भारत-जापानबीच रणनीतिक साझेदारीको सहमति

१८ भाद्र २०७१, बुधबार ००:३७ मा प्रकाशित

Modisटोक्यो । भारत र जापान आपसमा रणनीतिक सम्बन्ध सुदृढ गर्न सहमत भएका छन्। एसियाको तेस्रो ठूलो अर्थतन्त्र भएको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पाँचदिने भ्रमणका क्रममा दोस्रो ठूलो अर्थतन्त्र जापानका प्रधानमन्त्री सिन्जो आबेले सोमबार रणनीतिक सम्बन्ध सुदृढीकरणको सहमति गरेका हुन्। भारत र जापान छिमेकी राष्ट्र चीनको अन्तर्राष्ट्रिय तथा क्षेत्रीय स्तरमा बढ्दो आर्थिक र सामरिक शक्तिका कारण उसँग सशंकित छन्।भारतले जल सेनाको शक्ति विस्तारका लागि जल र थल दुवैमा अवतरण उडान गर्नसक्ने जहाज खरिदमा अभिरुची देखाएको छ। जहाज खरिद बिक्रीका लागि दुवैबीच गहन वार्ता भइरहेको सञ्चारमाध्यमले जनाएका छन्।
विद्युतीय ऊर्जाको अभाव भोगिरहेको भारतले आणविक ऊर्जा संयन्त्र स्थापनामा जापानसँग सहयोगको अपेक्षा गरेको छ। भारत–जापान दुवै आणविक ऊर्जा सम्झौताका लागि वार्ता तीव्र पार्न सहमत भएका छन्। यससम्बन्धी वार्तामा उल्लेखनीय प्रगति भएको दुवैले जनाएका छन्।
राजधानी टोक्योमा दुवै देशबीच भएको बैठकपछि जारी विज्ञप्तिमा दुवै प्रधानमन्त्रीले भारत–जापानबीच रक्षा सम्बन्ध विस्तार हुनु दुवैका लागि निकै महत्वपूर्ण रहेको सहमति जनाएको उल्लेख छ। दुवै देशका प्रधानमन्त्रीले रक्षा सम्बन्धमा रणनीतिक साझेदारी गर्ने, अभिवृद्धि गर्ने र सुदृढ पार्ने निर्णय गरेको पनि विज्ञप्तिमा उल्लेख छ।
गएको मेमा भएको आम चुनावमा अप्रत्यासित बहुमत जितेर भारतको प्रधानमन्त्री भएका मोदी सार्कराष्ट्रबाहिर एसियाली राष्ट्रको महत्वपूर्ण भ्रमणमा शनिबार जापान पुगेका हुन्। प्राचीन ऐतिहासिक सहर क्योटोबाट पाँचदिने जापान भ्रमण थालेका मोदीको उद्देश्य जापानसँग रक्षा सम्बन्ध विस्तार, आणविक ऊर्जा सहयोग सम्झौता र व्यापार विस्तार गर्नु रहेको छ। जापान खस्कँदो अर्थतन्त्र र भारत सुस्त अर्थतन्त्रका कारण एसियामा आर्थिक र सामरिक प्रभुत्व बढाइरहेको चीनको समानान्तर उभिन कठिन छ। दुवै राष्ट्रले रक्षा सम्बन्ध विस्तार र रणनीतिक साझेदारी गरे चिनियाँ प्रभुत्व न्यून पार्न सकिने उनीहरूको आकलन छ।
दुवै राष्ट्रबीच गहिरो आत्मियता रहेको देखाउन शनिबार क्योटोमा भएको अनौपचारिक रात्रिभोजमा मोदी र आबे दुवैले अँगालो मारेका थिए। जापानी प्रधानमन्त्री आबेले सामाजिक सञ्जाल टि्वटरमा पछ्याउने (फलो) गरेका तीनजनामध्ये भारतीय प्रधानमन्त्री मोदी एक हुन्। मोदी भने आबेको राष्ट्रियतावादी राजनीतिका प्रशंसक छन्।
भारतीय र जापानी व्यापारिक प्रतिनिधीमण्डलबीच सोमबार बिहान भएको बैठकमा मोदीले एक्काइसौं शताब्दी एसियाको भएको तर कस्तो हुने भन्ने भारत–जापान द्विपक्षीय सम्बन्धको निकटता र प्रगतिशिलतामा भर पर्ने दाबी गरे। मोदीले अहिले फेरि १८औं शताब्दीताकाको विस्तारवादले टाउको उठाउन थालेको भनाइ राखेका थिए। उनले अरु देशको सीमा मिच्ने र अरु देशको जल सीमामा हस्तक्षेप हुने गरेका घटना उल्लेख गर्दै घुमाउरो पारामा चीन–भियतनाम र चीन–जापान जल सीमा विवादको उल्लेख गरे। भारत–चीनको लामो सीमाबारे दशकौंदेखिको विवाद थाँती रहेको छ।
चीनसँगको चर्कंदो सीमा विवादका कारण आबे पनि जापानको रक्षा सम्बन्ध भारत र अस्ट्रेलियाजस्ता राष्ट्रसँग विस्तार गर्न चाहन्छन्।
भारतीय प्रधानमन्त्री मोदी यो महिना कूटनीतिक रुपमा अत्यधिक सक्रिय हुनु पर्नेछ। जापानको भ्रमण टुंग्याएपछि यसै महिना मोदीले स्वदेशमा चीनका राष्ट्रपति सि चिनफिङको आतिथ्य गर्दैछन् भने त्यसपछि उनी अमेरिकी राष्ट्रपति बाराक ओबामाको अतिथि बन्नेछन्। अमेरिकाले क्षेत्रीय र अन्तर्राष्ट्रिय क्षेत्रमा नेतृत्व बढाउन भारतसँग आग्रह गरिसकेको छ। अमेरिका विश्वमा आफ्नो एक ध्रुविय नेतृत्वमा चुनौती बनेको रुस र चुनौती बन्ने क्रममा रहेको चीनको शक्ति सन्तुलन गर्न पनि भारतको विश्वव्यापी भूमिका बढेको हेर्न चाहन्छ।
संयुक्त सैनिक अभ्यास हुने
भारत–जापानले नियमित संयुक्त जलसैनिक अभ्यास गर्ने सहमति पनि भएको छ। साथै हवाइ उडान सुरक्षा, आपसी व्यापार र द्विपक्षीय समस्या अन्तर्राष्ट्रिय कानुनअनुसार समाधान गर्ने सहमति गरेका छन्। दुवै देशका विदेश र रक्षामन्त्री स्तरमा सुरक्षा वार्ता गर्ने सहमतिसहित रक्षा उपकरण र प्रविधि सहयोगका लागि कार्यदल तयार पार्न निर्देशन पनि दुवै प्रधानमन्त्रीले दिएका छन्।
जापानले आगामी पाँच वर्षभित्र २०.२२ अर्ब बेलायती पाउन्ड बराबर रकम भारतमा लगानी गर्ने पनि आबेले जनाएका छन्। मोदी–आबे पाँच वर्षभित्र भारतमा जापानी लगानी दोब्बर गर्नसमेत सहमत भएका छन्।
वैदेशिक लगानी भित्याउन भारतले केही साताअघि रेलसेवामा सतप्रतिसत विदेशी स्वामित्व हुनसक्ने प्रावधान पारित गरेको थियो। भारतले जापानसँग देशभित्र तीव्र गतिका बुलेट ट्रेन निर्माणमा पनि सहयोगको अपेक्षा राखेको छ। मोदीले राजधानी दिल्ली र मुम्बईबीच जापानी लगानीमा ‘औद्योगिक करिडोर’ स्थापनाका लागि पनि जापानलाई मनाउन प्रयास गरिरहेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

चीनले आफ्नो कडा शून्य–कोभिड नीति जारी राखेको कारण शंघाईमा तीन कोरोनाभाइरसका घटनाहरू भेटिएपछि सयौं उडानहरू रद्द गरियो, केही विद्यालयहरू बन्द

एजेन्सी । जर्मनीले ठूलो संख्यामा उत्परिवर्तन भएको नयाँ कोभिड–१९ को फैलावट रोक्न दक्षिण अफ्रिकाबाट हुने धेरैजसो यात्रामा प्रतिबन्ध लगाउने निर्णय

बेइजिङ । चीनले बिहीबार अमेरिकी पक्षलाई एसिया-प्रशान्त क्षेत्रमा नजीकको जासुसी, हस्तक्षेप, उत्तेजना र बल प्रदर्शन लगायतका कार्यहरू बन्द गर्न आग्रह

उत्तर कोरियाले सर्वसाधारणलाई लेदरको कोट लगाउन प्रतिबन्ध लगाएको छ । उत्तर कोरियाका तानाशाह किम जोङ उनको मुख्य रोजाइ रहेकोले सर्वसाधारणलाई

आजको प्रमुख समाचार