सर्वपक्षीय भेला नेकपा–माओवादीकै कारण स्थगित

३१ भाद्र २०७१, मंगलवार १४:४२ मा प्रकाशित

काठमाडौं, ३१ भदौ । संविधान निर्माणका विषयमा छलफल गर्न आयोजना गरिएको सर्वपक्षीय राजनीतिक सम्मेलन अन्तिम समयमा आएर स्थगित भएको छ । सर्वपक्षीय राजनीतिक सभाका लागि सत्तारुढ दल नेपाली काँग्रेस, नेकपा एमाले लगायतका दलहरु संबिधानसभा भवन नयाँ बानेश्वरमा उपस्थित भए पनि नेकपा माओवादी नआएपछि सभा स्थगित गरिएको हो ।

यसअघि आजै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा–माओवादीसहित प्रमुख तीन राजनीतिक दलको बैठकमा सम्मेलनको मागकर्ता माओवादीले शान्ति प्रक्रिया, राष्ट्रिय सहमति र राष्ट्रिय सम्मेलनको एजेन्डाबारे कुरा मिल्न सकेको थिएन ।
शान्ति प्रक्रियाका बाँकी कामहरु पूरा गर्न सत्तारुढ दल तयार नभएपछि सम्मेलन गर्नुको कुनै औचित्य नरहेको भन्दै नेकपा माओवादी सम्मmेलनमा सहभागी नभएको दावी गरेको छ ।

माओवादी आँफूसहित ३३ दलीय मोर्चाको बैठकमा सम्मेलनबारे औपचारिक निर्णय गरेर आउने भन्दै चार दलको बैठकबाट बाहिरिएको थियो ।
एकीकृत माओवादीले भने शान्ति प्रक्रिया र समग्र राजनीतिक प्रक्रियाका साथसाथै संविधान निर्माणको आधारभूत विषयमा सहमति जुटाउन छलफल निरन्तर हुनुपर्ने माग राखेको थियो । तर, सत्ता रुढ दलहरु त्यसमा सहमत नभएको बताइएको छ । सरकारमा रहेका दलले भने सम्मेलनको मागकर्ता नै सम्मेलनमा बस्न अनिच्छुक देखिएका कारण अन्तिम समयमा आएर सम्मेलन रद्द भएको बताएको छ ।

नेकपा (एमाले)का प्रमुख सचेतक अग्नि खरेलले मोहन वैद्य नेतृत्वको माओवादी नै सम्मेलनमा बस्न अनिच्छुक भएका कारण सम्मेलन हुन नसकेको जानकारी दिए । एकीकृत माओवादी र माओवादीले मंगलबार बिहान शान्ति प्रक्रियाको विषयमा प्रमुख चार पक्षबीच बृहद् सहमति गरेर राजनीतिक सम्मेलनमा जान प्रस्ताव गरेका थिए । नेपाली काँग्रेस र नेकपा (एमाले)ले सबै विषय सम्मेलनमा छलफल गर्ने बताएको थियो । सोही विषयमा दलहरुबीच कुरा मिल्न सकेन ।

नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले सरकारमा रहेको दल आफूहरुले उठाएको सवालमा सहमत नभएका कारण सम्मेलनको औचित्य नभएको प्रतिक्रिया दिए । शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न र छलफललाई निरन्तरता दिन कांग्रेस एमाले सहमति नभएका कारण सम्मेलन नभएको वैद्यको भनाई छ ।
सर्वदलीय राजनीतिक सम्मेलनको नीतिगत मार्गचित्रबारे लिखित सहमति नभएसम्म सम्मेलनमा नेकपा–माओवादीको नेतृत्वमा रहेको ३३ दलीय मोर्चाले सहभागी नहुने जनाएको छ ।

एकीकृत नेकपा (माओवादी)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आधारभूत विषयमा नै छलफल गर्ने विषयमा सहमति हुन नसकेका कारण सम्मेलन हुन नसकेको जानकारी दिए । सरकारले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आजका लागि सम्मेलन तय गरेको थियो । संविधानसभामा रहेका र नरहेका गरी ५१ दल सम्मेलनमा सहभागी हुने तयारीमा थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा सहभागी महाधिवेशन प्रतिनिधि, अतिथि र स्वयंसेवकलाई सौराहामा खान र बस्नको व्यवस्था गरिएको छ

काठमाडौं । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमलाई मध्यनजर राखेर सरकारले दक्षिण अफ्रिकी मुलुकका नागरिकलाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल प्रवेशमा

काठमाडौं।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस रूपान्तरणका लागि १० सूत्र सार्वजनिक गरेका छन् । आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा पौडेल,

चितवन।१०औं महाधिवेशनको उत्तरार्द्धतिर रहेको एमालेभित्र आगामी नेतृत्व को भन्ने विषयमा सहमतिको प्रयास जारी छ । भीम रावलले अध्यक्षमा दाबी गरेपछि