जाजरकोटमा बाढी पहरोका घाइतेको उद्धार हुन सकेन

३१ श्रावण २०७१, शनिबार ११:१८ मा प्रकाशित

Pahiroजाजरकोट, ३१ साउन । बुधबार रातिदेखि परेको भारी वर्षात्का कारण आएको पहिरोमा परी जाजरकोटमा घाइते भएकाको समयमै उद्धार हुन नसकेपछि अवस्था थप चिन्ताजनक बनेको छ ।
पहिरोमा परी घाइते भएकामध्ये सक्ला– ३ बन्डालाका जयलाल बोहराका छोरीहरु १३ वर्षीया आरती र १० वर्षीया कमला, रामीडाँडा–९ धौलाकोटका २६ वर्षीय कर्णे नेपाली, ३० वर्षीया सुधा नेपाली, १२ वर्षीय लले नेपाली र सक्ला– ५ का १४ वर्षका सन्देश बस्नेतको अवस्था चिन्ताजनक रहेको सक्ला– ६ का स्थानीय डिल्ली रावलले बताए ।
सदरमुकाम खलङ्गादेखि दुई दिनको पैदलदूरीमा रहेका रामीडाँडा र सक्ला गाविसका विभिन्न गाउँमा बिहीबार बिहान पहिरोले घर पुरिँदा घाइते भएकाको खराब मौसम र सरोकारवालाको बेवास्ताका कारण हालसम्म उद्धार हुन नसकेको हो । सो पहिरोमा परी चार जनाको ज्यान गएको थियो भने १० जना घाइते भएका थिए ।
घाइतेमध्ये छ जनाको अवस्था निकै चिन्ताजनक रहेको भएपनि गृहमन्त्रालयले समयमा नै हेलिकोप्टरको व्यवस्था गर्न नसक्दा समस्या परेको हो । जिल्ला दैवीप्रकोप उद्धार समितिको बिहीबारको बैठकले तत्काल घाइतेको उद्धारका लागि मन्त्रालयसँग अनुरोध गरेपनि शुक्रबारसम्म उनीहरुलाई उद्धारको कुनै काम गर्न नसकिएको रामीडाँडा– ८ का चन्द्रबहादुर खड्काले बताए ।
एकातिर घाइतेको बेहाल अर्काेतिर विस्थापितको विचल्लीले गर्दा गाउँमा निकै सन्त्रास फैलिएको खड्काले बताए । पहिरोले घर पुरेका र उच्च जोखिममा घर परेर विस्थापित भएका २० परिवारका सर्वसाधारण कालीका मावि रामीडाँडाको प्राङ्गणमा बसिरहेको तथा उनीहरुको लागि कपडा र खानाको समस्या रहेको उनको भनाइ छ ।
राति घरमा सुतिरहेको अवस्थामा पहिरोले घर बगाउँदा उनीहरु दुर्घटनामा परेका हुन् । सक्ला र रामीडाँडा गाविसका पहिरो प्रभावित क्षेत्रमा जाने बाटो र पुलसमेत भत्केपछि उनीहरुलाई स्थानीयवासीले समेत सहयोग गर्न पाएका छैनन् ।
चार जना मृतकका परिवारलाई किरिया खर्चस्वरुप १० हजारका दरले सहयोग उपलब्ध गराउन, विस्थापितका लागि कपडा भाडाकुँडा र खाद्य सामग्री लिएर रेडक्रस, उद्योग वाणिज्य सङ्घ, प्रहरी र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिको एक टोली पैदल हिँडेर प्रभावित क्षेत्रतर्फ लागेको छ ।
जाजरकोट उद्योग वाणिज्य सङ्घले शुक्रबार पहिरो पीडितका लागि राहत रकम सङ्कलन गरेको छ ।
कार्यसमितिका सदस्यले ५७ हजार उठाएको र अन्य व्यापारी र सर्वसाधारणबाट थप रकम उठाएर पीडितको सहयोगका लागि सामग्री प्रभावित क्षेत्रमा पठाएको सङ्घका अध्यक्ष कमानबहादुर खड्काले बताए ।
पहिरोमा परी रामीडाँडा र रोकायगाउँका ३० घर पूर्णरुपमा ध्वस्त भएका छन् भने अन्य ५० बढी घर पहिरोको उच्च जोखिममा रहेका छन् ।
पहिरोले सक्ला, रोकायगाउँ र रामीडाँडाका ४० घरपरिवार बुधबार रातिदेखि परेको अविरल वर्षाको क्रम शुक्रबार रातिसम्म पनि नरोकिएको तथा पहिरो जाने क्रम पनि निरन्तर रहेको स्थानीयवासीले बताएका छन् । बाढी पहिरोका कारण जिल्लाका एक दर्जनभन्दा बढी गाविसमा धान र मकै बाली पूरै नष्ट भएको छ ।
बिहीबार रातिदेखि परेको अविरल वर्षात्का कारण आएको पहिरोले छिन्चु जाजरकोट सडकखण्डको कुदुमा सडक भत्काउँदा जाजरकोटको यातायात बन्द भएको छ भने ग्रामीण भेगको फोन सेवा अवरुद्ध भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

नुवाकोट । शनिबार विहान भुकम्पको धक्का महसुस भएको छ । आज बिहान ५ बजेर २६ मिनेट जाँदा  भुकम्पको धक्का महसुस

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–४ का विभिन्न स्थानमा पहिराका कारण ६ परिवार विस्थापित भएका छन् । छिपछिपेमा पाँच र महभिरमा

काठमाडौँ । निर्वाचन आयोगले नेपाल सरकारबाट तोकिएको आउँदो मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेशसभा सदस्यको निर्वाचन एकै चरणमा सम्पन्न

काठमाडौँ, १९ साउन (रासस): नेपालमा चार जनामा घटेको सङ्क्रमण अहिले दैनिक करिब एक हजारको नजिक देखिन थालेको छ । पछिल्लो