‘इस्लामिक स्टेट’ लाई पराजित गर्न अमेरिकी राष्ट्रपतिको आग्रह

२१ भाद्र २०७१, शनिबार २३:१६ मा प्रकाशित

obamaन्युपोर्ट (बेलायत), २१ भदौ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले शुक्रबार सिरिया तथा इराकमा इस्लामिक स्टेटका कट्टरपन्थीहरूलाई पराजित गर्न व्यापक अन्तर्राष्ट्रिय गठबन्धनको योजना प्रस्तुत गर्नुभएको छ भने उहाँका युरोपेली सहयोगीबाट यस विषयमा सावधानीपूर्वक प्रतिक्रिया प्राप्त भएको छ ।
नेटोको शिखर बैठकमा बोल्दै राष्ट्रपति ओबामाले अमेरिकाले जिहादीको रणनीतिक प्रतिरोधमा मध्यपूर्वका सहयोगी मुलुकलाई समावेश गर्न प्रयास गर्ने बताउनुभयो । जिहादीले त्यस क्षेत्रको ठूलो भाग आफ्नो नियन्त्रणमा लिएका छन् ।
उहाँले यस्तो कार्य एकै रातमा नहुने र तर आफूहरू सही दिशामा अगाडि बढेको तथा लक्ष्य प्राप्त गर्न सकिने बताउनुभयो ।
अमेरिकी राष्ट्रपति ओबामाले यस विषयमा क्षेत्रीय संलग्नता निकै महत्वपूर्ण भएको बताउनुभयो । यसो भए पनि अमेरिकी विदेश मन्त्रालयले यस युद्धमा इरानसँग सैनिक समन्वयको कुनै योजना नभएको जानकारी दिएको छ ।
उहाँले इस्लामिक स्टेटको अघिल्लो नाम उच्चारण गर्दै आफूहरूले आईएसआईएसलाई कमजोर बनाउँदै गएको र त्यसलाई अन्त्यमा पराजित गरिने बताउनुभयो । यस समूहले अमेरिकी दुई पत्रकारको टाउको काटी हत्या गरेको भिडियो चित्र इन्टरनेटमा राख्दै त्यसको जिम्मेवारी लिएको छ ।
यी दुबै हत्या बेलायती उच्चारण भएका एकै व्यक्तिले गरेको देखिएको छ । यी व्यक्तिले अमेरिकाले आफ्नो क्षेत्रमा हवाई आक्रमण नरोके बेलायती बन्धक मारिदिने चेतावनी दिएका छन् ।
इराकी कुर्दिस तथा सिया लडाकूले शुक्रबार सुलेमान बेक नगरलाई जिहादीहरूबाट पुनः आफ्नो नियन्त्रणमा लिएपछि त्यहाँ ३५ व्यक्तिको एक आमचिहान फेला पारेका छन् ।
राष्ट्रपति ओबामाले यस्तो गठबन्धन तयार हुने विश्वास व्यक्त गर्नुभयो । अमेरिकी अधिकारीहरूले भने संयुक्त राष्ट्र सङ्घको यसै महिना महाधिवेशन आरम्भ हुनुअगाडिसम्म यस्तो रणनीति तयार हुने योजना भएको बताएका छन् ।
उहाँले नेटोका सदस्यहरूबीच यो समूह ठूलो चेतावनी भएको कुरामा मतैक्यता भएको तर धेरै सदस्यले यो कुरा इराकी नयाँ सरकार गठनमा निर्भर हुने बताएका छन् ।
अमेरिकी प्रयासलाई सहयोग गर्ने युरोपेली सहयोगीहरूले यस विषयमा बढी सावधानी देखाएका छन् ।
इराकमा हवाई आक्रमण गर्ने विषयमा बेलायतले आफ्नो ढोका खुला राखेको छ भने प्रधानमन्त्री डेविड क्यामरुनले तत्कालै कारवाहीको सम्भावना नरहेको बताउनुभएको छ ।
उहाँले यस विषयमा समय, धैय र दृढता आवश्यक भएको नेटो शिखर बैठकको अन्त्यमा पत्रकारहरूलाई बताउनुभयो ।
सन् २००३ मा इराकमाथि आक्रमण गर्दा अमेरिकाले इच्छुकहरूको गठबन्धन तयार गरेको थियो र त्यसको निकै आलोचना भएको थियो । अमेरिकी अधिकारीहरूले यस्तो प्रक्रियाबाट आफूलाई अलग राखेका छन् ।
अमेरिकी विदेश मन्त्रालयका उपप्रवक्ता म्यारी हार्फले सन् २००३ मा जस्तो कार्य आफूहरूले गर्न नचाहेको बताउनुभयो ।
अमेरिकी विदेशमन्त्री जोन केरीले जमिनमा सैनिक नरहने र लडाकूलाई तालिम, सल्लाह, सहयोग र उपकरण उपलब्ध गराउने धेरै उपाय भएको बताउनुभयो ।
आईएससँगको युद्धमा सहयोग प्राप्त गर्न बेलायती समकक्षीका साथमा अमेरिकी विदेशमन्त्री केरीले अस्ट्रेलिया, क्यानडा, डेनमार्क, फ्रान्स, जर्मनी, इटाली, पोल्यान्ड तथा टर्कीका मन्त्रीहरूसँग बैठक बस्नुभएको थियो ।
अमेरिकाले हालका सातामा इराकको उत्तरी भागमा कुर्दिस तथा इराकी सेनालाई उनीहरूले गुमेको क्षेत्र पुनः प्राप्त गर्न १०० भन्दा बढीपटक हवाई आक्रमण गरेको छ ।
अन्य मुलुकले मानवीय सहयोग तथा गुप्तचर सूचना उपलब्ध गराएका छन् भने जर्मनी तथा फ्रान्सले कुर्दिस लडाकूहरूलाई इराकको उत्तरी भागमा आईएससँग युद्ध गर्न सैनिक उपकरण उपलब्ध गराएका छन् ।
फ्रान्सेली राष्टपति फ्राँस्वा अलोँले फ्रान्स आईएसविरुद्ध गठबन्धनमा संलग्न हुन तयार रहेको तर सिरियामा हुने कारवाहीमा भाग लिँदा राष्ट्रपति बसार अल–असादलाई सहयोग पुग्ने भएकाले त्यसो नगर्ने बताउनुभएको छ ।
जर्मन विदेशमन्त्री फ्र्याङ्क स्टिनमिरले यो प्रयास हाल प्रारम्भिक चरणमा रहेको बताउनुभयो ।
नेटोका महासचिव आन्द्रेस फग रासमुसेनले इराकबाट आग्रह भए आफ्नो सैनिक गठबन्धन सहयोग गर्न तयार रहेका बताउनुभयो ।
उहाँले इराक तथा सिरियाबाट युरोप तथा अमेरिकामा फर्किने विदेशी लडाकूले आफ्नै भूमिमा आक्रमण गर्नसक्ने भएकाले उनीहरूका विषयमा सूचना आदानप्रदान भइरहेको बताउनुभयो । रासस÷एएफपी

प्रतिक्रिया
सम्बन्धित खवर

भारतको कर्नाटकमा पहिलोपटक कोरोना भाइरसको नयाँ संस्करण ओमिक्रोनका दुईजना संक्रमित फेला परेका छन्। भारत सरकारको प्रयास हुँदाहुँदै पनि नयाँ भेरियन्टका

न्यु योर्क । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले बुधबार अफ्रिकी महादेशसँग कोभिड–१९ को महामारी र जलवायु परिवर्तनका सम्बन्धमा अन्तर्राष्ट्रिय समुदायले

लस एञ्जलस । पछिल्लो पटक अफ्रिकामा भेटिएको भनिएको कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोन अमेरिकामा पनि देखा परेको छ । अमेरिकाका

काठमाडौँ ।२०१९ को मध्यतिरदेखि देखा परेको कोरोना भाइरसले अझै पनि विश्वलाई आक्रान्त पारिरहेको छ । समयसँगै परिवर्तन भइरहने यो भाइरसको

आजको प्रमुख समाचार