१ सय ८० घरहरु पहिरोमा विलायो

१८ श्रावण २०७१, आईतवार ०५:५० मा प्रकाशित

Sindhupalchwok-Pahiroसिन्धुपाल्चोक, १८ साउन । रातको साढे दुई बजे टेकनपुर धारापानीबस्तीका ७२ वर्षीय नैनबहादुर खत्रीलाई निद्राले छाडिसकेको थियो ।

पल्लोतिरको पहाडबाट केही डरलाग्दो आवाज आयो, उनले झ्याल खोलेर नियाले । त्यसैमा भुईचालो गएजस्तो घरै हल्लन थाल्यो । हेर्दाहेर्दै ठूलो पहाड मेघ गर्जेजस्तो आवाज निकाल्दै, उज्यालो देखिंदै, भासिंदै गयो ।

छोरा, बुहारी, नातिनातिना र आफन्त गरी १३ जना पहिरोमा बेपत्ता भएको पीडामा कुडिंदै नैनले शनिवार दिउँसो पिढीमा बसेर गएरातीको घटना स्मरण गरे । माख्लो बस्तीमा ७२ बषिर्या श्रीमती सत्यरुपाका साथ बस्दै आएका उनका परिवारका धेरै सदस्य चाहि धारापानी बेशीमा वस्थे ।

जुन वस्ती अहिले सतहबाट करिब ५० मिटरमुनि थिचिएको अनुमान छ । ‘बर्बादै भयो पाखुरा भएकाहरु बेपत्ता छन् । भएको सम्पत्ति पनि पुरिएको छ, अब कसरी बाँच्नु ?’ रुदाँरुँदा आँखा सुनिएकी सत्यरुपाले भनिन् ।

खत्री परिवारको उब्जाउ जमिन जति बेशीमै थियो । बस्तुभाउ पनि । अहिले बगर बनेको ठाउँमा १६ घर थिए । खेतीपाती धान्न भनेर बसेका नैनका जेठा छोरा लोकबहादुर (५३), उनका श्रीमती सुन्तली (४५), नातिनी निशा (२१), नाती हरेराम (२५), नातिनी बुहारी (२१) र तिनको चार महिनाको बच्चा बेपत्ता छन् । नैनका माइली बुहारी मैया र उनका तीन बच्चा, छोरा कमलको १४ बषिर्या छोरी चम्पा र पिस्कर गाविसबाट आएका भान्जा काइला खडा र उनका श्रीमती कमला पनि बेपत्ता छन् ।

‘रातभर आफन्तहरु के भए होलान भनेर एकैठाउँ भेला भएर बस्यौं र विहान ६ बजे करिब आधा घण्टा तल रहेको बेशी पुग्दा सबै पुरिएको पायौं,’ शोकमग्न कमलले भने, ‘अहिलेसम्म तपाईहरु वाहेक बेपत्ता खोजी गर्न र बुझ्न यो गाउँमा कसैले पाइला टेकेका छैनन ।’ यो वस्ती दोलखा सिमानाबाट २० किलोमिटर कच्ची सडक पार गरेर करिब १५ मिनेट पैदल हिडेपछि पुग्न सकिन्छ ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले खोला थुनिएको भाग कटाउन र उद्धार कार्यका लागि गाउँ पुग्न असमर्थ भएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ । ‘बरु तपाईहरुले के पाउनुहुन्छ बताइ दिनुहोला,’ ठूलो क्षती भएकाले सबै ठाउँमा सरकारी उद्धारकर्ता पुग्न असमर्थ भएको उनले बताए ।

टेकनपुर सिमपानी बेशीमा तौथलीबाट आएर बसोबास गरेका रमेश थामी (४५), उनकी श्रीमती किरण (४०), छोरी बन्दना (१५) र अन्जना (७), छोरा कृष्ण (२०) र उनकी गर्भवती श्रीमति जानुका (२०) पनि बेपत्ता भएको गाउँलेहरुले बताए । पिस्करबाट आएका अरु दुई पाहुनासमेत बेपत्ता भन्ने खवर आएको नैनले बताए ।

गाउलेका अनुसार नजिकैको राम्चे इटीनीका तामाङ समुदायका २५ घरमध्ये १६ वटा पहिरोले बगाएको छ । माङ्खा गाविस कागुनीस्थित बढी जसो तमाङहरु बस्ने करिब ८० घरको पनि अत्तोपत्तो छैन ।

माङ्खाकै कार्कीहरु बसोबास गर्ने करिब १५ घर पहिरोले कता लग्यो थाहा हुनसकेको छैन । माङ्खाकै ड्यामसाइटका ब्रामहण र नेवार वस्ने करिब १८ घर पहिरोमा विलाएका छन् । धुस्कुन दावीडाँडाको गाउँ कता हरायो थाहा छैन । राम्चे भालुखोपका करिब १२ घर पनि देखिंदैनन । टेकनपुरबाट नियाल्दा १ सय ८० घरहरु पहिरोमा पुरिएको देखिने उनीहरुले बताए । हजार जति मानिस वेपत्ता भएको अनुमान गर्न सकिने गाउँलेहरुले कान्तिपुरलाई बताए ।

भाग्यले बाँचेका दम्पत्ति भन्छन : ‘खेती गर्न उकालो लाग्दा बाँचि

‘बेशीको खेती सकिएकै साँझ हिजो माथिल्लो वस्तीमा आयौं, त्यहीँ रात अघिल्लो दिनसम्म बिताएको ठाउँ सबै पुरियो,’ टेकनपुर धारापानी बेशीका नारायण खत्रीले भने । उनी र श्रीमती दुर्गा अघिल्लो साँझ माथिल्लो गाउँको खेतीपाती लगाउन सुरु गर्ने उद्देश्यले बेशी छाडेका थिए ।

‘बेशीको खेती सकिनु नै बाँच्नु लेखेको रहेछ,’ नारायणले भने, ‘किन किन साझ नै उकालो लाग्न मन लाग्यो ।’ यो दम्पत्ति आफु बाँचे पनि बुबा, अमा, भाइ, बहिनी र बुहारी गरी १० जना बेपत्ता भएको पिडामा छन् ।

नैनका नाता नातिनी पर्ने यो दम्पत्ति बार्खा लागेपछि माथिल्लो वस्तीमा आएका थिएनन् । तल नै चटारो थियो त्यसैले बेशीमै दैनिकीहरु वित्दै थियो । आफ्नो रोपाई सक्नु र अरुको मेला गइदिने कार्य पनि सकिएकाले उनीहरु शुक्रबार बेलुकीपख माथिल्लो गाउँको घरमा आएका थिए ।

तल नै बस्ने उनीहरु चाडपर्व र मेलापात गर्न भने माथिल्लो गाउँ आएका हुन्थे । नत्र तल नै बिताउने उनीहरु आफुलाई भाग्यवस बाँचेको बताउँछन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह

युरोपेली संघ ‘ईयू’ मा कोरोना भाइरस ‘भ्याक्सिनेसन पासपोर्ट’ अर्थात खोप राहदानीको प्रयोग गर्ने तयारी थालिएको छ । ग्रीस र अस्ट्रियाले

गुल्लरिया । बर्दियाको बाँसगढी नगरपालिकामा एकै दिन चार बालिका बलात्कारको शिकार भएका छन् । १४ वर्षीय एक किशोरले एकै दिन

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा बिहीबार राति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार घाइते भएका