अविरल वर्षाले जताततै बाढीपहिरो र डुबान

३० श्रावण २०७१, शुक्रबार ०७:४८ मा प्रकाशित

काठमाडौं, ३० साउन । अविरल वर्षाका कारण प्रमुख दुई राजमार्ग अवरुद्ध भएका छन् भने चारजना बालबालिकासहित १० जनाको ज्यान गएको छ।

वर्षाले देशभर जनजीवन अस्तव्यस्त बनाएको छ। दर्जनौं बस्ती डुबानमा पर्दा सयौं विस्थापित भएका छन्। सयौं यात्रु अलपत्र परेका छन्। जल तथा मौसम पूर्वानुमान महाशाखाले वर्षा निरन्तर हुने अनुमान गरेको छ।

जाजरकोटमा पहिरोमा पुरिएर चारजनाको ज्यान गएको छ। सकला ३ की ३४ वर्षीया नरमती बोहोरा र उनका सात वर्षीय छोरा नवराजको राति तीन बजेतिर पहिरोमा पुरिएर ज्यान गएको हो। त्यस्तै रामीडाँडा ८ का पाँच वर्षीय प्रकाश विक र सात वर्षीया ईशाका विकको पनि पहिरोमै पुरिएर मृत्यु भएको छ।

अविरल वर्षाकै कारण ललितपुरमा तीनजनाको ज्यान गएको छ। कालेश्वर गाविसमा घरभित्र पानीको भेल छिर्न थालेपछि पानी कटाउन खोज्दा पहिरोमा पुरिएर १९ वर्षीय सोनाम घलान र उनकी १८ वर्षीया बहिनी ललिताको मृत्यु भएको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ । ललितपुरकै भट्टेडाँडामा बाढीले बगाएर २५ वर्षीय दीपक लोको मृत्यु भएको छ।

त्यसैगरी धनुषाको सुन्दरी खोलामा आएको बाढीले बगाएर तुलसी गाविसका ४० वर्षीय गोपालबहादुरको मृत्यु भएको छ। सिन्धुलीमा कमला नदीले बगाएर हतपते ७ का ६२ वर्षीय भक्तबहादुर श्रेष्ठको ज्यान गएको छ। अर्घाखाँचीको जलुके खोलाले बगाएर जलुके ७ का नौ वर्षीय ढुनबहादुर नेपालीको ज्यान गएको छ।

बाढीपहिरोमा परी सिराहामा दुईजना र धनुषामा एकजना बेपत्ता भएका छन्। वर्षाले देशका विभिन्न भागमा यातायात सेवा अवरुद्ध बनाएको छ। पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत धनुषाको लालगढ र महोत्तरीको बर्दिबास सीमामा रहेको रातु खोलाको पुल चर्किन थालेपछि आवागमन बन्द भएको छ। पुल चर्किएपछि बुधबार राति ११ बजेदेखि यातायात बन्द गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुंगानाले बताए।

चन्द्रनिगाहपुरको लच्कामा बाढी आउँदा त्यहाँ पनि यातायात आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक भीम ढकालले बताए।

वर्षाकै कारण दाङको घोराही-लमही सडकखण्डको गुर्जे खोलामा पानीको सतह बढेपछि यातायात अवरुद्ध भएको छ। बर्दिया राष्ट्रिय निकुञ्जभित्र आएको बाढीले बिहान ९ बजेदेखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध बनाएको कैलालीका प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखकले बताए। मकवानपुरको सिस्नेरीमा पहिरो जाँदा काठमाडौं जोड्ने सडक अवरुद्ध भएको छ।

लगातारको वर्षा र सुनकोसीको थुनिएको पानी खोलिएपछि सप्तकोसीमा पानीको बहाव यस वर्षकै उच्च भएको छ। पानीको बहाव बढेपछि नेपाली सेनासहितका सुरक्षाकर्मी कोसी प्रभावित क्षेत्रमा परिचालन गरिएको छ।

सप्तकोसीमा पानीको बहाव तीन लाख २५ हजार तीन सय २० क्युसेक मापन गरिएको थियो। त्यस क्षेत्रका बासिन्दा त्रस्त छन्। सुनसरीका प्रमुख जिल्ला अधिकारी सुदर्शन ढकालले कोसी प्रभावित क्षेत्रमा जुनसुकै बेला पनि क्षति हुनसक्ने भएकाले स्थानीय बासिन्दालाई सचेत गराइएको बताए। खतराको संकेतस्वरूप कोसी ब्यारेजमा रातो बत्ती बालिएको छ। पानीको बहाव वर्षकै उच्च हुँदा पनि ब्यारेजका ५६ ढोकामध्ये ३७ वटामात्र खोलिएका छन्।

सिराहामा कमला नदीको पूर्वी बाँध भत्किएर गाउँमा पानी पसेपछि नौ गाविस जलमग्न भएका छन्। सिन्धुलीको कपिलाकोट र महादेवस्थानका पाँचवटा घर पहिरोले पुरेको छ।

गृह मन्त्रालयअन्तर्गतको विपद् व्यवस्थापन महाशाखाका सहसचिव यादव कोइरालाले अविरल वर्षाका कारण हुनसक्ने क्षति कम गराउन सरकार संवेदनशील रहेको बताए। प्राथमिकताका आधारमा खोज तथा उद्धारसँगै प्रभावितलाई सुरक्षित स्थानमा राख्नेलगायत कामका लागि सबै संयन्त्र तयारी अवस्थामा राखिएको पनि उनले बताए।

प्रतिक्रिया
सम्बन्धित खवर

वालिङ । स्याङ्जामा एक वर्षको अवधिमा चार सय ६१ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । स्याङ्जा जिल्ला अदालतमा आर्थिक

म्याग्दी । म्याग्दी र यस वरपरका क्षेत्रमा नौमती बाजा बजाएर असारे भाकामा बाउसे र रोपाहारले दोहोरी गाउँदै धान रोपाइँ गर्ने

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव छ । जसका कारण देशभर हल्कादेखि भारी बर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् जल तथा

तुलसीपुर । कक्षामा वरिपरि नातिनातिना उमेरका सहपाठी छन् । उनीहरुकै बीचमा पाका व्यक्ति पनि ध्यान दिएर पढिरहेका हुन्छन् । कपाल