विभिन्न स्थानमा बाढी पहिरोबाट क्षति

३० श्रावण २०७१, शुक्रबार १४:३५ मा प्रकाशित

काठमाडौं,  ३० साउन । केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोले मुलुकका विभिन्न भागमा डुबान हुनुका साथै ठूलो मात्रामा धनमाल क्षति भएको छ ।
तीन दिनदेखि भएको निरन्तर वर्षाका कारण उदयपुर जिल्ला सिद्धिपुर गाविसको वीरेन्द्र बजारस्थित दिनेश राईको घर बिहीबार द्वारखोलाले बगाएको छ ।
राईको घर बगाउँदा करिब १२ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय बेल्टारले बताएको छ ।
द्वारखोलामा आएको बाढीका कारण वीरेन्द्र बजार नै डुबानको खतरामा रहेको स्थानीयवासी अशोक राईले बताए ।
वीरेन्द्र बजारको दक्षिणपट्टिको वाइचङु डाँडाबाट पहिरो खसेर द्वारखोला थुनिन थालेपछि सो बजार डुबानको खतरामा रहेको स्थानीय विष्णु मगरले बताए ।
कञ्चनपुर जिल्लामा बाढीका कारण दुई करोडभन्दा बढीको क्षति भएको छ ।
बाढीबाट दुई करोड ३६ लाख, ५६ हजार ३३० बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । बाढीले दोधारा–चाँदनी क्षेत्रका ४५ घर पूर्ण विस्थापित भएको प्रहरीले जनाएको छ ।
जाजरकोटको सल्लीबजार सडकखण्डको जगतिपुरको दारेगैरामा पहिरोले सडक भत्किएपछि यसखण्डमा चल्ने यातायातका साधनहरु आज बिहानैदेखि अवरुद्ध भएका छन् ।
सडकदेखि २०० मिटरमाथिबाट आएको पहिरोले ५० मिटरभन्दा बढी सडक भत्काएपछि यातायातका साधनहरु चल्न छाडेका हुन् ।
यसैगरी सक्ला गाविस वडा नं ८ मा पहिरोले तीनवटा घर पूर्णरुपमा बगाएको छ । घरमा रहेका लत्ता, कपडा, भाँडाकुँडा, पसल कुनै पनि बचाउन नसकिएको पशुसेवा कार्यालय सेपुखोला सक्लाका जेटिए गोविन्दबहादुर सिंहले बताए ।
पहिरोले भत्काएका घरहरुमा रत्नबहादुर महतरा र दीपबहादुर शाहीका रहेका छन् भने नौवटा घर उच्च जोखिममा परेको सिंहले बताए ।
बिहान पहिरो गएका कारण घरभित्र भएका मानिसहरुले भागेर ज्यान बचाएका थिए ।
बुधबारदेखि अविरल परेको वर्षाका कारण कर्णाली नदीमा पानीको सतह बढेपछि बर्दिया राजापुर क्षेत्रका विभिन्न स्थान डुबानमा परेका छन् ।
बाढीले राजापुर नगरपालिकाका केही गाउँलगायत मुर्गौवा, छेदिया, प्रेमनगर, शङ्करपुरवस्तीलगायतका गाउँहरु डुबानमा परेका हुन् । गत वर्ष पनि राजापुर क्षेत्रका विभिन्न क्षेत्रमा बाढीले हजारौँ परिवार प्रभावित भएका थिए ।
यसैगरी बबई नदीमा पानीको सतह बढेपछि गुलरिया क्षेत्रका केही गाउँलगायत मनाउ, दौलतपुर, पाताभार, मोहम्मदपुर, नेउलापुर, शिवपुर, ठाकुरद्वारा बगनाह गाविसका विभिन्न वडाहरु डुबानमा परेका छन् ।
बाढीका कारण कुसुम्वा घाटमा नवनिर्मित झोलुङ्गेपुल बग्ने खतरा रहेको छ । डुबान क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।
सिरहाको कमला नदीको पूर्वी तटबन्ध भत्केर गाउँमा पसेको बाढीले सिरहाका–९ गाविस र सिरहा नगरपालिकाका केही भाग जलमग्न भएका छन् । बाढीबाट नौ गाविसका करिब ५०० परिवार घर छाडेर सुरक्षित स्थानमा भोकै रात बिताउन बाध्य भएका हुन् ।
भेडियाको सिसौघारी नजिक कमला नदीको बाढीले पूर्वी तटबन्ध बिहीबार बिहान भत्काएको थियो । उक्त तटबन्धको १ सय ५० मिटर भत्काएर नदीको बहाव नै पूर्वतिर फर्किएकाले खतरा बढेको सिरहाका प्रमुख जिल्ला अधिकारी अब्दुल कलाम खाँले बताए ।
उच्च जोखिममा परेको विष्णुपुर प्रराको जमुवा गाउँका २ सय २१ जना विस्थापित भएका छन् ।
बाढीले भोक्राहा, चिकना र विष्णुपुर प्रराको जमुवा गाउँ घेरिएको छ भने इटारी प्रसाही, चतरी, बेल्हा, सारस्वर, मल्हनिया गम्हरिया, मडार गाविस र सिरहा नगरपालिकाको ३, ४, ५, ६, ७, ८ वडा प्रभावित पारेको छ ।
गाउँमा बाढीको पानी २\३ फिटसम्म जमेकाले फुसका घरहरु भत्किन थालेका छन् । बाढी प्रभावितहरु गाउँमा रहेको पक्की घर र कमला नदीको तटबन्धमा आश्रय लिएर बसेका छन् ।
बाढीको पानीले सिरहा मिर्चैया सहायकमार्गको सिरहा नगरपालिका २ र सारस्वर गाविसको दुई ठाउँमा भत्काएपछि सडक अवरुद्ध भएको छ । अहिले पश्चिमवर्ती एक दर्जन गाविस सिरहा सदरमुकामसँग सम्पर्क विच्छेद भएका छन् ।
नदीको बहाव कम नभएकाले तटबन्ध मर्मत कार्य सम्भव हुन नसकेको प्रमुख जिल्ला अधिकारी खाँले बताए । जिल्ला विकास समिति सिरहाले बाढीपीडितका लागि खरिद गरेको एक लाख मूल्यबराबरको खाद्यान्न वितरण गर्ने तयारी भइरहेको उनले बताए ।
डोल्पा (दुनै) वर्षायामको सुरुवातसँगै डोल्पा सदरमुकाम दुनै उच्च जोखिममा रहेको छ ।
साउन महिना सुरु भएलगत्तै ठूलो भेरीमा पानीको बहाव औसतभन्दा धेरै बढे पछि सदरमुकामवासी त्रसित रहेका स्थानीय हरि कार्कीले बताए ।
नदीले हरेक वर्ष आफ्नो मार्गलाई फराकिलो बनाउँदै लगेकाले नदी आसपासका खाली जमिन भासिँदै गएको र यसको रोकथामका लागि कुनै पनि सम्बन्धित निकायले चासो नदेखाएको स्थानीयवासी बबिकिशोर गुरुङले गुनासो गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार