एसएलसी पूरकमा २३४ परीक्षा केन्द्र निर्धारण

१८ श्रावण २०७१, आईतवार १४:१५ मा प्रकाशित

भक्तपुर, १८ साउन । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यही साउन २० गते मङ्गलबारदेखि सुरु गर्ने एसएलसी पूरक (मौका) परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको छ ।
२०७० को एसएलसी परीक्षामा दुई विषयसम्म अनुत्तीर्ण हुने परीक्षार्थीका लागि सञ्चालन गर्ने मौका परीक्षाको सम्पूर्ण तयारी पूरा भएको परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले आज जानकारी दिए ।
कुल एक लाख २० हजार ६२७ जना परीक्षार्थी सहभागी हुने परीक्षाका लागि कार्यालयले देशभर कुल २३४ परीक्षा केन्द्र निर्धारण गरेको उनले जानकारी दिए ।
परीक्षाका लागि आवश्यक सम्पूर्ण सामग्री जिल्ला जिल्लामा पुराइसकिएको बताउँदै उनले पूरक परीक्षाको परीक्षा केन्द्र सदरमुकाम केन्द्रित गरिएको जानकारी दिए ।
परीक्षामा सबभन्दा बढी अनिवार्य गणित विषयमा ६८ हजार २३०, विज्ञान विषयमा ५० हजार ७१९ र अनिवार्य अङ्ग्रेजी विषयमा ३३ हजार ७७ जना परीक्षार्थी सहभागी रहने छन् ।
त्यस्तै ऐच्छिक गणितमा १० हजार ६३९, सामाजिक शिक्षामा १७ हजार १६४, नेपालीमा दुई हजार २९१ परीक्षार्थी छन् । परीक्षा नियन्त्रक द्वारेका अनुसार एक विषयमात्र परीक्षा दिने परीक्षार्थी ५४ हजार ३९२ जना र दुई विषयको परीक्षा दिने परीक्षार्थी ६६ हजार २३५ जना रहेका छन् ।
कार्यालयका अनुसार साउन २० गते अनिवार्य अङ्ग्रेजी र वेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत व्याकरण र अनुवाद, २१ गते अनिवार्य नेपाली र गैरनेपाली परीक्षार्थीका लागि अङ्ग्रेजी, २२ गते अनिवार्य गणित, २३ गते अनिवार्य विज्ञान र वेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्य, २४ गते अनिवार्य सामाजिक अध्ययनको परीक्षा तोकिएको छ ।
त्यसैगरी २५ गते अनिवार्य स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षा र वेद विद्याश्रमतर्फ अनिवार्य कर्मकाण्ड, संस्कृततर्फ अनिवार्य संस्कृत भाषा, २६ गते ऐच्छिक प्रथमपत्रका सबै विषयहरु र २७ गते ऐच्छिक द्वितीय पत्रका सबै विषयको परीक्षा सञ्चालन गर्ने भएको छ ।
परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा साउन २७ गते सम्पन्न हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा बिहीबार राति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार घाइते भएका

बुटवल । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित दुई जना

जिल्लाको हेटौँडा उपमहानगरपालिका–११ नवलपुरमा आज बिहानै ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–११