बाढी पहिरोले वीस जनाको मृत्यु, नौ जना बेपत्ता

३० श्रावण २०७१, शुक्रबार १६:१८ मा प्रकाशित

Badi Dangकाठमाडौं, ३० साउन । अबरिल बर्षापछि आएको बाढी र पहिरोमा परेर मुलुकको विभिन्न स्थानमा वीस जनाको मृत्यु भएको छ भने नौं जना बेपत्ता भएका छन् । बाढी पहिरोकै कारण २० भन्दा बढी सर्वसाधारण घाइते भएका छन् ।
बाढी पहिरोले करोडौंको क्षति भएको छ । बाढी र पहिरोले विभिन्न स्थानमा सवारी आवागमन पनि प्रभावित भएको छ ।
बाँकेको    फत्तेपुर–८ फूलैयामा राप्ती नदीले बगाउँदा चार जना बेपत्ता भएका छन् ।
गिटी चाल्ने काम गरी बस्ने सीताराम राणाको खरको फुसले छाएको घर राप्ती नदीको बहाब बढन गई आज विहान साढे ९ बजे भत्कदा ७ जनाको परिवार बगेको थियो ।
नदीमा बगेका मध्ये सीतारामकी पत्नी बालकुमारी राणा र २ छोरालाई प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा उद्धार गरी सुरक्षित स्थानमा राखेको छ ।
अन्य चार जनाको अवस्था भने अज्ञात रहेको प्रहरीले जनाएको छ । राप्ती नदीमा बगेका चार जनाको खोजतलास जारी रहेको जनाइएको छ ।
अवरिल बर्षाले रोल्पाको रांका–२ बस्ने कृष्ण बहादुर वलीको घर भत्किँदा दुई जनाको मृत्यु भएको छ ।
आज विहान साढे सात बजे घर भत्किँदा कृष्णबहादुरकी ७ वर्षीया छोरी करुण वली र छिमेकी ४५ बर्षीया लाली भण्डारीको घटनास्थलमै मृत्यु भएको हो । घटनामा कृष्णबहादुर वली र निकेश वली गम्भीर घाइते भएका छन् ।
यता, सल्यानको कालिमाटी रामपुर–२ ढोरेनी बस्ने २८ वर्षीया भीम सरी सिन्जाली र उनकी ७ वर्षीया छोरी विन्दु सिन्जालीको पहिरोमा पुरिएर मृत्यु भएको छ ।
आज विहान पौने चार बजे उनीहरुको घरमा पानी पस्न गएपछि बाहिर आएको अवस्थामा माथिबाट पहिरो आइ पुरिँदा उनीहरु बेपत्ता भएका थिए ।
उनीहरुको शव विहान ७ बजे फेला पारिएको थियो ।  उक्त स्थानबाट प्रहरीले २ जनालाई सकुशल उद्धार गरेको छ ।
उता, रुकुमको चुनावाङ–८ बस्ने नन्दराम घर्तीको घर पनि पहिरोले पुरिँदा दई जनाको मृत्यु भएको छ ।
बिहीबार अपरान्ह पहिरो आई घर पुरिन जाँदा घर्तीका ७ वर्षीय छोरा विजय घर्ती र १० वर्षीया छोरी विमला घर्तीको घटनास्थलमै मृत्यु भएको छ ।
पहिरोमा परेर नन्दरामकी १४ वर्षीया छोरी पूर्णिमा घर्ती र पाहुना आएका रुकुमकोट गाविस बस्ने कमल मल्ल घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि स्वास्थ्य चौकी गैरीगाँउ रुकुमकोटमा लगिएको छ ।
त्यसै गरी रुकुमकै स्यालापाखा–१ बतासेडाँडा बस्ने हीरालाल कल्यालको घर भत्किँदा १० वर्षीया छोरी कल्पना कल्यालको घटनास्थलमै मृत्यु भएको छ । बिहीबार राति उनको घर भत्किएको थियो ।
उता, चितवनको शक्तिखोर–२ बस्ने २२ वर्षीया रेणुका चेपाङको पनि पहिरोमा पुरिएर मृत्यु भएको छ । बिहीबार बेलुका आफ्नै बारीमा काम गरिरहेका बेला अचानक पहिरो जाँदा पुरिएर मृत्यु भएको थियो ।
त्यसै गरी, सुर्खेतको उत्तरगंगा–८ खर्के खोलाको तिरमा सात जनाको शव फेला परेको छ । बगाएर ल्याएको अवस्थामा आज विहान ११ बजेर ५५ मिनटमा महिला ४, पुरुष २ र १ वालिका गरी ७ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । उनीहरुको सनाखत हुन सकेको छैन ।
यता, दाङको उरहरी–६ मोतीपुरमा दुई जनाको मृत्यु भएको छ । आज विहान साढे ११ बजे नाम, थर, वतन खुल्न नसकेका पुरुष १ र महिला १ जना पानीमा डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेको प्रहरी समाचार कक्ष नक्सालले जनाएको छ ।
त्यसै गरी, अर्घाखाँचीमा दुई जनाको खोलामा बगेर मृत्यु भएको छ । जलुके–८ स्थित लाल प्राथमिक विद्यालय कल्लेरीमा कक्षा २ मा अध्ययनरत ९ वर्षीय धु्रवबहादुर नेपाली खोलाले खगाई मृत्यु भएको अवस्थामा बिहीबार शव फेला परेको थियो ।
डडेल्धुरामा तीन जनाको खोलाले बगाएर बेपत्ता भएका छन् । आज विहान नौ बजेर ५५ मिनटमा असिग्राम–८ वस्ने १५ वर्षीया मन्जु देउवा, १५ वर्षीया भगवती देउवा र १६ वर्षीया सावित्री देउवा स्कुल जाँदा स्थानीय रुवा खोला तर्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका हुन् ।
यता चितवनको शक्तिखोर–८ बस्ने ३५ वर्षीय चयाङवा पर्जाको बिहीबार कयर खोला तर्ने क्रममा बगाएर बेपत्ता भएका छन् ।
त्यसै गरी बाजुराको बागेश्वरी–९ बस्ने १८ वर्षीया सौरा नेपाली खोलाले बगाएर बेपत्ता भएकी छिन् । बिहीबार उनी र सोही ठाउँ बस्ने १७ वर्षीया रामकला नेपाली बारविस–७ बेतालमान्दौ बजारमा आलु बिक्री गरी घर फर्कने क्रममा बारविस–३ र ७ को बीचमा पर्ने भट्टे खोला तर्ने क्रममा उनीहरुलाई खोलाले बगाएको थियो ।
प्रहरी चौकी बार्जुगार्डबाट खटिएको प्रहरी टोलीले स्थानीय बासिन्दाको सहयोगमा रामकला नेपालीलाई उद्धार गरी उपचारको लागि स्थानीय मेडिकलमा पठाएको छ ।
उता, कैलालीको जोसिपुर–३ बस्ने ६५ वर्षीय लालबहादुर धामीलाई नदीले बगाएर बेपत्ता बनाएको छ । बिहीबार सामुदायिक बनबाट गाईगोरु चराई पानी खुवाउने भित्र्या नदीमा जाँदा उनलाई नदीले बगाएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । नयाँ कमिटीमा नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक(आईजीपी)

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीका पराजित अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘नबोक्ने’ निष्कर्षसहित याक एन्ड यति होटेलबाट आइतबार बिहान १० बाहिरिएका

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले ६ महिनाभित्रमा राजसंथा र हिन्दू राष्ट्रको पक्षमा सबैलाई एकमत बनाउने उद्घोष गरेका

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा जारी नेपाली कांग्रेस बागमती प्रदेश समितिको सभापति पदमा इन्द्रबहादुर बानियाँले बढी मत ल्याएका छन्

आजको प्रमुख समाचार