उनीहरू रुनधरि सक्दैनन्

२४ श्रावण २०७१, शनिबार ०७:१९ मा प्रकाशित

Piditसिन्धुपाल्चोक, २४ साउन । ‘बुढेसकालमा नाति–नातिनाको अनुहार देख्न पाए स्वर्ग पुगिन्छ भन्थे।

पनातिनीसम्म देख्न पाएको म आफूलाई भाग्यमानी ठान्थेँ। तर दैवको लीला म अहिले ज्युँदै नर्कमा धसिएको छु नैनबहादुर खत्रीको आँत निकै दह्रो हुँदो हो, नत्र ७३ वर्षको उमेरमा छोरा, नाति, बुहारी र २ महिनादेखि ९ वर्ष उमेरका चार पनातिनीसहित ११ जनालाई एकैचोटि गुमाउँदा आफूलाई यस्तरी सम्हालिराख्न सक्ने थिएनन्।

सिन्धुपाल्चोकको मांखामा आठ दिनअघि शनिबार सखारै गएको चट्टानेपहिरो उनको जीवनमा यस्तो कहर बनेर आयो, एक झिम्कोमै स्वर्गीय दुनियाँ नर्कमा बदलियो। आफूलाई ‘आगो देलान्’ भन्ने चिताएका आफ्ना छोरानाति त के, तिनका शवधरि देख्न पाएका छैनन् उनले।

‘वियोगको यति ठूलो पीडा र छटपटी शत्रुले पनि बेहोर्नु नपरोस्,’ रुँदारुँदा सुन्निएका आँखा चाउरी परेका हातले माड्दै खत्रीले भने।

पहिरो गएको चौथो दिन मंगलबार पहिरोस्थलबाट झन्डै दुई घन्टा उकालो हिँडेपछि हामीले खत्रीलाई भेटेका थियौं। उनी मांखापहिरोको ठिक पारिपट्टि टेकानपुर–३ स्थित घरआँगनमा टुसुक्क बसेर पारिपट्टिको विध्वंस नियालिरहेको समचार आजको नागरिक दैनिकले छापेको छ ।

आँगनको डिलबाट तल बेंसीमा पहाड सोहोरिएर थुप्रिएको पहिरो प्रस्टै देखिन्छ। शुक्रबार रातिसम्म त्यहाँ उनीहरूको दुईतले पक्की घर थियो, १० रोपनी खेत।

११ जनाको परिवार त्यही घर र माटोमा लुटपुटिएर गुजारा गर्थे। पहिरोले एकनिमेषमै सबै छोपिदियो। अहिले त्यहाँ बडे–बडे चट्टान र लेदो माटो मात्र छ। खत्री आँखा झिमिक्कै नगरी त्यही पहिरोको थुप्रो हेर्दै टोलाइरहेका छन्।

माटोको थुप्रो खोस्रिरहेका सेना र प्रहरीका जवान। डोजरले भुइँ खोस्रँदा बुङबुङ उड्दै गरेको धुवाँ। पहिरोले आधा पुरिएका घर, ढलेका रूख। धस्सिएका गाडी। र, खोस्रेर बाहिर निकालिएका शवको बिस्कुन।

त्यो बिस्कुनमा खत्रीका आफन्त भने कोही छैनन्। ती त अझै पहिरोभित्रै बेपत्ता छन्, सरकारी भाषामा ‘मृतकु।

खत्रीका सुन्निएका आँखा फेरि टिल्पिलाएर आउँछन्।

सायद उनी माटोको थुप्रोभित्र हराएका आफ्ना स्वजनको गन्ती गरिरहेका छन्

एक, दुई, तीन …

११ जनाको नाम र नाता टिपाउँदासम्म उनी आफूलाई थाम्नै सक्दैनन्। भक्कानिन्छन्। छेउमा उस्तै विह्वल मुद्रामा छिन् उनकी ६३ वर्षीया जीवनसंगिनी।

हत्तपत्त बूढालाई आफूतिर तान्छिन्। चाउरी परेका दुई हात, एकअर्काको भर।

बेपत्ता छोरानातिका शव फेला पर्ने छेकछन्दै नभएपछि यी दुईले बाँचेका जेठा र माइला नातिबाट कुश र चामलको प्रतिमा बनाएर अन्तिम संस्कार गराएका छन्। आँगनमा दुई नाति नागिराम र नारायण किरिया बसेका छन्।

‘भेटिने आसै छैन, त्यही भएर धर्मअनुसार किरिया गराएको,’ खत्री सुस्ताउँछन्, ‘मर्ने त मरेर गइहाले, दैवले खेतसमेत खोसेर बाँचेकालाई पनि दुःखमा डुबाइदियो।’

अरू बढी बोल्न सक्दैनन्, गला अवरुद्ध हुन्छ, आँखाबाट सानो सुनकोसी तर्किन्छ। ‘यो बुढेसकालमा बाँच्ने सहारा गुम्यो, नाति–पनातिको अनुहार हेरेर खुसी हुने दिन सकियो। भएभरको सम्पत्ति पनि बगायो, म त ज्युँदै नर्कमा पुगेँ,’ बोल्दै, अड्कँदै पीडाको सुस्केरा हाल्छन्।

गला फेरि अड्किन्छ। आँखाबाट झर्ने सुनकोसीले घरिघरि रुद्रघन्टी अँठ्याइरहन्छ।

केही मिनेटको मौनतापछि खत्री सम्हालिन्छन्। एकछिन बोल्दै, अडिँदै भन्छन्, ‘शनिबार राति भुँइचालो आएजस्तो भो, पहिरो गयो भन्ने हल्ला चल्यो। अन्धकार थियो।

ही बेरको हल्लीखल्लीपछि हामी राति नै बेंसी झर्न थाल्यौं। बाटोभरि हिलो र दलदल। अन्धकारमा जान नसिकने रहेछ भनेर माथि फर्कियौं। रातभरि सुत्न सकेनौं।

झिसमिसे उज्यालोमा तल हेर्दा घर भएको ठाउँमा त पहिरोको ठूलो ढिस्को पो देखियो।’

खत्रीले पहिरोमा ५२ वर्षीय जेठो छोरा लोकबहादुर, ४५ वर्षीया जेठी बुहारी बालकुमारी, २४ वर्षका कान्छो नाति हरेराम, हरेरामकी श्रीमती रञ्जु र २ महिनाकी छोरी, माइली नातिनी–बुहारी मैयाँ र मैयाँका ३ छोरी, २० वर्षकी नातिनी निशा र अर्की नातिनी चम्पालाई त्यही पहिरोमा गुमाए। उनी र उनकी श्रीमती तथा जेठो नाति र बुहारी मात्रै बाँचे जो गाउँमै बस्थे। माइलो नाति पनि काठमाडौंमा ड्राइभर काम गरिरहेकाले जोगियो।

परिवारका सबैजसोलाई एकैचोटि गुमाउनुपर्दा मान्छेलाई आफू बाँचेकोमा खुसीभन्दा बढी विस्मात हुँदो रहेछ।

खत्री अहिले यस्तै विवशतामा छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकतासम्बन्धी विवाद छिट्टै निरुपण गर्ने भएको छ । यसका लागि सम्बन्धीत

काठमाडौं । संयुक्त राष्ट्रसंघको विकास नीतिसम्बन्धी समितिले नेपाललाई अति कम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न सिफारिस गरेको छ । फागुन १०

नेपाल फ्रान्स कुटनीतिक सम्बन्ध स्थापनाको ७०औ वर्षगाँठको उपलक्ष्यमा प्रकाशित स्मारिका “कर्म” को नेपालस्थित फ्रान्सेली राजदूत फ्रन्स्वा जाभिए लेजेर पेरिसस्थित नेपाली

काठमाडौं । पूर्वमन्त्री कुबेर शर्माको निधन भएको छ । २०५९ सालमा पर्यटनमन्त्री भएका शर्माको ८४ वर्षको उमेरमा शुक्रबार काठमाडौंमा निधन