नयाँ संविधान, दलहरु सहमति नजिक

२० भाद्र २०७१, शुक्रबार २३:२७ मा प्रकाशित

काठमाडौँ, २० भदौ । राज्यको पुनःसंरचना, शासकीय स्वरुप, न्याय प्रणाली र निर्वाचन प्रणाली जस्ता नयाँ संविधानका मुख्य विषयमा दलहरु सहमति नजिक नजिक पुगेका छन् ।

आज संसद् सचिवालयमा बसेको नेपाली काँग्रेस, नेकपा (एमाले) र एकीकृत नेकपा (माओवादी)का शीर्ष नेताहरुको बैठकमा ती विषयमा गम्भीर छलफल भई सहमति नजिक पुगेको बैठकपछि शीर्ष नेताहरुले जानकारी दिनुभयो ।

बैठकपछि एमालेका उपाध्यक्ष विद्या भण्डारीले संविधानका विवादित चार मुख्य विषयमा दलहरुबीच गम्भीर छलफल भएको र सहमति नजिक पुगेको सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

अघिल्लो संविधानसभा पनि त्यही चार विषयमा दलहरुबीच कुरा मिल्न नसक्दा विघटन भएको थियो । संविधानमा रहने सबै अन्तरवस्तुमा सहमतिमा पुग्नुपर्ने अन्तिम समयमा आएर दलहरु सहमतिका लागि जुटेका हुन् ।

“संविधानका मुख्य अन्तरवस्तु राज्यको पुनःसंरचना, शासकीय स्वरुप, न्याय प्रणाली र निर्वाचन प्रणालीबारे मुख्य तीन दलका शीर्ष नेताबीचमा छलफल भयो, हामी सहमतिको नजिक नजिक पुगेका छौँ, अरु दलसित बसेर ती विषयमा कुराकानी भएपछि सहमति हुन्छ जस्तो छ”, एमालेका उपाध्यक्ष वामदेव गौतमले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

बैठकमा काँग्रेसका उपसभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा, वन तथा भू–संरक्षण मन्त्री महेश आचार्य, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्षद्वय गौतम र भण्डारी, एमाओवादीका अध्यक्ष पुष्प कमल दाहाल, वरिष्ठ नेताद्वय डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठको सहभागिता रहेको थियो ।

ती शीर्ष नेताबीच संविधानका विवादित विषयमा करिब तीन घण्टा बैठक भएको थियो । बैठकबाट बाहिरिने क्रममा मन्त्री आचार्यले भन्नुभयो, “हामी सहमतिको नजिक पुगेका छौँ, संविधान निर्माणको कार्यतालिकाभित्र सहमतिमा पुग्छौँ ।”

संविधानसभामा प्रतिनिधित्व गरेका ३३ दल तथा संविधानसभा बाहिरका दलहरुबीच भएका छलफलमा ती चार विषयमा सहमति बन्न सकेको छैन ।

संवाद तथा सहमति समितिको बैठक पाँच मिनेट बस्यो

तीन दलको बैठक पछि तीन दलका शीर्ष नेताहरु संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको बैठकमा सहभागी हुनुभएको थियो ।

समितिको बैठकमा समितिका सभापति डा. बाबुराम भट्टराईले संविधान निर्माणका क्रममा भएका पछिल्लो प्रगतिका बारेमा जानकारी गराउनुभएको थियो ।

यसपछि बैठक स्थगित भएको थियो । समितिको आजको बैठक करिब पाँच मिनेटमात्र बसेको थियो ।

बैठकपछि काँग्रेसका नेता अर्जुननरसिंह केसीले भन्नुभयो, “संविधान निर्माणका क्रममा संविधानसभा बाहिरका दलहरुबीचमा पनि विवादित विषयमा सहमति कायम गर्नुपरेकाले बैठक स्थगन गरिएको हो ।”

उहाँले संविधानका विवादित विषयमा दलहरुबीचमा सहमति हुनेसमेत जानकारी दिनुभयो ।

एमालेका सचिव गोकर्ण विष्टले संविधान निर्माण कार्यतालिका संशोधन नहुने जानकारी दिँदै सकेसम्म सहमतिको प्रयास गरिने, सहमति कायम नभए प्रक्रियामा जाने बताउनुभयो ।

उहाँले ३३ दलको बैठकले राज्यको पुनःसंरचना, शासकीय स्वरुप, न्याय प्रणाली र निर्वाचन प्रणालीबारे सहमति खोज्ने दृढता व्यक्त गर्नुभयो । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

नुवाकोट । शनिबार विहान भुकम्पको धक्का महसुस भएको छ । आज बिहान ५ बजेर २६ मिनेट जाँदा  भुकम्पको धक्का महसुस

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–४ का विभिन्न स्थानमा पहिराका कारण ६ परिवार विस्थापित भएका छन् । छिपछिपेमा पाँच र महभिरमा

काठमाडौँ । निर्वाचन आयोगले नेपाल सरकारबाट तोकिएको आउँदो मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेशसभा सदस्यको निर्वाचन एकै चरणमा सम्पन्न

काठमडौँ । नेपाल सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन २०७९ साल मङ्सिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको छ ।