सुशीलको स्वास्थ्य सुधि्रएको खुसीको अर्थ :: देवप्रकाश त्रिपाठी

१७ भाद्र २०७१, मंगलवार ०५:५२ मा प्रकाशित

Dev Prakash Tripathiपरिवारमा थपिएको नवागन्तुक बालक चार हातखुट्टाको सहारामा घस्रन छोडेर उभिन खोजेको क्षण आफैँमा सुखद् र रमणीय मानिन्छ। आफ्ना बालबालिका सीधा उभिएर पाइला सार्न थालेको दिन परिवारमा बेग्लै खुसियाली प्रादुर्भाव हुन्छ। केही दिनयता देशमा त्यस्तै ‘खुसियाली’ छाएको छ– ‘प्रधानमन्त्री सुशील कोइराला आफ्नै हातले गाँस लिन सफल हुनुभएको छ। उहाँ आफैँ ठिङ्ग उभिएर हिँड्न र भर्याफङ उक्लनसमेत समर्थ हुनुभएको छ। त्यति मात्र होइन, कोइरालाले बालुवाटार (बासस्थान) बाट सिंहदरबार (कार्यालय) सम्म पुगी फाइलहरूसमेत आफ्नै हातले पल्टाएर हेर्न थाल्नुभएको छ। प्रधानमन्त्री कोइरालाले अन्य पार्टीका नेता र ‘मनले खाएका’ आफ्नै पार्टीका नेता–कार्यकर्तासँग अक्सिजन र ग्यास सिलिन्डरबिना नै भेटघाट पनि सुरु गर्नुभएको छ।’ त्यसैले सुशील कोइरालालाई प्रधानमन्त्री पदमा उभ्याएर ‘राज’ गरिरहन चाहनेहरूमा यतिबेला खुसी सीमाविहीन बनेको छ। तिनले आफ्नै खुसीका यी क्षणहरूलाई सरकारी सञ्चारमाध्यमहरूमार्फत निस्पि्कक्री प्रचारप्रसार गरी सुशील कोइराला घरबाट कार्यालयसम्म जान सक्नुहुन्न भन्नेहरूलाई ‘बलियो झापट’ दिएका छन्। हाम्रा प्रधानमन्त्री आफैँ खाना खान सक्ने, ठिङ्ग उभिन, हिँड्न, आवश्यक पर्दा मानिसहरूसँग भेटघाट गर्न र कार्यालयसमेत एक्लै जान सक्ने हुनुलाई गौरवमय घटनाका रूपमा प्रचार भएपछि प्रश्न उठाउनैपर्ने भएको छ, ‘के देशले खोजेको नेतृत्व यस्तै हो?’

एकताक नेपालमा रमाइला पात्रहरू हावी थिए। प्रचण्ड, विजय गच्छदार, सुजाता कोइराला, वामदेव गौतम, हिसिला यमी, लक्ष्मणसिंह खड्का र ऋषि धमलाहरूको ‘सक्रियता’ हेर्दा लाग्थ्यो– देश सुहाउँदो पात्रहरू सतहमा आएका छन्, यिनलाई सुहाउने देश र देशलाई सुहाउने यिनै हुन् भन्ने महसुस धेरै नेपालीले गरेका थिए र नेपालमा आफूलाई ‘अनफिट’ महसुस गर्ने कतिपय नेपालीले देश छोडेर परायभूमिमा आफूलाई ‘सेटल’ पनि गरिसकेका छन्। देशप्रति समर्पित कुनै पनि मानिस नेपालको राजनीति तथा राजनीतिकर्मीको भूमिकासँग सन्तुष्ट हुन सक्दैन। काजी भीम मल्लदेखि गणेशमान सिंह, रूपचन्द्र विष्ट र कृष्णप्रसाद भट्टराईसम्मका महात्माहरूले चरम असन्तुष्टि प्रकट गर्दै देहत्याग गरेका हुन्। इमानदार तथा योग्य प्रमाणित हुन नसकेका मानिसहरूको जिम्मा लगाएर ‘ती’ महात्माहरू बिदा भइसकेपछि इतिहासमा सुशील कोइरालाजस्ता ‘इमानदार एवम् स्वच्छ छवि’का नेता मुलुकलाई प्राप्त भएको छ।

तर, उहाँकै योग्यता–क्षमता र कार्यर्शलीका जसका कारण ‘इमानदार र स्वच्छ छवि’को प्रतिष्ठा एवम् विश्वसनीयता नै डगमगाउने स्थिति बनेको छ। खोपाको भीमसेनलाई शक्तिशाली मानेर– ठानेर पूजा गर्नेले एउटा आत्मसन्तुष्टि प्राप्त गर्न सक्ला, तर सङ्क्रमणकालमा एक प्रभावी र प्रतापी नेतृत्वको आवश्यकता खटिएका बेला नेपालीलाई उपलब्ध हुन आएको नेतृत्व स्वस्थानी ब्रतकथाकी सुकन्या गोमा ब्राह्मणीलाई प्राप्त पति शिव शर्माजस्तो पो देखिए, बचालाउन् कि भनेको त आफैँ कसरी बाँच्लान् भनेजस्तो पो भयो। राष्ट्रको चिन्ता गर्नुपर्ने व्यक्तिकै चिन्ता राष्ट्रले गर्नुपर्ने भएपछि देशले तत्काल निकास र विकास पाउने आशा विसर्जन हुँदै छ। बेइमान, छलकपट र धोकाधडीका निकटतम मित्रका रूपमा समेत चिनिएका गिरिजाप्रसादको कार्यकालले उत्पादन गरेका विकृति, विसङ्गति र बेथिति सुशील कोइरालाको कार्यकालमा अन्त्य नभए पनि नियन्त्रित हुने अपेक्षा सुशीललाई नजिकबाट नबुझ्नेहरूले गरेका थिए। बुझ्नेहरूले त सुशील कोइरालालाई प्रधानमन्त्रीको जिम्मेवारी ‘गँड्यौलालाई बन्दुकको भारी’ हुने अनुमान पहिल्यै गरेका हुन्। प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेयता कोइरालाले दुई कुरामा ज्यादा ध्यान पुर्याेउनुपरेको छ– आफ्नो स्वास्थ्य र बनिबनाउन छवि। कोइराला ‘स्वच्छ तथा इमानदार’ भनिने आफ्नै छवि जोगाउन यति सचेत हुनुभयो कि सरकारले लिनुपर्ने हरेक महत्त्वपूर्ण निर्णयहरूमा कसै न कसैको स्वार्थ लुकेको ठान्नुभयो र निर्णय लिन सधैँ डराइरहनुभयो। सुशील कोइरालाको इमानदारी परीक्षणका निम्ति उहाँलाई प्रधानमन्त्री बनाइएको थिएन/होइन। देशलाई राजनीतिक सङ्क्रमणबाट निकास र आर्थिक विकासको अगुवाइका निम्ति उहाँलाई यस हैसियतको जिम्मेवारी दिइएको थियो। ‘इमानदारी’ जोगाउने नाममा कुनै महत्त्वपूर्ण निर्णय नै गर्न नचाहने कोइरालाले ‘त्यही छवि’ पनि जोगाउन सक्नुभएको ठानिँदैन। आफ्नो सम्पूर्ण बलबुता नातेदार तथा परिवारका सदस्यहरूलाई मौका दिनका लागि प्रयोग गरेपछि उहाँको ‘इमानदार तथा स्वच्छ’ छवि सडक विभागले गरेको पिच (कालोपत्रे) झैं असमयमै खुइलिएको ठानिँदै छ। ऐतिहासिक महत्त्वका निर्णय लिनुपर्ने यो सङ्क्रमणकालीन घडीमा निर्णय लिनै नचाहने–नसक्ने व्यक्ति प्रधानमन्त्री हुँदा देशले समय मात्र बर्बाद गर्नु परिरहेछ। अन्धाले टेलिभिजनको रिमोट कन्ट्रोल कब्जा गरेजस्तै देखिएको छ– सुशील कोइरालालाई प्रधानमन्त्री पद।

सुशील कोइराला संविधान निर्माणको प्रतिबद्धता पटकपटक प्रकट गर्दै हुनुहुन्छ र आफ्नै कार्यकालमा संविधान निर्माण गर्ने चाहना उहाँले राख्नुभएको बुझिन्छ। संविधान प्रधानमन्त्रीले बनाउने होइन र कदाचित संविधान बनेछ भने पनि त्यसको ‘क्रेडिट’ प्रधानमन्त्री मात्रलाई जाँदैन। छिमेकी मित्रराष्ट्र भारतमा संविधान निर्माण हुँदा जवाहरलाल नेहरू प्रधानमन्त्री थिए, तर भारतीय संविधानको स्मरण हुनासाथ अम्बेडकरको नाम जोडिएर आउँछ– नेहरूको होइन। संविधानसभा सदस्य र सत्तारुढ पार्टीको सभापतिका रूपमा उहाँले निर्वाह गर्ने भूमिका नै पर्याप्त हुनसक्छ– यदि कोइरालामा केही गर्ने क्षमता जीवित छ भने। आफ्नो कार्यशैली, कार्यक्षमता र सोचका कारण प्रधानमन्त्रीका रूपमा सुशील कोइरालाको तुलना रंगनाथ पौडेल र नगेन्द्रप्रसाद रिजालहरूसँग हुन थालेको छ। सुशीलको अक्षमताको दोष अहिलेसम्म काङ्गे्रस पार्टीले ग्रहण गर्नुपरेको छैन, तर उहाँका विरुद्ध विपक्षीहरूको ‘मौनता’ भने अर्थपूर्ण छ। इतिहासकै अकर्मण्य प्रधानमन्त्रीको आलोचना गरेर सायद विपक्षीहरू काङ्गे्रसलाई कुनै गतिशील नेतृत्व खोजीका निम्ति पे्ररित गर्न चाहँदैनन्। सुशील कोइरालाको अकर्मण्यता अन्ततः काङ्गे्रसकै बर्बादीको कारण बन्ने आशामा प्रतिपक्षीहरूको मौनता विस्तारित भएको हो भने उनीहरूको दृष्टिमा त्यो सही पनि हो।

तर, रामचन्द्र पौडेल र शेरबहादुर देउवालगायत काङ्गे्रसका नेताहरूको मौनतालाई चाहिँ जायज र आवश्यक ठानिएको छैन। देशलाई गति दिन र काङ्गे्रस एउटा गतिशील पार्टी भएको प्रमाणित गर्न काङ्गे्रसभित्रैबाट एक सार्थक पहल हुन ढिला भइसकेको छ। सुशील कोइरालाले आज एक प्लेट लिटो खानुभयो, लौरोबिना उभिनुभयो या पूरै आँगन कसैको हात नसमाईकन घुम्नुभयो भन्ने प्रकारका ‘उपलब्धि’मा रमाउनुपर्ने अवस्था अब छँदै छैन। प्रधानमन्त्री पद जसको भागमा परे पनि परिवर्तनको अगुवाइ काङ्गे्रसले गर्दा मात्र सरकारको नेतृत्व काङ्गे्रसमै रहने सम्भावना हुन्छ भन्ने यथार्थप्रति रामचन्द्र पौडेल र शेरबहादुर देउवालगायतका नेताहरू सचेत हुन वाञ्छनीय छ। होइन भने सुशील कोइरालाको नाममा काङ्गे्रस ‘सती’ जानुपर्ने अवस्थाबाट बच्न निकै मुस्किल पर्नेछ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।विकट पहाडी जिल्ला खोटाङको सामान्य परिवारमा जन्मिएका अधिवत्ता बिष्णु गिरी मेहनत, इमानदारिता कारण नै कानुन ब्यबसायको क्षेत्रमा आफुलाई अब्बल साबित

१. नेपाली कांग्रेसलाई जसरी पनि यही मंसिरमा केन्द्रीय निर्वाचन गरिसक्नु परेको छ । त्यसैले अहिले त्यसैको चटारो छ । एमालेको त महाधिवेशनकै

हरिविनोद अधिकारी एउटा प्रजातन्त्रको लागि अनेक किसिमले नयाँ नयाँ प्रयोग गर्दै रहेको , एकप्रकारले वर्णसंकर प्रक्रियामा प्रजातन्त्रकोे प्रयोग हुँदै गरेको

छत्र मैनाली कोलम्बिया । अधिकांश नेपाली युवाले सपनाको मुलुक अमेरिका जाने सपना देखेका हुन्छन्, जुन अस्वभाविक होइन । दुई दशकयता डिभी