रहरीको फन्दामा परेका छन् । ‘मधेश स्वराज’ नामक पुस्तक नै तयार गरी प्रशिक्षण दिदै हिडेका राउतले उक्त पुस्तकमा मधेशलाई नेपालबाट अलग गराउनका लागि सैनिक विद्रोहसम्मको योजना बनाएका छन् । मधेसलाई नेपालबाट अलग गराउनका लागि चाल्नु पर्ने रणनीतिका बारेमा विशेष खाका नै बनाएका राउतले पुस्तकमा सांगठनिकरुपमा सक्षम भएपछि असहयोग आन्दोलन गर्नेदेखि विद्रोह गर्ने सम्मको योजना बनाएका छन् ।
के गर्थे राउतले अमेरिकामा ?
सीके राउतले अमेरिकामा यस्तो कम्पनीमा काम गर्थे जसको प्रत्यक्ष सम्बन्ध अमेरिकाको रक्षा मन्त्रालयसँग रहेको छ । रेथियन बीबीएन टेक्नोलोजिज नामको अमेरिकामा रहेको उच्च प्रविधियुक्त कम्पनीमा राउतले वैज्ञानिकको काम गर्दै आएका थिए । यो कम्पनीले विश्वको सबैभन्दा महत्वपूर्ण मानिने आवाज चिन्ने प्रविधि स्पीच रिकग्नीसन, इम्फर्मेशन सेक्युरिटी र चुनौपूर्ण वातावरणमा पनि सेक्युरेटी थे्रटको ट्रयाकिङको काम गर्दै आएको छ । ६० वर्ष पुरानो यो कम्पनीले सुरक्षा मामलामा अमेरिकी सरकारलाई सघाउदै आएको छ । सरकारी स्पोन्सरमा नै यो कम्पनीले इन्फर्मेशन सेक्युरिटी, सुरक्षा सम्बन्धमा अति सम्बेदनशिल संरचना र सिग्नल प्रोसेसिङको क्षेत्रमा काम गर्दै आएको छ । यो कम्पनीको प्रविधि अमेरिका, बेलायत र क्यानडाको आर्मीले प्रयोग गर्दै आएको छ । यही अमेरिकी कम्पनीमा काम गर्ने राउतले पनि वैज्ञानिकका रुपमा यस्तै काम गर्दै आएका थिए । किनभने उनको विशेषज्ञता आवाज चिन्ने प्रविधि स्पीच रिकग्नीसनमा रहेको छ ।
उनले अमेरिकामा रहदा काम गर्ने कम्पनी अमेरिकाको मासाचुसेट्स राज्यमा रहेको छ । अमेरिकी राष्ट्रपति जोन अफ केनेडीको हत्या सम्बन्धमा आवाजको सन्दर्भमा यो कम्पनीले निकालेको निष्कर्षले निकै चर्चा समेत पाएको थियो । सन् २००९ मा यो कम्पनी अमेरिकाको सबैभन्दा ठूलो हतियार कम्पनी रेथियनको माताहतमा गएको थियो । ३५० मिलियन डलरमा रेथियनले बीबीएनलाई आफ्नो माताहतमा राखेको थियो । सन् २००९ को अक्टोबर २९ मा यो कम्पनी पूर्णरुपमा रेथियनको माताहतमा आएको थियो । त्यसैबेलादेखि सन् २०११ सम्म काम गरेका थिए राउतले यो कम्पनीमा । सन् २००९ मा क्याम्ब्रिज युनिभर्सिटीबाट पीएचडी गरेका राउतले त्यसपछि अमेरिकामा आएर चर्चित रेथियन बीबीएन टेक्नोलोजिजमा काम गरेका हुन् ।

राउतले काम गरेको रेथियन कम्पनी अमेरिका रक्षा मन्त्रालयको सबैभन्दा ठूलो मध्येको सुरक्षा ठेकेदार हो । यो कम्पनीले अमेरिकी सेनालाई आवश्यक पर्ने सैन्य सामाग्री र हतियारसमेत उपलब्ध गराउदै आएको छ । यो कम्पनी मानवचालित मिसाइलहरु निर्माण गर्ने विश्वकै ठूलो मध्येको एउटा कम्पनी हो । सन् २०१२ सम्म यो कम्पनी विश्वको सैन्य क्षेत्रमा हतियार सप्लाई गर्ने पाँचौं ठूलो कम्पनी रहेको थियो । अमेरिकाको रक्षा मन्त्रालयसँग विशेष समन्ध राख्ने र अमेरिकी रक्षा मन्त्रालयका लागि काम गर्ने यही कम्पनीमा आवद्ध रहदा रहदै सीके राउतले सन् २०१० को सेप्टेम्बर ८ मा अमेरिकामा नेपाली मधेसीका नाममा नन रेसिडेन्ट मधेसी एसोसिएसन नामको संस्था स्थापना गरे । उनले अमेरिकामा यही संस्थाका नाममा पनि कैयन गतिविधिहरु गरेका थिए । विदेशमा रहेका मधेसीका लागि भन्दै स्थापित यो संस्थामा काम गरेका राउत सन् २०११ मा नेपाल फर्किएपछि मधेस टुक्राउने अभियानमा सकृय हुन थालेका हुन् । नेपालमा आइसकेपछि उनी स्वतन्त्र मधेस गठबन्धन नामको संस्थाको केन्द्रीय संयोजक भएर सकृय हुन थालेका हुन् । नेपाल फर्कने बेला र फर्किसकेपछि उनले मधेसका बारेमा विभिन्न पुस्तकहरु समेत प्रकाशन गरेका छन । अमेरिकाको रक्षा मन्त्रालयका लागि काम गर्ने र अमेरिकाको जासुुसी संस्था सीआईएसँग समेत सम्बन्ध भएको कम्पनीमा कार्यरत राउत सन् २०११ मा एकाएक नेपाल फर्केर मधेस टुक्राउनका लागि सैन्य बिद्रोहसम्मको योजना बनाउनुलाई साधारण रुपमा हेर्न सकिन्न ।

प्रहरी नियन्त्रणमा राउत
मधेशलाई नेपालबाट टुक्राउनु पर्छ भन्ने अभियान लिएका चन्द्रकान्त उर्फ सीके राउत गत शनिवारदेखि प्रहरीको नियन्त्रणमा छन् । राउतका विषयमा विभिन्न चर्चा परिचर्चा भए पनि उनका विषयमा ठोस प्रमाण सरकारले पनि जुटाउन सकेको छैन । मोरङ प्रहरीको नियन्त्रणमा रहेका राउतलाई अहिले काठमाडौं ल्याइएको छ । उनलाई सर्वोच्च अदालतको आदेशमा काठमाडौं ल्याइएको हो । उनलाई प्रहरीले सार्वजनिक अपराधको मुद्दा चलाए पनि अहिले भने राज्य विप्लवको मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ ।
अभिव्यक्ति स्वतन्त्रताका नाममा देश नै विखण्डन हुने अभिव्यक्ति दिने छुट कानुनले कसैलाई पनि दिएको छैन । राउतले अन्तरिम संविधान विपरित अभिव्यक्ति दिएको प्रमाण भने प्रहरीले जुटाएको छ । डा. राउतले अव बन्ने संविधानमा कुनै पनि राज्य छुट्टिन पाउनु पर्ने सुझाव संविधानसभा अन्तरगतको संवैधानिक राजनीति सम्वाद तथा सहमति समितिमै दिइसकेका छन् । उनले दिएको सुझाव अर्को अर्थमा भन्ने हो भने स्वायत्ततासहितको संघीयता नै हो । यो एजेण्डा एकीकृत नेकपा माओवादीले पनि उठाएको हो भने मधेशवादी दलहरुले अहिले पनि उठाउँदै आएका छन् । विश्लेषकहरु भन्छन्– ‘राउतले उठाएको एजेण्डा कुनै नयाँ होइन । उनले प्रयोग गरेको भाषा फरक हुन सक्छ ।’
पक्राउ लगत्तै एमाओवादी नेता डा. बाबुराम भट्टराईले भने– ‘राउतलाई पक्राउ गर्नु गलत हो ।’ उनले अभिव्यक्ति स्वतन्त्रता विरुद्ध राउतलाई पक्राउ गर्न नहुने भए पनि उनले चालेको अभियानमा सहमति जनाउन नसकिने बताए । त्यस्तै विभिन्न राजनीतिक विश्लेषकहरुले पनि राउतको पक्राउलाई अभिव्यक्ति स्वतन्त्रताको विरुद्ध भएको तर उनको अभियानप्रति ऐक्यबद्धता जनाउन नसकिने प्रतिक्रिया दिएका छन् । त्यतिमात्र होइन मधेशवादी दलहरुले पनि राउतको अभियानलाई साथ दिन नसक्ने प्रतिक्रिया दिएका छन् ।
यसरी सुरु भयो राउतको चर्चा
सप्तरी महादेवा–७ मा जन्मिएका राउतका विषयमा चर्चा त्यतिबेला सुरु भयो, जतिबेला एमाओवादी नेता डा. बाबुराम भट्टराई सभापति रहेको संवैधानिक, राजनीतिक सम्वाद तथा सहमति समितिले उनलाई सुझावका लागि सिंहदरबार बोलायो । समितिका सचिव मुकुन्द शर्माले नागरिक समाजका अगुवाका रुपमा राउतलाई पत्र लेखेर भदौं ५ गतेको बैठकमा उपस्थित हुन आग्रह गरेका थिए । उनलाई सिंहदरबार स्थित समितिको बैठकमा उपस्थित भई नागरिक अगुवाको तर्फबाट संविधानका लागि सुझाव दिन भनिएको थियो । सोहि अनुरुप अन्य नागरिक अगुवासरह राउत पनि बैठकमा उपस्थित भए ।
समितिको बैठकमा जव उनले अव बन्ने संविधानमा राज्य छुट्टिन पाउनु पर्ने व्यवस्था अव बन्ने संविधानमा राख्नु पर्ने सुझाव दिए । तव उनको चर्चा सुरु भयो ।
राउतले संविधान कुनै पनि मुलुकको आधारशीला भएको र हरेक किसिमका चापलाई थेग्न सक्ने आधारशीलाले मात्र भवनलाई स्थायित्व दिन सके झैं जनताका हरेक आकांक्षाहरुलाई सम्बोधित गर्ने संविधानले मात्र कुनै देशलाई स्थायित्व दिलाउन सक्ने बताएका थिए । ‘संविधानले कुनै समुदायमाथि कुनै किसिमको विभेद गरेमा वा त्यसको कार्यान्वयनका क्रममा विभेद भएमा उक्त समुदायलाई राज्यसँग छुट्टिने संवैधानिक अधिकार भएमात्र राज्य अहिंसात्मक तरिकाद्वारा समानता र न्याय तर्फ बढन सक्नेछ’ राउतको सुझाव थियो । उनले त्यस किसिमको राज्यसँग छुट्टिने संवैधानिक प्रक्रिया यूरोपियन यूनियन, अस्ट्रिया, फ्रान्स, सिंगापुर, स्विटजरल्यान्ड, क्यानडा, इथोपियालगायतका मुलुकहरुमा समेत भएको दावी गरे । त्यतिमात्र होइन उनले सन् १८६१ सम्म अमेरिकाको संविधानमा, सन् १९२४ को रुसको संविधानमा र सन् १९३१ को चीनको संविधानमा समेत राज्यसँग सीधै छुट्टिन पाउने अधिकार जनतामा निहित रहेको दावी गरे । त्यस्तै नागरिक सर्वोच्चता र लोकतान्त्रिक मान्यतालाई कदर गर्ने हो भने नागरिकले चाहेमा जनमत संग्रह गराई जहिले पनि राज्यसँग छुट्टिन पाउनु पर्ने भन्दै राज्यले कुनै क्षेत्र वा समुदायसँग विभेद गरेमा, कुनै समुदायको अस्तित्वलाई खतरा भएमा, राज्यले कुनै क्षेत्र वा समुदायलाई सुरक्षाको प्रत्याभूति दिलाउन नसकेमा, कुनै समुदायको इतिहास, भाषा, संस्कृतिलगायत पहिचान खतरामा रहेमा तथा कुनै समुदाय राज्यको साधन–श्रोतको विभेदपूर्ण वितरणद्वारा औपनिवेशिक शोषणको शिकार भएमा त्यस समुदायसँग राज्यसँग छुट्टिन पाउने अधिकार पनि हुने तथा तिनीहरुको नैतिक उत्तरदायित्व पनि त्यहीं हुने अडान राउत लिएका थिए ।
राउतको यस्तो सुझाव पछि समितिका सभापति भट्टराईले संविधान निर्माणका क्रममा राज्यसँग छुट्टिन पाउने अधिकारका विषयमा कुरा गर्न कुनै अनुचित नभएको र त्यसमाथि बहस हुनुपर्ने प्रतिक्रिया दिएका थिए । समितिको बैठकमा राउतले दिएको सुझाव पछि उनको चर्चाले विभिन्न रुप लियो । सामाजिक सञ्जालमा राउतका विषयमा विभिन्न प्रतिक्रियाहरु आए । त्यसपछि जव उनी प्रशिक्षण दिएकै ठाउँबाट पक्राउ परे अहिले उनको चर्चाले उत्कर्ष रुप लिएको छ ।
राउतको पक्राउले उठाएका प्रश्न
डा. सिके राउत कुनै पनि पार्टीका नेता होइनन् । उनलाई नागरिक अगुवाको रुपमा परिभाषित गरिएको छ । उनले पनि मधेशको मुक्तिका लागि भन्दै नागरिक अगुवाको हैसियतमै विभिन्न प्रशिक्षण दिंदै आएका थिए । प्रशिक्षणका क्रममा राज्य विप्लव गर्ने अभिव्यक्ति दिएको प्रहरी दावी छ ।
नेपाल संविधान निर्माणको क्रममा छ । यस्तो संक्रमणकालिन अवस्थामा कस्तो संविधान बनाउने भन्ने विषयमा जे जस्तो सुझाव पनि दिन सबैलाई छुट छ । तर संगठित रुपमा राज्यलाई नै टुक्राउने अभियान चलाउने अधिकार कसैलाई छैन । त्यतिमात्र होइन अभिव्यक्ति स्वतन्त्रताका नाममा राज्यलाई नै विखण्डन गर्ने अभिव्यक्ति दिने छुट अन्तरिम संविधानले दिएको छैन ।
राउत कुन अदृष्य शक्तिबाट परिचालित छन् वा व्यक्तिगत रुपमा यो अभियानमा लागेका छन् भन्ने विषयमा ठोस प्रमाण जुट्न नसके पनि उनका बारेमा दुईवटा फरक विश्लेषण गर्न सकिन्छ ।
अहिले मधेशका राजनीतिक दलहरु टुटफुट हुँदै दर्जनौ बनेका छन् । नेतैपिच्छे पार्टी बनेका छन् । जसका कारण मधेशबाट उनीहरुले जनमत गुमाएको अवस्था छ । यस्तो अवस्थामा मधेशमा छुट्टै शक्ति निर्माण गर्ने अभियान अन्तरगत राउतलाई अघि सारिएको हुन सक्ने दरिलो आधार छ । उनलाई मधेश आन्दोलनको अगुवाको रुपमा स्थापित गर्न पनि यो अभियान चलाएको हुन सक्ने आशंका गर्न सकिन्छ । अर्कोतिर संघीयताका विषयमा विभिन्न चर्चा भैरहेका बेला संघीयता विरोध शक्तिले संघीयताकै बदनाम गर्ने गरी राउतलाई अघि सारेको हुन सक्ने आशंका गर्न सकिन्छ । जसले गर्दा संघीयताले देश टुक्रिन्छ भन्ने एजेण्डालाई थप मलजल गरेको छ ।
अभिव्यक्ति स्वतन्त्रता बारे संवैधानिक व्यवस्था
नेपालको अन्तरिम संविधान २०६३ ले हरेक नागरिकलाई अभिव्यक्तिको स्वतन्त्रता दिएको छ । अन्तरिम संविधानको भाग ३ धारा १२ मा मौलिक हक अन्तरगत स्वतन्त्रताको हकबारे व्याख्या गरिएको छ । यद्यपी उक्त धारामा अभिव्यक्ति स्वतन्त्रता भए पनि राष्ट्रिय अखण्डताको विरोधमा बोल्न नपाइने स्पष्ट उल्लेख छ ।
त्यस्तै अन्तरिम संविधानको धारा १२ को उपधारा १, २ र ३ अनुसार नागरिकलाई विचारको स्वतन्त्रता, विना हात हतियार शान्तिपूर्ण रुपमा भेला हुने स्वतन्त्रता, दल खोल्ने स्वतन्त्रता, संघ संस्था खोल्ने स्वतन्त्रता, आवतजावत गर्ने र पेशा व्यवसाय गर्ने स्वतन्त्रताबारे उल्लेख छ । त्यस्तै धारा १२ कै उपधारा (च) मा बोल्न नपाइने विषयमा स्पष्ट उल्लेख गरिएको छ । अन्तरिम संविधानमा भनिएको छ– ‘तर, कुनै कुराले नेपालको सार्वभौम सत्ता, अखण्डता वा विभिन्न जात, जाति, धर्म वा सम्प्रदायहरुका बीचको सुसम्बन्धमा खलल पर्ने कार्यमा मनासिब प्रतिबन्ध लगाउने गरी कानून बनाउन रोक लगाएको मानिने छैन ।’
अमेरिकाबाट सीके राउतको रिहाईको माग
अमेरिकामा रहेका नेपाली तराइबासीहरुको संस्था एसोसिएसन अफ नेपाली तराईयन इन अमेरिका एन्टाले नेपालमा पक्राउ परेका डाक्टर सीके राउतको रिहाइको माग गरेको छ । एन्टाका अध्यक्ष ललित झा र प्रवक्ता जय पी शाहले जारी गरेको वक्तब्यमा राउतलाई पक्राउ गरिएकोमा निन्दा गर्दै रिहाईको माग गरिएको हो । राउत देशको अखण्डतामा आँच आउने अभिब्यपक्ति दिएको अभियोगमा नेपालमा पक्राउ परेका हुन् । एन्टाले राउतको स्वतन्त्र मधेषसम्बन्धी अवधारणामा सहमति नजनाउने तर अभिव्यक्ति स्वतन्त्रताको हक सबैलाई भएको भन्दै राउतको रिहाईको माग गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको सातै प्रदेश समितिमा नयाँ नेतृत्व चयनका लागि पहिलो पटक प्रदेश अधिवेशन चलिरहेको छ । प्रदेश अधिवेशनबाट

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीकाे नयाँ नेतृत्वका लागि आज बिहान ८ बजे तय भएकाे मतदान साढे १० बज्दा पनि सुरु भएकाे छैन

काठमाडौँ । आज सूर्यग्रहण लाग्दैछ । सूर्य ग्रहण दक्षिण अमेरिका, अस्ट्रेलिया, दक्षिण अफ्रिका र दक्षिण एट्लान्टिकका देशबाट मात्रै देख्न सकिने

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ । शुक्रबार प्रदेश कार्यसमितिका लागि पदाधिकारी र

आजको प्रमुख समाचार