जाजरकोटमा पहिरोबाट दुईको मृत्यु

२९ श्रावण २०७१, बिहीबार २०:१० मा प्रकाशित

जाजरकोट, २९ साउन । यस जिल्लाको रामीडाँडा गाविस वडा नं ९ धौलाकोटमा पहिरोले घर पुर्दा दुईजना बालकको मृत्यु भएको छ ।
मृत्यु हुने बालकमा नौ वर्षीय नायकवाडा–५ का प्रकाश नेपाली र रामीडाँडा गाविस वडा नं ९ का १० वर्षीय इसार नेपाली रहेका छन् । अन्य छजना घाइते भएका छन् । घाइते हुनेमा रामीडाँडा गाविस वडा नं ९ मा बस्दै आएका सुधा नेपाली, देवी नेपाली, सारदा नेपाली, कमला नेपाली, कर्णबहादुर नेपाली र लले नेपाली लगायतका रहेका छन् ।
बुधबार बेलुका ७ बजेदेखि बिहीबार बिहानसम्म लगातार भएको वर्षाका कारण सक्ला गाविस वडा नं ८ मा रहेको दीपेन्द्र माविको दुईवटा आठकोठे पक्की शौचालय पूर्णरूपमा खोलाले बगाएको छ भने विद्यालयको प्राङ्गणमा पानी जम्मा भएकाले विद्यालय नै बन्द गर्नुपरेको छ ।
स्थानीय घट्टेखोलामा आएको बाढीले स्थानीय जनताका १५ वटा घट्ट बगाएको पीडित शशिराम गौतमले बताउनुभएको छ । त्यस्तै, सक्ला–८ लुहादरमा बस्ने डिल्लीबहादुर विकको घर पहिरोले पुर्दा उक्त घरमा रहेका तीनजना बालबालिका घाइते भएका छन् । घाइते बालबालिकालाई जेटी गोविन्दबहादुर सिंहको सक्रियतामा उद्धार गरिएको छ ।
यस घटनामा लक्ष्मण विक र शोभा विक घाइते भएका र गोठभित्र रहेका चारवटा गाई र तीनवटा गोरु पुरिएका छन् ।
त्यस्तै, यही घट्टे खोलाले मिचीखोला लघुविद्युत् योजनाको १०० मिटरभन्दा बढी नहर बगाउँदा विद्युत् सेवा गएरातिदेखि बन्द भएको छ । वडा नं ८ मै खानेपानीका चारवटा ट्याङ्की बगाएका कारण गाउँमा खानेपानीको अभाव भएको स्थानीय महेन्द्र शाहीले बताउनुभयो ।
रामीडाँडा वडा नं ८ छेडा बजारमा पहिरोका कारण चारवटा पसलसहित चारवटा घर भत्किएका छन् । नन्दलाल पुन, विष्णु नेपाली र भीमबहादुर बुढाको घर र पसल पहिरोले भत्काएको हो । पहिरोमा परी सातवटा गाई र २१ वटा गोरु मर्नुका साथै काठेपुल र १२ वटा घट्टमा क्षति पुगेको छ ।  रामीडाँडा गाविसका तीनवटा विद्युत्का नहर भत्किँदा विद्युत् सेवा अवरुद्ध भएको छ । अवरुद्ध भएका विद्युत्मा मछेना खोला लघुजलविद्युत्, फट्का खोला लघुजलविद्युत् र रामीडाँडा लघुजलविद्युत् अवरुद्ध भएका हुन् । रामीडाँडा वडा नं ९ धौलाकोटमा ३०० मिटर माथिबाट आएको पहिरोले चारवटा घर भत्काएको प्रहरीले बताएको छ ।
त्यस्तै, रामीडाँडाको वडा नं ६ सिर्पाचौरमा छवटा काठेपुल बगेका छन् । दलबहादुर घर्ती, धनसरी थापाको घर पूर्णरूपमा पहिरोले भत्काएको प्रहरीले बताएको छ । पानी पर्ने क्रम नरोकिएकाले प्रहरी घटनास्थल जान सकिरहेको छैन । खोलामा पानीको बहाव नघटेका कारण प्रहरी सबै ठाउँमा पुग्न नसकेको रामीडाँडा प्रहरी कार्यालय प्रमुख टेकबहादुर चन्दले बताउनुभयो ।
रामीडाँडादेखि सिर्पाचौर जोड्ने छवटा काठेपुल बगाएका कारण मानिसहरू घटनास्थलमा जान नसकेको स्थानीय सञ्चारकर्मी दलहबहादुर बुढाले बताउनुभयो । यो सदरमुकामदेखि तीन दिनको पैदल दूरीमा पर्दछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहसँग मिलेर जानुपर्ने धारणा राखेका छन्।

काठमाडौँ । नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ । आगामी शुक्रवार दिउँसो १ बजे संघीय संसद् भवन नयाँबानेश्वरस्थित ल्होत्से

काठमाडौँ । सरकार र विप्लव समूहबीचको औपचारिक वार्ता आजदेखि सुरु भएको छ । आज बिहान दुवै समूहको पहिलो चरणको औपचारिक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले आज बुधबार दिनभर बैठकैबैठक राखेका छन् । कसरी अघि बढ्दा प्रधानमन्त्री ओलीलाई