बरामदी तेल लिलामी प्रक्रिया सुरु

२३ श्रावण २०७१, शुक्रबार १७:०२ मा प्रकाशित

रुपन्देही, २३ साउन । रुपन्देही प्रहरीले पडसरी र मधवलियाबाट बरामद गरेको चोरीको तेल भैरहवा भन्सार कार्यालयलाई बुझाएपश्चात् कार्यालयले बरामदी तेलको लिलामी प्रक्रिया थालेको छ ।
प्रहरीले भन्सार कार्यालयलाई १६ हजार लिटर मट्टीतेल र २१ हजार लिटर चोरीको डिजल कार्यालयलाई बुझाएपश्चात् तेलको लिलामी प्रक्रिया थालिएको हो ।
भैरहवा भन्सार कार्यालयका प्रमुख लोकराज ज्ञवालीले भने, ‘बरामद तेल लिलामी गर्नका लागि नेपाल आयल निगमले पत्र बुझिसेको छ र चाँडै नै हामीले त्यो पेट्रोलियम पदार्थलाई लिलाम गर्ने छौँ ।’
भैरहवा भन्सार कार्यालयले आजभोलिमै लिलामको काम सुरु गर्ने नेपाल आयाल निगम क्षेत्रीय कार्यालय भलवारीका सहायक प्रवन्धक दीपक घिमिरेले जानकारी दिए ।
भारतको बैतालपुरबाट नेपाल आयल निगम भलवारीका लागि ल्याएको तेल निगममा नपुग्दै बीचबाटोबाटै चोर्ने गरेको पत्ता लागेपछि रुपन्देही प्रहरी र राष्ट्रिय सतर्कता केन्द्रले वैशाख १६ गते संयुक्त रुपमा छापा मारी ठूलो परिमाणमा चोरी गरी राखिएको पेट्रोलियम पदार्थ र चोर्दै गरेको अवस्थामा ट्याङ्करका चालक र सहचालकलाई प्रहरीले रङ्गेहात पक्राउ गरेको थियो ।
स्रोतका अनुसार तेल चोरी प्रकरणका फरार अधिकांश आरोपीहरू मुलुकमा रहे पनि रुपन्देही प्रहरीले भारतमा रहेको दाबी गर्दै आएको छ । फरार आरोपीहरूलाई पक्राउ नगर्नुमा रुपन्देही प्रहरीलाई माथिल्लो तहको दबाब आएको उच्च स्रोतले जनाएको छ ।
तेल चोरी प्रकरणमा कुल ५८ जना व्यक्तिमाथि सरकारी वकिलमार्फत पाँच किसिमका विभिन्न मुद्दा दायर भएको छ ।
डिजेल चोरी प्रकरणका तीन जना मुख्य आरोपीसहित ३० जनामध्ये एक जना आरोपी अदालतमा उपस्थित भएको जिल्ला अदालत रुपन्देहीले जनाएको छ ।
पडसरी–१ का रामचन्द्र अधिकारी अदालतमा उपस्थित भएका हुन् । अधिकारीकै जग्गामा राखिएको अन्डरग्राउन्ड ट्याङ्कीबाट चोरी गरी राखिएको डिजेल बरामद भएको थियो ।
तेल चोरीको आरोपमा विभिन्न व्यक्तिहरूको नाममा पक्राउ पुर्जी जारी भए पनि अहिलेसम्म उनीहरू पक्राउ परेका छैनन् ।
फरार हुनेहरूमा तेल चोरीका मुख्य नाइके पडसरी–१ का विनोद उप्रेती, मधवलिया–३ का विक्की भन्ने विकास क्षेत्रीसहित पूर्वमन्त्री दानबहादुर चौधरीका छोरा लप्पु चौधरीे, उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य एवम् पश्चिमाञ्चल ट्याङ्कर व्यवसायी सङ्घ बुटवलका प्रमुख सल्लाहकार चोपनारायण श्रेष्ठ, अध्यक्ष राकेशकुमार कशौधन र वरिष्ठ उपाध्यक्ष बालकृष्ण गैरे रहेका छन् ।
यसैगरी बुटवल–२ का दयाशङ्कर यादव, तौलिहवाका वृजेन्द्रकुमारी चौधरी, प्रेमराज गैरे, बुटवल–८ की प्रिती जयसवाल, पिङ्की कलवार जयसवाल, राजेशकुमार अग्रवाल, पशुपतिनाथ कशौधन, रुद्र शर्मा, बुटवल मिलनचोकका श्रवणकुमार श्रेष्ठ र पप्पुकुमार कशौधनलगायत फरार रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

खलङ्गा । जुम्ली मार्सी चामल र जैविक सिमीलगायत कृषिवस्तुका माग अन्तररष्ट्रिय बजारमा बढ्न थालेको छ । जिल्लाबाट पहिलोपटक रु छ

रुकुम (पूर्व) का कृषक ओखर खेतीतर्फ आकर्षित भएका छन् । प्रशस्त मात्रामा हाडे ओखर पाइने यस जिल्लाका कृषक पछिल्लो समय

वर्षौँदेखि कालीगण्डकी नदीको अवैधरूपमा दोहन हुँदै आएको छ । देश सङ्घीयतामा गइसकेपछि गण्डकी प्रदेश सरकारले नदीजन्य पदार्थको उत्खनन तथा निकासी

काठमाडौं । समृद्धिको यात्रामा अघि बढेको मुलुकमा पछिल्लो दुई वर्षमा आर्थिक अपराधका ठूलाठूला घटनाको पर्दाफास भएको छ । राजश्व छलीमा