मन्त्रीका कारण कराते डुब्दै

२ आश्विन २०७१, बिहीबार ०५:१७ मा प्रकाशित

Karate2युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलको द्वैधचरित्रले १७औँ एसियाडमा करातेको सहभागिता अन्योलमा परेको छ। युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्ले आसन्न एसियाडका लागि आठजना कराते खेलाडीको नामावली नेपाल ओलम्पिक कमिटीमा पठाए पनि अहिलेसम्म ती खेलाडीबारे मन्त्री पौडेलले स्पष्ट निर्णय नलिँदा समस्या दिनप्रतिदिन जटिल बन्दै गएको छ। एसियाड तयारी समितिको अध्यक्षसमेत रहेका मन्त्री पौडेलले आफ्नै मन्त्रालयले पठाएको नामावलीलाई नजरअन्दाज गर्दै करातेलाई अनिर्णयको बन्दी बनाएपछि अहिले पौडेलप्रति अनेक प्रश्न खडा भएका छन्।
एमालेनिकट अन्तर्राष्ट्रिय कराते महासङ्घको दबाबमा मन्त्री पौडेलले यस्तो हर्कत गरेको स्रोतको दाबी छ। बन्द प्रशिक्षणमा रहेका २१ खेलाडीबाट नियमपूर्वक अन्तिम आठ खेलाडी कराते महासङ्घले छनोट गरेको थियो। नियमपूर्वक छनोट भएका खेलाडीप्रति एमालेनिकट अन्तर्राष्ट्रिय मान्यता प्राप्त भनिने कराते महासङ्घले भाँजो हालेपछि मन्त्री पौडेल वास्तविकतालाई बोध नै नगरी कागको पछि लाग्दा यस्तो समस्या उत्पन्न भएको हो। निर्णायक भूमिकामा रहेको व्यक्तिले विकेक प्रयोग गर्नुभन्दा खेलकुदमा भइरहेको एमालेको उद्दण्डतालाई आत्मसात् गर्दा अहिले कराते खेलाडीको भविष्य दाउमा लागेको छ। जसले गर्दा आसन्न एसियाडमा प्रतिस्पर्धा गर्ने खेलाडी अहिले मानसिक तनावको सिकार हुन पुगेका छन्। जुन सम्भावित पदक जित्ने खेलको सूचीमा रहेको कराते खेलाडीका लागि शुभसङ्केत मान्न सकिँदैन।
करातेको विवादले समस्या चुलिँदा अहिलेसम्म समाधानको कुनै बिन्दु देखिएको छैन। खेलकुद मन्त्रालय, राखेप र कराते महासङ्घले आफ्नो जिम्मेवारी वा खुवी निभाए पनि मन्त्री पौडेलले कराते पदाधिकारी र खेलाडीको खुट्टा काट्ने रणनीतिले गर्दा एसियाडमा करातेको सहभागिता हुन्छ या हुँदैन त्यसै भन्न नसकिने भएको छ। आउँदो असोज ३ गतेदेखि सञ्चालन हुने इन्चोन एसियाडमा अन्य चौबीस खेलका खेलाडी प्रत्येक दिन कोरिया उडिरहेको अवस्थामा कराते खेलाडी भने मन्त्री पौडेलको अनिर्णयको सिकार बन्दै रमिते बनिरहेका छन्। उनीहरू मुलुकको गौरव अन्तराष्ट्रमा बढाउन हरेक दिन तीन सिफ्टमा रगत र पसिना सुकाउँदै आए पनि त्यसको बदलामा मन्त्री पौडेलको सङ्कीर्ण सोचको सिकार बन्न पुगेका छन्। मन्त्री पौडेलको यो हर्कत अहिले खेलाडीको दुर्भाग्य बन्ने पो हो कि शङ्का–उपशङ्का उत्पन्न भएका छन्।
मन्त्री पौडेलले करातेलाई अनिर्णयको बन्दी बनाएपछि मौनता साँधेका करातेका खेलाडी र पदाधिकारीले अब मन्त्रीविरुद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। ती पदाधिकारीले हरेक कुराको सीमा हुन्छ भन्दै अहिले पानी मुखसम्म आइपुगेकाले चुप लागेर नबस्ने चेतावनी दिएका छन्। के–कति कारणले करातेलाई विवादमा ल्याउन खोजिएको हो, त्यसको प्रस्ट जवाफ मन्त्री पौडेलले दिनुपर्ने अन्यथा कराते खेलाडीले एसियाडमा सहभागिता नजनाउने धम्कीसमेत दिएका छन्। प्राप्त जानकारीअनुसार अन्तर्राष्ट्रिय मान्यताप्राप्त भनिने कराते महासङ्घका पदाधिकारीले टिम व्यवस्थापक हरिशरण केसी र प्रशिक्षक अकवर शाहको साटो महासङ्घको पदाधिकारी राख्नुपर्ने किचलो निकालेपछि समस्या जटिल बन्दै गएको थाहा भएको छ। यो कुरामा राष्ट्रिय मान्यताप्राप्त कराते महासङ्घले असहमति प्रकट गर्दै आफ्नो टिममा कुनै फेरबदल नहुने, फेरबदल भए सहभागिता नै नदिने प्रस्ट पारेको छ। करातेको यही विवादले वैदेशिक प्रशिक्षणका लागि जापान जान तयार रहेको कराते टिम आर्थिक कारण देखाई वैदेशिक प्रशिक्षणमा नजाने जानकारीमा आएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सुदूरपश्चिम प्रदेशलाई ११३ रनले पराजित गर्दै लुम्बिनी प्रदेशले अन्डर-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा

काठमाडौं । नेपाली रेस्लर अस्मिता जुरेलीले अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिताको सिंगल फाइटमा अमेरिकी रेस्लरलाई पराजित गरेकी छन् । प्रतियोगिताकै मुख्य स्पर्धा

काठमाडौं । स्पेनिस ला लिगामा गए राति शीर्षस्थानको रियल म्याड्रिड विजयी हुँदा बार्सिलोना भने घरेलु मैदानमा पराजित भएको छ ।

काठमाडौं । फ्रेन्च लिग वानको शीर्षस्थान टोली पेरिस सेन्ट जर्मेन (पीएसजी) आरसी लेन्सविरुद्ध हारबाट जोगिएको छ । शनिबार राति भएको